+
+

बेइजिङ र वासिङ्टनको सम्बन्ध सुधारका लागि ३ मुद्दामा हुँदैछ वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १८:५२

३ असार, काठमाडौं । घोषणा गरेको पाँच महिनापछि मात्रै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन बेइजिङ पुगेका छन् । गत फेब्रुअरीमा अमेरिकी हवाइ इलाकामा जासुसी बेलुन पठाएपछि थप चिसिएको सम्बन्ध सुधारका लागि ब्लिङ्केन बेइजिङ गएका हुन् ।

ब्लिङ्केनले त्यहाँ उच्चपदस्थ सरकारी अधिकारीसँग वार्ता गर्ने बताइए पनि उनले राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्लान् वा नगर्लान् अझै टुंगो छैन । अमेरिका र चीनबीच वाणिज्य तथा व्यापार क्षेत्रमा तनाव जारी रहेको अवस्थामा सीले माइक्रोसफ्टका संस्थापक  बिल गेट्ससँग भने भेट गरेका छन् ।

विश्वका यी दुई महाशक्ति राष्ट्रबीच छलफल गर्नुपर्ने कयौँ विषय छन् । यद्यपि यो पटकको भ्रमण ३ एजेण्डामा केन्द्रित हुनेछ ।

सम्बन्ध सुधार

दुई मुलुकको पहिलो प्राथामिकता आपसी सम्बन्ध सुधार रहनेछ । यसका लागि गत महिना अष्ट्रियाको भियनामा पनि प्रयत्न भएको थियो । त्यहाँ तीन दिनसम्म चीन र अमेरिकी उच्चपदस्थ अधिकारीबीच वार्ता भएको थियो । सन् २०१८ यता अमेरिकाबाट चीनमा उच्चपदस्थ भ्रमण भएको थिएन । पाँच वर्षपछि चीन पुग्ने उच्चपदस्थ अधिकारीमा ब्लिङ्केन पहिलो हुन् ।

भ्रमणबारे टिप्पणी गर्दै राष्ट्रपति जो बाइडेनका सहयोगी तथा इन्डो-प्यासिफिक मामिलाका संयोजक कर्ट क्याम्बेलले भनेका छन्,’विश्वको परिस्थितिले दुई मुलुकको सहकार्य चाहेको अवस्थामा दुबै मुलुकबीचको असमझदारी अन्त्य आजको आवश्यकता हो । विश्वको प्रथामिकता सम्बोधनका लागि आपसी सहकार्य आवश्यक रहेको अवस्थामा अमेरिका र चीनबीच विभाजन ल्याउने विषयलाई अन्त्य गर्ने नै भ्रमणको प्राथामिकता हो ।’

चीनका विदेशमन्त्री क्वीन गाङले ब्लिङ्केनको भ्रमणअघिको टेलिफोन वार्तामा दुई मुलुकको सम्बन्धमा तिक्ताको कारण अमेरिकानै रहेको बताएका थिए । ‘अमेरिकाले चीनको चासोलाई सम्बोधन गर्दै आन्तरिक मामिलामा अनावश्यक चासो र हस्तक्षेप बन्द गर्नुपर्छ । प्रतिस्पर्धाको नाममा चीनको विकास र सुरक्षा मामिलामा गरिने अपमान हामीलाई स्वीकार्य छैन’, चिनिँया विदेश मन्त्रालयले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ ।

यो भ्रमणबाट आपसी सम्बन्ध सुधारका लागि ठूलो ब्रेक थ्रु हुनेमा अमेरिका आशावादी छैन । तर संवादमार्फतनै असमझदारी अन्त्यको पहलका लागि ब्लिङ्केन त्यहाँ पुगेको कुटनीतिज्ञहरू बताउँछन् । ‘यो भ्रमणबाट चिसिएको सम्बन्ध तत्कालै सुध्रिने छाँट छैन । निरन्तरको कुटनीतिक पहल र संवादमार्फत नै असमझदारी अन्त्य गर्ने पहल स्वरूप ब्लिङ्केन त्यहाँ पुगेका हुन्’, विदेश मन्त्रालयमा पूर्वी एशिया मामिला हेर्ने कुटनीतिज्ञ डेनियल क्रिटेनब्रिंक भन्छन् ।

यो भ्रमणले दुई मुलुकका राष्ट्रप्रमुखबीच वार्ताको वातावरण बनाएमा सम्बन्ध सुधारका लागि अर्को उपलब्धि हासिल हुनेछ ।

