+
+

क्यामेरालाई पछ्याउँदा पछ्याउँदै भिडियो सम्पादनको यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १८:११

काठमाडौं । एउटा यस्तो समय, जतिबेला निशान घिमिरेलाई भ्याइनभ्याइ हुन्थ्यो । खासगरी  भिडियो सम्पादनको लागि उनीकहाँ आउनेहरुको लामो ताँती हुन्थ्यो । जमाना म्युजिक भिडियोको जो थियो ।

अनामनगरमा उनले एउटा कोठा भाडामा लिएका थिए । त्यहाँ एकथान कम्प्युटर थियो । काठमाडौंमा पाइला टेकेपछि आफ्नै स्वमित्वमा खोलेको यो पहिलो कार्यालय थियो । यसको नाम जुराएका थिए, ग्लोबल एफएक्स । निशानका कम्प्युटर अघिल्तिर बसेर सम्पादनमा खटिएका हुन्थे । त्यति मात्रले कहाँ पुग्थ्यो र ? अन्य स्टुडियोमा पुगेर समेत उनले सम्पादनको काम भ्याइदिनुपर्थ्यो ।

कार्यालयमै घण्टौं काम गर्ने, त्यहीको सोफामा सुत्ने । १८ घण्टा अविछिन्न सम्पादनमा बस्नु सामान्य जस्तो भइसकेको थियो । त्यहीबखत क्रिएटिभ मनोकामना प्रोडक्सनको फिल्म ‘सिग्नेचर’लाई कान्स फिल्म फेस्टिभलमा सहभागिताका लागि पठाउने तय भयो । उक्त फिल्मको सम्पादन गर्दा उनी यन्त्र झैं खटिए । ‘९६ घण्टासम्म काम गरियो,’ उनले सम्झिए, ‘विश्वप्रतिष्ठित फिल्म फेस्टिभलमा जाने फिल्मका लागि भनेपछि एक किसिमको मानसिक चाप थियो, साथै उत्साह पनि ।’

सोही प्रोडक्सन हाउसमा रहेर उनले यसअघि एउटा फिल्म सम्पादन गरिसकेका थिए, गुरुदक्षिणा । उक्त फिल्म मुम्बईको कुनै स्टुडियोमा सम्पादन भएको थियो । फिल्म सम्पादनका लागि उनी मुम्बई नै पुगेका थिए ।

यद्यपि फिल्मभन्दा पनि उनको हातमा म्युजिक भिडियो धेरै थियो । यदाकदा आउने वृत्तचित्रको कामभन्दा म्युजिक भिडियोको संख्या कता हो कता बढी थियो । लोक, पप, आधुनिक सबैखाले म्युजिक भिडियोको सम्पादन उनले भ्याइदिए । औला भाँचेरै गन्ने हो भने निशानले सम्पादन गरेको म्युजिक भिडियोको संख्या ६५ सय बढी छ ।

उनलाई चिन्नेहरुका लागि निशान घिमिरे म्युजिक भिडियो निर्देशक हुन् । तर धेरैलाई थाहा छैन, निशान घिमिरेको यात्रा क्यामेराम्यानबाट सुरु भएको थियो ।

कम्प्युटर छुने हुटहुटी

करिब तीन दशकअघिको कुरा हो, निशान चितवनमै बसेर पढिरहेका थिए । गाउँमा दशै महोत्सव सुरु भइसकेको थियो । एक जना दाइ दशैं महोत्सवको भिडियो छायांकन गरिरहेका थिए । ‘खै किन हो म तिनै दाइको पछि लागेर क्यामेराको काममा सघाउन थालें,’ निशान सम्झिन्छन्, ‘अरु रमझम गरिरहेका छन् । म चाहिं रमझम छाडेर असिनपसिन हुँदै क्यामेराको ब्याट्री बोक्ने, तार मिलाउने काममा दिनभर खटिएँ ।’

त्यहीबेला उनलाई के बोध भयो भने, ‘मलाई क्यामेराप्रति रुचि छ ।’ सम्भवत त्यही लगावले तानेर उनलाई होराइजन मिक्सिङ स्टुडियो पुर्‍यायो । त्यहाँ विवाहलगायत म्युजिक भिडियोको छायांकन, सम्पादन हुन्थ्यो । निशानले सुरुवाती काम पाए, विवाहको भिडियो खिच्ने ।

