
काठमाडौं । पत्रकार नेत्र पन्थीको पुस्तक ‘लेफ्ट-राइट : सत्ता र शक्तिको ‘अ’राजनीति’को डिजिटल विमोचन गरिएको छ । पुस्तक सोमबारदेखि बजारमा उपलब्ध हुने प्रकाशक सांग्रिला मिडिया ग्रुप प्रालिले जनाएको छ । केही दिनअघि पुस्तकको कभर सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरिएको थियो ।
पुस्तकमा सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताहरूले मूल्य-मान्यता, कानुन र संविधानबाहिर चालेका कदमका साथै नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरिएको छ ।
लेखक पन्थीका अनुसार पुस्तकमा शक्ति र सत्ताका लागि भएका दाउपेच र धोकै-धोकाका कथाहरू पनि छन् । पद प्राप्तिका प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य-मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि-विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेको कैयौं उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको उनले बताए ।
६७० पृष्ठको पुस्तक सफ्ट र हार्ड दुवै कभरमा उपलब्ध छ । पन्थीका यसअघि डिभोर्स : प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसंघर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन् ।
प्रतिक्रिया 4