+
+

निश्चित घरानालाई पोस्नेगरी करका दर फेर्न ‘अनधिकृत व्यक्ति’को संलग्नता

अर्थमन्त्रीमाथि प्रश्न– सूचना कसले चुहायो ? करका दर किन घटाइयो ?

भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठले बजेट प्रस्तुत हुने अघिल्लो रात करका दर हेरफेर गरेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते २१:५०

२२ जेठ, काठमाडौं । कुनै व्यापारिक घरानाको स्वार्थमा करका दर नचलाउने सार्वजनिक प्रतिबद्धता जनाएका अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै प्रतिवद्धता विपरीत अनधिकृत व्यक्तिको सलंग्नतामा निश्चित व्यापारिक समूहलाई लाभ पुग्नेगरी करका दर हेरफेर गरेको पाइएको छ ।

बजेट पेश हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा करका दर हेरफेरमा एक अवकाशप्राप्त नायव सुब्बा (नासु) को अनधिकृत संलग्नता रहेको पाइएको हो । उनकै सहभागितामा बिजुली गाडी, विलासी मोटरसाइकल र चुरोटमा केही निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी करका दर हेरफेर भए, जसले राज्यलाई अर्बौं रुपैयाँ नोक्सान भएको छ ।

केही व्यापारिक घरानासँग निकट रहेका पूर्वनासु रामकृष्ण श्रेष्ठ ‘विज्ञ’का रुपमा करका दर मिलाउने कार्यमा सहभागी भएको अर्थ मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।

करका दर फाइनल गर्नका लागि १४ जेठको राति सचिव, अर्थमन्त्री, आन्तरिक राजस्व विभागका महानिर्देशक, भन्सार विभागका महानिर्देशक मात्रै गोप्य रुपमा बस्ने प्रचलन छ । तर, यस वर्षको १४ जेठको राति आर्थिक विधेयक फाइनल गर्ने क्रममा ती मात्रै अधिकारी थिएनन्, पूर्वनासु श्रेष्ठलाई पनि सहभागी गराइएको थियो ।

‘भन्सार विभागका उपसचिव स्तरका कर्मचारीसमेत प्रवेश नपाउनुपर्ने संवेदनशील पूर्वनासु श्रेष्ठले कसरी प्रवेश पाए ? पूर्वकर्मचारी श्रेष्ठलाई कसको स्वार्थका लागि, कसको प्रतिनिधि बनाएर, कुन स्वार्थ पूर्तिका लागि आर्थिक विधेयक बनाउने अति गोप्य कक्षमा लगिएको हो ? बुझ्न सकिएको छैन,’ मन्त्रालय स्रोतले बतायो ।

भन्सार विभागले दरहरु मिलाउने क्रममा नीति तथा महसुल शाखाका निर्देशकलाई प्रयोग गर्ने प्रचलन रही आएको छ । उनले पनि विभागमा बसेर दरहरुमा काम गर्ने हो । आर्थिक विधेयक बनाउने मिटिङमा उनले पनि प्रवेश पाउँदैनन् ।

‘तर, सरोकार नै नभएका पूर्वनासु श्रेष्ठले के आधारमा विधेयक बनाउने क्रममा प्रवेश पाए ? त्यो पनि बुझी नसक्नु छ,’ स्रोतले बतायो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार श्रेष्ठ करका दर चलाउने काममा यसपटक मात्रै सहभागी भएका होइनन् । विगतमा चकलेट र मोटरसाइकलको करका दर मिलाउने कार्यमा पनि उनको सहभागिता रहेको बताइन्छ ।

स्रोतका अनुसार केही निश्चित घरानाको स्वार्थपूर्तिका लागि यी कर्मचारीलाई प्रयोग गरिएको थियो । खासगरी इलेक्ट्रिक भेहिकलको इन्ट्री लेभलका गाडीहरुमा भन्सार तथा अन्तःशुल्क बढाउने तथा १ सय देखि २०० केभीएसम्मका गाडीमा घटाउने खेलमा भन्सार विभागका निमित्त महानिर्देशक सेबन्तक पोखरेलसँगै यी दुई असम्बन्धित व्यक्तिहरुको प्रयोग भएको स्रोतले जानकारी दियो ।

