+
+
कथा :

अधोगामी नमस्कार

करिब तीन महिनाभित्रमा अफिस चिनें। कर्मचारी चिनें। हाकिम चिनें। हाकिमका हाकिम चिनें। भित्री हाकिम, बाहिरी हाकिम, डिफ्याक्टो हाकिम, डिजुरे हाकिम सब चिनें। बिचौलिया, घिचौलिया, थिचौलिया चिनें। र, सबैभन्दा महत्वपूर्ण कुरा सुशासनका विषाणु चिनें। र ढिला नगरी ‘विषाणुदल’को सदस्यता लिएँ।

शैलेश भट्टराई शैलेश भट्टराई
२०८० जेठ ६ गते १६:०४

‘सर नमस्कार’ मैले विनम्रतापूर्वक दशऔंला जोडी नमस्कार गरेँ। उनले हात जोड्ने त परको कुरा नमस्कार शब्द पनि उच्चारण नगरी यत्रा–यत्रा आँखा फुकालेर हेरे। अनि टाउको हल्का तल–माथि हल्लाए।

मलाई लाग्यो- सरकारी कार्यालयमा नमस्कारको रेस्पोन्स यसरी नै गरिन्छ।

यसभन्दा अघि मैले सेवाग्राहीको रूपमा सरकारी अफिस जाँदाका क्षण मनमनै सम्झिएँ। नमस्कार फर्काउनु त धेरै टाढाको कुरा रेस्पोन्सरहित वातावरणको अवस्था देखेको छु। रेस्पोन्स नै गर्नुपरे पनि यस्तै रेस्पोन्स कैयौंपल्ट भोगेको छु। तर आज त म मैलोधैलो, रालेसिंगाने, निरक्षर सेवाग्राही थिइनँ। राजपत्र अनंकितै भए पनि सुकिलोमुकिलो शिक्षित कर्मचारी थिएँ- त्यो पनि आरक्षणमा होइन खुल्ला प्रतिस्पर्धामा लोकसेवा उत्तीर्ण कर्मचारी। त्यसैले कर्मचारीको हैसियतमा पहिलोपल्ट यस्तो रेस्पोन्स् भोग्दैछु।

कोठामा उनी नितान्त एक्ला थिए तर व्यस्त थिएनन्l कुर्सीमा उपरखुट्टी लगाएर कुनै म्यागेजिन हेरेर बसेका थिए। एकछिन अघि भर्खर चुरोट तानिसकेका हुँदा हुन्। डुङ्डुङ्ती गन्हाएको चुरोटको दुर्गन्धले यसै भन्थ्यो।

ठ्याक्कै मेरो पछाडि सोफा थियो। सोफा भनेपछि पक्कै बस्ने नै सोफा थियो। म सरक्क बसेँ। म बसेको सानो आवाज पनि मतिर नहेरिकनै उनले सुने। श्रवणशक्ति दह्रै रहेछ जस्तो लाग्यो। म बस्नासाथ उनी आफ्नो कुर्सीबाट मेरो तौलले उत्तोलन गरे जसरी जुरुक्कै उठे। अनि तुरुन्तै थर्काए, ‘मैले बस्नुस् भनेँ तपाईंलाई?’

वास्तवमा उनले बस्नुस् भनेकै थिएनन्। म आफैं जान्ने भएर बसेको थिएँ। ‘बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु; बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु’ बुढापाकाको आहान मनमनै सम्झिएँ।

त्यतिखेर चाहिं मलाई बस्नु अघि ‘बसौं?’ भनेर एकपटक अनुमति लिनुपर्ने रै’छ भन्ने बोध भयो।

म अवाक् भएँ। कुशासनको मुहान त यही कोठा हो कि जस्तो लाग्यो। उनले थर्काउनासाथ म तुरुन्तै उठेँ। म उठ्नासाथ उनी फेरि मेरो तौलबाट मुक्त भए जसरी थ्याच्चै बसे। घुम्ने मेचमा बसेर एक फन्को मारे।

मैले भूपीको प्रख्यात कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ सम्झिएँ।

एकैछिनपछि उनले ठाडो मिजासमा सोधे- ‘घर काँ?’

मेरो नियुक्ति पत्र उनलाई दिइसकेको थिएँ। त्यसमा मेरो नाम, ठेगाना सबै लेखिएको थियो। तर त्यसमा पढ्ने कष्ट नगरी मलाई ‘घर कहाँ?’ भनेर सोध्नुको कुनै औचित्य थिएन। उनको मिजास हेर्दा त कड्केर ‘त्यहीँ छ, पढ्नु न’ भनूँ कि जस्तो पनि लागेको थियो तर डर लाग्यो। अनि एकै शब्दमा अलिकति ठाडै शैलीमा भनेँ- ‘मुड्केचुला।’

उनी कहिल्यै हाँस्न नपाएको जसरी हाँसे। लाग्यो उनी त्यो कुर्सीमा मेरो खिसी गर्न बसेका छन्। बुताले भ्याएसम्म मेरो हुर्मत लिन उद्यत छन्।

अनि हाँस्न छोडेर भने, ‘त्यस्तो पनि ठाउँको नाम हुन्छ?’