काँधमा गह्रौं क्यामेरा बोकेर दुई हजारभन्दा बढी विवाहको भिडियो खिचिसकेपछि उनलाई लाग्यो, यो भन्दा सजिलो र रचनात्मक काम त सम्पादन हो । शारीरिक श्रम कम गर्नुपर्ने र सिर्जनात्मक काममा रमाउनु पाइने भएकाले उनलाई सम्पादनतर्फ झुकाव बढ्यो । तर यो उनको फगत रहर थियो । किनभने त्यसबेलासम्म उनले कम्प्युटर छुन पनि पाएका थिएनन् । अहिले जस्तो न त कम्प्युटर छ्यापछ्याप्ती थियो, न सहजै चलाउन पाइन्थ्यो ।

उनले काम गर्ने स्टुडियोमा कम्प्युटरमा नेपाली टाइप गर्ने मान्छेको खाँचो भयो । खासगरी भिडियोमा नाम (टाइटल) लेख्नका लागि नेपाली टाइप गर्न सिपालु जनशक्ति चाहिएको थियो ।

उनी पढ्नका लागि त्यसबेला चितवनकै चित्रचोकमा बस्थे । घरबेटीका छोराहरु कम्प्युटरको ‘बेसिक कोर्स’ गरिरहेका थिए । निशानले ती दाजुभाइलाई ‘टाइपशाला’ प्रिन्ट गरिएको पेपर मागे, ताकि टाइपिङ सिक्न सकियोस् ।

कम्प्युटर नै नछोएको मान्छेलाई उनीहरुले पत्याएनन् । टाइपशालाको प्रिन्ट पेपर पनि दिएनन् । तब निशानले उक्त पेपर खोसेर आफ्नो कोठामा ल्याए । ढोकाको चुकुल लगाएर कागजमै नेपाली टाइपिङको अभ्यास गर्न थाले । कम्प्युटरको कुन ‘कि’मा कुन नेपाली अक्षर हुन्छ भनेर उनले रातभर औंलाको चाल मिलाइरहे ।

भोलिपल्ट अफिस पुगेपछि उनले स्टुडियोका दाइलाई भने, ‘अब म कम्प्युटरमा टाइप गर्न सक्छु ।’ उनको कुरा सुनेर ति दाइ फिस्स हाँसे । किनभने त्यसअघि निशानले न कम्प्युटर सिकेका थिए, न छोएको नै । ‘मलाई त दाइले यो भाइ साइको भयो कि भनेर शंका पनि गरे,’ निशान सम्झन्छन्, ‘तर मैले जिद्दी गरेपछि उनले कम्प्युटर छाडिदिए ।’

कम्प्युटर त छाडिदिए । तर कसरी ‘स्टार्ट’ गर्ने ? निशान रनभुल्ल परे । उनै दाइले कम्प्युटर खोलिदिएपछि निशानले पहिलो पटक किबोर्डमा हात लगाए । अघिल्लो रातभर कागजमा सिकेको कुराले गजब नतिजा दियो, उनले नेपाली अक्षर टाइप गर्न सके ।

त्यसपछि उनलाई भिडियो छायांकन नभएको बेला कम्प्युटरको काम गर्ने अवसर मिल्यो ।

२५ सयको जागिर छाडेर टाप

एक दिन भिडियो खिचेको पारिश्रमिक पाँच सय रुपैयाँ पाइन्थ्यो । त्यसबाहेकको मासिक पारिश्रमिक थियो, २५ सय रुपैयाँ ।

उनलाई यसैको सेरोफेरोमा घुमिरहन मन लागेन । ‘अर्कै जागिर पाएको छु’ भन्दै झुट बोलेर उनी घरबाट उम्किए, काठमाडौं आउनलाई । तर काठमाडौं उनले सोचेजस्तो सहज थिएन । भिडियो निर्माण, सम्पादनमा व्यावसायिक मान्छेहरु जति पनि थिए । उनीजस्तो सिकारुका लागि कुनै ठाउँ थिएन ।

