
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधीनतामा कुनै किसिमको सम्झौता नहुने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता हुन नदिने बताएका हुन् ।
उनले भने, ‘म के विश्वास दिलाउन चाहन्छु भनें नेपालको राष्ट्रिय हित, नेपालको राष्ट्रिय एकता, अखण्डता र स्वाधीनतामा कुनै किसिमको सम्झौता या भ्रम पर्न दिइने छैन।’
उनले आफूहरु नेपालको एक इन्च जमिन पनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताए । उनले ईपिजी प्रतिवेदन बुझ्ने, नबुझ्ने सम्बन्धमा भने भ्रमण अघि केही भन्न नसकिने बताए ।
उनले भने, ‘इपीजी रिपोर्टदेखि लिएर सीमा समस्यासँग सम्बन्धित विषयहरु, हाम्रो जमिनसँग सम्बन्धित विषयहरुमा पनि हामीले के कुरा प्रष्ट गरेका छौं भने हामी हाम्रो एक इन्च जमिन पनि हामी छोड्न सक्दैनौं। हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिंदैन।’

यो नीति अन्तर्गत हामी नेपालको सबै राजनीतिक दलहरु र सम्मानित सदन सबै नै हामी एक मत नै छौं। त्यही मान्यताभित्र रहेर नै भारत सरकारसँग कुराकानी हुन्छ। जहाँसम्म रिपोर्टलाई बुझ्ने वा नबुझ्ने कुरा या देशभित्र आएपछि के हुन्छ भन्ने कुरा भारत भ्रमणमा गएर कुरा गरिसकेपछिको परिस्थितिमा मात्रै भन्न सकिन्छ । तर यति विश्वास म दिलाउन सक्छु ।’
त्यस्तै प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूको प्रश्नको जवाफ दिंदै उहाँले सीमा सम्बन्धी सबै समस्याहरु कूटनीतिक माध्यमबाट समाधान गरिने बताए । उले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरुलाई पुनरावलोकन गरी समसामयिक बनाउन कूटनीतिक पहलहरु जारी रहेको बताए ।
उनले भने, ‘सीमा सम्बन्धी सबै समस्याहरु पनि कूटनीतिक माध्यमबाट समाधान गरिने र छिमेकी मित्रराष्ट्रहरुसँग सौहार्द र घनिष्ठ सम्बन्ध कायम गर्ने नीति सरकारले लिएको छ । नेपाल–भारत सम्बन्धका विविध पक्षलाई पुनरावलोकन गरी समसामयिक बनाउने कार्यमा कूटनीतिक पहलहरु जारी रहेको जानकारी पनि सदनलाई गराउन चाहन्छु ।’
नेपाल आफ्नो एक इन्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरु राष्ट्रको भूमि नलिने सिद्धान्तमा अडिग रहेको स्पष्ट उनको भनाइ थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4