+
+
नागरिक अगुवा श्याम श्रेष्ठसँग वार्ता :

‘राज्यकै संचालक पैसामा बिक्री हुँदारहेछन्, दलहरू क्षमायोग्य छैनन्’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते ७:१८

‘नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरण’ यतिखेर सर्वत्र चर्चाको विषय बनेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत तेस्रो देशमा पुनर्वासमा पठाउने प्रकरणमा संलग्न भएको आरोपमा देशका उच्चपदस्थ राजनीतिज्ञ र प्रशासक पक्राउ परिरहेका छन् ।

देशको शिर नै झुकाउने यस्तो प्रकरणमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै नागरिकहरू पनि सडकमा आइरहेका छन् ।

यसलाई नजिकबाट नियाल्दै नागरिक प्रदर्शनहरूमा सहभागी भइरहेका नागरिक अगुवा तथा विश्लेषक श्याम श्रेष्ठसँग अनलाइनखबरकर्मी रामकुमार डिसीले यस प्रकरणका विभिन्न पाटोमा केन्द्रित भएर गरेको कुराकानी :

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्नमा राज्य संयन्त्रकै उच्च तहका व्यक्ति सामेल भएको प्रकरण अगाडि आएको छ । तपाईंले कसरी विश्लेषण गर्दै हुनुहुन्छ ?

नेपालको नागरिकलाई जिम्मेवार नेताले विदेशी नागरिक बनाउने भनेको राष्ट्रिय लज्जाको विषय हो । यसले नेपालको राजनीतिको विश्वसनीयता, अन्तर्राष्ट्रिय विश्वसनीयता स्वाहा पार्छ । नेपाली राजनीति, राजनीतिज्ञ र नेपाली प्रकाशकहरूलाई विश्वले विश्वास नै नगर्ने खण्ड तयार पार्छ । यो जघन्य अपराध हो । साधारण खालको अपराध होइन । आफ्नो नागरिकलाई बेच्ने हदको अपराध हो, यो । नागरिकलाई नै पैसाका लागि बेच्ने कुरा हो । यसले त्यो मात्रै उजागर गरेको छैन । पैसा आउँछ भने मन्त्रालयमा रहेको कागज नै अदला-बदली गर्न सक्छन् भन्ने खालको अभिव्यक्ति पनि हो, यो ।

यो प्रकरणबाट आम नेपाली, राजनीतिज्ञ र नेपाल देशलाई हुने असर चाहिं के हो ?

यो घटना हुनु भन्दा अघि नै राजनीतिज्ञप्रति जनताको विश्वास उडेको थियो । यसले अरू ज्यादा उडाउँछ । नेपाली राजनीतिज्ञ पैसाका लागि जे पनि गर्छन् भन्ने भाष्य जो बजारमा चलिरहेको थियो त्यसलाई प्रमाणित गराउँछ । यसको अर्को सुखद पाटो पनि छ । त्यो भनेको के हो भने त्यस्ता खालका उच्चस्तरीय मान्छेहरूले यो खालको काम गर्दाखेरि यिनीहरू दण्डित पनि हुन्छन् भन्ने कुराको संकेत पनि हो, यो ।

एउटा उपप्रधानमन्त्री भएको मान्छेलाई, गृहमन्त्री भएको मान्छेलाई राज्यले पक्रन सक्छ । नेपालको प्रहरी प्रशासनले पनि पत्ता लगाउनुपर्छ । लुके पनि पत्ता लगाएर कानुनी घेरामा ल्याउन सक्छ भन्ने पनि यसले देखाएको छ । यदि नेपालको राज्य प्रशासनले चाहने हो भने धेरै कमजोर छैन भन्ने पनि यसले देखाएको छ ।

