+
+
ब्लग   :

पास नभएको लोकसेवा आयोग मात्र हो!  

दाजु मैले लोकसेवा बाहेक सबै सेवा आयोग पास गरेकी छु। सासू-ससुरा आयोग, श्रीमान् आयोग, छोराछोरी आयोग, देवर-नन्द आयोग, देवरानी-जेठानी आयोग, छरछिमेक आयोग!

भीमसिंह धामी  भीमसिंह धामी 
२०८० जेठ २९ गते १७:५९

मेरो छिमेकी बहिनी शिक्षाशास्त्र संकायबाट नेपाली विषयमा स्नातक तह उत्तीर्ण हुन्।  अचेल उनको दिनचर्या घरधन्दा सम्हाल्दै बित्ने गरेको छ। सहनशील, कर्तव्य पालन, अनुशासनको पालना र मिठो बोली उनको पहिचान नै बनेको छ। छरछिमेकका र आउनेजाने सबै जनाले बहिनीको प्रशंसा नगरी बस्न सक्दैनन्। म पनि उनको प्रशंसक  हुँ।

घर–आँगनको सरसफाइ, छोराछोरीको खानपान, लुगाफाटो र स्याहारसुसार, सासू–ससुरासितको सुमधुर सम्बन्ध, देउरानी-जेठानीसितको मैत्रीपूर्ण व्यवहार। देवर-नन्दसितको उत्कृष्ट मिलन र सधैं ओठमा मन्द मुस्कानले यी बहिनीलाई दुःख एकरत्ति पनि छैन झैं लाग्छ।

भनिन्छ- देखिने र भोगिने संसारबीच आकाश–जमिनको फरक हुन्छ। मैले उनीसँग गफिन चाहिरहेको थिएँ तर समय जुटाउन हम्मेहम्मे पर्‍यो। मेरो फुर्सद मिल्दा बहिनीको परिस्थिति अनुकूल नहुने र बहिनीको परिस्थिति अनुकूल हुँदा मेरो समय प्रतिकूल हुने कार्य धेरै लामो समय चल्यो।

भनिन्छ नि ‘हुनेहार दैव नटार!’ हाम्रो संवादको अवसर जुटिछाड्यो! मैले बहिनीलाई सञ्चो, बिसञ्चो सोधें। उनले हार्दिकतापूर्वक आफ्नो हालखबर सुनाइन्।

यहीक्रममा मैले उनलाई सोधें, ‘बहिनी धेरै मिहिनेती छ्यौ, अनि स्नातक पनि गरिछ्यौ। लोकसेवा तयारी गरिनौ ?’

मेरो यो प्रश्न सुनेपछि सधैं मुस्कुराइरहने ती ओठमा केही दुःखका संकेत मिले। मैले मनमनै नमिठो महसुस गरें। अनि बहिनीलाई भनें, ‘माफ गर। मैले केही असुविधाजनक प्रश्न पो गरें कि ? सरी है सिस्टर!’

मेरो अनुभूति, दुःख र वास्तविकता बारे बुझ्न खोज्नुभएको छ, तपाईंलाई निराश गर्दिनँ दाजु। बहिनीले आफ्नो कथा यसरी प्रारम्भ गरिन्:

दाइ! म एउटा मध्यम वर्गीय परिवारमा जन्मे–हुर्केकी मान्छे हुँ। म सानैदेखि केही नयाँ अनि फरक र सिर्जनात्मक काम गर्नुपर्छ भन्ने मान्यता बोकेर हिंड्थें। मेरो पढाइ पनि राम्रो थियो। प्लस टु पढ्दापढ्दै बिहे भयो। बिहेपछि नै स्नातक पूरा गरेकी हुँ।

विवाहित नारीले के गर्नुपर्छ के गर्नु पर्दैन भन्ने कुरा मेरी इजा (आमा), बजै र गाउँका अग्रज महिलाले मज्जाले सिकाउनुभो र पढाउनुभो। छोरीबाट बुहारी हुने कुरा जिम्मेवारी अनि व्यवहार पनि थपिने कुरा हो भन्ने पनि बुझेकी थिएँ।

समाजले वाञ्छनीय ठहर्‍याएको कुरा गरे इजा-बाबाको इज्जत जोगिन्छ नभए माटोमा मिसिन्छ। श्रीमान् र सासू–ससुराको इज्जत, सम्मान र आदर गरे मात्र घर चल्छ नभए बर्बाद हुन्छ भन्ने कुरा मेरो मस्तिष्कमा अमिट छाप बनेर बसेको छ।

यहाँ आफ्नो इच्छाले भन्दा पनि परिवार र समाजले जे सही भन्छ त्यो कुरा सत्य हुन्छ। मैले मेरो इच्छाएको काम गरें वा इच्छाको पेशा रोजें भने त्यहाँ अवरोध आउँछ। मैले धेरै कथा, कहानी र उपन्यास पढेकी छु। महिला अधिकार सम्बन्धी लेख–रचना पनि पढेकी छु। राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला कानुन र अधिकार पढेकी र बुझेकी पनि छु।

