+
+

‘नेपालीलाई अहिले युरोप झन् बढी दुखेको छ’

‘युरोपमा स्थापित हुने, काम खोज्ने क्रममा झन धेरै जेलनेल भोगेका छन् । सुरक्षाकर्मीको आँखा छलेर भाग्दा कतिपयको अंगभंग भएको छ । केहिको ज्याननै गएको छ । त्यो संख्या अहिले नाटकीयरुपमा बढ्दो छ । त्यसको अर्थ नेपालीले युरोपमा झन धेरै संघर्ष गर्नुपरेको छ । त्यसैले नेपालीलाई अहिले युरोप झन बढी दुखेको छ ।’

वसन्त रानाभाट वसन्त रानाभाट
२०८० असार २ गते १८:००

दुई दशकदेखि फ्रान्सको पेरिसमा बस्दै आएका ददी सापकोटा युरोपको नेपाली समुदायमा लेखक तथा पत्रकारको रुपमा चर्चित नाम हो । उनले युरोपमा नै बसेर ‘पन्छी जगत’, ‘त्यो नेपाल’, ‘दुखेको युरोप’ र ‘वनको वैभव’ गरी चार वटा पुस्तकहरु लेखेका छन्। भिन्न कथा, दुख, बेदना बोकेका पात्र छान्दै उनको चर्चित पुस्तक ‘दुखेको युरोपमा’ एघार देशका अठ्ठाइस नेपालीको कहरलाई समेटिएको छ।

प्रस्तुत छ, लेखक तथा पत्रकार ददी सापकोटासँग उनले लेखेका पुस्तकहरुबारे अनलाइनकर्मी वसन्त रानाभाटले गरेको कुराकानीको सम्पादित अंश :

सुरुवात युरोपबाटै गरौं, तपाईंको पुस्तक ‘दुखेको युरोप’ प्रकाशित हुनु अघि वा पछि कतिबेला युरोपमा नेपालीको मन बढी दुखेको छ जस्तो लाग्छ ?

दुखेको युरोप लेख्दा दुखेकै थियो र नै लेखियो । त्यसपछि झन बढी दुखेको छ जस्तो लाग्छ। किनभने त्यसपछिका लगभग एक दशकमा झन बढी नेपालीहरु अनेकै फन्दामा परेर दु:ख झेल्दै युरोप आएका छन् ।

युरोपमा स्थापित हुने, काम खोज्ने क्रममा झन धेरै जेलनेल भोगेका छन् । सुरक्षाकर्मीको आँखा छलेर भाग्दा कतिपयको अंगभंग भएको छ । केहिको ज्याननै गएको छ । त्यो संख्या अहिले नाटकीयरुपमा बढ्दो छ । पछिल्लो समयमा युक्रेन-रुस युद्द, युरोपको आर्थिक मन्दी आदिलेपनि रोजगारीका अवशर घटेका छन् । त्यसको अर्थ नेपालीले युरोपमा झन धेरै संघर्ष गर्नुपरेको छ । त्यसैले नेपालीलाई अहिले युरोप झन बढी दुखेको छ ।

‘दुखेको युरोपमा’ एघार देशमा रहेका अठ्ठाइस नेपालीको कहरलाई समेट्नु भएको छ। पात्रहरु चयनदेखि कथा उजागर गर्दासम्मको तपाईको कथा पनि सुनाइदिनुहोस् न ।

