+

किन पलायन हुँदैछन् पोषणविद् ?

२०८० असार  ४ गते १२:५७ २०८० असार ४ गते १२:५७
किन पलायन हुँदैछन् पोषणविद् ?

काठमाडौं । कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन स्वास्थ्य र पोषणयुक्त खानाको महत्त्वपूर्ण भूमिका हुन्छ । स्वस्थ जीवनको लागि स्वास्थ्य र पोषणयुक्त खानाको महत्त्व भएजस्तै खराब खानपानका कारण पछिल्लो समय मोटोपन, उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनेको संख्या बढिरहेको छ ।

शरीर स्वस्थ हुन खानामा आवश्यक पोषक तत्त्व उचित मात्रामा पुग्नुपर्छ । शरीरमा पौष्टिक तत्त्व कमी मात्र होइन, बढी भए पनि हानिकारक हुन्छ । यसले व्यक्ति, परिवार र सामुदायिक स्वास्थ्यमा नै दीर्घकालीन असर पार्छ । त्यसैले पोषणको बारेमा हरेक व्यक्तिले थाहा पाउनु जरुरी छ । त्यसका लागि दक्ष पोषणविद्को परामर्श आवश्यक पर्ने पोषणविद् भुपाल बानियाँ बताउँछन् ।

स्वस्थ भोजन र भोजनशैलीको बारेमा ज्ञान र चेतनाको कमीले आजभोलि धेरै व्यक्ति कम उमेरमै उच्च रक्तचाप, मधुमेह, हृदयघातजस्ता रोगको सिकार भइरहेका छन् । कतिपय चिकित्सकलाई समेत स्वस्थ भोजनशैलीको बारेमा पक्का ज्ञान नभएका कारण बिरामीको रोग केवल औषधिले मात्र थेगिरहेको अवस्था छ । यस्तोमा हरेक अस्पतालमा दक्ष पोषणविद् चाहिने पोषणविद् बानियाँ बताउँछन् ।

पोषण विज्ञानको अंश हो, जसले खानामा पोषक तत्त्वको महत्त्व र शरीरले त्यसलाई कसरी प्रयोग गर्छ भन्ने कुरामा केन्द्रित हुन्छ । कुनै पनि रोग लागेमा उचित डाइट प्लानका मद्दतले छिट्टै रोगबाट उम्किन र रोगका लक्षण न्यूनीकरण गर्न डाइट प्लान तथा पोषणविद्को सल्लाह महत्त्वपूर्ण हुने पोषणविद् अनुश्री आचार्य बताउँछिन् ।

किन चाहिन्छ अस्पतालमा पोषणविद् ?

अस्पतालमा दैनिक दुई हजारको हाराहारीमा बिरामीहरू आउँछन् । त्यसमध्ये केही रोगका बिरामीलाई चिकित्सा पोषण थेरापीको जरुरी पर्छ । जस्तै, मधुमेहको बिरामीलाई केही खानेकुराको सेवनले सुगर बढाउँछ । कार्बोहाइड्रेटयुक्त खानेकुराले पनि सुगर बढाउँछ ।

यस्तो बेला मधुमेहका बिरामीका लागि पोषणविद्को सल्लाह एकदमै महत्त्वपूर्ण हुन्छ । वीर अस्पतालमा दैनिक करिब दुई सय जना बिरामी आउँछन् । यस्तोमा ती बिरामीलाई पोषणसम्बन्धी सल्लाह दिन एक जना पोषणविद् मात्र छन् । तर वीर अस्पतालमा बिरामीको संख्या बढी हुने भएकाले तीनदेखि चारजना पोषणविद् हुनुपर्ने डा. दीपक मल्ल बताउँछन् ।

