+
+

गुगलले किन त्याग्यो आफ्नो दोश्रो फोल्डेबल स्मार्टफोन ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १८:०७

२५ जेठ, काठमाडौं । फोल्ड गर्न सकिने स्मार्टफोनको बजारमा गत मे महिनाको सुरुवातमा प्रवेश गरेको गुगलले दुईवटा फरक फरक मोडेलका फोल्डेबल फोन निर्माण गरिरहेको बताएको थियो ।

तर फोनको गुणस्तरमा सन्तुष्ट नभएसँगै गुगलले त्यसपछि एउटा स्मार्टफोनको निर्माण बन्द गरेको छ । गुगलको हार्डवेयर प्रडक्ट डिजाइन विभागका उपाध्यक्ष इभी रोसले हालै एक पडकास्टमा यसको पुष्टि गरेका छन्।

उनले भनेका छन्, ‘म हाम्रो टिमप्रति निकै गौरवान्वित थिए। किनकी हामीले दोश्रो फोल्डेबल फोनको मोडेल पनि सिर्जना गरेका थियौँ। तर हामीले यो अझैपनि पर्याप्त मात्रामा उत्कृष्ट भएको छैन भनेर त्यसलाई रोक्यौँ । यसका लागि वास्तवमै अनुशासन चाहिन्छ र त्यो हामीसँग छ । हामीले यस्तो सिर्जनाको काम गर्नसक्छौँ र कुनै चिज पर्याप्त मात्रामा उत्कृष्ट छैन भनेर पहिचान पनि गर्न सक्दछौँ भन्ने कुराको यो प्रमाण हो ।

गुगलले क्यालिफोर्नियामा भएको गुगल डेभलपर्स कन्फ्रेन्सका क्रममा गत मे १० मा पिक्सेल फोल्ड नामको आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको थियो।

७.६ इन्चको भित्री डिस्प्ले तथा ५.८ इन्चको कभर स्क्रिन रहेको नोटबुक स्टाइलको यो स्मार्टफोनको मूल्य १७ सय ९९ डलर तोकिएको छ।

पिक्सेल फोल्डमा गुगलको आफ्नै Tensor G2 chip छ । यसलाई फोल्ड गरेर हत्केलामै अटाउन सकिन्छ भने प्रोफेसनल प्रयोगका लागि अनफोल्ड गरेर चौडा स्क्रिन बनाउन सकिन्छ ।

गुगलले पिक्सेल फोल्ड स्मार्टफोन सार्वजनिक गरेकोमा त्यो सँगै निर्माण गरेको दोश्रो मोडेलको फोल्डेबल स्मार्टफोन नाम चाहीँ खुलाइएको छैन । तथपि कतिपयले भने त्यसको नाम पिक्सेल फ्लिप रहेको हुनसक्ने अनुमान गरेका छन् ।

विश्व स्मार्टफोन बजारमा फोल्डेबल स्मार्टफोनप्रति प्रयोगकर्ताको आकर्षण सन्तोषजनक नै रहेको छ । यो वर्ष सन् २०२३ मा २ करोड १४ लाख गोटा फोल्डेबल स्मार्टफोन बिक्री हुने प्रक्षेपण गरिएको छ जुन गतवर्ष भन्दा ५० प्रतिशतले बढि हो । त्यस्तै सन् २०२७ सम्ममा वार्षिक ४ करोड ८१ लाख गोटा फोल्डेबल स्मार्टफोन बिक्री हुने अनुमान छ ।

स्मरण रहोस् विश्वको फोल्डबेल स्मार्टफोन मार्केटमा अहिले सामसुंगकै दबदबा छ जसले ६२ प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यस्तै दोश्रो स्थानमा हुवावे रहेको छ। ओप्पो, साओमी तथा भिभोले समेत फोल्डेबल स्मार्टफोन ल्याएका भएपनि तिनीहरु चिनिया बजारमै सिमित छन् ।

त्यसैले तत्कालका लागि फोल्डेबल स्मार्टफोन बजारमा सामसुङसँग अन्य कम्पनीको ठूलो प्रतिस्पर्धा हुने देखिँदैन । उसैपनि गुगलको पिक्सेल फोल्डको उपलब्धता सिमित हुने देखिएको छ ।

फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने क्रममा गुगलले पिक्सेल फोल्ड सुरुवातमा जर्मनी, जापान, बेलायत तथा अमेरिका लगायतका देशमा उपलब्ध हुने र त्यसपछि क्रमशः विश्वका अन्य बजारमा उपलब्ध गराइने बताएको थियो । यद्यपि यसका लागि एकिन समयतालिका भने दिइएको छैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?