+
+

पशुपतिको जलहरीमा अल्झियो संसद

बैठक सञ्चालन गर्ने विषयमा शुक्रबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बेलुकी ८ बजेसम्म पटक–पटक सर्वदलीय बैठक बस्यो । सबै राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न, त्यसउपर संसद र सरकारले गर्नसक्ने कार्यका सम्बन्धमा उपाय खोजे, तर निचोड निस्किएन ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० जेठ १२ गते २१:५९

१२ जेठ, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो ।

त्यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने तय भएको थियो । तर न प्रधानमत्रीले जवाफ दिन पाए, न नीति कार्यक्रम नै पास भयो ।

पशुपतिनाथको जलहरीलाई लिएर सत्तारुढ माओवादी केन्द्रका एक सांसदले दिएको अभिव्यक्तिलाई लिएर गलफत्ति भयो र सांसदहरु ७ घन्टाबढी कुरेर फर्किएका छन् ।

नेताहरुका अनुसार बिहान ११ बजे बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेको कार्यकक्षमा सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरु उपस्थित भए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले १० गतेको बैठकमा दल नेता केपी शर्मा ओलीबारे गरेको टिप्पणीलाई लिएर आपत्ति जनायो ।

नेताहरुका अनुसार दाहालले के भनेका थिए भनेर त्यही भिडिओ रेकर्ड सुन्ने भयो । माओवादी केन्द्रका सांसद दाहालले नीति तथा कार्यक्रमको बचाउ मात्र गरेका थिएनन्, पूर्वप्रधामन्त्री ओलीको चर्को आलोचना गरेका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार । त्यति मात्रै होइन, पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु । यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’

माओवादी सांसद दाहालको यस भनाइप्रति माफी नमागेसम्म संसद बैठक चल्न नदिने अडान एमालेले राख्यो । कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले पशुपतिको जलहरीको विषय मात्रै नभएर अन्य धेरै भ्रष्टाचार भएको भनिएका विषयहरु उठाएका कारण ध्यानाकर्षण गराउने हदसम्म उचित हुने सुझाए । संसद सचिवालयका अधिकारीहरुका अनुसार सबै दलले आ–आफ्ना कुरा राख्ने र बैठक नियमित कार्यसूचीमा अगाडि बढाउने सहमति भयो ।

बैठक अघिको सहमति उल्टियो !

सहमतिपछि निर्धारित समयभन्दा सवा घण्टा ढिलो अर्थात सवा १२ बजे प्रतिनिधिसभाको सुरु भयो । बैठक सुरु हुनासाथ एमाले सांसदहरु आ–आफ्नो स्थानबाट उठे । सभामुख घिमिरेसँग समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षी दलको संसदीय दलको नेता केपी ओलीमाथि भ्रष्टाचारको आरोप लगाउने सांसदले माफी माग्नुपर्ने अन्यथा सदन चल्न नदिने बताए ।

सभामुखले ध्यानाकर्षण भएको र सरकारले यसबारे जवाफ दिने भन्दै बस्न आग्रह गरे । तर एमाले सांसदहरु मानेनन् । त्यसपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बोल्न समय दिए । उनले प्रमुख विपक्षी दल, आफ्नो नेतामथि लागेको यति गम्भीर आरोप बोकेर हिड्ँन नसक्ने बताए ।

सत्तापक्षले भनेपछि आम मानिसमा होला भन्ने पर्ने भन्दै उनले अघि भने, ‘यो आरोप टाउकोमा हामी कसरी प्रक्रियामा भाग लिन सक्छौं ? दुधको दुध होस्, पानीको पानी होस् । सुनको जलाहरी होइन भने प्रमाणत गरियोस् । कारबाही गरियोस् ।’

सभामुख देवराज घिमिरेले ‘संसदमा प्रश्न उठिसकेका कारण विधि अनुसार प्रष्ट पार्न सकिने भन्दै संसदको कामकारबाही अगाडि बढाउनका लागि सहयोगका लागि आग्रह’ गरे । तर एमालेले मानेन । त्यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बोल्न समय मागे, सभामुख घिमिरेले दिन खोजे ।

एमाले सांसदहरुले भने त्यसको विरोध गरे । त्यसका बाबजुद बोलेका पाण्डेले सांसदमा बोल्न पाउने बताएपछि एमाले सांसदहरु हत्तपत्त वेल घेर्न पुगे । उनीहरुले गैरसंसदीय शब्द फिर्ता लिनुपर्ने, सांसद दाहालले माफी माग्नुपर्ने भन्दै नाराबाजी गरे । एमालेको अवरोधका कारण बैठक कार्यसूचीमै प्रवेश गर्न नसकेपछि सभामुख घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरे ।

स्थगित बैठक पुनः बस्नै सकेन । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले तीन पटक समय सारे । तय भएको समयको दुई घण्टाभित्र बैठक बस्न नसके स्वतः बैठक स्थगित हुने प्रावधानका कारण महासचिव गौतमले सुरूमा दिउँसो ३ बजे, त्यसपछि ६ बजे बैठक बस्ने गरी सूचना टाँस गरे । अनि करिब ८ बजे शनिबार दिउँसो ४ बजे गरी अर्को सूचना टाँस गरे ।