टोपबहादुर रायमाझी हिजोसम्म लुकेर बसेका थिए । फरार मान्छेलाई प्रहरीले समात्यो । यसले के देखायो भने राज्य प्रशासन कमजोर छैन । तर, नेपालको राजनीतिक नेतृत्व चाहिं ज्यादै धेरै लोभीपापी छ र देशको नागरिक नै बेच्ने खालको छ भन्ने कुरा पनि यसले देखाएको छ ।

यो प्रकरणमा गृहमन्त्री, सचिव नै संलग्न हुनु भनेको एक हिसाबले राज्य नै संलग्न भएर अपराध गरेको भन्ने देखियो । यसले हाम्रो राज्य दस्तावेज, हामीले बोक्ने राहदानीप्रति पनि अन्तर्राष्ट्रिय क्षेत्रको सन्देह बढाउँछ होला नि ?

यसले दुईवटा गम्भीर खालको नतिजा लिएर आउँछ । एउटा, राज्यले जारी गर्ने दस्तावेजलाई हमेशा शंकाको दृष्टिले हेर्ने समस्या पैदा हुन्छ । अर्को, जो यसअघि भुटानी शरणार्थीर् भएर तेस्रो देश गएका छन् ती पनि गल्ती पो छन् कि भनेर खोज्ने समस्या पनि पैदा हुन्छन् । यसले जो भुटानी शरणार्थी तेस्रो देश गएका छन्, उनीहरूले अनावश्यक दुःख पाउने स्थिति पैदा हुनसक्छ ।

यो घटनाले हाम्रो राजनीतिको अनुहारलाई कस्तो देखायो ?

यसले हाम्रो देशमा विधिको शासन लोप भएको र पैसाको शासन हावी भएको भन्ने देखाउँछ । पैसाले यहाँको न्याय र प्रशासन दुवै किन्न सक्छ भन्ने देखाएको छ । यो भनेको नेपालमा एक किसिमको अराजकताको स्थिति पनि हो । राज्य यदि मजबुत हुन्छ भने यस्तो खालको घटना सम्भव नै हुँदैन । राज्य त बिक्री पो हुँदोरहेछ पैसामा । राज्यका पदाधिकारीहरू एक/दुई करोडमा आफ्ना नागरिक बिक्री गर्ने हदसम्म जाँदा रहेछन् ।

यसै पनि मूलधारका, पुराना दलहरूप्रति वितृष्णा बढिरहेको समयमा यो प्रकरण बाहिर आएको छ । मुख्य दलका नेताहरू नै यसमा संलग्न भएको देखिएको छ । यो घटनाले पूरा पार्टीहरू प्रतिको मान्छेको बुझाइ कस्तो बन्छ ?

यसले नेपालको पुराना राजनीतिक दलप्रतिको वितृष्णा पनि चर्काउँछ । उनीहरू भ्रष्ट छन् भनेर यसले प्रमाणित नै पनि गर्छ । अर्को, एकथरी राजनीतिज्ञहरू बाँकी छन्, जसले यसलाई दण्डित पनि गर्छन् । यसलाई ‘ट्रयाक’मा ल्याउँछन् भन्ने पनि देखाउँछ । नेपालमा राजनीतिज्ञहरूको खडेरी नै त होइन । त्यसो हुँदो हो त यो घटना कसरी आउँथ्यो ? पक्रने, दण्डित गर्ने घटना कसरी हुन्थ्यो ? हामीले यतिखेर दुईवटै पक्षलाई हेर्न जरूरी छ । यसले राजनीतिज्ञप्रतिको वितृष्णा र अविश्वासलाई चर्को पार्छ, त्यो हो नै । साथसाथै पूरै सक्किएको स्थिति पनि होइन रहेछ । केही त बाँकी रहेछ जहाँबाट यो दण्डित हुनसक्छ । एउटा गृहमन्त्रीले हाल सालै पूर्व भएका गृहमन्त्रीलाई पक्रिने भनेको गज्जब कुरा हो नि !