यो कथा आफैंमा धेरै लामो हुन्छ । मैले सकेसम्म धेरै देशका भिन्न कथा, दुख, बेदना बोकेका पात्र छान्न खोजेको थिएँ । ती मध्ये पनि त्यो देशका नेपालीका बेदना, घटनाहरु जानेको, सुनेको वा प्रतिनिधित्व गर्न सक्ने पात्र खोजि गरें । तर गाह्रो के भने धेरैले आफ्ना दु:खका कहानी सुनाउन नचाहने । सुनाइहाले पनि सार्वजनिक गर्न नचाहने । त्यो हिसाबले मलाई पात्र खोज्न, छान्न र तिनलाई अन्तर्वार्ताका लागि राजी गराउन निकै कठिन भयो । कतिपयले त हुन्छ भनेर स्वीकार गरे । तर कुराकानी गर्न गैसकेपछि ‘टाटो लाग्या घाउ के कोट्याउनु’ भनेर पनि अस्वीकार गरिदिए। बेल्जियममा यस्तै भयो । दुई पात्र राजी भएर गएको थिएँ म । बेल्जियम पुगेपछि ‘भो टाटो बसिसकेको घाउ के कोट्याउनु’ भनेर अस्वीकार गरे। म रित्तै फर्किएँ । हुन्छ आउनुस् भनेर बोलाउने र त्यहाँ पुगिसकेपछि फोन अफ गरेर सम्पर्कविहीनसमेत भएँ । यो किताबको लागि पात्र भेट्न जाँदा विमान छुटेर डेनमार्कमा बेखर्ची अवस्थामा पुगें । बेल्जियममा मेरो पर्स चोरी भएर अर्को दु:ख पाएँ । परिचयपत्रको मिति सक्किएको रहेछ। मलाई जाने बेला पोर्चुगल उड्न दिए विमानस्थलमा । तर फर्किने बेला परिचयपत्रको मिति सक्किएकोले उड्न दिएन, मेरो विमान टिकट त्यसै गयो । अनेक गरेर म करिब २४ घण्टाको बस यात्रा गरेर फर्किएँ । यो किताब लेख्दाको अनुभवकै अर्को किताब हुन्छ जस्तो लाग्छ मलाई ।

तपाईंको पुस्तक दुखेको युरोपले कष्टपूर्ण जीवन गुजारेका नेपालीहरुको अवस्थालाई प्रतिनिधिमूलक रुपमा प्रतिविम्बित गरेको छ। युरोपमा बसेर यहाँ आएका नेपालीहरुको सास्तीको खोजी गर्ने प्रेरेणा कसरी पाउनुभयो ?

मलाई पनि अरुलाई जस्तै युरोप आएपछि सुख हुन्छ । सजिलै हुन्छ वैधानिक कागज। सेवासुविधा, जागिर सबै हुन्छ। यताका मान्छे नेपाल घुम्न जाने पर्यटक जस्तै मिजासिल, दयालु र हँसिला हुन्छन् भन्ने लाग्थ्यो । तर युरोपमापनि दु:ख रहेछ । यो दु:खको अर्को महासागर रहेछ भन्ने म आफैंले भोग्नु नपरेपनि देखें, सुनें । मानिसहरु बेचिएको, रोएको, डिप्रेसनमा गएको, परिवारमा पारपाचुके भएर लथालिंग भएको, युरोप आउँदाको ऋण तिर्न नसकेर उता बिजोग भएको, नेपालीको घर परिवार, जिन्दगीनै भताभुंग भएको, सोसिएको देखें। युरोप सुख मात्रै छैन धेरैलाई यो महादेश दुखेकोपनि छ भन्ने देखें। त्यसैले यस्ता कुराहरुलाई पनि सार्वजनिक गर्नुपर्छ भन्ने लागेर मैले दुखेको युरोप लेखेको हो ।

सन् २०१० देखि तपाईंले युरोपका नेपालीको कथा लेख्न सुरु गर्नुभयो। अहिले १३ वर्षपछि युरोपमा नेपालीको जीवनचर्यालाई कुन रुपमा देख्नुहुन्छ। तपाईंले कितावबाट नै मानवतस्करीको उजागर गरेको भए पनि अझै पनि डरलाग्दा पाटोहरु दोहोरिएका छन्। नेपाल अझै पनि युरोपका लागि मानव तस्करीको ‘निर्यात मुलुक’ बनिरहेको छ। यसलाई रोक्न तपाईको सुझाव के -छ ?

