+
+

नागरिकतामा सर्वोच्च : कार्यान्वयन रोक्छ, अन्तिम निर्णय दिंदैन

सयौं नेपाली नागरिकताबाट वञ्चित हुनुपरेको घटनासँग जोडिने नागरिकता विधेयकलाई छिटोछरितो रुपमा न्यायनिरुपण गर्नुपर्ने अभिलेख अदालतले अस्वाभाविक ढिलाइ गर्दा नागरिकताका एकपछि अर्को विवाद त्यहीं आएर थुप्रिइरहेका छन् ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८० जेठ २१ गते २०:५९

२१ जेठ, काठमाडौं । राष्ट्रपतिले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिंदै अन्तरिम आदेशबारे छलफलका लागि २६ जेठ (आगामी शुक्रबार) दुवै पक्षलाई झिकाएको छ ।

२०७९ असोजमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गर्दै ‘होल्ड’ गरेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए ।

त्यसविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले दिएको रिटमा भएको प्रारम्भिक सुनुवाइमा कानुन व्यवसायीहरुले प्रक्रिया नाघेर विधेयक प्रमाणिक भएको दाबी गरेका थिए ।

बहसका क्रममा रिट निवेदकसहित कानुन व्यवसायीहरु टीकाराम भट्टराई, ईश्वरी भट्टराई, ध्रुवलाल श्रेष्ठ, रामबहादुर राउत, स्वागत नेपाल लगायतले प्रक्रिया मिचेर प्रमाणीकरण गरिएको विधेयक कार्यान्वयन गर्न नहुने माग राखेका थिए ।

उनीहरुले चारवटा आधारलाई मुख्य रुपमा उठाएका थिए । संघीय संसदबाट पेश भएको विधेयक प्रक्रियासम्मत रुपमा बाहेक अरु ढंगले पारित गर्न नहुने उनीहरुले तर्क गरे । अर्को, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको नाम राखेर प्रमाणीकरणका लागि पेश भएको विधेयकमा पछि राष्ट्रपतिको नाम थपेर प्रमाणीकरण गर्न नहुने मात्रै भनेनन्, राष्ट्रपतिले जालसाजी गरेको आरोप लगाए ।

अहिलेको संसदले नचिनेको विधेयक प्रमाणीकरण हुनै नसक्ने भन्दै उनीहरुले तत्कालीन प्रतिनिसभाको कार्यकाल सकिएको अवस्थामा विधेयकको औचित्य सकिएको तर्क गरे ।

सरकारको सिफारिसमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने परिकल्पना संविधानमा नभएको भन्दै उनीहरुले नागरिकताको संशोधित ऐन तत्काल कार्यान्वयन नगर्न माग गरेका थिए ।

अधिवक्ता दीपेन्द्र झा, मोहना अन्सारी लगायतले निवेदन दिएर नागरिकता विधेयकको पक्षमा बहस गरेका थिए । दुबै पक्षको प्रारम्भिक बहस सुनेका न्यायाधीश शर्माले निवेदनमा उठाएको विषयवस्तुको प्रकृति र गम्भीरतालाई हेर्दा दुवै पक्षसँग छलफल गरेर मात्र निर्णयमा पुग्नु उपयुक्त हुने बताए ।

त्यसका लागि २६ गते दुवै पक्षलाई झिकाउन भन्दै आदेशमा भनिएको छ, ‘विषयवस्तुको प्रकृति र गम्भीरतालाई हेर्दा दुवै पक्ष बीच छलफल गरी निष्कर्षमा पुग्न आवश्यक र उपयुक्त देखिएकाले छलफलको निमित्त झिकाउनु र सो मितिसम्म राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएको नागरिकता संशोधन ऐन, २०७९ कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नू ।’

शुक्रबार दुवै पक्षको सुनुवाइपछि अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने टुंगो लाग्नेछ । हाललाई भने नागरिकता विधेयक कार्यान्वयनमा रोक लागेको छ ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल नागरिकताको मामिला यति गिजोलिनुमा अदालतको ढिलाइलाई कारक मान्छन् ।

‘तत्कालीन राष्ट्रपति विद्या भण्डारीले संसदले दोस्रो पटक पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषय संवैधानिक इजलासबाट न्यायिक निरूपण हुनुपर्ने थियो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला मुलुकका पुराना/नयाँ सबै राजनीतिक शक्तिहरू तत्कालको लाभ/हानि भन्दा माथि उठ्न र नयाँ संवैधानिक परम्परा बसाउन अग्रसर हुन आवश्यक छ ।’

अदालतले समाधान नदिएको विवाद

२०७२ सालमा जारी भएको नयाँ संविधानअनुसार नागरिकता विधेयक संशोधन हुनुपर्ने हो । तर, लामो समयसम्म संघीय संसदले नागरिकता विधेयक पास नै गरेन । जसका कारण जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानले नागरिकता पाउन सकेका छैनन् । नागरिकता नभएका कारण बैंक खाता खोल्नेदेखि अध्ययन, व्यापार व्यवसाय केही गर्न पाएका छैनन् ।

