+
+
गणतन्त्र दिवस :

‘गणतन्त्रका लागि लड्नेहरुकै सोचमा राजतन्त्र देखियो’

जनक विष्ट जनक विष्ट
२०८० जेठ १५ गते १४:३२

१५ जेठ, धनगढी। धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलका प्रयागराज जोशी २०६२ सालमा कैलाली बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्दै थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन गरेको विरोधमा तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीले संयुक्त आन्दोलन घोषणा गरेका थिए। २२ वर्षका जोशी पनि अरु विद्यार्थीसँगै आन्दोलनमा सहभागी भए।

२४ चैत २०६२ मा सात दलले घोषणा गरेको आमहड्तालमा सहभागी भएका जोशी कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीको टोलीसँगै नारा जुलूस गर्दै जिल्ला प्रहरी कार्यालयबाहिर पुगे। प्रहरीले प्रदर्शनकारीमाथि लाठी हान्नुका साथै रबरको गोली चलायो।

‘म लगायतका साथीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले निर्ममतापूर्वक लाठीले पिटेको थियो। नीलडाम नभएको शरीरको कुनै ठाउँ नै थिएन। एउटा दाँत भाँचिएको थियो’ जोशीले सम्झिए, ‘कोहलपुर र काठमाडौंमा उपचार गराएपछि केही आराम मिल्यो तर शरीर दुःख्न अझै छाडेको छैन।’

जोशी आफूजस्तै हजारौं नेपालीको संघर्ष र योगदानका कारण लोकतन्त्र र गणतन्त्र स्थापना सम्भव भएको बताउँछन्। ‘एकातिर माओवादी विद्रोह, हत्या हिंसा, अशान्ति, अर्कोतिर निरंकुश राजतन्त्र र तत्कालीन सरकारको ज्यादतीले गाउँघरबाटै विस्थापित हुने अवस्था आएपछि हामी आन्दोलनमा लागेका थियौं’ उनले भने, ‘त्यही आन्दोलनको बलमा लोकतन्त्र पायौं यो अर्थमा खुसी लाग्छ ।’

तर उक्त आन्दोलनमा जे उद्देश्यले लागेको त्यसको अनुभूति नभएको जोशी बताउँछन्। लोकतन्त्र स्थापनाका लागि लडेका राजनीतिक दल र तिनका नेताहरुका कारण आम मानिसलाई अझै लोकतन्त्र आएको अनुभूति हुन नसकेको उनको भनाइ छ।

०००

कैलालीकै गौरीगंगा नगरपालिका-६ का लक्षीराम आचार्य २८ चैत २०६२ मा  भएको आन्दोलनमा प्रहरीको कुटपिटबाट गम्भीर घाइते भए। राष्ट्रिय जनमोर्चाका कार्यकर्ता उनी प्रहरी कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा  प्रहरीको कुटपिटबाट बेहोस भएका थिए।

भारतको लखनउमा आईसीयूमा राखेर उपचार गराएपछि उनी ७ दिनपछि होसमा आएका थिए। ‘७ दिनपछि होस खुल्यो। अहो कता आइएछ भन्ने लाग्यो’ उनी भन्छन्, ‘शरीरभरि नै नीलडाम थियो । टाउकोमा गम्भीर चोट लागेको थियो।’

राजतन्त्र फालेपछि जनताको शासन आउँछ भनेर आफू पनि अरु जस्तै आन्दोलनमा लागेको आचार्य बताउँछन्। गणतन्त्र स्थापना भए पनि व्यवहारमा अझै त्यसको अनुभूति नभएको उनको भनाइ छ।

‘जनताको शासन आउँछ भनेर हामी पनि आन्दोलनमा लागेका थियौं’, आचार्यले अनलाइनखबरसँग भने, ‘गणतन्त्र स्थापना त भयो तर व्यवहारमा आउन सकेको छैन।’

गणतन्त्र स्थापनाका लागि संघर्ष गरेकै मान्छेको सोच राजतन्त्रात्मक देखिएको आचार्यको विश्लेषण छ । राजनीतिक दलका नेतामा परिवर्तनसँगै नयाँ चेत नखुल्नु, राज्य संरचना पुरानै शैली र पात्रबाट नियन्त्रित हुनु पनि मुख्य समस्या रहेको लक्षीराम बताउँछन्।

‘जसले गणतन्त्रका लागि संघर्ष गर्‍यो उनीहरुको सोचमा पनि राजतन्त्र छ । सामन्तवादी परिपाटी नै देखिएको छ । त्यसको परिणाम लोकतन्त्रको अनुभूति गर्न सकिएको छैन’ आचार्यले भने, ‘राजनीतिक नेताहरुमा पनि परिवर्तनसँगको नयाँ चेत खुलेको छैन ।’

तर राजतन्त्र फाल्न भएको जनआन्दोलनभित्र लुकेका सपना साकार बनाउन अझै संघर्ष गर्नुपर्ने भन्दै आचार्य निराश हुन नहुने धारणा राख्छन् । ‘गणतन्त्र स्थापनाका लागि जुन सपना देखेर मान्छेले ज्यान गुमाए, अंगभंग भए र हामीले पनि बलिदान गर्न खोज्यौं, त्यो पूरा गर्नैपर्छ’ उनी भन्छन्, आन्दोलनमा सहभागी सबैले फेरि एक पटक आँधीबेहरी ल्याउन जरुरी छ ।’

व्यवस्था परिवर्तन गर्ने उद्देश्यले नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धमा सहभागी भएका कञ्चनपुर पुनर्वासका रामबहादुर देउकर लोकतन्त्र स्थापना भएकोमा खुसी छन् ।

जनआन्दोलन र सशस्त्र युद्धको जगमा लोकतन्त्र स्थापना भएपछि मुलुकमा समावेशिता, धर्मनिरपेक्षता, स्वतन्त्रता, आत्म निर्णयको अधिकार प्राप्त भएकोमा सबैले गर्व गर्नुपर्ने उनको भनाइ छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?