+
+

आँबुखैरेनी–पोखरा सडक विस्तार : पूर्वीखण्डमा २९ र पश्चिमखण्डमा ७.५ प्रतिशत प्रगति

सुवास पण्डित सुवास पण्डित
२०८० असार ५ गते १८:१०

५ असार, चितवन । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा सडकखण्ड विस्तारले अपेक्षाकृत गति लिन सकेको छैन । हालसम्म पूर्वी खण्डमा २९ प्रतिशत र पश्चिम खण्डमा ७.५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

तनहुँको आँबुखैरेनीदेखि म्याग्दे गाउँपालिकाको जामुने भञ्ज्याङसम्मको ४१ किलोमिटर सडकलाई पूर्वी खण्ड र जामुने भञ्ज्याङदेखि पोखरासम्मको ३९ किलोमिटर सडकलाई पश्चिम खण्ड भनेर विभाजन गरिएको छ ।

पूर्वी खण्ड सडक विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पश्चिम खण्डको काम भने पूर्वी खण्डको भन्दा ६ महिना ढिला सुरु भएको थियो ।

पूर्व खण्डको काम चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले र पश्चिम खण्डको काम चीनकै यनहुई काइयुआन हाईवे एन्ड ब्रिज कम्पनीले पाएका छन् । पूर्व र पश्चिम गरी जम्मा ८० किलोमिटर लामो सडक खण्ड विस्तारका लागि एसियाली विकास बैंकले ऋण सहयोग गरेको छ ।

यी दुवै खण्ड विस्तारको काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

अहिले के भइरहेको छ ?

पूर्वी खण्डको आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार पूर्वी खण्डको काम गर्न ६ अर्ब ३१ करोडमा ठेक्का सम्झौता भएको थियो । अहिले यो खण्डको डेढ किलोमिटर सडक एकातर्फ कालोपत्रे गरिएको छ । अन्य ठाउँमा पिच गर्नुभन्दा अगाडि गरिने सबबेसका कामहरु भैरहेका छन् ।

यसैगरी रूख कटानको काम ९५ प्रतिशत सकिएको छ । विद्युतका पोलहरु सार्ने काम ठेकेदार कम्पनी र विद्युत प्राधिकरणको संयुक्त प्रयासमा भैरहेका छन् । विद्युतका पोल सार्ने काम ३० प्रतिशत सकिएको छ । विद्युतका पोल सार्न १९ करोड रकम छुट्टाइएको छ ।

आयोजना प्रमुख सुवेदीका अनुसार यो खण्डमा १७ पुलहरू नयाँ निर्माण गर्नुपर्ने छ । तीमध्ये १२ वटा साना पुल निर्माण सकिएका छन् भने बाँकीको काम चलिरहेको छ । साना १४ वटा पुलमध्ये ११ वटा सकिएका छन् भने ठूला तीन पुलमध्ये एउटाको काम सकिएको छ । बाँकी एउटाको काम आधा भएको छ । यस्तै, सडकखण्डमा पर्ने ७० कल्भर्टहरुमध्ये अधिकांश बनिसकेका छन् ।

घाँसीकुवादेखि छिर्कर्नेसम्मको सडकखण्ड र डुम्रे बजार पुग्ने ठाउँनजिकै डाँडा काट्ने काम जारी छ । त्यसैले त्यो खण्डमा बेला–बेलामा राजमार्गमा सवारी साधन रोकेर काम गर्ने गरिएको छ ।

पूर्वी खण्डको सडक सीमा क्षेत्रमा ५०५ वटा घरहरू पर्ने भएकाले कतिपय भत्काउनुपर्ने र कतिपय पछाडि सार्नुपर्ने अवस्था छ । बिमलनगर र दमौलीमा घरहरु भत्काउन बाँकी छ । दमौलीमा घर भत्काउने बारेमा अन्तिम निर्णय लिन बाँकी छ । अहिले डुम्रे बजार लगायतका क्षेत्रमा सडक सीमा भित्र पर्ने घरहरु भत्काउने काम जारी छ ।

बन्दीपुर गाउँपालिका वडा नं. १ मा पर्ने डुम्रे बजारका अधिकांश घरहरु आधा भत्किने वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । त्यसका लागि सडक आयोजनालाई सहजीकरण गरिरहेको उनको भनाइ छ । सडक सीमाबाट दायाँ–वायाँ २३/२३ मिटरलाई ‘राइट अफ वे’ निर्धारण गरिएको छ ।

भत्काउनुपर्ने घरका धनीहरुलाई अहिलेसम्म १६ करोड मुआब्जा बाँडिसकिएको छ । कूल मुआब्जामा २२ करोड २३ लाख खर्च हुने आयोजनाले जनाएको छ । स्थानीयका घर भत्काउँदा दिनुपर्ने मुआब्जा रकम भने ठेक्कामा समेटिएको छैन ।

पूर्वको तुलनामा पश्चिम खण्डमा काम सुस्त

पश्चिमखण्ड जामुने–पोखरा (३९ किलोमिटर) मा सडक विस्तारको काम भने निकै सुस्त छ । पश्चिम खण्ड विस्तारका लागि २०७८ जेठ २ गते चीनको यनहुई काइयुआन हाईवे एन्ड ब्रिज कम्पनीसँग ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । काम सुरु भने २०७८ भदौ १२ गतेदेखि भएको थियो ।