मान्छेको नाम–थर, ठाउँको नाम जे पनि हुनसक्छ नि! खिसी गर्ने विषय कम्तीमा यी हुन्नन्। सामान्य ज्ञानका बडे–बडे ठेली छिचोलेका उनमा यत्ति सामान्य ज्ञान चाहिं रहेनछ। मलाई उनको च्याम्बरको बाहिर बडे–बडे अक्षरमा ‘ई.फलानो भित्र-बाहिर’ लेखिएको बोर्डमा उनको जे नाम, थर थियो त्यसको पनि धीत मरूञ्जेल मजाक उडाउँ कि जस्तो लाग्यो। तर आँट आएन। मनमनै दबाएँ।

‘हुन्छ नि हजुर। यो डोल्पा जिल्लाको एउटा गाउँपालिका हो।’ यो बाहेक केही भन्न सकिनँ।

म उभिएको उभियै छु। मेरो पक्षमा ‘बसौं’ भन्ने शब्द उनले उच्चारण गर्न जानेकै छैनन्।

एकछिनपछि चिया आइपुग्यो। चिया मेरो लागि थिएन। नि:सन्देह अपेक्षा पनि थिएन। जसले बसौं त भनेको छैन, स्वतस्फूर्त बस्दा समेत अपमानपूर्पक उठाएको छ, ऊबाट चियाको अपेक्षा राजा महेन्द्रबाट लोकतन्त्रको अपेक्षा जस्तै थियो।

सभ्यता र संस्कार कुन चराका पखेटा हुन् त्यो उनलाई पत्तै थिएन जस्तो लाग्यो। उनी भने आफ्नो कुर्सीमा उपरखुट्टी मुद्रामा विराजमान छन्। चिउँडोमुनिको हड्डीविहीन अर्को लघुचिउँडोमा बुढी औंला र चोर औंलाले स्पर्श गर्दै आँखाले सिलिङतिर हेरे। एकदमै सोचमग्न जस्ता देखिए।

तर मलाई बस्ने आदेश प्राप्त भएन। एकछिन पछि के के न तत्त्वज्ञान प्राप्त गरे झैं गरेर-

‘ल जानुस् मैले तोक लगाइदिएको छु। आजैबाट हाजिर गर्नुस्’ भन्दै त्यहाँबाट मलाई विदा दिए।

लोकसेवाको त्यत्रो कठिन परीक्षा पास गरेर आएको मलाई उनकै तोकादेशमा जागिर लगाइदिए जसरी निर्देश गरे।

यसपछि म त्यहाँबाट लुरुक्क परेर रातो मुख लगाएर खडे खडे विदा भएँ। त्यही दिनबाट हाजिर गरेर जागिर खान सुरू गरें।

करिब तीन महिना भित्रमा अफिस चिनें। कर्मचारी चिनें। हाकिम चिनें। हाकिमका हाकिम चिनें। भित्री हाकिम, बाहिरी हाकिम, डिफ्याक्टो हाकिम, डिजुरे हाकिम सब चिनें। बिचौलिया, घिचौलिया, थिचौलिया चिनें। र, सबैभन्दा महत्वपूर्ण कुरा सुशासनका विषाणु चिनें। र ढिला नगरी ‘विषाणुदल’को सदस्यता लिएँ।

यसपछि मैले बुझें जागिर खाने सक्कली लाइसेन्स भनेको ‘विषाणुदल’को सदस्यता नै रहेछ। नियुक्ति पत्र बुझेपछिको सबैभन्दा महत्त्वपूर्ण खुड्किलो यो नै रहेछ। यो लाइसेन्स नलिई जागिर खानु भनेको नाङ्गेझार चोमोलोङ्मा चढ्नु जस्तै रहेछ।

‘विषाणुदल’को सदस्य भएपछि हाकिमसामु अब श्रद्धाहीन शाब्दिक नमस्कारमा म सीमित भएँ। नत्र त्यत्रो दलको सदस्य भएको के सार! हाम्रा अड्डाहरूमा हुने अधिकांश नमस्कारमा श्रद्धाभाव र अभिवादनभावको अंश हुँदैहुँदैन तैपनि यस्तो स्वार्थी, कपटपूर्ण, करलाग्दी र यान्त्रिक नमस्कार नगरेकोमा कतिपय रिसाउँछन् भने कतिपय यस्तो यान्त्रिक नमस्कार खान पाउँदा मख्ख पर्छन्।

