+
+
विचार :

प्रधानमन्त्रीको भारत भ्रमण : केही ज्वलन्त प्रश्न

असमान, अपमानजनक, हेपाहा र निहुँखोजाहा भारतीय व्यवहारका विपक्षमा स्वाभिमानका साथ शिर ठाडो पारेर कुरा उठाउन सक्नुहोला तपाइँले ? विगतदेखिका आफ्ना कतिपय मान्यता र सम्बन्धका कारणले तपाइँले यसो गर्न सक्नुहोला र ?

ईश्वर पोखरेल ईश्वर पोखरेल
२०८० जेठ १७ गते १५:१८

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको प्रधानमन्त्रीका हैसियतले विगतमा पनि भारतको भ्रमण गरिसक्नुभएको हो। अहिले पुनः त्यही हैसियतमा भ्रमण गर्दै हुनुहुन्छ । सबैले थाहा पाइसकेका छन्-यसपटक भारतको भ्रमण गर्ने अवसर प्राप्त गर्न निकै अनुनय/विनय गर्नुपर्‍यो। धेरै किसिमका आन्तरिक चाँजोपाँजो मिलाएर यो ‘अवसर’ प्राप्त भएको भन्ने सार्वजनिक टिप्पणी भइरहेका छन्।

विगतको उहाँको भ्रमण र त्यसबेला उहाँले दिनुभएका राष्ट्रहित विपरीतका अभिव्यक्तिलाई सम्झना गर्दै यसपटक उहाँको भ्रमणका विषयमा भइरहेका सार्वजनिक टिप्पणीलाई बुझ्नु आवश्यक छ। यसपटकको भ्रमणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निम्न महत्वपूर्ण विषय उठाउन र मुलुकको हितमा निष्कर्षमा पुर्‍याउन सक्नुहुन्छ कि सक्नुहुन्न, देशवासीले प्रतीक्षा गरिरहेका छन् ।

१. आफूले विगतमा बाटो बिराएर जंगलमा हराएको तर अहिले सही बाटोको खोजीमा ठीक विन्दुमा आइपुगेको, दिनभरि बाटो बिराएर रात घर पुगेकालाई बाटो बिराएको भन्न सकिन्न । दिल्ली सही बाटोका लागि ऐतिहासिक स्थल बनेको घोषणा गर्नुभएको थियो ! यद्यपि यसपटक पनि तपाइँ प्रधानमन्त्री बन्ने पृष्ठभूमि त्यस्तै छ, तर पनि तपाइँले आफूलाई त्यसरी प्रस्तुत गर्नुहुन्छ कि गर्नुहुन्न– सबैले हेरिरहेका छन् ।

२. विगत भ्रमणका बेला तपाइँले आफ्ना निकटतम पूर्ववर्ती (अर्थात् केपी ओली) ले नेपालमाथि भारतद्वारा लगाइएको नाकाबन्दीको विरोध गरेका कारण ‘नेपाल भारत सम्बन्धलाई असामान्य र असन्तुलित बनाएको’ र आफूले ‘सन्तुलनमा ल्याउने’ उद्घोष गर्नुभएको थियो । यसो गरेर ‘भारतले नेपालमाथि लगाएको अन्यायपूर्ण नाकाबन्दीको विरोध गरेर केपी ओलीले गलत गरे’ भन्ने निष्कर्ष भारतीय समकक्षी (हरू) लाई सुनाउनुभएको थियो ।

पछि नेपालको अतिक्रमित भूमि-कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गराउन गरेको प्रयत्नलाई (जुन राष्ट्रिय संकल्पका रूपमा प्रकट गरिएको थियो) तर्फ घृणित ढंगले संकेत गर्दै ‘नेपाल-भारत सम्बन्धलाई असामान्य र असन्तुलित बनाएको’ आरोप लगाउनुभएको थियो । त्यसैबेला तपाइँका त्यस्ता अभिव्यक्तिलाई देशभक्त र स्वाभिमानी नेपालीहरूले ‘निर्लज्जताको पराकाष्ठा’ भनेका थिए ।

अहिले तिनै अभिव्यक्ति र आशयलाई निरन्तरता दिने र अझ हालै आएर भारतको संघीय संसद भवनमा टाँसिएको ‘भारतको आधिकारिक नक्सा’मा नेपाली भूभाग- लुम्बिनी, कपिलवस्तु लगायत क्षेत्रलाई आफ्नो भूभाग भनी समावेश गरिएकोमा केही नभए झैं गरी निर्लज्जताको पराकाष्ठा प्रदर्शन गर्नुहुन्न भन्ने कुराको के ग्यारेन्टी ? त्यही नक्सा तल बसेर हाँसेर फोटो खिचाउने अनि देशभित्र आएर दश थरी कुतर्क गर्ने धृष्टता नगर्नुहोला ।