अंकगणितको हिसाबले एकदम कमजोर कडीमा बनेको सरकार हो । जुन सरकारको नेतृत्वकर्ता दल छ, त्यो आफैंमा कमजोर छ । त्यस्तो सरकारले यस्तो कुरामा हात हाल्ने आँट कसरी गर्‍यो ?

एकथरीले माओवादी लडाकु शिविरको कुरा उठाइरहेका छन् । यसको विकल्प त्यो हो भनेजसरी उठाइरहेका छन् । त्यसलाई यतिखेर उठाउनु उचित हुँदैन । जब सिंगो राष्ट्रको नै बेइज्जत हुने खालको कुरा आइरहेको छ, यसमा केन्द्रित  हौं

आँट भन्ने कुरा कसरी भन्ने हुँदैन । आँट कुन प्रेरणा पाएर आयो भन्ने कुरा हुँदैन । आँटको मुहान आँटै हो । तर, अहिले नै सबै कुरा स्पष्ट भएको छैन । हामीले अहिले नै धेरै कुरा पत्ता लाग्यो भनेर भन्न हुँदैन । किनभने योभन्दा ठूला व्यक्तिहरू पनि तानिने सम्भावना छ । पूर्व प्रधानमन्त्री तानिने अवस्था छ । किनभने यो प्रस्ताव मन्त्रिपरिषदमा लगिएको छ । त्यहाँबाट पास भए प्रकोस्ताव छ । त्यसैले खाली गृहमन्त्री मात्रै तानिन्छ त ? तत्कालीन प्रधानमन्त्रीका श्रीमती आफैं संलग्न छन् भन्ने कुरा आएको छ । उनलाई चाहिं किन छोड्ने ?

अझै पर्दाहरू खुल्न बाँकी छ । अझै योभन्दा शीर्ष मान्छेहरू पक्रिन बाँकी छ । अब सरकारले यो मुद्दा अदालतमा दायर गर्छ । अदालतले के गर्छ ? त्यसलाई हेर्न बाँकी छ । किनभने सजाय दिने त अदालतले हो । प्रहरीले मुद्दा दायरसम्म त गर्ने हो । त्यसपछिको दृश्य के हुन्छ नेपालमा ? त्यसमा चाहिं बिक्री हुन्छ कि हुँदैन नेपालको न्याय भन्ने कुरा हेर्न बाँकी नै छ ।

त्यसकारण अहिले नै सबै कुरा भयो भनेर हामी ढुक्क पर्ने, आनन्दित हुने क्षण छैन । यसको योभन्दा गम्भीर पाटो बाँकी छ । त्यो हेर्न बाँकी छ । त्यहाँ पनि अब्बल ठहरियो भने बल्ल अहिले यहाँ अब्बल ठहरिएको मतलब हुन्छ । त्यसमा कमजोर देखा पर्‍यो भने यो अब्बलको मतलब हुँदैन ।

यो प्रकरणलाई टुंग्याउने बिन्दुसम्म यो सरकारले दह्रो खुट्टा टेक्ला या नटेक्ला ?

टेक्नुपर्ने हो । टेक्नु शिवाय सरकारसँग अरू त विकल्प नै छैन । प्रहरीले जस्ता खालका प्रमाणहरू भेटेको जस्तो देखिन्छ त्यसलाई होइन भन्न मिल्दैन । अकाट्य खालका प्रमाणहरू भेटिएको भन्ने कुरा आइरहेको छ । त्यस्तो खालको प्रमाण भेट्दा भेट्दै पनि सरकार ‘ब्याक’ भयो भने त बाँकी रहेको अलिकति विश्वास जो छ -जुन अहिलेको घटनाले देखा परेको छ) त्यो पनि सिध्याउँछ ।

