+
+

रत्न मन्दिरको गेट खुल्यो, भित्र बन्द

चर्को शुल्क तिरेर न रत्न मन्दिरभित्र हेर्न पाइन्छ, न चौरमा सुस्ताउन !

अमृत सुवेदी अमृत सुवेदी
२०८० जेठ १६ गते ७:४०

१६ जेठ, पोखरा । पर्यटनमन्त्री सुदन किराँतीले सोमबार १६औं गणतन्त्र दिवसको उपलक्ष्यमा सबै नेपाली जनताको निम्ति उपहारस्वरूप रत्न मन्दिर खुला गरे । तर, खुला भएको रत्न मन्दिरमा जनता चर्को शुल्क तिरेर केवल गेटभित्र मात्र प्रवेश गर्न पाउने भएका छन् । पर्यटकले भित्र प्रवेश गरेर न राजसंस्थासँग जोडिएको ऐतिहासिक वस्तु हेर्न पाउने छन् न चउरमा बसेर सुस्ताउन ।

रत्न मन्दिरको परिसर पुग्नका लागि मात्र नेपालीले १०० रुपैयाँ र विदेशीले १००० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । शुल्क तिरेर पनि पर्यटकले रत्न मन्दिरभित्र तत्कालीन राजारानीले प्रयोग गर्ने सामग्री, शयन कोठा र चोटा-कोठा अवलोकन गर्न नपाउने भएका हुन् ।

रत्न मन्दिरलाई म बनाएर फोटो खिच्न र परिसर घुमेर र्फकन मात्र पनि पर्यटकले महँगो शुल्क तिर्नुपर्नेछ । १७४ रोपनी क्षेत्रफलमा फैलिएको विशाल क्षेत्रफलमध्ये रत्न मन्दिर दरबार परिसरको २८ रोपनी क्षेत्रफलभित्र मात्र नागरिकको पहुँच हुनेछ ।

शुल्क तिरेका पर्यटकले पनि तत्कालीन राजासँग जोडिएको इतिहासबारे न जानकारी पाउने छन् न त अवलोकन गर्न नै । तत्कालीन राजाका निम्ति सांगीतिक तथा साहित्यिक कार्यक्रम हुने ठाउँ, खेल मैदान, कार्यक्रम मञ्च लगायत फेवा किनारको ठूलो क्षेत्रफलमा नागरिकले प्रवेश गर्न पाउने छैनन् ।

मुख्य भवनमा ११ कोठा छन् । सँगै प्रशासनिक भवन, फेवामै जोडिएको ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । खुला गरिएको भनिएको भवनको ती सबै कोठा नागरिकका लागि बन्द नै छन् ।

तत्कालीन राजारानीले सुत्ने, आराम गर्ने, सांगीतिक कार्यक्रम गर्ने, तास खेल्ने, खाना खाने लगायत कोठाहरू नागरिकले हेर्न पनि नपाएपछि अझै रहस्यमै रहने भएका छन् ।

शुल्क तिरेर पुग्ने पर्यटकले रत्न मन्दिर बाहिर हेरेर र फोटो खिचेर मात्र चित्त बुझाउनुपर्नेछ । किनकि त्यहाँ पुग्ने पर्यटकलाई रत्न मन्दिर र त्यहाँको महत्व बुझाउन कुनै गाइड वा प्रदर्शकको व्यवस्था पनि नगरेको नेपाल ट्रष्टका प्रवक्ता दीपकराज नेपाल बताउँछन् ।

नेपाली विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिले ५०, नेपाली नागरिकले १०० र विदेशीले १००० रुपैयाँ तिरेर पनि न सुस्ताउन पाउने भए न त्यहाँको ऐतिहासिक महत्व बोकेका ठाउँ र सामग्री नै हेर्न पाउने भए । गणतन्त्र दिवसमै खुल्ला गर्ने नाउँमा आन्तरिक तयारी पूरा नगरी हतारमा रत्न मन्दिर खुलाइएको कर्मचारीहरूकै गुनासो छ ।

‘दरबारको अघि उभिएर फोटो खिच्नकै लागि मात्र नेपालीले १०० र विदेशीले १००० रुपैयाँ तोक्नु चर्को असुली हो’ पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले भने, ‘यससँग जोडिएको ऐतिहासिकता जानकारी दिने संयन्त्र छैन, जनताको आँखामा छारो हाल्ने भन्दा पनि व्यवस्थित रूपमा खोल्नुपर्छ ।’

रत्न मन्दिर परिसरमा नागरिकको भीड ।

गणतन्त्र स्थापना भएको १५ वर्षपछि भने पनि रत्न मन्दिर खुल्नुलाई पोखरेलीले सकारात्मक मानेका छन् । तर, रत्न मन्दिर जनताका लागि इतिहास थाहा पाउने र रमाउने थलोभन्दा पनि व्यापारका लागि खुलाइएको जस्तो मात्रै देखिएको भन्दै कतिपयले आक्रोश पोखेका छन् ।

गत चैत २५ गते रत्न मन्दिर भ्रमण गरेपछि पर्यटनमन्त्री किराँतीले नयाँ वर्षको अवसरमा खुलाउने बताएका थिए । रत्न मन्दिर खुलाउनकै लागि भनेर मूल भवन मर्मत गर्न, शौचालय निर्माण र अन्य तयारीका लागि भन्दै २० लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर, रत्न मन्दिर मर्मत नगरेर उक्त रकम टिकट घर, अनलाइन टिकट लगायत शीर्षकमा खर्च गरिएको ट्रष्टकै कर्मचारीहरू बताउँछन् ।

