+
+

गुल्मीका नर्सरीमा उत्पादित बिरुवालाई बजारको समस्या

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १२:४५

२५ जेठ, गुल्मी । गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या देखिएको छ । बाहिरी जिल्लाबाट बिरुवा भित्रिने तर जिल्ला भित्रका बिरुवाहरु बिक्री नहुँदा किसानहरु समस्यामा परेका छन् । जिल्लाको रेसुङ्‍गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी लगायतका बिरुवाहरु बिक्री हुन सकेका छैनन् । कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्‍गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादनमा लागेका हुन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्ज वीरबहादुर कार्की राजनीतिसँगै कृषि पेशामा पनि क्रियाशील छन् । उनले माओवादी जनयुद्धदेखि नै केही गरेर खानुपर्छ भन्ने उद्देश्यले कृषि पेशा अंगालेको बताए ।

जिल्लास्थित स्थानीय तहले र कार्यालयहरुले सुन्तला र कागती लगायतका बिरुवा खरिद गरेर किसानलाई वितरण गरेपनि यी कार्यालयले बाहिरी जिल्लाबाट बिरुवा खरिद गर्दै आएका छन् । जसका कारण गुल्मीमा भएका नर्सरीका बिरुवा वितरण हुन सकेका छैनन् ।

कार्कीको नर्सरीमा सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अङ्‍गुर र तरकारीजन्य सबै बिरुवाहरु पाइन्छन् । बिरुवाबाट वार्षिक ७ देखि १७ लाखसम्म आम्दानी गर्ने कार्की यसवर्ष बिरुवा बिक्री नहुने चिन्तामा छन् ।

कार्कीसँग अहिले कागती ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार ७ हजार, कुरिलो ५ हजार, धुपी ३ हजार र अन्य बिरुवा एक हजार भन्दा माथिका दरले रहेका छन् । कार्कीले सुन्तला प्रति बिरुवा २३, कागती प्रति बिरुवा २५, टिमुर प्रति बिरुवा ६०, किबी प्रति बिरुवा एक सय ५० र अम्बा प्रति बिरुवा ५० रुपैयाँ पर्ने गर्दछ ।

कार्कीले २०६४ सालमा जम्मा २० हजार रुपैयाँबाट सुरु गरेको नर्सरी अहिले ४६ लाखको पुगेको छ । विगत १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका कार्कीले बिरुवा बिक्री नहुन थालेपछि लगानी घटाउने सोचमा रहेका छन् ।

कार्कीले हाल ७ रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहेका छन् । जसमा २ रोपनी निजी र ५ रोपनी जग्गा लिजमा रहेका छन् । लिजमा लिएको जग्गाको वार्षिक १५ हजार भाडा कार्कीले तिर्दै आएका छन् । भारी मात्रामा बिरुवा उत्पादन गरेका कार्की बजारीकरणको ग्यारेण्टी भएका उत्पादन बढाउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?