सरकारी संयन्त्रबाटै विद्युतीय गाडीमा कर बढाउन लागेको अति संवेदनशील सूचना बजेटअघि चुहाएर व्यवसायीहरुलाई लाभ पुर्‍याएको यसअघि नै खुलिसकेको छ । सूचना चुहाएका कारण बजेट भाषणको मुखमा १ हजार १०० भन्दा बढी चारपाङ्ग्रे विद्युतीय गाडी अस्वाभाविक रुपमा नेपाल भित्रिएका थिए । त्यसबाट सरकारले करिब ९० करोड राजस्व गुमाएको छ ।

बजेटले ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा भन्सार महसुललाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ भने १० प्रतिशत अन्तःशुल्क पनि लाग्ने व्यवस्था गरेको छ ।

अनलाइनखबरले भन्सार कार्यालयहरुबाट लिएको तथ्यांकअनुसार त्यसअघिका १५ दिनमा त्यही सेगमेन्टकै गाडी धेरै आयात भएका थिए । सो १५ दिनको अवधिमा एमजी ब्राण्डका ५ सय २४ वटा ‘जेडएस–ईभी’ भित्रिएका थिए । ती सबै गाडी गाडी कर बढेकै सेगमेन्टका हुन् । एमजीका गाडी विशाल ग्रुप तथा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको संयुक्त लगानी रहेको कम्पनीले आयात गर्छ ।

इलेक्ट्रिक भेहिकलमै १०० देखि २०० किलोवाट मोटर क्षमताका चारपाङ्‍ग्रे सवारीसाधनमा पुरानो भन्सार दरमा उल्लेखनीय रुपमा कटौती गरेर पनि निश्चित व्यापारिक घरानाको स्वार्थ पूर्ति गरिएको खुलेको छ । सो सेग्मेन्टका गाडीमा यसअघि ३०–३० प्रतिशतका दरले भन्सार र अन्तःशुल्क लाग्ने गरेकोमा त्यसमा उल्लेखनीय रुपमा घटाएर २०–२० प्रतिशत कायम गरिएको छ । ‘इन्ट्री लेभलका सवारीसाधनमा भन्सार र अन्तःशुल्क बढाएर त्यसभन्दा लक्जरी गाडीमा घटाउने काम थोरै पनि ‘कमन सेन्स’ भएको व्यक्तिले गर्दैन,’ स्रोतको भनाइ छ, ‘यसमा कुनै घरानालाई फाइदा पुर्‍याउने र कुनैको व्यापारमा धक्का दिने योजनाअनुसार काम भएको देखिन्छ ।’

अर्कातिर २ सय ५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलमा लाग्दै आएको सडक निर्माण दस्तुरमा पनि अत्यधिक मात्रामा घटाइएको छ । २ सय ५० सीसीदेखि ४ सय सीसीसम्मका मोटरसाइकलमा यस्तो दस्तुर ५० हजारबाट घटाएर २० हजारमा झारिएको छ भने ४ सय सीसीभन्दा माथिका मोटरसाइकलमा १ लाखबाट घटाएर मूल्यको १० प्रतिशत कायम गरिएको छ । यस्तो हुँदा १० लाख मूल्यसम्मका मोटरसाइकललाई फाइदा पुग्नेछ । नेपालमा विशेषगरी सुजुकी र रोयल इन्फिल्ड ब्राण्डका मोटर साइकल यी दुई सेग्मेन्टमा छन् । ती मोटरसाइकल विशाल ग्रुप तथा त्रिवेणी ग्रुपले आयात गर्दछन् । यी दुई ग्रुपको पारिवारिक नाता समेत छ ।