मानव तस्करी अहिले पनि छ । मैले अहिले पनि आफ्ना समाचार, रिपोर्टमार्फत् त्यो विषय उठाइरहेकै छु । जति उठाए पनि त्यो रोकिएको छैन । बरु त्यसले स्वरुप बदलेको छ । मानव तस्करीको मार्ग, तरिका र गन्तव्य बदलिइरहने रहेछ । यसलाई रोक्न त पहिलो कुरो हाम्रै मुलुक सम्पन्न बन्नुपर्‍यो । हामी नेपालीले आफ्नै मुलुक सम्पन्न बनाउनुपर्ने रहेछ । मुलुक सम्पन्न भए कोही पनि बेचिएर अर्काको मुलुक जाँदैन । त्यसपछि आफू कुनै मुलुकमा जानु पहिले सोध्ने, बुझ्ने र सम्बन्धित मुलुकमा भएका नेपाली संघसंस्था, त्यो देशको दूतावास र अन्य भरपर्दा नेपालीसित बुझेर मात्रै हिँड्ने गरेपनि धेरै नेपाली फस्नुपर्दैन । अर्को स्पष्ट कुरा के भने यसमा सरकारको इच्क्षाशक्ति पनि चाहिन्छ । खासमा भन्नुहुन्छ भने युरोपमा नेपाली आप्रवासीको यति ठूलो, बिकराल समस्या भैसक्या छ नि ! नेपाल सरकारले यो विषयलाई प्राथमिकतामै राखेको छैन। अचम्मको कुरा त संयुक्त राष्ट्र संघीय आप्रवाशी निकायले पनि राखेको छैन। राम्रोशित अध्ययनसम्म भएको छैन । युरोपका आप्रवाशी नेपालीबारे न सरकारले अध्ययन गरेको छ, न नेपालीको लागि नेपाली भन्ने एन आर एन एलेनै।

तपाईंको अर्को पुस्तक ‘त्यो नेपाल’ बारे पनि चर्चा गरौं । यस पुस्तकका सबै लेखहरु पनि अन्तर्वार्तामा आधारित छन्। तपाईंलाई यो शैली मन पर्ने हो वा लेखनमा सजिलो लाग्ने हो ?

खासमा मेरा चार पुस्तकमध्ये दुखेको युरोप र त्यो नेपाल अन्तर्वार्तामा आधारित छन् । मान्छेका भोगाइ, अनुभव लिन त अन्तर्वार्ता गर्नै पर्‍यो । मैले पात्रका अनुभवलाई बढी विश्वसनीय वा तथ्यपरकनै राख्नुपर्छ भनेर यहि शैली रुचाएँ । मैले त्यो नेपाल लेख्दा यो शैली कतै देखेको पनि थिइन् । अर्काको भोगाइ, अनुभव र भनाइलाई सकेसम्मै उस्तै रहोस् भनेर यो शैली अपनाएको हो । औपन्यासिक शैलीभन्दा यो कठिन जस्तो लाग्छ। किनकि पात्रले अनौपचारिक वा नमिलाइकन बोलेका कुरालाई मिलाएर, मिठोसित, नबिगारिकनै दिनसक्नुपर्छ यो शैलीमा । उपन्यास, निबन्ध भए त आफूले शब्द, बहावमाथि खेल्न सकिन्थ्यो ।

‘त्यो नेपालका’ लागि सन् २००६ देखि नै फ्रान्सेली अनुभव सुन्न सुरु गर्नुभएको रहेछ। कितावका लागि २९ जना पात्रहरुको छनोट कसरी गर्नुभयो ? फ्रान्सेलीले नेपाल के देखे, जुन हामीले देखेनौं ?

सुरुमा त म लेख्ने मान्छे, नलेखि बस्न गाह्रो भयो । के लेख्ने? मलाई कसैले सुनायो, एरिकभ्याली, राजाका मास्टर यतै छन् । प्रथम ८०० मिटर अग्लो हिमाल अन्नपूर्ण आरोही मोरिस हेर्जोग पनि छन्, वीरेन्द्रले यहीँ कृषि पढेका हुन्, उनी बसेको घर छ, उनका साथी जीवितै छन् आदि।

त्यो बेला अहिले जस्तो इन्टरनेट सर्वत्र, सहज र सूचना पनि पर्याप्त थिएन गुगलमा । त्यस्ता पात्र पाए गज्जबको किताब हुन्थ्यो भन्ने दिमाखमा पर्‍यो । खोज्ने कसरी ? समस्या पर्‍यो। एक जनाले सुनाए-विश्व साइकल यात्री, विश्व हिमाल आरोही, मोटरमै नेपाल पुग्ने, पूर्वराजदूतहरुको एशोसिएसनहरु छन् पेरिसमा । ठेगाना कसैले दिन सकेन । यस्सो सोचें ‘साइनबोर्ड हेर्दै पेरिसका गल्ली गल्ली एक साता चहार्नुपर्‍यो ।’