लैङ्गिक विभेदको बारेमा सुने बुझेकी छ। तर समाज र समाजमा बसोबास गर्ने मान्छेको मनोविज्ञान र बुझाइ परिवर्तन गर्न र बुझ्न सकेकी छैन।

दिनभरि महिला हिंसा विरुद्ध नारा घन्काएर आएको नेता-कार्यकर्ता र महिला अधिकारवादीले पनि महिला हिंसा गरेको देखेकी छु। त्योभन्दा बढ्ता महिलालाई महिलाले नै क्रूर र निर्लज्ज व्यवहार अनि दमन गरेको देखेकी छु। ऐन, कानुन छन् अनि नियम छन् तर किताबमा सीमित।

आज म मेरो काम, संस्कार र व्यवहारले भौतिक हिंसामा त परेकी छैन तर मेरा इच्छाहरू मार्दै गर्दा मैले पनि मानसिक हिंसा भोगेको अनुभूति गरेकी छु।

‌मैले के गर्नुहुन्छ के गर्नुहुँदैन राम्रोसँग जानेकी छु। मैले युसुफ मलाला चिनेकी छु। शारदा शर्मा, पारिजात, झमक घिमिरे, प्रेमा शाह अनि आङ सान सुकी र म्यासिम गोर्की पढेको, जानेको अनि चिनेकी छु र तिनका विचार भएका भिडियो हेरेकी छु।

साँचो अर्थमा म एउटा सचेत नारी हुँ। किनकि मैले परिवार व्यवस्थापन र भविष्य बोकेका मेरा सन्तानको शिक्षा, स्वास्थ्य, संस्कार, व्यवहार र दृष्टिकोण, वैवाहिक जीवनको सम्बन्ध,  सहकार्य, सद्भाव र समस्या समाधान, समाज र सामाजिक सम्बन्ध, नातागोता, छरछिमेक आदिसितको सम्बन्ध र व्यवहार व्यवस्थापन जानेकी छु।

दाजु मैले लोकसेवा बाहेक सबै सेवा आयोगहरु पास गरेकी छु। सासू-ससुरा आयोग, श्रीमान् आयोग, छोराछोरी आयोग, देवर-नन्द आयोग, देवरानी-जेठानी आयोग, छरछिमेक आयोग! मैले लोक सेवा भन्दा कैयौं गुणा अप्ठ्यारा आयोगहरु पास गरे जस्तो लाग्छ।

समाजमा आजभोलि एउटा भाष्य निर्माण भएको छ- लोकसेवा पास गरेर सरकारी जागिरे मान्छे उत्कृष्ट अरु सबै निकृष्ट। त्यो हुन सक्दैन किनकि हरेक पेशा–व्यवसाय आफैंमा अनुपम र फरक हुन्छन्। अनि प्रत्येक व्यक्ति अनुपम र अद्भुत हुन्छन्। यो बुझ्नु जरुरी छ।

आफ्नो जिम्मेवारी के हो त्यो चिन्नु जरुरी छ। केही कुरा कागजको खोस्टोमा लेख्दैमा समाज अनि समाजका मान्छेको मनोविज्ञान, कार्यशैली, व्यवहार र बुझाइ परिवर्तन हुँदैन। बरु त्यसको कुशलतापूर्वक कार्यान्वयन गर्न सक्नुपर्छ। मैले मेरो घर सुधारेर समाज सुधारको लागि आवाज उठाउन सक्छु। समाज सुधार भए देश सुधारको लागि आवाज आफैं उठ्छ।

परिवर्तन आफैंबाट सुरु गर्ने हो। हाम्रो समाज कति पछाडि छ भन्ने कुरा त मासिक धर्म हुँदाका बखत गरिने व्यवहारबाट प्रष्ट हुन्छ। यहाँ पढेलेखेका, विद्वान कहलिएका, नेता, पण्डित, समाजसेवी जोकोही किन नहुन्, श्रीमती, बहिनी, आमा र दिदी महीनावारी हुँदा अलग्गै सुत्नुपर्ने अनि खाना, पानी र मान्छे नछुने व्यवस्था मिलाउँछन्।

पहिले गोठमा सुताउँथे, अहिले अलग्गै सुताउँछन् र व्यवहार उही पुरानै गर्छन्। एउटा नारी अर्को पुस्ता तयार पार्न तयार हुने प्राकृतिक प्रक्रियालाई किन यति कुरुप बनायो यो समाजले ? हो, अब महिलाहरूले यो देश निर्माण गर्नुपर्छ। सही संस्कार अनि व्यवहार सिकाउनुपर्छ।

नारी अवला हुन् भन्ने चिन्तन हटाउनुपर्छ। कुरा त धेरै छन् दाजु अबेर हुन्छ। मैले मेरो जिम्मेवारी वहन गर्नुपर्छ। तपाईंले तपाईंको। ल अब छुट्टिनुपर्छ।

बैतडी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?