+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

क्लिनिकमा ठगी : गैरचिकित्सकले नै गर्छन् उपचार

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० जेठ ३० गते १९:४८

३० जेठ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अनुगमनका क्रममा चिकित्सक बिना नै क्लिनिक सञ्चालन गरेको पाइएको छ ।

काउन्सिलको इथिकल कमिटीका संयोजक डा. कालुसिंह खत्री र सदस्य डा. कुञ्जाङ शेर्पाको नेतृत्वको टोलीले अनुगमनको क्रममा क्लिनिक भनेर खोलिएका संस्थामा चिकित्सक समेत नरहेको पाइएको हो ।

सोमबार काउन्सिलमा परेको उजुरीको आधारमा बालुवाटारस्थित कोरियन स्किन केयर क्लिनिक, नक्सालस्थित ब्युटी क्लब, सिटी सेन्टरस्थित कोरियन ब्युटी क्लिनिक एण्ड केयर, ललितपुरस्थित डिकस्मो क्लिनिक, लुम्बिनी डेन्टल क्लिनिक, जोरपाटीस्थित जोरपाटी पोलिक्लिनिक र कलंकीस्थित कलंकी पोलिक्लिनिकको अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा ब्युटी र छालासम्बन्धी काम गर्ने ती क्लिनिकमा गैरचिकित्सकले पनि चिकित्सक हुँ भन्दै उपचार गराइरहेको पाइएको इथिकल कमिटीका संयोजक डा. कालुसिंह खत्रीले अनलाइनखबरलाई बताए ।

‘क्लिनिकमा चिकित्सक, नर्स कोही पनि नभएको पाइयो । अनुगमनको क्रममा चिकित्सकको प्रेस्क्रिप्शन बिना दिन नमिल्ने औषधि समेत चलाएको पाइयो’, डा. खत्रीले भने ।

डा. खत्रीका अनुसार नक्सालस्थित ब्युटी क्लबले चिकित्सक बिना नै चिकित्सकले गर्ने छाला सम्बन्धी उपचार गरेको उजुरी परेको थियो ।

सिटी सेन्टरस्थित कोरियन ब्युटी क्लिनिक एन्ड केयरमा पनि चिकित्सकले गर्ने काम चिकित्सकबिनै भइरहेको थियो । उक्त क्लिनिक सञ्चालकलाई कागजातसहित उपस्थित हुन काउन्सिलले निर्देशन दिएको छ ।

यस्तै, बालुवाटारस्थित हेल्दी च्वाइस क्लिनिक विरुद्ध दुई वटा उजुरी परेका थिए । जसमा क्लिनिक सञ्चालक डा. उदीप श्रेष्ठले योग्यताले भ्याउनेभन्दा बढी उपचार गर्ने गरेको र विदेशी चिकित्सक डा. शिव शिवाजी सूर्यवंशीलाई काउन्सिलबाट अनुमति नलिएरै कामका लगाएको उजुरी परेको थियो ।

डा. श्रेष्ठले फिलिपिन्सबाट एमबीबीएस सरहको शैक्षिक योग्यता हासिल गरेको तर विशेषज्ञ चिकित्सकले गर्ने उपचार गर्ने गरेको उजुरी प्राप्त भएको काउन्सिलले जनाएको छ ।

‘हेल्दी च्वाइस क्लिनिक सञ्चालक डा. श्रेष्ठलाई कागजपत्र जम्मा गर्न निर्देशन दिएका छौं । तर, योग्यता विना र योग्यताले भ्याउनेभन्दा बढी अभ्यास भएको पुष्टि भएमा काउन्सिलले कारबाही अगाडी बढाउँछ’, खत्रीले भने ।

नेपालमा विदेशी चिकित्सकले काम गर्दा नेपाल मेडिकल काउन्सिलबाट अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ ।

यस्तै डिकस्मो क्लिनिकमा नर्सले ‘स्किन केयर स्पेसलिस्ट’ लेख्ने गरेको र लुम्बिनी डेन्टल क्लिनिकका सञ्चालकले डेन्टल असिस्टेन्ट भएर चिकित्सकले गर्ने उपचार गर्ने गरेको पाइएको थियो ।

‘आमसर्वसाधारणले उपचारजन्य गतिविधि गर्दा चिकित्सकको काउन्सिलको दर्ता नम्बर अनिवार्य माग्नुहोस् । काउन्सिलमा दर्ता नभइ डाक्टर हुँ भनेर उपचार गर्ने मानिस धेरै छन् । २० प्रतिशतभन्दा बढी त्यस्ता मानिस छन्’, डा. खत्रीले भने, ‘बिना योग्यता कार्यक्षेत्र बाहिर गएर काम गरेका सबैलाई कानुनी दायरामा ल्याउँछौं ।’

बिना दर्ता, बिना योग्यता, योग्यताभन्दा बढी उपचार गर्ने गराउने विभिन्न अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाहरु एवं ब्युटी पार्लर, औषधि पसल, चश्मा पसलजस्ता गैरचिकित्सकीय संस्थाहरुबाट समेत विभिन्न उपचार हुने र शल्यक्रियासमेत गरेकाले अनुगमन प्रक्रियालाई अगाडि बढाइएको डा. खत्रीले बताए ।

मेडिकल काउन्सिलमा दर्तावाला चिकित्सक तथा अन्य व्यवसायिक परिषदमा दर्तावाला स्वास्थ्यकर्मीले आफूले प्राप्त गरेको योग्यताभन्दा बढी वा योग्यताभन्दा बढी विधि वा पद्धतिको प्रयोग गरेमा तिनलाई व्यावसायिक आचारसंहिता बमोजिमको कारबाही हुन्छ ।

‘बिना चिकित्सकीय ज्ञान र उपाधि उपचारमा संलग्न अन्य व्यक्तिको हकमा मुलुकी ऐन, फौजदारी कार्यविधिको परिच्छेद १९ दफा २३५ देखि २३८ सम्मको व्यवस्था बमोजिम कारबाही गर्छौं’ खत्रीले भने, ‘अनुगमनका क्रममा कुनै पनि गैरकानुनी गतिविधि भेटिए कारबाही हुन्छ । अहिले उजुरीको संख्या मात्रै अनुगमन गरेका हौं । अब नियमित रुपमा अनुगमन प्रक्रिया अगाडि बढाउँछौं ।’

गैरकानुनी गतिविधि गरेको पुष्टि भएमा चिकित्सक हकमा व्यावसायिक आचारसंहिता अनुसार कारबाही हुने र अन्यको हकमा ३ लाख क्षतिपूर्तिदेखि ३ वर्षसम्म कैद र अंगभंग वा मृत्यु भएमा फौजदारी अभियोगमा कारबाही हुने कानुनी व्यवस्था छ ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?