करारका कर्मचारी भनेर लगियो श्रेष्ठलाई गोप्य कोठामा

भन्सार विभागका उपमहानिर्देशक सेबन्तक पोखरेलले श्रेष्ठलाई भन्सार विभागका करारका कर्मचारी भन्दै गोप्य कोठामा छिराएका थिए । जबकि, श्रेष्ठ गत वर्ष पनि गोप्य कोठामा भन्सारका दर चलाउने काममा सक्रिय थिए । गत वर्ष पूर्वनासु छिरेको भनेर विवाद भएपछि करारका कर्मचारीको नाममा उनलाई गोप्य कोठामा छिराइएको थियो । गैरकर्मचारीलाई आर्थिक विधेयक चलाउन दिँदा अप्ठ्यारो पर्नसक्ने भएकाले उपमहानिर्देशक पोखरेलले उनलाई करारमा नियुक्त गर्ने उपाय निकालेको स्रोतको भनाइ छ ।

विभाग नेतृत्वविहीन बनाएर जुनियरको सेटिङ

यसपटकको बजेटमा करका दरहरु फाइनल गर्न खटिएका सेबन्तक पोखरेल भन्सार विभागका जुनियर उपमहानिर्देशक हुन् । विभागका तत्कालीन महानिर्देशक चक्र बुढाको वैशाख ३० गते सरुवा भएपछि कामु महानिर्देशकको जिम्मेवारीमा रमेश अर्याल थिए ।

तर, बजेटको मुखैमा उनी एउटा कार्यक्रममा सहभागी हुन भन्दै अष्ट्रेलिया भ्रमणमा गए । त्यसपछि निमित्तको जिम्मेवारी सेबन्तक पोखरेलकहाँ आइपुग्यो ।

‘बजेटको तयारीका क्रममा एकजना अधिकृत छुट्टी बस्नुपर्‍यो भने पनि बिदा दिने चलन छैन, विदा बसेकालाई बोलाएर काम लगाउने गरिएको छ, तर विभागको प्रमुखको जिम्मेवारी लिएका सहसचिवलाई यस्तो बेला किन विदेश जान दिइयो? संसयपूर्ण छ,’ स्रोतको दाबी छ । कामु महानिर्देशक नभएको मौकामा उपमहानिर्देशक पोखरेलले आफू अनुकूल करका दर हेरफेर गरेको बताइन्छ ।

शोभाकान्त पौडेल बजेटअघिको राति किन गए अर्थ मन्त्रालय ?

बजेटलगत्तै सहसचिव शोभाकान्त पौडेललाई अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागको महानिर्देशक बनाए । बजेटअघि नै खानेपानी मन्त्रालयबाट पौडेललाई अर्थमा ल्याइएको थियो । बजेट निर्माणमा उनको प्रत्यक्ष अप्रत्यक्ष कुनै भूमिका थिएन । तर, तिनै पौडेल १४ जेठको राति अर्थ मन्त्रालय परिसरमै बसिरहेका थिए । उनी कहिले सचिव त कहिले सहसचिवहरुको कार्यकक्षमा प्रवेश गरिरहेको स्रोतको भनाइ छ ।

‘उनी पनि करका दर, खासगरी अन्तःशुल्कको दर तलमाथि गराउने प्रयोजनका लागि अर्थ मन्त्रालयमा ओहोरदोहार गरेका हुन्,’ स्रोतले भन्यो ।

खासगरी चुरोटमा न्यून कर वृद्धि गरी निश्चित कम्पनीलाई लाभ पुर्‍याउने कार्यमा पौडेलले समन्वय गरेको कर्मचारीहरुबीच चर्चा सुरु भएको छ । विगत १० वर्षयता हरेक वर्ष चुरोटमा औसत १० प्रतिशत र गत वर्ष १९ प्रतिशत कर वृद्धि भएकोमा यसपटक ३ प्रतिशतमात्र कर वृद्धि गरिएको छ ।

राजस्व स्रोतमाथि दबाब परेको भन्दै फलफूल, तरकारी र हवाई टिकटमा समेत कर थपेको सरकारले चुरोट, विलासी मोटरसाइकल र विलासी बिजुली गाडीमा बजेटको सिद्धान्त विपरीत करका दर घटाउँदा अर्थमन्त्रीमाथि प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?