+
+

गाउँमा पुगे शहरका फोहोर 

किसान भन्छन्– अन्नबालीमा रोग लाग्यो, गाईवस्तु बिरामी भए

शहर क्षेत्रमा हरेक दिन फोहोर उठाइरहँदा गाउँमा थुप्रिएको फोहोर व्यवस्थापनमा भने पालिकाले वास्ता गरेका छैनन् । सड्ने गल्ने फोहोर खेतबारीमै मिले पनि नकुहिने प्लास्टिक र सिसाजन्य फोहोरले गाउँको सुन्दरता बिगारेका छन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० जेठ १८ गते १९:४७

१८ जेठ, दाङ । दाङको बजार क्षेत्रबाट निस्कने फोहोरले गाउँलाई समेत प्रदूषित बनाइरहेको छन् । जिल्लाको प्रमुख बजार क्षेत्र घोराही, तुलसीपुर र लमहीबाट निस्कने फोहोरहरु खोला, कुला हुँदै खेतबारीसम्म पुगेर थुप्रिने गरेपछि स्थानीय चिन्तित छन् । शहरको फोहोर गाउँसम्म पुग्दा अन्नबालीमा रोग लागेको र गाईवस्तु बिरामी भएको गुनासो स्थानीयको छ ।

घोराही उपमहानगरले बजार क्षेत्रमा हरेक दिन फोहोर संकलन गर्छ । तर कतिपयले कटुवा खोलामै फोहोर फाल्ने गर्छन् । तिनै फोहोर बग्दै गाउँको खेतबारीसम्म आइपुग्ने घोराही–१६ वयरबटुवाका किसान हरिराम चौधरी बताउँछन् । ‘बजारका फोहोर जति बगेर गाउँमा आइपुग्छ,’ चौधरी भन्छन्, ‘खेतबारीमा प्लाष्टिक र सिसाका फोहोरहरु थुप्रिएका छन् ।’ त्यो फोहोरले बालीनालीमा असर गरिरहेको उनले बताए ।

घोराही उपमहनगरपालिका–६ फचकपुरका मणिराम बुढाथोकी फोहोरकै कारण गाईवस्तु पनि बिरामी हुन थालेको बताउँछन् । ‘पहिले–पहिले खोलाका पानी गाईवस्तुलाई खुवाउन र सिंचाइ गर्न हुन्थ्यो,’ बुढाथोकी भन्छन्, ‘बजारका फोहोरले खोला जति सबै दूषित भइसके । त्यही दूषित पानी पिउँदा गाईवस्तु बिरामी पर्न थाले ।’ खोला र कुलाका दूषित पानीले सिंचाइ गर्दा अन्नबालीमा नयाँ रोगहरु देखा पर्ने र उत्पादन समेत घट्ने गरेको उनी बताउँछन् ।

गाउँघरका कुला, खोल्सामा फोहोर थुप्रिन थालेपछि गाउँको सुन्दरता हराउँदै गएको चिन्ता स्थानीयलाई छ । तुलसीपुर उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका माधव पौडेल पनि शहरवासीले खोलामा फालेका फोहोरले गाउँसम्म प्रदूषण फैलिरहेको बताउँछन् । शहरवासीलाई सजग गराउँदागराउँदै पनि खोला, कुलाहरुमा फोहोर फाल्ने क्रम नारेकिएको उनी बताउँछन् । ‘जथाभावी फालेका फोहारहरु गाउँसम्म पुगिरहेका छन्,’ उनी भन्छन्, ‘यसले शहरमात्रै हैन, गाउँवस्तीमा समेत फोहोरमैला बढीरहेको छ ।’

पालिकाहरुले जथाभावी फोहोर फाल्नेलाई दुई सयदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था समेत गरेका छन् । ‘तैपनि फोहोर फाल्नेक्रम रोकिएको छैन,’ पौडेल भन्छन् ।

उठ्दैनन् गाउँका फोहोर

घोराही, तुलसीपुर र लमही दाङ जिल्लाका प्रमुख बजार क्षेत्र हुन् । घोराही उपमहानगरपालिकामा २०, तुलसीपुर उपमहानगरपालिकामा २५ र लमही नगरपालिकामा ६ टन गरी जिल्लामा दैनिक ५१ टन फोहोर संकलन हुँदै आएको छ । फोहोर संकलन गर्न घोराहीले १०, तुलसीपुरले ६ र लमहीले ४ वटा गाडीहरु प्रयोग गर्ने गरेका छन् । बजारबाट संकलन गरिएका फोहोर पालिकाहरुले ल्याण्डफिल्ड साइटमा व्यवस्थापन गर्दै आएका छन् ।

तर ग्रामिण क्षेत्रको फोहोर व्यवस्थापनमा भने पालिकाहरुले वास्ता गरेका छैनन् । शहर क्षेत्रमा हरेक दिन फोहोर उठाइरहँदा गाउँमा थुप्रिएको फोहोर भने उठाउने गरिएको छैन । सड्ने गल्ने फोहोर खेतबारीमै मिले पनि नकुहिने प्लास्टिक र सिसाजन्य फोहोर भने गाउँमै अलपत्र देखिन्छन् ।

लमही नगरपालिका वन वातावरण तथा विपत व्यवस्थापन शाखाकी प्रमुख गायत्री थापा धेरै फोहोर बजारमै उठ्ने भएकाले बजार क्षेत्रमा बढी केन्द्रित भएको बताउँछिन् । उनले बजारसँगै जोडिएका केही भेगमा फोहोर उठाउने काम भए पनि सबैतिर उठाउन नसकेको बताइन् । ‘फोहोरमैलाहरु शहरमै बढी निस्कने भएकाले बजार क्षेत्रमै बढी जोड दिन्छौं,’ उनले भनिन्, ‘सबै ठाउँमा फोहोर भएको हामीलाई थाहा पनि हुँदैन । त्यस्तो सूचना आए गाडी पठाएर फोहोर उठाउँछौं ।’ उनले यसका लागि टोल विकास संस्थाहरुसँग पनि समन्वय गरिरहेको बताइन् ।

फोहोर किन्ने घोराहीको योजना

घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी शहर बजारका फोहोरको मुहान भएकाले सबैभन्दा पहिले मुहानमै सफा गर्न जोड दिने बताउँछन् । ‘शहरका खोला प्रदूषित हुँदा फोहोर गाउँसम्म पुगिरहेको छ,’ उनले भने, ‘सुरुमा हामी मुहान सफा गर्छाैं र गाउँमा पनि सरसफाइ अभियान चलाउँछौं ।’

फोहोरलाई व्यवस्थापन गर्न उपमहानगरले आउँदो वर्षदेखि स्थानीयबाट फोहोर खरिद गर्ने योजना बनाएको सुनाए । ‘गल्ने र नलग्ने फोहोर छुट्याउन लगाएर गाउँ र टोलहरुबाट फोहोर खरिद गर्छाैं,’ उनले भने, ‘यसले स्थानीय पनि लाभान्वित हुन्छन्, फोहोर पनि व्यवस्थापन हुन्छ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?