‘म दिनदिनै कोठाबाट बाहिर निस्किएर काम खोज्दै हिंड्थें,’ निशान सम्झिन्छन्, ‘यसो स्टुडियो देख्नासाथ भित्र पसेर त्यहाँ कसरी ग्राफिक्स, एडिटिङको काम हुन्छ भनेर नियाल्थें ।’ उनले सम्पादनको काम जान्दछु भनेर दुईवटा स्टुडियोमा छिरे । चितवनमै छँदा उनले ग्राफिक्स कोर्स त गरेका थिए तर राम्ररी सम्पादन गर्ने ढंग अझै पुगेको थिएन । दुवै ठाउँबाट उनलाई निकालियो ।

दरबारमार्गमा एउटा प्रोडक्सन हाउस थियो । उनको डेराका साथी त्यही काम गर्थे । साथीले नै उनलाई उक्त प्रोडक्सन हाउसमा पुर्‍याए । त्यहाँ गायक बाबु बोगटीको गीतको म्युजिक भिडियो ‘जाने मायालु’को सम्पादन गर्नुपर्ने रहेछ । साथीसँगै उनले पनि उक्त म्युजिक भिडियो सम्पादन गरे । सम्पादनमा दुवै जनाको संयुक्त नाम राखे ।

मौका पाउनासाथ उनले कामको तीव्रता बढाए । कामले काम सिकाउँछ । उनले कामबाटै काम सिके । ग्राफिक्स सिके, कलर ग्रेडिङ सिके । ‘त्यसबेलासम्म कलर ग्रेडिङको काममा खासै ध्यान दिइँदैनथ्यो,’ निशान भन्छन्, ‘मैले त्यसमा बढी जोड दिएँ । त्यही कारण भिडियोको सम्पादन अरु राम्रो हुन थाल्यो ।’

सम्पादनमा पोख्त भएपछि उनी भूषण दाहाल, आलोक नेम्बाङ र सुरेश पौडेलसँग जोडिए । यही बेला हो म्युजिक भिडियो सम्पादनमा उनले रातदिन नभनी घोटिएको । ‘त्यो संघर्षले मलाई धेरै कुरा सिकायो,’ निशान भन्छन्, ‘म आफ्नो कामप्रति अत्यन्तै इमान्दार थिएँ । त्यसैले सबैले विश्वास गरे, पत्याए । मैले काम गर्न जानेको छु भन्दाभन्दै एक-दुईवटा स्टुडियोमा छिरे । तर मलाई काम गर्न आउँदैनथ्यो । तर मैले सिक्ने क्रम जारी राखें ।

कामले काम सिकायो

दरबारमार्गमा एउटा प्रोडक्सन हाउस थियो, त्यहाँ नाम हालेर बाबु बोगटीको जाली मायालु गीतमा नाम हाल्न पाएँ । अर्को रुम मेट साथीको पनि नाम हाले । उनै साथीले त्यहाँ मलाई लिएर गएको थियो । हामी दुई जनाको नाम हालियो ।

अवसर पाउनासाथ मैले कामको स्पीड बढाएँ । मैले ग्राफिक्स सिक्दै गए, कलर ग्रेडिङ सिके । हामीले कलर गर्न थाल्यौं, त्यसबेला रअ जस्तो खिच्यो त्यस्तै हुन्थ्यो । भिजन नेपाल, अनामनगरमा मैले काम पाएँ । मलाई एडिटिङ, म्युजिकको विट, सर्ट क्यारी कसरी गर्ने भन्ने थाहा थिएन । दाइहरुले एडिटिङ गरेकोमा कलर मात्र गर्थे । बिस्तारै बुझें । पछि म अग्रसर भएँ ।

म्युजिक भिडियोसँगै उनले वृत्तचित्र, टेलिशृंखला, टेलिभिजन रियालिटी शो, बीबीसीको कार्यक्रम साझा सवालसम्म काम गरे । प्रविधिसँग यसरी घुलमिल हुँदाहुँदै उनलाई निर्देशनको रहर जाग्यो । अनि सम्पादनको कामलाई थाँती राखेर म्युजिक भिडियो निर्देशनमा लागे ।

‘पाँच सय बढी म्युजिक भिडियो निर्देशन गरिसकें,’ निशान सुनाउँछन्, ‘अब नयाँ प्रोजेक्टको तयारीमा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?