एक दिन बिहानै उठेर पानी, खाजा, पेरिसको नक्शा, कापी, कलम, रेकर्डर बोकेर निस्किएँ । पेरिसका गल्ली गल्ली चहारें । पूर्वआरोहीहरुको संस्थाको सााइनबोर्ड देखें । पसेर सोधें । उनीहरु म पसिनै पसिना चुहाएर, थाकित मुद्रामा पुगेको र त्यस्ता पात्र खोजेको देखेर अचम्मित पनि भए । तीन पेज फोटोकपी गरेर दिए जसमा नेपालसित सम्बन्धित फ्रान्सेलीको नाम र फोन थियो । त्यसमध्ये राजा वीरेन्द्र आएर फ्रान्सको नोरमदीस्थित कृषि फार्म बसेका फर्मकै महिला आलेन ल ब्रेकको नाम पनि थियो । त्यहाँ उल्लेखित सबैलाई सम्पर्क गरें । केही काम लागे, केही लागेनन् । पछि जो जो पात्रसित अन्तर्वार्ता गरें तिनैलाई ‘नेपालबारे कुनै नौलो विषयको ज्ञातासित चिनजान छ भने सम्पर्क गराइदेउन, ठेगाना देउन’ भनेर सम्पर्क बढाउँदै लगें । पछि त मलाई असाध्यै सजिलो पो हुनथाल्यो । पात्र छान्दा फरक फरक विषयका होउन् भनेर छान्न थालें । राजा महेन्द्रका निजि पाइलटसित भेट्न चाहेको १४ वर्षपछि सफल भएँ । अहिले पनि त्यस्ता पात्रको खोजी जारिनै छ मेरो ।

 त्यो नेपाल अब फ्रान्सेली भाषामा पनि प्रकाशित गर्न लाग्नुभएको हो ? कहिलेसम्ममा यो प्रकाशित होला ? यसले फ्रान्सेली पाठकसमक्ष नेपाललाई कुन रुपमा चिनाउन सक्ला ?

त्यो नेपाल अब लगभग फ्रान्सेली भाषामा तयार भएको छ । अब यसको अन्तिम पटक एक जना फ्रान्सेली भाषाकै प्राध्यपकले हेर्नुहुने छ । त्यसपछि फेरि एक जना भाषाबिदलाई सर्सर्ति हेर्न दिनेछु । त्यसपछि यो प्रकाशनकालागि उमेदवार बन्ने छ । समय त ठ्याक्कै भन्न सक्दिन । कम्तिमा सन् २०२४ भित्र आउला भन्ने आसा छ । यसका २९ पात्रले करिब २०० विषयको बारेमा थोरैधेरै नौलो कुरा, ज्ञान खोतलेका छन् भनिन्छ । यसका पात्रले नेपालमा नखोतलिएका, अनौठा, विचित्र, नौलो, अद्भूत, आस्चर्य र गम्भिर लाग्ने विषयका बारेमा बोलेका छन् । पुस्तकका पात्र धेरै त अनुसन्धानकर्मी भएकाले तिनले दिएको निचोड पनि छ । त्यसैले यसले नेपाललाई फ्रान्सेली भाषीकाबीचमा अझ धेरै चिनाउने छ, नेपाललाई प्रवर्धन गर्ला भन्ने लाग्छ ।

अन्तर्वार्तामा आधारित तपाईंका दुई पुस्तकका बारेमा त हामीले कुराकानी गर्यौं। अब तपाईंको पहिलो पुस्तक ‘पन्छी जगत’ र पछिल्लो पुस्तक ‘वनको वैभव’ पढेपछि तपाईं प्रकृतिप्रेमी हो भन्नुमा दुईमत नै छैन। वास्तवमा यी दुई पुस्तकहरुमा त्यस्तो के छ ?