त्यस कारण अहिलेको कामबाट मात्रै सबै कुरा टुंगियो भन्ने होइन । अझै पर्दाहरू खुल्न बाँकी छ । अझै केही उच्च मान्छेहरू तानिन बाँकी छ । तानिने सम्भावना देखिन्छ । त्यो तानिएन भने त्यतिकै गम्भीर प्रश्नहरू उठ्ने सम्भावना पनि बाँकी छ । त्यो जम्मै हेरिसकेपछि अनि हामी ढुक्क भएर भन्न सक्छौं, नेपाली राजनीति अब सङ्लिन थाल्यो भनेर । त्यहाँ चाहिं खुट्टा कमायो भने के गर्ने ? अदालतमा सरकार जुन ढंगबाट प्रस्तुत हुनुपर्छ, त्यहाँ खुट्टा कमायो भने के गर्ने ?

नेपालको न्यायालयले अहिलेसम्मको घटनाक्रमबाट स्वच्छ छवि त बनाएको छैन । बरु दोषबाट मुक्त गर्ने घटनाहरू हामीले देखिरहेका छौं । थुप्र्रै खालका घटना घटेका छन्, जहाँ अपराधी छुटेका छन् । अहिले नै सबै कुराको टुंगो लागेको छैन । तर, यो सुरुवात जो अहिले भएको छ यो राम्रो सुरुवात भएको छ ।

यो प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेताहरू पनि जोडिएका छन् । सत्ता गठबन्धनकै मुख्य दलका नेता पक्राउ परेका छन् । अरू केहीको पनि नाम आइरहेको छ । सरकार अगाडि बढ्दै गर्दा सत्ता सहयात्रीहरूले सरकारलाई निरन्तर सहयोग गरिराख्लान् ?

त्यो चाहिं अहिले भन्न सकिंदैन । तर जब आफ्नै श्रीमतीहरू पक्रिने कुरा हुन्छ, त्यतिखेर सत्ता सहयात्रीहरू अडिन्छन् कि अडिदैनन् ? अडियो भने प्रशंसनीय कुरा भयो । नअड्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । अहिले बालकृष्ण खाँणलाई जुन ढंगले अडिएको छ, त्यो त प्रशंसनीय हो । आफ्नै कार्यकालका गृहमन्त्री हुन् । यसमा त अडिएका छन् । तर, त्यहाँ अडिएको मान्छे श्रीमतीमा अडिएन भने नि ? त्यो सम्भावना पनि त्यतिकै छ फेरि । ५०-५० प्रतिशत सम्भावना छ ।

पुराना दल र तिनका नेताहरूको परीक्षणको समय पनि हो अहिले ?

एकदमै । उनीहरूका लागि यो अग्नि परीक्षाको घडी हो । उनीहरू खरो उत्रन्छन् कि उत्रिंदैनन् ? अहिले कांग्रेसका केही नेताहरू गृहमन्त्रीकहाँ गएर लौ तपाईं अड्नुपर्‍यो है भनेको पनि भेटिन्छ । त्यो राजनीतिक प्रतिशोधको मानसिकताले मात्रै भनेको हो कि स्वच्छ छविको मानसिकताले गएको हो ? त्यहाँ भ्रष्टाचार खत्तम पार्नुपर्छ भनेर गएको हो कि अर्को पक्षको सजाय हुन लाग्यो ठिक्क पार्ने बेला नै यही हो भनेर गएको ? त्यो कुरा परीक्षित हुने समय अहिले त भइसकेको छैन । त्यसकारणले अहिले संस्थापन पक्षमा जुन ढंगले घटनाक्रम घटिरहेको छ त्यो एक हिसाबले प्रशंसनीय छ । नेपाली कांग्रेस आफ्नै गृहमन्त्री पर्दा चुप लागेर बस्नु प्रशंसनीय हो ।

