+
+
फिचर :

जुनसुकै बेला चोरी हुनसक्छ तपाईको डीएनए, वैज्ञानिकहरु चिन्तित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १४:३१

५ जेठ, काठमाडौं। यदि तपाईको डीएनएबाट तपाईको सबै विवरण निकालेर कसैले कालोबजारी गर्यो र अनधिकृत रुपमा बिक्री गर्यो भने के होला ? के कुनै व्यक्तिको डिएन कोही अरु व्यक्तिले बेच्न सम्भव छ ?

वास्तवमा हामीले यत्रतत्र आफ्नो डीएनए छाडेका हुन्छौँ । हाम्रो झरेको कपालदेखि छाला र थुक समेतमा डीएनए हुन्छ । ती सबैमा रासायनिक कोड लेखिएको हुन्छ जसले हाम्रो सरीरलाई सञ्चालन गर्दछ ।

यसरी संसारभर यत्रतत्र छरिएका डीएनएको कतै दुरुपयोग नहोस् भन्नेमा वैज्ञानिकहरु चिन्तित छन् । तर एक नयाँ अध्ययन अनुसार प्रविधि यतिधेरै अत्याधुनिक भैसकेको छ कि मानिसको डीएनएलाई हावा, पानी वा जमिन जहाँसुकैबाट पनि निकाल्न सकिन्छ ।

यसरी डीएनएबाट कुनैपनि मानिसको जैविक विवरण गलत हातमा पर्नसक्ने जोखिम रहेको छ । तर यस्तो खालको अत्याधुनिक चोरीको सामना गर्न दुनियाका मुलुकहरु तथा मानवजाति तयार भैसकेको छैन ।

अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका जिव वैज्ञानिक डेभिड डफीका अनुसार हामीले प्रविधिलाई अधिक विकशित बनाइरहेका छौँ। प्रविधिको विकास समाजको फाइदाकै लागि हो । तर यदि यो गलत हातमा पर्यो भने यसको हानीनोक्सानी सबैले व्यहोर्नुपर्ने हुन्छ ।

डफीले भनेका छन् कि उनी संसारभर फैलिएका डीएनएका विषयमा बढिरहेको चिन्तालाई समयभन्दा निकै अघि सबैसामु ल्याउन चाहन्छन् । यसबाट मुलुकहरुले तत् सम्बन्धमा नीति तथा नियमहरु बनाउन सकून।

धर्तीको सतहमा रुख विरुवा, जनावर तथा मानिसको डीएनए विभिन्न माध्यमबाट फैलिरहेको छ। यसलाई वैज्ञानिकहरु DNA अर्थात् वातावरणीय डीएनए भन्दछन् ।

प्रविधि यतिधेरै विकसित भैसकेको छ कि यदि एउटा सानो इ डीएनएको टुक्रा हातपर्यो भनेपनि त्यसको सिक्वेन्सिंग गरेर त्यो डीएनएवाला जिवको पूरै इतिहास निकाल्न सकिन्छ । साथै त्यस ठाउँमा कस्तो खालका जिवहरु छन् भन्ने कुरा समेत पत्ता लगाउन सकिन्छ ।

उक्त डीएनएको टुक्राबाट सो डीएनए कुन जिवको हो र त्यसको आसपास कस्ता खालका रोगव्याधी छन् भन्ने कुरा समेत थाहा पाउन सकिन्छ । यसबाट त्यहाँको जनसंख्या र रोगको सम्बन्धका साथै संक्रामक रोगहरुको अवस्थाको बारेमा समेत जानकारी हासिल गर्न सकिन्छ ।

डीएनए सेक्वेन्सिंगको पूरानो विधि निकै जटिल थियो । तर अब इ डीएनएको सिक्वेन्सिंगलाई शटगन सिक्वेन्सिङ भनिन्छ । यो कामका लागि डेभिड डफी र उनको टिम पोख्त छ ।

उनीहरुले आयरल्याण्डबाट पानी तथा बालुवाको नमूना संकलन गरेर फ्लोरिडा विश्वविद्यालयको ह्वीट्नी ल्याबोरेटरी फर मरिन बायोसाइन्सेस एण्ड सी टर्टल हस्पिटलमा लगे । जुन ठाउँबाट उक्त नमूना संकलन गरिएको थियो त्यहाँ मानिसको उपस्थिति थिएन।

तर जब ती नमूनाहरुको सुक्ष्म अध्ययन गरियो तब त्यहाँ मानिसका डीएनएका टुक्राहरु पनि पाइयो । साथै सी टर्टल अस्पतालमा हावाबाट लिइएको नमूनामा समेत वातावरणीय डीएनए पाइयो ।

डेभिडका अनुसार जुनसुकै ठाउँबाट संकलित नमूनामा रहेको डीएनएको गुणवत्ता मानिसकै सरीरबाट लिइएको डीएनए जत्तिकै थियो । यस्तोमा सहजै अनुमान गर्न सकिन्छ कि यदि कसैले यसैगरी वातावरणबाटै डीएनएको नमूना संकलन गरेर त्यसको दुरुपयोग गर्यो भने त्यसको असर कतिधेरै पर्ला ?

यसले निश्चित समाजमा मात्र होइन पूरै विश्वमा नै गम्भीर प्रभाव पार्ने देखिन्छ । यस विषयको शोध हालै नेचर इकोलोजी एण्ड इभोलुसन जर्नलमा छापिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?