पोषणविद्को काम भनेको विभिन्न प्रकारका रोगको रोकथाम गर्ने तथा समस्या बढ्न नदिने हो । विश्वका प्रायः देशमा खराब जीवनशैली र खानपानको कारण देखा परेको स्वास्थ्य समस्यामा जीवनशैली र खानपान सुधार्ने सल्लाह दिइन्छ । त्यसकै लागि अस्पतालमा अनिवार्य रूपमा पोषणविद्हरू नियुक्त गरिएको हुन्छ । तर नेपालका अस्पतालहरूमा भने पोषणविद् भेट्नै गाह्रो हुने बानियाँ बताउँछन् ।

मानौं, मधुमेहका बिरामीले मधुमेह नियन्त्रणमा राख्न सकेनन् भने उनीहरूलाई त्यसकै कारण मिर्गौला र मुटुको समस्या आउन सक्छ । तर बिरामीले आफ्नो खानपानमा ध्यान दिए भने त्यसबाट हुन सक्ने जटिलतालाई कम गर्न सकिने बानियाँ बताउँछन् ।

मधुमेह मात्र होइन, मुटुका बिरामी, मिर्गौलाका बिरामी र अन्य विभिन्न रोगमा कस्तो खाना खाने, कसरी खानेलगायत कुरा सिकाउन पोषणविद् चाहिने उनी बताउँछन् । ‘नेपालका अस्पतालमा दैनिक हजारौं बिरामी आउँछन् । उनीहरूलाई औषधिसँगै कस्तो खानपान अपनाउने भन्ने कुरा सिकाउन हरेक अस्पतालमा पोषणविद् आवश्यक पर्छ,’ उनी भन्छन् ।

बच्चा जन्मिएपछि उसको वृद्धि विकासको लागि कस्तो खानपान अपनाउने भन्नेदेखि वृद्धवृद्धाको हेरचाहको लागि समेत पोषणविद्को आवश्यकता पर्ने बानियाँ बताउँछन् । विदेशमा उपचारको लागि गएका बिरामीलाई खानपान र पोषणका लागि पोषणविद्को सल्लाह चाहिन्छ भन्ने ज्ञान छ । तर नेपालमा धेरै मान्छेलाई उपचारमा औषधिसँगै डाइट प्लानको पनि जरुरी हुन्छ भन्ने थाहा नै नभएको बानियाँ बताउँछन् ।

बिरामीलाई उसको समस्याअनुसारको डाइट प्लान दिएर समस्यालाई बढ्न नदिन र कतिपय अवस्थामा समाधान गर्न पनि डाइट प्लानको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले हरेक अस्पतालमा पोषणविद् चाहिने पोषणविद् आचार्य बताउँछिन् ।

दर्ता नहुँदा अरुले मनपरी धन्दा चलाउँदै

बीएस्सी पोषण तथा आहारशास्त्र वा सो सरहको स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीलाई आवश्यक परीक्षा उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यावसायिक परिषद्ले पोषणविद्को मान्यता दिने गरेको छैन । पोषणविद्हरूले मान्यता नपाएकाले पोषणविद्को काम अन्य व्यक्तिहरूले समेत गरिरहेको बानियाँ बताउँछन् ।

अर्का पोषणविद् आयुष अधिकारी भन्छन्, ‘पोषणविद्लाई मान्यता दिएर काम छुट्याइदिएको भए पोषण र खानपानलाई धन्दा बनाएर बिरामीलाई लुट्ने धन्दा कम हुनेथियो ।’

अस्पतालमा छैन पर्याप्त दरबन्दी

वीर अस्पताल र धुलिखेल अस्पतालमा एक-एक जना पोषणविद् नियुक्त गरिएको छ । धेरै अस्पतालमा त पोषणविद् नै छैनन् ।