तर, त्यो चाहिं अरू ठुल्ठूला मान्छेहरू पर्दा पनि टिक्नुपर्‍यो । टिक्यो भने हामी एउटा ढंगले विश्लेषण गर्न सकौंला । नत्र भने नागरिकहरूले खबरदारी गर्नुपर्ने कुरा यहींनेर हो- तिमीहरू टिक । जनताको विश्वासमा खरो उत्र । नत्र हिजो जनताको वितृष्णा चुलीमा पुगिसकेको थियो, त्योभन्दा अन्तिम विन्दुतिर जान्छ । नेपाली राजनीतिलाई कसैले पत्याउने अवस्था रहँदैन । अहिले हामीले खबरदारी गर्नुपर्ने, नागरिकहरू सडकमा उत्रिनुपर्नाको कारण नै त्यही हो ।

यदि सरकारले पनि खुट्टा टेकेन, सत्ता सहयात्री दलहरू पनि पछाडि हटे, न्यायालयले पनि राम्ररी काम गरेन भने त्यसपछिको अवस्था चाहिं के हुन्छ ?

यो त हदै भयो नि ! यसरी पैसाका लागि नागरिकतासम्म बेच्नु भनेको हद हो । योभन्दा हद के हुन्छ ? अब देशै बेच्न मात्रै बाँकी छ । नागरिकता बेच्ने प्रयत्न त गर्दा रहेछन् । नागरिक बेच्नेले देश बेच्दैन भन्न सकिंदैन । यो हद हो । हद भइसकेपछि आम जनताले के गर्छन् भन्ने कुरा नेपालमा बारम्बार देखिएकै छ ।

जब-जब हद पार गरेको छ, त्यतिखेर नेपाली राजनीतिमा के भएको छ ? अघिल्ला राजनीतिज्ञहरूको कस्तो भएको छ ? राजाले कस्तो स्थिति व्यहोर्नुपर्‍यो ? राजाले त्यतिखेर हद पार गरेको त हो नि ! हद पार गर्दाखेरि नेपाली जनता चुप लागेको छैन । चुप लाग्नेवाला पनि देख्दिनँ । नेपाली जनतामा अहिलेसम्म एउटा जागरुकता चाहिं छ ।

उनीहरूमा कमजोरी पनि छ कि यस्तै खालका भ्रष्ट मान्छेहरूलाई चुनेर पठाउँछन् । त्यो खालको कमजोरी नेपाली जनतामा नदेखिएको होइन । तर पनि खबरदारीको हकमा चाहिं दक्षिण एशियामा नेपालीमा राम्रो चेतना बारम्बार देखिएको हो । फेरि पनि देखिनेवाला छ ।

कतिपयले यो कदम चालेकोमा प्रधानमन्त्री, गृहमन्त्रीको प्रशंसा पनि गरिरहेका छन् । अहिलेको प्रधानमन्त्री र उहाँको दलको साख खिइँदै खिइँदै गएको अवस्थामा जुन कदम अहिले सरकारले चालेको छ, यसले गिर्दो साखलाई जोगाउने अथवा त्यो पुनर्स्थापित  हुने अवस्था देख्नुभएको छ कि छैन ?

माओवादीको साख जुन धेरै चर्को मात्रामा गिर्दै गएको थियो । एमालेभन्दा पनि चर्को मात्रामा माओवादी भ्रष्ट भयो भन्ने कुरा आइरहेकै थियो । यसले त्यो साखलाई फर्काउनलाई केही हदसम्म मद्दत गर्ला । तर, यो साखको मुद्दा होइन । यो देशको अहं मुद्दा हो । यसमा माओवादी भए तापनि गर्नुपर्दथ्यो, कांग्रेस भए पनि गर्नुपर्दथ्यो ।

यो मात्रै पर्याप्त हुँदैन । योभन्दा ठूलो माछा यदि उम्किए भने प्रश्न पनि त्यतिकै उठ्छ । त्यसकारणले यति गरें, मेरो साखका लागि पर्याप्त भयो भनेर हुँदैन । राम्रो कुराको थालनी भएको छ । राम्रोलाई राम्रो भन्नु नै बेस हुन्छ । तर, यो राम्रो थालनी मात्रै हो । अझै ठूलो यात्रा त बाँकी नै छ ।

अन्य भ्रष्टाचारका प्रकरण पनि चर्चित छन् । ती प्रकरणमा पनि सरकारले हात हालेर निष्कर्षमा पुर्‍याउने वा त्यो आँट गर्ने स्थिति देख्नुभएको छ ?