तत्कालीन नेकपाकालमा वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने गरी राज्य व्यवस्था समितिबाट बहुमतका आधारमा नागरिकता विधेयकको प्रतिवेदन पारित भए पनि संसदले अघि बढाएनन् । संसद विघटन र नेकपा विघटनसँगै नागरिकता विधेयकमा चर्को राजनीति सुरु भयो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता अध्यादेश ल्यायो, सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगायो । अदालत त्यतिबेला अध्यादेशको विषयवस्तुमा प्रवेश गरेको थिएन, संसद छलेर ल्याइएको भन्दै अदालतले प्रक्रियामा मात्रै प्रश्न उठाएको थियो ।

शेरबहादुर देउवा सरकारले नागरिकता विधेयक ल्यायो । दुवै सदनले बहुमतका आधारमा पास गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्यो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी सन्देशसहित फिर्ता गरिन् ।

तर संसदको दुबै सदनले विधेयक हुबहु पास गर्‍यो र प्रमाणीकरणका लागि २० भदौ २०७९ मा शीतलनिवास पठाइयो । संविधान अनुसार, तत्कालीन राष्ट्रपति भण्डारीले १५ दिनभित्र नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने थियो । तर संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै भण्डारीले विधेयक होल्ड गरिन् । त्यसविरुद्ध सर्वोच्च अदालतमा एकसाथ ५ वटा रिट निवेदन पेश भए ।

सर्वोच्चले ९ असोज २०७९ मा अग्राधिकार दिंदै मुद्दामा विपक्षी बनाइएकाहरुसँग जवाफ माग्यो । राष्ट्रपति कार्यालयले कुनै विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिको विशेषाधिकार भएको दाबी गर्दै लिखित जवाफ पनि पठायो ।

राष्ट्रपति कार्यालयको लिखित जवाफ पेश भएसँगै परिपक्व भएको मुद्दामा तत्काल सुनुवाइ गरी निकास दिनुपर्नेमा सर्वोच्च अदालत प्रशासनले लामो समय मुद्दाको पेशी नै तोकेन । अग्राधिकार दिएको मुद्दा ६ महिनाको अवधिमा दुई पटक मात्रै पेशीमा चढेको छ । र, अहिले ७ असोज २०८० मा मात्रै पालो आउने गरी पेशीको व्यवस्थापन गरिएको छ ।

अहिले राष्ट्रपति पौडेलले शीतल निवासमा ‘होल्ड’ भएको नागरिकता विधेयक मन्त्रिपरिषदको सिफारिसमा प्रमाणीकरण गर्दा फेरि विवाद सर्वोच्चमा पुगेको छ ।

अधिवक्ता मोहना अन्सारीको विचारमा, सर्वोच्चले विधेयक प्रमाणीकरणको मुद्दा नटुंग्याउदा यो अवस्था आएको हो ।

‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश सम्बन्धी मुद्दा खारेज गर्दा नै सर्वोच्च अदालतले संसदबाट छिटो कानुन ल्याउनु भनेको थियो । कानून नहुँदा संविधानमै सुनिश्चित गरिएका कयौं मौलिक हक हनन भएका छन्’, उनले भनिन्, ‘आफैंले दिएको आदेश बिर्सिएर विधेयक प्रमाणीकरणको मुद्दा नटुंग्याउँदा यो अवस्था आएको हो । अदालत यस्तो मुद्दामा संवेदनशील देखिएन ।’

अधिवक्ता दीपेन्द्र झा नागरिकतासम्बन्धी विषयमा अदालतले २०५१ सालदेखि नै अन्तरिम आदेश मात्र दिइरहेको बताउँछन् । नागरिकताजस्तो मौलिक हकसँग सरोकार राख्ने विषयमा अदालत पटक्कै संवेदनशील नभएको उनले बताए ।

पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी अदालतको ढिलासुस्तीका कारण न्यायका सेवाग्राही प्रभावित भएको र त्यसले नागरिकको हक अधिकार कार्यान्वयन हुन नसकेको टिप्पणी गर्छन् ।

‘एक त न्यायाधीश छिटो इजलासमा बस्दैनन्, अर्कोतर्फ कतिपयलाई मुद्दा टुंग्याउने रुची नै हुँदैन’ उनी भन्छन्, ‘पछिल्लो समय न्यायपालिकामा अनेक हस्तक्षेप भयो भनेर अनुभवीहरुकै पुस्तक पढेका छौं । त्यसले गर्दा पनि कतिपय मुद्दाको सुनुवाइ प्रभावित देखिएका छन् ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?