+
+

नेपालमा व्यक्तिगत आयकर दक्षिण एशियामै धेरै

सरकारले ५० लाखभन्दा बढी वार्षिक आय (मासिक ४ लाख १६ हजार तलब) हुने व्यक्तिलाई आयकरको सरचार्जलाई ३० प्रतिशत पुर्‍याएको छ । त्यसअनुसार अब ५० लाखमाथिको आयमा ३९ प्रतिशत आयकर लाग्ने भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० जेठ २१ गते ६:३१

२१ जेठ, काठमाडौं । कामकाजी नागरिकले पारिश्रमिक आयमा तिर्नुपर्ने आयकर नेपालमा यसअघि नै दक्षिणएशियामै धेरै थियो । आगामी आर्थिक वर्षको बजेटबाट सरकारले त्यसमा पुनः थप गरेको छ ।

यसअघि आयकरको अधिकतम दर ३० प्रतिशत र २० लाखभन्दा बढी आय भएकालाई थप २० प्रतिशत सरचार्ज लाग्दै आएको थियो । यसरी कुल ३६ प्रतिशत आयकर लाग्दै आएको थियो ।

सरकारले ५० लाखभन्दा बढी वार्षिक आय (मासिक ४ लाख १६ हजार तलब) हुने व्यक्तिलाई आयकरको सरचार्जलाई ३० प्रतिशत पुर्‍याएको छ । त्यसअनुसार अब ५० लाखमाथिको आयमा ३९ प्रतिशत आयकर लाग्ने भएको छ ।

यसै पनि दक्षिणएशियामै सबैभन्दा उच्च आयकर लाग्ने गरेकोमा त्यसमा पुनः थप्नु न्यायोचित नभएको एक चार्टर्ड एकाउन्टेन्टले बताए । ‘बजेटले अर्को पनि त्रुटि गरेको छ । तल्लो आय वर्गका करदातालाई राहत दिएर माथिल्लोलाई थपिएको भए ठीकै छ भन्न सकिन्थ्यो । तर, सरकारले उच्च आयवर्गकालाई थप भार पार्ने काम मात्रै गर्‍यो,’ उनी भन्छन् ।

नेपालका छिमेकी मुलुकहरूबीच तुलना गर्दा नेपालमा व्यक्तिगत आयकर सबैभन्दा उच्च लाग्ने गरेको छ । भारतमा आयकरको सबैभन्दा उच्च दर ३० प्रतिशत छ, जुन १५ लाख भारुभन्दा बढीको आयमा लाग्ने गर्छ ।

त्यस्तै, बंगलादेशमा सबैभन्दा उच्च दर २५ प्रतिशत छ । १६ लाख टाकाभन्दा बढी आम्दानी गर्ने नागरिकले त्यहाँ २५ प्रतिशत आयकर तिर्नुपर्छ ।

श्रीलंकामा अधिकतम आयकरको दर २४ प्रतिशतसम्म छ भने माल्दिभ्समा त झन् १५ प्रतिशत मात्रै छ । ‘नेपालमा जीवनयापन अत्यन्तै महँगो रहेको सन्दर्भमा कर थप गर्दा अन्याय भएको छ’, उच्च आयवर्गमा पर्ने एक कर्मचारीले बताए ।

२० लाखभन्दा बढी आय हुने करदाता ६५ हजार

चालु आर्थिक वर्षसम्म ३६ प्रतिशत आयकर तिरिरहेका २० लाखभन्दा बढी वार्षिक आय भएका करदाताको संख्या ६५ हजार रहेको आन्तरिक राजस्व विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ सम्म त्यस्ता ठूला करदाताको यो संख्या रहेको हो । ‘यो अघिल्लो आवसम्मको तथ्यांक हो’ उनले भने, ‘चालु आवसम्म यही हाराहारीमा करदाता रहने अनुमान गर्न सकिन्छ ।’

यस्ता ठूला करदाताबाट यस आवमा चालु आर्थिक वर्षमा मात्रै १५ अर्ब रुपैयाँ आयकर उठेको विभागका प्रवक्ता राजुराज प्याकुरेलले जानकारी दिए ।

नयाँ दर अनुसार ५० लाखभन्दा माथि आयकर बुझाउने करदाताको संख्या भने अहिले नै यकिन गर्न नसकिने उनले बताए । ‘गत वर्ष ५० लाख आय भएको करदाताको आय यो वर्ष घटेर १० लाखमा सीमित हुन पनि सक्छ’ उनले भने, ‘सोही कारण हरेक वर्ष आउने आय विवरणका आधारमा मात्र करदाता संख्या यकिन गर्न सकिन्छ ।’

 व्यक्तिगत आयकरबाट करिब एक खर्ब उठ्छ राजस्व

आव २०७८/७९ मा सरकारले आयकरबाट २ खर्ब ६० अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यसमध्ये संस्थागत आयकर १ खर्ब २१ अर्ब, व्यक्तिगत आयकर ९७ अर्ब ८६ करोड र लगानीमा करबाट ३८ अर्ब ५४ करोड संकलन भएको छ । नेपालमा अहिले वार्षिक आयकरको विवरण बुझाउने संख्या १० लाख हाराहारी पुगेको उनले जानकारी दिए । जसमा संस्थागत विवरणको संख्या अधिक छ ।

सरकारले व्यक्तिगत आयकरबाट गर्ने आम्दानी हरेक वर्ष वृद्धि हुँदै गएको देखिएको छ । कोरोना महामारीको बेलामा समेत आयकरबाट संकलन हुने राजस्व खस्किएको थिएन ।

आन्तरिक राजस्व विभागका अनुसार व्यक्तिगत आयकरबाट आव २०७४/७५ मा ४६.७ अर्ब राजस्व उठेको थियो । आव २०७५/७६ मा ५९.४१ अर्ब, आव २०७६/७७ मा ६२.९१ अर्ब र आव २०७७/७८ मा ८७.६ अर्ब व्यक्तिगत आयकर उठेको विभागको तथ्यांकमा देखिएको छ ।

पछिल्लो समय व्यक्तिगत आयकरको संकलन बढ्दै जानुमा ‘प्यान फर अल’ राजस्व नीतिको प्रभाव भएको समेत विभागको भनाइ छ ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?