दलहरुले राम्रा काम गर्न थाले भने जनताले स्याबासी पनि देलान्, क्षमा पनि गर्लान् । तर, यही एउटा कारणले मात्रै नेपालको राजनीतिक पार्टीहरू क्षमायोग्य भइसकेका छैनन्

अहिले हामीले यसैमा केन्द्रित  गर्नु नै बेस हुन्छ । यो टुंगोमा पुगेपछि अर्कोमा जानु ठिकै हुन्छ । ती पनि छुनै पर्ने मुद्दा हुन् । तर, यतिखेर आफ्नो ‘पावर डाइभर्ट’गर्नु उचित हुँदैन । त्यसबाट ध्यान डाइभर्ट हुन्छ । आम जनताको त ध्यान अहिले यसमै गएको छ नि ! यसलाई टुंगोमा पुर्‍याएर बाँकी छुँदा राम्रै हुन्छ । त्यो आवश्यक पनि छ नेपालका लागि ।

तर, यतिखेर एकथरीले माओवादी लडाकु शिविरको कुरा उठाइरहेका छन् । यसको विकल्प त्यो हो भनेजसरी उठाइरहेका छन् । त्यसलाई यतिखेर उठाउनु उचित हुँदैन । जब सिंगो राष्ट्रको नै बेइज्जत हुने खालको कुरा आइरहेको छ, यसमा केन्द्रित हौं । यसमा केन्द्रित भएर सफल पारौं अनि अर्कोलाई छोऊँ ।

राज्यको तागत नै सीमित भइरहेको छ । त्यस्तो ठाउँमा तागत डाइभर्ट गर्ने कुराले राजनीति डाइभर्ट हुन्छ । अहिले त सबै शक्तिहरू यसमा केन्द्रित गर्नुपर्‍यो ।

भ्रष्टाचार नियन्त्रण गर्ने र त्यसका फाइल खोल्ने कुराहरू गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको देखिन्छ । त्यो शक्ति उदाउँदै गरेका बेलामा यही सरकारले भ्रष्टाचार नियन्त्रणमा काम गर्दै गएमा कस्तो प्रभाव पार्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुने र नहुने कुरा भ्रष्टाचारको मुद्दामा मात्रै निर्भर हुँदैन । उसले देश र जनतासँग गाँसिएको अहं मुद्दाहरू उठाउँछ कि उठाउँदैन ? त्यसमा काम गर्छ कि गर्दैन भन्ने कुरामा आधारित हुन्छ । रास्वपाले जनताको मुद्दा, जनजीविकाका मुद्दा, राष्ट्रियताको मुद्दामा खरो उत्रिन्छ कि उत्रिंदैन भन्ने कुरामा उसको उदय भर पर्दछ । सरकारले राम्रो काम गर्दैमा रास्वपाको ‘राइज डाउन’ हुने होइन । उसले एउटा मुद्दा भेट्टाउने सम्भावना थियो, त्यो भेट्टाउँदैन । त्यति मात्रै हो । बाँकी कुरामा रास्वपाले एक से एक जनताको मुद्दा उठाउन सक्छ ।

महँगीको मुद्दा, जनताले दुःख पाएको मुद्दा, हरवाचरवाको मुद्दा, मिटरब्याजीहरूको मुद्दा जस्ता अहं-अहं मुद्दा छन् । सबैभन्दा पिंधमा परेको वर्गको मान्छेका मुद्दा छन् । ती कुराहरू उसले समात्छ कि समात्दैन भन्ने कुरामा उसको उदय हुने या नहुनेमा निर्भर रहन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले जुन कदम चालेको छ त्यस्ता अन्य प्रकरणमा पनि अगाडि बढ्दै गयो भने पुराना दलहरूप्रतिको वितृष्णाको बाढी जुन छ, त्यो रोकिने वा मत्थर हुने अवस्था आउन सक्छ ?