स्वास्थ्य मन्त्रालयले २०७५ सालमा प्रकाशित गरेको न्यूनतम सेवा मापदण्ड अनुसार प्रत्येक अस्पतालको १०० बेड बराबर एक जना वरिष्ठ डाइटिसियन अधिकृत र एक जना डाइटिसियन सहायक साथै विशेष सेवा अन्तर्गत (आईसीयू, एनआईसीयू, पीआईसीयू, नेफ्रोलोजी र हेमोडाइलाइसिस) का लागि थप एक जना वरिष्ठ डाइटिसियन अधिकृतको व्यवस्था हुनुपर्ने भनिएको छ । हालसम्म कुनै पनि अस्पतालमा नियमअनुसार दरबन्दी सिर्जना गरिएको छैन ।

आईसीयूजस्ता गम्भीर प्रकृतिका बिरामी राख्ने ठाउँमा बिरामीलाई चाहिने पोषणको बारेमा डाइटिसियनलाई विस्तृत रूपमा थाहा हुने हुँदा बीएस्सी पोषण तथा आहारशास्त्र योग्यतालाई आवश्यक दरबन्दी दिनुपर्ने पोषणविद् अधिकारी बताउँछन् ।

‘दरबन्दी अनुसार विज्ञापन नहुँदा मन्त्री, सचिवहरूलाई केही फरक पर्दैन, तर हामी विद्यार्थीको समय जान्छ, उमेर जान्छ,’ उनी भन्छन्, ‘हरेक वर्ष कात्तिक महिना (जुनबेला प्राविधिक पदको विज्ञापन गरिन्छ) कुर्न हामी विद्यार्थीलाई गाह्रो हुन्छ । किनभने अर्को कात्तिक आउँदासम्म हाम्रो उमेर र समय थामिएको हुन्न ।’

पलायन हुँदैछन् पोषणविद् 

नेपालमा काम नपाइने र कामको उचित मूल्यांकन नभएकोले गर्दा आफूलगायत थुप्रै पोषणविद्हरू विदेशिन बाध्य भएको पोषणविद् कोमल गुरागाईं बताउँछन् ।

‘नेपालमै बसेर केही गर्छु भनेर ‘न्युट्रिसन काउन्सिलिङ एन्ड रिसर्च प्रालि’ कम्पनी खोलेर पोषणसम्बन्धी सम्पूर्ण काम पनि गरें । कोरोना र लकडाउनका कारण त्यसलाई चलाउन गाह्रो भएर म अस्ट्रेलिया आएँ,’ हाल अस्ट्रेलियामा रहेका गुरागाईं भन्छन् ।

नेपालमा पोषण पढेका र स्वास्थ्य क्षेत्रलाई योगदान पुर्‍याउनुपर्छ भन्ने सोच बोकेकाहरूका लागि कामको अवसर नै राम्रो नहुनु र प्राथमिकता पनि नदिइएका कारण पोषणविद्को संख्या कम भएको हुन सक्ने उनी बताउँछन् ।

‘पोषणविद्लाई दर्ता दिइयो र मान्छेहरू बिरामी हुँदा डाक्टरकहाँ गएजस्तै खानपानसम्बन्धी समस्या परेर पोषणविद्लाई खोज्ने वातावरण सिर्जना भए अस्टे«लियाबाट म चाहिं फर्किन सक्छु,’ उनी भन्छन् ।

पोषणविद् पढेकाहरु बेरोजगार हुनुपर्ने अनि अरुले चाहिं विभिन्न प्रकारका सप्लिमेन्ट बेच्ने, प्रेसर कम हुन्छ भन्दै ग्रीन टी बेच्ने गरेको देख्दा पनि जिम्मेवार निकाय गम्भीर नभएको गुरागाईं गुनासो गर्छन् ।

‘यसको फाइदा उठाएर धेरैले लाखौंको व्यापार गरेका छन् । यसतर्फ सरकारको ध्यान जान जरुरी छ,’ उनी भन्छन् ।

अस्पताल पोषणविद्
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मान्छे किन दु:खी हुन्छ ?

मान्छे किन दु:खी हुन्छ ?

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

किन हुन्छ बारम्बार गर्भपतन ?

किन हुन्छ बारम्बार गर्भपतन ?