३. अघिल्लो भ्रमणका बेला पुष्पकमल दाहालले नेपालले आफ्नो संविधान आफ्नै जनताले निर्वाचित गरेका ९२ प्रतिशत प्रतिनिधिहरूले जारी गरेको कुरामा ‘नाखुशी’ र विरोध समेत गर्दै आएको भारतसित स्वरमा स्वर मिलाउनुभएको थियो । र, ‘छिट्टै संविधानको संशोधन गरिने’ कुरामा सहमति गर्नुभएको थियो ।

सन् १९५० (२००७ साल) ताका नेपालका प्रधानमन्त्रीसित भारतीय राजदूतले संयुक्त रूपमा हस्ताक्षर गरेर नेपालको भाग्य र भविष्यको फैसला गर्थे । यसअघि भारत र पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘सबैलाई समेट्ने गरी संविधान संशोधन गर्नेछौं’ भनेर संयुक्त हस्ताक्षर गरेको थियो ।

‘संविधानको सर्वस्वीकार्यता’ को पाखण्डी र संविधान निर्माणको नीतिगत र सैद्धान्तिक प्रक्रिया र आधार विपरीतका तर्कहरूका सहारामा त्यसबेला तपाइँ हस्ताक्षर गर्न समेत पछि पर्नुभएन । यसपटक पनि त्यस्तै केही गर्नुहुन्छ कि भन्ने मानिसहरूलाई आशंका छ ।

ईश्वर पोखरेल

४. विगत ऐतिहासिक-राजनीतिकहरूले पृथक् कालखण्डमा भारतसित गरिएको १९५० को असमान र अपमानजनक सन्धिलाई पुनरावलोकन र अद्यावधिक गर्ने विषयमा त्यसबेला एक शब्द बोलिएन- बोल्न सक्नुभएन ! त्यसबेला भारतको अरुचिलाई पुष्पकमल दाहालजीले ‘सम्मान’ गर्न पुग्नुभएको थियो ।

नेपालको स्वतन्त्रता, स्वाधीनता, नेपालले स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने अधिकारलाई कुण्ठित बनाउने हिसाबले संविधान जारी भएको विषयमा बोल्ने तपाइँले त्यसबेला ‘चुँ’ समेत गर्नुभएन । यसपटक त केपी ओलीको नेतृत्वमा सरकार भएको बेला दुवै देशका सरकारद्वारा सहमतिमा गठन गरिएको ‘ईपीजी’ (विज्ञ समूह) ले सहमतिका साथ तयार पारेको रिपोर्ट बेवास्ता भइरहेका बारेमा– भारतसित केही बोल्नुहुन्छ कि बोल्नुहुन्न ?

त्यो प्रतिवेदनलाई दुवै देशका सरकारहरूले स्वीकार गरेर कार्यान्वयन गर्न थाल्नु भनेको सम्बन्धमा रहेको असमानतालाई समानतातर्फ लैजानका लागि सकारात्मक पहलको ढोका खोल्नु हो । यसमा तपाइँ के गर्नुहुन्छ- यतिबेला तपाइँ र तपाइँको भ्रमणसित गाँसिएको महत्वपूर्ण विषय हो ।

५. नेपालले उत्पादन गरेको विद्युत् अन्य मुलुकमा बिक्री गर्न पाउनुपर्ने तर छिमेकी मुलुकसित सार्थक र प्रभावकारी वार्ता हुन नसकिरहेको र भारतीय पक्षको असहयोगी र भेदभावपूर्ण व्यवहारका कारण नेपालले आफूले उत्पादन गरेको विद्युत् निर्यात गर्न सकिरहेको छैन। असमान, अपमानजनक, हेपाहा र निहुँखोजा भारतीय व्यवहारका बारेमा स्वाभिमानका साथ शिर ठाडो पारेर कुरा उठाउनुहोला तपाइँले ? विगतदेखिका आफ्ना कतिपय मान्यता र सम्बन्धका कारणले यसो गर्न सक्नुहोला र पुष्पकमल दाहालजी ?

(६) छिमेकी मित्र भारतले सहयोगस्वरुप निर्माण गर्न प्रतिबद्धता व्यक्त गरेको वर्षौं वर्ष वितिसक्दा पनि निर्माण हुन नसकेका, अधूरा÷अपुरा योजनाहरू पूरा गर्ने सम्बन्धमा योजनाबद्ध समयसीमाभित्र पूरा गरिसक्नुपर्ने, ओगटेर मात्र राख्न नपाइने बारेमा कुरा उठाउन सक्नुहोला ? समय सीमा तोकेर सहमति गर्नुको सट्टा गोश्वारा प्रतिबद्धता मात्र व्यक्त गरिएको विज्ञप्ति हेर्ने/पढ्ने पक्षमा छैनन् नेपाली जनता !

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जी ! तपाइँको निधारमा राष्ट्रघातको कालो टीका नलागोस् भनेर अब तपाइँ के गर्नुहुन्छ -तपाइँकै हातमा छ ! जो मर्जी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?