+
+
टेकनारायणको सन्देशपछि खाँणको चलखेल :

आईजीपीको भ्रमण रोके, विचौलियाको पैसा फर्काए

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते २२:००

१० जेठ, काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेपछि प्रहरीको अनुसन्धान पूर्वगृहमन्त्री बालकृष्ण खाँणतिर सोझियो । खाँण गृहमन्त्री भएपछि आफैंले रोजेर ल्याएका सचिव थिए पाण्डे । उनी नै पक्राउ परेपछि अनुसन्धान खाँणतिर सोझिनु अस्वभाविक थिएन ।

तर कांग्रेस केन्द्रीय सदस्य खाँणले संलग्न नभएको भन्दै २३ वैशाखमा वक्तव्य जारी गरे । निकटवर्तीहरुका अनुसार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले खाँणलाई पनि ‘केही छ’ भनेर सोधेका थिए ।

तर उनी यति ढुक्क थिए, कि केही छैन भनिदिए । बरु प्रहरी प्रमुख (आईजीपी) बसन्तबहादुर कुँवरको अमेरिका भ्रमण रोकिदिन आग्रह गरे । उनी अमेरिका जाँँदा उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) श्याम ज्ञवालीले खेल्न सक्ने उनले आशंका गरेका थिए ।

प्रहरी प्रमुख विदेश नजाँदा अनुसन्धान निष्पक्ष हुन्छ भने ठीक छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा  २५ वैशाखमा कुँवरको अमेरिका भ्रमण रोकिदिए ।

तर खाँण जोगिएनन्, २७ वैशाखको विहान मैजुबहालस्थित आफ्नै निवासबाट पक्राउ परे । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बुधबार पूर्वगृहमन्त्री खाँणसहित ३० जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

ओली वा देउवाले प्रधानमन्त्रीलाई भन्नुपर्‍यो

अभियोगपत्रमा उल्लेख भएअनुसार तत्कालीन गृहसचिव पाण्डे, पूर्वमन्त्री खाँणलाई जोगाउन लागेका थिए । २० वैशाखमा पक्राउ परेका उनले पूर्वमन्त्री खाँणलाई जोगाउन प्रधानमन्त्रीसम्म दबाव दिनुपर्ने भन्दै लिखित सूचना समेत पठाएका थिए ।

खाँण पक्राउ परेपछि बरामद भएको एउटा सन्देशमा भनिएको छ, ‘नरेन्द्रजी, ओली र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरुलाई मात्र मुद्दा दायर गर्ने र थप आरोपित व्यक्तिहरुलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रुप लिन्छ । नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ ।’

अर्को लिखित सन्देशमा म्याद थप भएको एक साताको अवधिमा केशव दुलालको बयान सच्याउनुपर्ने भनिएको छ । ‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्छ । नभए मन्त्रीज्यूको समेत मुद्दा जान सक्छ,’ अदालतमा गएर इन्कारी बयान दिएर नहुने, पुन: बयानमा मन्त्रालयमा मन्त्री, सचिव र अन्य सबैको पनि लेनदेनको विषयमा कुनै कुराकानी नै भएको छैन भन्नुपर्ने भन्दै पाण्डेको सन्देशमा भनिएको छ, ‘एक हप्ता म्याद थप भएको छ । यही अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनुपर्छ ।’

प्रहरी स्रोतका अनुसार पक्राउ परेका बेलामा खाँणले एउटा लिखित सन्देशलाई च्यातेका थिए । तर प्रहरीले टुक्राटुक्री जोडजाड गरेर परीक्षण गराए, जसले दुबै लिखित सन्देश प्रहरी हिरासतमा रहेका पाण्डेकै लिखत भएको पुष्टि भएको छ ।

फेरियो बोली

पाण्डेले भनेजस्तै केशवको बयान भने फेरिएको छ । अभियोगपत्रमा समावेश भएको सुरुवाती बयानमा सानु र केशव दुबैले भुटानी शरणार्थी प्रकरणमै इन्कारी बयान दिएका छन् । थप बयानमा भने नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ककसलाई रकम बुझाएको भनेर नाम लिए ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला, छोरा प्रतीक, तत्कालीन गृहसचिव प्रेमकुमार राई, सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मोटो रकम नै बुझाएको उनको दाबी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य लगायतलाई पोलेका उनले पूर्वगृहमन्त्री खाँणको भने नाम नै लिएका छैनन् ।