‘रत्न मन्दिर मर्मतका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन भए पनि विस्तृत अध्ययन हुनसकेको छैन र हामीसँग ठूलो बजेट पनि भएन’ नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यले भने, ‘गणतन्त्र दिवसमा खुलाइहाल्ने अरू तयारी विस्तारै गर्दै जाने भनेका छौं ।’

ट्रष्टले रत्न मन्दिरलाई संग्रहालयका रूपमा खुला गरेको हो । चौर र बाहिरबाट भवन देखाएर संग्रहालय नहुने पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् ।

ट्रष्टले रत्न मन्दिर संग्रहालय परिसर सञ्चालन तथा अवलोकन शुल्क निर्धारण सम्बन्धी कार्यविधि बनाएको छ । जसअनुसार प्रत्येक घन्टाको एक स्लट मानी सोही अनुसार हरेक घण्टाका लागि तोकिएको संख्यामा टिकट बिक्री-वितरणको व्यवस्था गर्ने बताइएको छ ।

यसरी प्रत्येक घन्टा शुल्क बढ्दै जाने व्यवस्था गरिए पनि पर्यटकका लागि आवश्यक जानकारी लिने, सुस्ताउने वा रमाउने कुनै पनि व्यवस्था रत्न मन्दिरमा गरिएको छैन । रत्न मन्दिर परिसरमा वृत्तचित्र तथा भिडियोग्राफी बापत प्रतिघन्टा ५ हजार र व्यावसायिक भिडियोग्राफीका लागि प्रतिघन्टा १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

गणतन्त्र स्थापनासँगै खुला भएको नारायणहिटी राजदरबार संग्रहालयमा विद्यार्थीले ५०, अन्य नेपालीका लागि २००, सार्क तथा चिनियाँ नागरिकका लागि ५०० र अन्य विदेशी पर्यटकका लागि १००० शुल्क तोकेको छ । यो कार्यविधि सोमबारबाटै लागू हुने भनिएको छ । तर, रत्न मन्दिरमा नारायणहिटीमा जस्तो ऐतिहासिक सामग्री तथा दरबारका चोटा-कोठा पर्यटकले हेर्न नपाउने भएका छन् ।

यसबाट कतै नाफाका लागि रत्न मन्दिर व्यापारीकरण हुने त होइन भन्ने आशंका बढेको छ । ‘कुनै पनि हालतमा यो व्यापारीकरण गर्ने काम नहोस्, सम्पदालाई भाडामा लगाउने, ठेक्का दिने काम नहोस्, गुरुयोजना बनाएर यसको व्यवस्थापन होस्’ नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले भने ।

रत्न मन्दिरको अग्रभाग ।

 

रत्न मन्दिर खुला हुनु सकारात्मक भए पनि नाफाका लागि भाडामा निजी क्षेत्रलाई दिइने हो कि भन्ने आशंका व्यक्त गर्छन् स्थानीय रणवीर कुँवर । ‘रत्न मन्दिर नाफाका लागि व्यापारीलाई सुम्पिने काम हुन्छ कि भन्ने आशंका छ’, कुँवरले भने ।

अहिले रहेकै संरचनालाई जोगाएर धेरैभन्दा धेरै नागरिक र पर्यटकले जानकारी पाउने गरी यसको व्यवस्थापन हुनेपर्ने उनको भनाइ थियो ।

रत्न मन्दिरलाई संग्रहालय र बोटानिकल गार्डेनका रूपमा खुलै राख्नुपर्ने पर्यटन व्यवसायी जीवन सापकोटाले बताए । रत्न मन्दिर खोल्न लागिपरेका नागरिक अगुवा विष्णुहरि अधिकारीले यसअघि यती समूहलाई भाडामा दिन खोज्दा आन्दोलन गरेर जोगाएर स्मरण गरे ।

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले रत्न मन्दिरको जग्गा यती समूहलाई दिन सूचना निकालिएपछि पोखरामा नागरिक समाजले आन्दोलन गरेको थियो । चौतर्फी विरोध भएपछि सरकार पछि हटेर जोगिएको रत्न मन्दिर जनताको पहुँचमै रहनुपर्नेमा उनको जोड छ ।

पर्यटनमन्त्री किराँती भने खुल्ला रत्न मन्दिरले पर्यटकलाई कम्तीमा आधा दिन अल्मलाउने बताउँछन् । रत्न मन्दिरको सम्पत्तिलाई हिमा गृहसम्म जोडेर सुन्दर पर्यटकीय स्थल बनाउने योजना रहेको किराँतीले सुनाए । रत्न मन्दिर देश र पोखरेली जनताको हितमा अधिकतम प्रयोग गर्नेमा आफ्नो ध्यान केन्द्रित भएको उनी बताउँछन् ।

२०१५ सालमै राजा महेन्द्रले रानी रत्नको नाममा बनाएको दरबार उनको परिवार हुँदै राजा वीरेन्द्र र ज्ञानेन्द्रसम्मको रोजाइमा पर्‍यो । त्यतिबेला भारतदेखि बेतका खाट, कुर्सी, टेबल ल्याएर कोठा तयार गरिएको थियो । अहिले पनि रत्न मन्दिरमा राजाकालीन समय झल्काउने थुप्रै सामग्री छन् । त्यसलाई लुकाएरै राख्ने कि पर्यटकलाई यसको महत्व बताउँदै थप पर्यटक तान्ने तयारी थाल्ने ? आम नागरिकले नेपाल ट्रष्ट र तीनै तहका सरकारतिर प्रश्न तेर्स्याइरहेका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?