वाणिज्य तनाव साम्यको प्रयास

बाइडेन प्रशासन र चीनबीचको सम्बन्ध निकै चिसो छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र चीनबीच विगतमा भएका व्यापार सम्बन्धी समझदारीलाई उनले निरन्तरता दिएनन् । बाइडेन प्रशासनले चीनबाट हुने आयात कटौती गर्‍यो । यस्तै कम्युटर चिप्स निर्यातमा पनि अमेरिकाले चीनलाई प्रतिबन्ध लगायो । यसको बदलामा चीनले माइक्रोनलाई चीनमा प्रतिबन्ध लगायो । माइक्रोनको सबैभन्दा ठूलो बजार हिस्सा चीनमा थियो । अमेरिकाले चिप्सको प्रतिस्पर्धामा चीनलाई उछिनिरहेको छ । यस्तो अवस्थामा चीन पुगेर अमेरिकाले आफ्नो त्यस निर्णयको थप बचाउ गर्ने क्याम्बेलले बताए ।

यदि कम्युटर प्रविधिमा प्रतिस्पर्धी रहेका महाशक्ति दुई राष्ट्रबीच  लागू औषध ओसारप्रसार नियन्त्रणमा पनि सहकार्य जरूरी छ । अमेरिकाले चीनले उत्पादन गर्ने रसायन फेन्टनियल निर्यात कम गर्ने बताएको छ । हेरोइनभन्दा शक्तिशाली लागूऔषण फेन्टनियल रहेकाले उसले आयात कम गर्ने बताएको हो । विगत सात वर्षयता यो लागूऔषध  प्रयोग गरेर मर्नेको संख्या ह्वात्तै बढेकाले यसमा सहयोगका लागि अमेरिकाले चीनसँग प्रस्ताव राख्दैछ । ‘अमेरिकाको लागि यो निकै संवेदनशील विषय हो । त्यसैले ब्लिंकेनले चीनसमक्ष फेन्टनियलको निर्यात कम गर्ने प्रस्ताव राख्न सक्छन् वा यसको अवैध कारोबार रोक्नका लागि सहकार्यको प्रस्ताव अघि बढाउनेछन्’, क्रिटेनब्रिंकले भने ।

युद्ध रोक्ने प्रस्ताव

अमेरिकी क्षेत्रमा जासुसी बेलुन पठाएपछि र रूसलाई हतियार सहयोग गरेपछि दुई मुलुकबीचको सम्बन्धमा थप वैमनश्यता थपिएको छ । रूस-युक्रेन युद्धमा विवादास्पद भूमिका निर्वाह गरिरहेकाले निकट भविष्यमा चीन र अमेरिकाबीच पनि युद्ध हुनसक्ने टिकाटिप्पणी भइरहेका छन् ।

अझ ताइवान मामिलालाई लिएर दुई मुलुकबीच फरक विचार रहेकाले पनि युद्ध हुनसक्ने सम्भावना रहेको आकलन भइरहेको छ । पछिल्लो समयमा चीनका रक्षामन्त्री ली साङफुले सिंगापुरमा भएको क्षेत्रीय सुरक्षा सम्मेलनमा अमेरिका र चीनबीच युद्ध भए विश्वमा विषम परिस्थिति सिर्जना हुने चेतावनी दिएका थिए ।

गत ३१ मेमा चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि आफ्नो सेनालाई खराब परिस्थितिका लागि तयार रहन निर्देशन दिएका थिए । यस्तो अवस्थामा भियनामाझैँ बेइजिङमा पनि ब्लिंकेनले रूसलाई वित्तीय र सैन्य सहयोग गरेमा चीनले कठिन परिस्थिति व्यहोर्नुपर्ने चेतावनी दिनसक्ने बताइएको छ ।

साउथ चाइना सी र ताइवान मामिलालाई लिएर दुई मुलुकबीच विवाद चर्किँदै गएको छ । तिनले ताइवानलाई  आफ्नो भनिरहेको छ भने साउथ चाइन सीमा पनि आफ्नो सीमा फैलाउन खोजेको छ । दुई मुलुकबीच मुठभेडको स्थिति आउन नदिन ब्लिंकेनले पहल पनि गर्ने बताइएको छ । ‘चीनले फोनमा चेतावनी दिएझैँ ब्लिंकेनले पनि आफ्नो चासो र चिन्तामा अवरोध नपुर्‍याउन चेतावनी दिनसक्छ । बाइडेन प्रशासनले तनावलाई साम्य पार्दै संवादलाई प्राथामिकता दिएकाले ब्लिंकेनले मुठभेड निम्तिन नदिनका लागि केही पहल गर्नसक्नेछन्,’ क्रिटेनब्रिंक भन्छन् ।

राष्ट्रपतीय निर्वाचनको संघारमा चीनसँग वृहत सहकार्यले आफूलाई धक्का पुग्न सक्नेमा बाइडेन प्रशासन सजग छ । वासिंटनमा बढ्दो चीन विरोधी भाष्यप्रति बाइडेन प्रशासन सचेत रहेकाले तत्कालै ठूलो उपलब्धिको अपेक्षा यस भ्रमणबाट राख्न सकिँदैन । यद्यपि बढ्दो तनाव र सम्भावित सैन्य मुठभेड रोक्नका लागि यो भ्रमणले सन्तोषजनक परिणाम दिने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?