पन्छी जगतमा चराको जिन्दगानी, चराको शरिरको बनावट, चराले गर्ने सन्चारको तरिका लगायत चरा के हो त भन्ने छ । त्यस्तै नेपालमा कहाँ कहाँ कस्ता चरा पाइन्छन् र किन ? चरा कसरि चिन्ने, कसरि गन्ने, कहाँ गएर हेर्ने, कतिबेला हेर्ने, चरा हेर्दा के के चाहिन्छ, हेर्ने तरिका के हो ? चरा र मान्छेको सम्बन्ध के कस्तो हो । चरा कसरि र किन बसाइँ सर्छन्? बाटो कसरी पता लगाउँछन् भन्ने बारे छ । वनको वैभमा जीवजन्तुका मनदेखि यौनसम्मका कुरा छन् । जस्तो-चराको भाले किन सुन्दर पोथीभन्दा, चराले किन गीत गाउँछ ? हात्तीका किन खुट्टाले पनि सुन्छन्, बाघका किन चार वटा कान मानिन्छ, जीवजन्तुमा किन र कसरी बलात्कार हुन्छ। बलत्कार रोक्न कस्तो तरिका अपनाउँछन्, भूकम्पको पूर्वसंकेत गर्छन् कि गर्दैनन् जीवजन्तुले, आदि जिवजन्तुका रोचकनै रोचक पक्षका बारेमा उजागर गरिएको छ ।

वनको वैभवमा जनावरको मनदेखि यौनसम्मका कुरा लेख्नु भएको छ। झन्डै दुई दशकदेखि तपाईं युरोपमा हुनुहुन्छ। विदेशमा बसेर पनि प्रकृतिका अनेक पक्षहरुबारे रोचक र लुकेका रहस्यमय पाटाहरु खोतल्न कसरी सम्भव भयो ?

पहिलो त प्रक्रिति भनेको करेसाबारी, आँगन, खेत, बारी जतापनि हुन्छ । त्यसलाई कसरी हेर्ने, बुझ्ने, चासो, चाख र चिन्तन गर्ने भन्ने मुल कुरा हो । प्रक्रितिको रसपान, अध्ययन करेबाबारी, बार्दली, घरको छत, गाडीको भूमिगत पार्किङमापनि गर्न सकिन्छ । मेरो हकमा, म जहाँ भए पनि निरन्तर खोला, ताल, जंगल, हिमाल आदितिर गैराख्छु । जहाँ हुन्छु त्यसैमा ध्यान अजन्छ। नेपालमा मात्रै होइन अन्यत्र पनि म जताजता गएँ, जान्छु म प्रक्रितिको अनेक पाटोकै खोजी, रसपानमै ध्यान दिन्छु । अर्को कुरा म अनुभवीका कुरा सुन्छु र पढ्छु पनि । विश्वमा जिवजन्तुका क्षेत्रमा केकस्तो भैरहेको छ भन्ने अपडेट रहने कोसिस गर्छु । पढाइ र पराइ भएपछि सम्भव भैहाल्छ।

युरोपमा बसेर नै तपाईंले पत्रकारिकासँगै चार वटा कितावहरु पनि लेखिसक्नुभएको छ। यो प्रेरेणा कसरी पाउनुभयो ?

म नेपालमा पत्रकारिता गरेर आएकोले पत्रकारिता छोड्न सकिन । लेख्न छोड्ने कुरा सोच्दा पनि पीडा हुने रहेछ । तर पत्रकारिता मात्रैले पनि लेखनको मेरो धित मर्न सकेन । अलि गहिरो खालको लेखनमा चाख भयो । त्यसैले किताब लेख्न लागें । यसमा मैले पढ्ने गरेका किताब, लेखकहरुनै हुन् प्रेरणाका स्रोत । प्रकृतिको विषयमा जानकार साथीहरु जोसित ज्ञान छ तर लेखनशैली छैन ती पनि हुन् । त्यसपछि मेरो आफ्नै परिवार एकदमै सहयोगी भएर हो । मेरा फ्रान्सेली साथी केही असाध्यै निकट, प्रेरणादायी छन् जसले मलाई असाध्यै समर्थन, साथ र सहयोग दिन्छन् । त्यसले पनि मलाई किताब लेखनमा प्रेरित गरेको हो ।

त्यो नेपालको फ्रान्सेली संस्करणबाहेक नेपालीमा अरु केही आउँदै छ की ?

मैले वनको वैभवकै दोस्रो भाग भन्न सकिने अर्को पुस्तक सकेर बुझाएको छु । प्रकाशित हुने मिति यकिन नभए पनि छिट्टै आउला । त्यसबाहेक म युरोपकै नेपालीका कथाव्यथा र त्यो नेपाल जस्तै स्वीसहरुले भोगेको नेपालबारे दुई फरक किताब लेखिरहेको छु । समय कति लाग्छ चाहिँ भन्न सक्दिनँ ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?