उनको वरपर झुम्मिइरहने परिक्रमाकारीहरूको नमस्कार गर्ने शैली देखेर नमस्कारपछि ‘हजूर’ लाउने र ढाड झुकाउने काम चाकडीको एक कडी रहेछ भन्ने बोध भयो। ‘मनमा श्रद्धाभाव छैन, आदरभाव छैन भने दशऔंला किन जोडिरहनुपर्‍यो’ भन्ने भयो। मेरा दशऔंला पनि जोडिन मानेनन्। त्यतिखेरसम्ममा उनका आन्द्राभुँडी मेरा हातका औंला औंलाले समेत थाहा पाइसकेका थिए। त्यसैले न हात अघि सर्‍यो न औंला।

केही महिनापछि नियतिको खेल भनौं वा ‘विषाणुदल’को उपहार भनौं उनी र म साथी–साथी जस्ता भयौं। सुरुमा ठाडो नामले मलाई बोलाउने मिजासका हाकिमसाप म ‘विषाणुदल’को त्यस कार्यालयको कमिटीको उपाध्यक्ष भएकै दिनदेखि मेरो नामको पछाडि ‘जी’ थपेर बोलाउन थाले।

विषाणुदलको अधिवेशनमा म केन्द्रीय महासचिवमा निर्वाचित भएपछि उनले मेरो नामको पछाडिको ‘जी’ पनि निलम्बन गरे। जीको सट्टा ‘सर’ राखेर सम्बोधन गर्न थाले।

फेसबुकतिर मैले बाक्लैजसो मेरो मातृदल र मातृ गुटका मालिकहरूसँग खिचेको फोटो पोष्ट गरेपछि त उनैले मलाई नमस्कार गर्न थाले।

भो अब!

यो नमस्कार व्यङ्ग्य छँदै थिएन। देख्नलाई अधोगामी एकथान यान्त्रिक नमस्कार भए पनि यो नमस्कार चानचुने नमस्कार थिएन। प्रतिनिधि नमस्कार थियो। पञ्चायतको अन्त्यपछि यही नमस्कारलाई मियो मानेर नेपालको सार्वजनिक प्रशासन घुम्ने गर्दछ। अलि धेरै बुझ्नेहरूले यसलाई कुशासनको कडी भन्लान् त्यो उहाँहरूको स्वतन्त्रताको कुरा भो!

यो नमस्कार उनको जागिर खाने कलाको एउटा अभिन्न अङ्ग थियो। रङ्ग फेर्नमा सिपालु उनका थरीथरीका ढङ्गमध्येको एउटा ढङ्ग थियो। यिनले यसरी रङ्ग फेर्दै जाँदा धेरै रङ्गसँग साक्षात्कार गर्ने मौका पाइयो। उनले रङ्ग फेर्ने क्रममा नै उनको र मेरो दोस्ती जम्यो। कार्यालय प्रमुख हुनुको नाताले ‘भाले’को शिकारको ठेक्का उनको थियो।

मैले ‘अफिस हाम्रो साझा हो: भाले आधा आधा हो’ भनेर नारा लगाएपछि आधा आधा नै हुन्थ्यो। यसरी हाम्रो दोस्ती बर्करार थियो।

सुरुका त्यस्ता मान्छे अहिले सोमत शिरोमणि भएका थिए। ‘विषाणुदल’ नै उनलाई सोमत सिकाउने गुरू रै’छ। भलै आफू पनि मेरो विपक्षी ‘विषाणुदल’का सदस्य भने थिए तर उनी हाकिमगिरीमा ज्यादा सक्रिय। चुनाव आउँदा भने निकै सक्रिय हुन्थे। उनले मालदार अड्डाको अधिपति हुन र टिकिरहनलाई मात्र एउटा ‘विषाणुदल’ समातेका थिए।

भोलि उनको तेस्रो बङ्गलाको घरपैंचो कार्यक्रममा जानु छ जुन घर मेरी श्रीमतीको नाममा छ। किनभने मेरो योग्यता र क्षमता देखेर उनले मलाई आफ्नो नाताभित्र पारिसकेका थिए। उनकी साख्यै सालीसँग मेरो बिहे गराइसकेका थिए। यसरी हामी दुईको मित्रता नातामा परिणत भएको थियो।

लेखकको बारेमा
शैलेश भट्टराई

समसामयिक राजनीतिक बिषयमा ब्यंग्य गर्न माहिर शैलेश अनलाइनखबरका स्तम्भकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?