बुधबार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा पेश गरेको अभियोगपत्रले खाँणलाई जोगाउन चलखेल भएपछि बयान फेरिएको प्रष्ट संकेत गरेको छ । प्रहरीका अनुसार खाँणले पाण्डेको सल्लाहअनुसार नै सानु भण्डारी र केशव दुलाललाई भेट्न कांग्रेसकै पूर्व सभासद आङटावा शेर्पालाई भेट्न पठाएका थिए ।

पहिला लिएको रकम फिर्ता गर्ने, तर बयानमा खाँणलाई पोल्न नहुने शर्तमा दुबै सहमत भएपछि आङटावाले खाँणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत एक करोड रुपैयाँ लिएका थिए । जसबाट ३० लाख रुपैयाँ सानुका दाजु राजु भण्डारीलाई दिएको घटना विवरण कागज र भरपाई कागजबाट खुलेको अभियोगपत्रमा उल्लेख छ ।

किन पक्राउ परे त खाँण ?

आईजीपीको भ्रमण रोक्नुका साथै सानु भण्डारी र केशव दुलालले बयान फेर्दा पनि खाँण पक्राउ परे । २७ वैशाखको विहान ९ बजेतिर उनको निवासमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी नेतृत्वको टोली पुगेको थियो । त्यसबाट झस्किएका खाँणले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई फोन गरे । त्यसपछि खड्काले प्रहरी प्रमुख कुँवरलाई फोन गरे ।

तर अनुसन्धान अधिकृतहरु यति चलाखीका साथ गएका थिए कि प्रहरी प्रमुख कुँवरलाई समेत खाँणको घरमा पुगेपछि मात्र पक्राउको सूचना दिइएको थियो । त्यसैले खाँण पक्राउ परे । किनकी यो प्रकरणमा उनी जोगिने अवस्थै थिएन ।

सरकारी वकिलले अदालत पेश गरेको अभियोगपत्र अनुसार भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्स्थापनाको कार्यक्रम पूर्ण रुपमा बन्द भइसकेको अवस्थामा तत्कालीन गृहमन्त्री खाँण र सचिव पाण्डेले नेपालीलाई भुटानी शरणार्थीका रुपमा दर्ता गर्न गृहका कर्मचारीलाई दबाव दिएका थिए ।

दबावअनुसार काम नगर्दा जिल्ला प्रशासन कार्यालय, झापाको शरणार्थी समन्वय अधिकृतका रुपमा कार्यरत आफूलाई सरुवा गरिदिएको कागज नासु सुरेन्द्र दाहालले गरेका छन् । बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको अवस्थामा खाँणले मन्त्रीस्तरीय निर्णयबाट पुनरावलोकन उपसमिति बनाएका थिए ।

केशव दुलालमार्फत १ करोड २४ लाख ५० हजार नगद बुझेपछि तत्कालीन गृहमन्त्री खाँणले कार्यादेश समेत थप गरी कार्यदलको म्याद थप गरेको पाइएको प्रहरीको दाबी छ । प्रहरी हिरासतमा रहेका तत्कालीन गृहसचिव पाण्डे र दुलालबीच भएका सम्वादहरुले समेत यो प्रकरणमा खाँणको संलग्नता खुलाउँछ । प्रहरीका अनुसार पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनसँग मिल्ने समानान्तर प्रतिवेदन तयार गरी नेपालीलाई भुटानी शरणार्थीको सूचीमा समावेश गर्ने कामसमेत खाँण गृहमन्त्री भएकै बेला भएको छ ।

त्यसैले प्रहरीको ठहर छ, तत्कालीन गृहमन्त्री खाँणले गृह सचिव पाण्डेका साथै दुलाल, केसी र आङटावा शेर्पालाई प्रत्यक्ष रुपमा परिचालन गरी संगठित ठगी, सरकारी कागजात कीर्ते, र राष्ट्रहित प्रतिकुल काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?