शीर्ष नेता हिँडे, सहमति जुटेन

प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विषयमा शुक्रबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बेलुकी ८ बजेसम्म पटक–पटक सर्वदलीय बैठक बस्यो ।

सबै राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न, त्यसउपर संसद र सरकारले गर्नसक्ने कार्यका सम्बन्धमा उपाय खोजे, तर निचोड निस्किएन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार संसद अवरुद्ध भएपछि ९ पटक सर्वदलीय बैठक बस्यो । कुनै पनि बैठकमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु सहभागी भएनन् ।

संसद बैठक स्थगित भएपछि प्रधानमन्त्री राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रम, मन्त्रिपरिषदको बैठकतिर गए । एमाले अध्यक्ष ओली पनि पार्टीका पूर्व निर्धारित कार्यक्रममा सहभागी भए । प्रचण्ड र ओली बेगर सभामुख घिमिरेको कार्यकक्षमा पटकपटक बसेको सर्वदलीय बैठक कुनै पनि निष्कर्षमा पुग्न सकेन ।

छलफलमा एउटै विषय आइरह्यो । एमालेले एउटै अडान राख्यो– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेका छैनन भनेर सरकारले भन्नुपर्छ । र ओलीले भ्रष्टाचार गरेको भनी आरोप लगाउने माओवादी सांसद दाहालले माफी माग्नुपर्छ । अन्यथा संसद चल्न दिइँदैन् ।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले उस्तै तर्क दोहोर्‍याइरहे– पशुपतिको जलहरीका सन्दर्भमा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर छानबिन भइराखेको छ । महालेखाको प्रतिवेदनले पनि केही प्रश्नहरु उठाएको छ । विचाराधीन विषय भएका कारण पशुपतिको जलहरीमा भ्रष्टाचार भएको छैन भनी सरकारले भन्न सक्दैन । संसदमा बोलेका कारण माफी माग्न लगाउने कानुनी व्यवस्था पनि छैन ।

बरु यो विषय संसदमा उठिसकेकाले संसदीय छानबिन समिति बनाउने प्रस्ताव माओवादीले राख्यो । तर एमाले नेताहरुले यो प्रस्तावलाई ठाडै अस्वीकार गरे ।

एमाले र माओवादी आ–आफ्नो अडानमा रहेपछि कांग्रेसले मध्यमार्गी प्रस्ताव राख्यो–पशुपतिको जलहरीबारे अख्तियरमा अनुसन्धान जारी रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली माथिको आरोप उचित नरहेको भन्ने ।

यसो गर्दा एमालेले लिँदै आएको अडान अनुसार माफी मागेको भान पर्न जाने र माओवादी केन्द्रले अनुसन्धान जारी रहेको विषयमा बोलियो भनेर कम्प्रमाइज गर्न सहज हुने कांग्रेसको तर्क छ । तर यसमा दुबै दल सहमत भएनन् ।

सांसदको ७ घण्टा ब्यर्थ

संसदमा भएका दलका प्रमुख सचेतक र सचेतकहरु कहिले सर्वदलीय त कहिले दुई पक्षीय छलफलहरुमा व्यस्त भए । अरु सांसदहरुसँग भने कतिबेला प्रतिनिधिसभाको बैठक सुरु होला भनेर कुरेर बसिरहे । बैठक सुरु हुने आशमा सांसदहरुले संसद भवन भित्र र बाहिर गरि गरि ७ घण्टा बिताए ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी भन्छन्, ‘हाइ काढियो, बसियो यस्तै त हो संसदीय खेल ।’

पहिलो पटक सांसद भएकाहरुको अनुभव भने फरक छ । ‘शीर्ष नेतृत्व भन्नेहरुमा यस्तो (इगो, आफैंले भनेको हुनुपर्ने हठ) हुने रहेछ’ एमाले सांसद सुनिता बराल भन्छिन्, ‘सरकारले विषय उठ्यो छानबिन गर्छुभन्दा हुन्थ्यो । प्रतिपक्षले सभाको बैठक अगाडि सभामुखको कार्यकक्षमा भएको छलफलमा बलियो गरी आफ्नो कुरा राख्न सक्थ्यो । हाम्रो कमजोरीका कारणले भएको क्षति भने समग्र मुलुकले बेहोर्नु पर्यो ।’

त्यसैले यस्तो संसदीय अभ्यास परिवर्तन गर्नुपर्ने उनलाई लाग्छ । नेताहरु हुनहुहुन्थ्यो, गफियो । तर त्योभन्दा महत्वपूर्ण कुरा संसदकै ७ घण्टा समय ब्यर्थ भयो’ सांसद बरालले अनलाइनखबरसँग भनिन्, ‘संसद भित्रको हाम्रो मोडालिटी परिमार्जन गर्नपर्छ भन्ने पहिले पनि लाग्थ्यो । त्यसको अनुभुत अझ भएको छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?