+
+
जनगणनाको तथ्याङ्क :

राना थारूलाई छुट्टै जाति र भाषामा वर्गीकरण गरेकोमा आपत्ति

तथ्याङ्क कार्यालयले जनगणनाको तथ्याङ्क तत्काल नसच्याए आन्दोलन गर्छौं : थाकस महामन्त्री चौधरी

सहदेव चौधरी सहदेव चौधरी
२०८० जेठ २२ गते २०:२६
राना थारू समुदाय होली मनाउँदै । फाइल तस्वीर

२२ जेठ, काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा प्रकाशन गर्दा थारू समुदाय भित्रको राना थारूलाई छुट्टै जाति र भाषाका रुपमा वर्गीकरण गरेको भन्‍दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

थारू आयोग, थारू कल्याणकारिणी सभा,  थारू मानक भाषा मस्यौदा समिति, थारू भसा साहित्य केन्द्र नेपाल, थारू महिला समाज, थारू महिला सभालगायतका सरोकारवालाले  आपत्ति जनाएका हुन्।

आयोगका अध्‍यक्ष विष्णुप्रसाद चौधरीले २०७८को जनगणमा थारू समुदायभित्रको थारूलाई छुट्टै जाति र भाषा कायम गरिनु थारूमाथिको आक्रमण भएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘आयोगले पटक-पटक राष्ट्रिय तथ्याङ्क कार्यालयसँग छलफल गरेर सुझाव दिएका थियौं । तर राष्ट्रिय तथ्याङ्क कार्यालयले बेवास्ता गरेर राना थारूलाई जाति र भाषा अलग्गै कायम गरेर प्रकाशन गर्नु भनेको थारू जाति माथिको आक्रमण हो।  यो थारू आयोग ऐन, २०७४को ठाडो उंल्लघन हो।’

थारू समुदायको थर सूचीकरण गर्ने जिम्मा थारू आयोग ऐन, २०७४ ले थारू आयोगलाई प्रदान गरेको भन्‍दै उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले तत्काल सच्याउनु पर्ने माग गरे ।

उनले भने, ‘थारू आयोगले तराइमा बसोबास गर्ने मेचीदेखि महाकालीसम्मका थारूहरुको थर सूचीकरण गरिसकेको छ। थारूको थर फरक भए पनि जाति एउटै हो भनेर नेपाल सरकारलाई पटक पटक सिफारिस गरिसकेको अवस्थामा हो । तर तथ्याङक कार्यालयले जबरजस्ती भाषा र जाति छुट्टै कायम गर्नेप्रति असहमत छ। यसलाई तत्काल सच्याइयोस्।’

सोमबार थारु आयोगका प्रवक्ता घनश्याम उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यस कार्यालयले  राष्ट्रिय तथ्याङ्क कार्यालयसँग पटक-पटक पत्राचार र छलफलसमेत गरी आयोगले सुझाव दिएको तर आयोगको सुझावलाई त्यस कार्यालयले बेवास्ता गरी थारू आयोग ऐन, २०७४को भावना विपरीत छुट्टै राना थारू जाति र राना भाषा कायम गरी तथ्याङ्क प्रकाशन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ।’

यस्तै थारूहरुको मातृ संस्था थारू कल्याण कारिणीसभाका महामन्त्री प्रेमीलाल चौधरीले तथ्याङ्क कार्यालयले यसरी थारूलाई अलग्गै जाति र भाषा छुट्यानु नै गैरजिम्‍मेवार काम भएको बताए। उनले भने, ‘ जनगणना अगावै हामीले थारूलाई छुट्याउने काम नहोस् भनेर सचेत गराएका थियौं। उहाँहरु यसबारेमा सहमत हुनुहुन्थ्यो। तर जब प्रकाशन भएर आउँदा छुट्याएर ल्याउने गैर जिम्‍मेवार हो।’

उनले तथ्याङ्क कार्यालयले तत्काल सच्याएर थारूको जनसंख्या एकै ठाउँमा राखेर पुन: प्रकाशन नगरे देशभरका थारू समुदाय सडक आन्दोलनमा उत्रिने चेतावनी दिए।

‘तथ्याङ्क कार्यालयले थारू जातिलाई छुट्याउने अधिकार छैन,’ उनले भने ‘यदि थारूको जाति र भाषालाई सच्याएर प्रकाशन नगरे देशभरका थारू सडकमा उतार्न बाध्य हुन्छौं।’ आफू कामले उपत्यका बाहिर भएकाले मंगलबार नै काठमाडौं आएर विज्ञप्ति जारी गरी प्रधानमन्त्री र सरोकारवालालाई ध्यानाकर्षण गर्ने तथा आन्दोलनका कार्यक्रम तय गर्ने उनले जानकारी दिए ।

यस्तै थारू मानक भाषा मस्यौदा समितिका संयोजक कुछत नारायण चौधरीले राना थारूलाई अलग्गै जाति र भाषाको रुपमा कायम गरिनु सरासर गलत भएको बताए ।

उनले भने, ‘देशभरका थारूहरुको भाषिकामा भिन्नता भए पनि ती सबै थारू जातिका नै मानिस हुन्। यसबारेमा धेरै पटक बहस र छलफल भइसकेको छ सरकार, आयोग र विभिन्‍न निकायसँग।तर यसरी जानाजान राना थारूलाई अलग्गै जाति र भाषामा कायम गरिनु विल्कुल गलत कुरा हो।’

उनले  समाजशास्त्री विद्वान अर्जुन गुणरत्नेले लेखेको पुस्तक ‘ थारू : वान पिपुल, मेनि टङ्गस्’को दृष्टान्त दिँदै भने, ‘ सारा विश्वले थाहा पाइसकेको कुरा अहिले आएर आफ्नै देशका शासकहरुले यसरी थारू जातिलाई अलग्गै जाति र भाषामा कायम गर्नुले के अर्थ दिन्छ ? के थारू फुटाउ राज गरको नीति होइन यो ?’

थारू भाषा देशभर एउटै बनाउने उद्देश्यप्रति राज्यका शासक र शक्ति लागि परेको भन्‍दै थारू मानक भाषा संयोजक चौधरीले  थारू अगुवाहरु अब सचेत भई सच्याउन माग गर्नु पर्ने बताए ।

यस्तै थारू भसा साहित्य केन्द्र नेपालका अध्‍यक्ष भुलाई चौधरीले थारूलाई छुट्टै भाषा र जातिमा छुट्याउनु नै तथ्याङ्क कार्यालयको हेपाहा प्रवृति भएको बताए । उनले भने, ‘हामीले जनगणना हुनु अगावै तथ्याङ्क कार्यालयका प्रतिनिधिहरुसँग धेरै पटक छलफल गरेर सुझाव दिएका थियौ। तर अहिले नतिजा ठीक उल्टो आयो।’

तथ्याङ कार्यालयले जाति, भाषा र धर्मका आधारमा शुक्रबार जनगणनाको तथ्याङ्क सार्वजनिक गरेको थियो। उक्त तथ्याङ्क अनुसार थारूको जनसंख्या १८ लाख ७ हजार १२४  छ भने सुदूर पश्‍चिमका कैलाली र कञ्‍चनपुरमा बस्ने राना थारूको जनसंख्या ८३ हजार ३०८ रहेको छ ।

लेखकको बारेमा
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?