त्यो हुन सक्छ । यदि पुराना दलहरूले विगतका गल्तीहरू सच्याएर, विगतमा गल्ती भयो भनेर जनतासँग क्षमा मागेर गल्ती सच्याउन थाले भने उनीहरूको उदय फेरि हुन सम्भव छ । क्षमाभन्दा ठूलो कुरा केही पनि छैन । क्षमा दिन सक्छ । उनीहरूले आत्मसमीक्षा गर्छन्, जनतासमक्ष क्षमायाचना गर्छन् अनि व्यवहारमा, चरित्र र सोचाइमा परिवर्तन ल्याउँछन् भने क्षमा पनि हुनसक्छ ।

तर, भर्खरै सुरुवात मात्रै त भएको छ । जनताले क्षमा नै दिएका छैनन् राम्रोसँग । यति धेरै कर्तुतहरू गरेको छ कि क्षमा त दिने बेला भएको छैन । यति कुरालाई स्याबास भनेको हो । यत्ति कुरा गरेर पुग्छ त ?

जनताका मुद्दा, महँगीका मुद्दा, बिचौलियाहरू, यहाँका ठेकेदारहरू यति धेरै चम्केका छन् कि एक वर्षमा बन्ने बाटो ९ वर्षमा पनि बनाएको छैन । तिनीहरूसँगै यी राजनीतिक दलका नेताहरूले साँठगाँठ गरेर बसेका छन् । कसैको घरमा गएर डेरामै बसेका छन् । यी जम्मै कुरालाई नसच्याइकन क्षमायाचना हुँदैन । नेपाली जनताले अझै पनि क्षमा दिएका छैनन् ।

प्रधानमन्त्री प्रचण्डलाई पनि जनताले क्षमा दिइसकेका छैनन् ?

छैनन् । थुप्रै खालका कुरा छन्, जुन नहुनुपर्ने थियो तर, भयो । त्यसमा क्षमा जनताले दिइसकेका छैनन् । तर, यस्तो खालको काम ‘एक से एक’ गर्न थाल्ने हो भने गर्न सक्छन् ।

मिटरब्याजीहरूको समस्या समाधान गर्नका लागि सुरुवात भएको छ । जनताले स्याबास भने । यो हो एउटा काम । प्रचण्डको अघिल्लो कार्यकालमा स्याबास भनेर भन्ने खालको काम लोडसेडिङ हटाउने कुरा थियो । अरू स्याबास भन्ने लायक कुनै कामै गरेको होइन ।

संविधानमा निःशुल्क शिक्षा लेखेको छ, जनताले व्यवहारमा पाएको छैन । निःशुल्क स्वास्थ्य लेखेको छ, पाएको छैन । अधिकांश जनतालाई यतिखेर पैसा कमाउन बाध्य पारेको छ त्यही शिक्षा र स्वास्थ्यको कारणले । भ्रष्टाचारको स्रोत नै त्यही कुरा हो ।

‘रुट’मा त गएकै छैन अझै । यी क्षेत्रमा काम हुन थाल्यो । राम्रा काम गर्न थाल्यो भने सम्भावना त हुन्छ जहिले पनि । सम्भावना त कहिल्यै पनि सकिंदैन । दलहरुले राम्रा काम गर्न थाले भने जनताले स्याबासी पनि देलान्, क्षमा पनि गर्लान् । तर, यही एउटा कारणले मात्रै नेपालको राजनीतिक पार्टीहरू क्षमायोग्य भइसकेका छैनन् ।

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?