ठेक्का सम्झौता भएको मितिले ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर झण्डै दुई वर्ष हुन लाग्दा कामले आशातित प्रगति लिन नसकेको पश्चिम खण्डका आयोजना प्रमुख अमृत श्रेष्ठ बताउँछन् ।

तनहुँ र कास्की जिल्लामा पर्ने यो सडकखण्डमा पोखरातर्फको अधिकांश भागमा ६ लेनको सडक बन्ने छ । यो खण्डमा ८ वटा साना र ४ वटा ठूला गरी १२ वटा नयाँ पुलहरू बन्नेछन् । ७ वटा पुलको काम अहिले भैरहेको छ । यहाँ पर्ने १२५ भन्दा बढी कल्भर्टहरु मध्ये धेरैजसो बन्ने चरणमा छन् ।

आयोजना प्रमुख श्रेष्ठका अनुसार सडकको भित्तो काट्ने, रिटेन्सन पर्खाल लगाउने, नाली लगायतका संरचना बनिरहेका छन् । पश्चिम खण्डमा झण्डै ३ हजार रुखहरू काट्नुपर्ने छ । तीमध्ये तनहुँको जामुनेदेखि कोत्रे खोलासम्म पर्ने सबैजसो रूख हटाइएको छ भने कास्कीको विजयपुरमा रहेको सैनिक ब्यारेक भित्रका केही रूख मात्रै काट्न बाँकी छ ।

यो खण्डमा तनहुँतर्फ १३८ घर टहरा र कास्कीतर्फका झण्डै २३० घर भत्काउनुपर्ने छ । तीमध्ये अहिलेसम्म तनहुँ खण्डमा सडक सीमा भित्र पर्ने अधिकांश घरहरु भत्काइएका छन् । २१२ घर टहराको मुआब्जासमेत बाँडिएको छ । ६.५ करोड मुआब्जामध्ये ३.५ करोड बाँडिसकिएको छ । थर्पु क्षेत्र र पोखराको औद्योगिक क्षेत्रमा सडक विस्तारका क्रममा स्थानीयसँग रहेको समस्या प्रशासनको उपस्थितिमा बसेर मिलाउने प्रयास भइरहेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

विद्युतका पोलहरु तीन ठाउँबाट सार्ने काम जारी छ । विद्युत प्राधिकरणले तीन वटा प्याकेज बनाएर पोल सार्ने ठेक्का लगाएकोमा सेती नदीदेखि विजयपुरसम्मका आधाजति पोल सारिएका छन् । विजयपुरदेखि कुम्लेसम्मको भागमा पनि पोल सार्ने क्रम सुरु भएको छ । विद्युतका पोल सार्न आयोजनाले २६ करोड बजेट छुट्टाएको छ ।

अहिलेको सडकलाई विस्तार गरी शहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र अन्यत्र चार लेनमा विस्तार गरिने छ । विमलनगर, डुम्रे, दमौली, खैरेनीटार लगायतका बजार क्षेत्रमा सडक ६ लेनको हुनेछ । सडकको बीच भागमा ३ मिटरको मेडियन बन्ने छ । विस्तार भएपछि ‘मेडियन’ को दुईतर्फ ७–७ मिटरको सडक हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । सहरी क्षेत्रका ‘मेडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख बिरुवा र फूल रोपिने छन् ।

चार लेनको सडकको दायाँ–वायाँ नै साढे २ मिटरको सोल्जर (अतिरिक्त पिच) गरिनेछ । सो ठेक्कामा तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्ष सम्भारको अवधि गरी जम्मा नौ वर्षसम्म कम्पनीसँग सम्झौता रहने छ ।

मादी र सेतीको पुलको डिजाइन तयार

आँबुखैरेनी–पोखरा सडकखण्डका विस्तारको क्रममा तनहुँको दमौली नजिक रहेको मादी नदी र पोखराको सेती नदीमाथि पुल बनाउन सडक विभागले अलग–अलग ठेक्का लगाएको छ ।

पोखराको सेती नदीमाथि आकर्षक सिग्नेचर ब्रिज बनाउने ठेक्का रसुवा कन्स्ट्रक्सन प्रालिले पाएको छ । १ अर्ब ७ करोडमा ठेक्का सम्झौता भई ठेकेदार कम्पनीले पुलको नक्सा डिजाइन बनाएर विभागमा पेश गरेको छ । डिजाइन एण्ड बिल्डको आधारमा बनाइने पुल अहिलेको सेती नदीभन्दा माथि दुई लेनको र तल दुई लेनको बन्ने छ । समग्रमा सेती नदी माथि ६ लेनका पुल हुनेछन् ।

यस्तै, मादी नदीमाथि पुल बनाउन जेआईईसी र अनक जेभीसँग गत कार्तिकमा ठेक्का सम्झौता भैसकेको छ । अहिले रहेको पुलभन्दा माथिल्लो भागमा पुल बनाउन १ अर्ब २० करोडमा ठेक्का सम्झौता भई डिजाइन तयार गरी विभागमा पेश गरिएको छ । ३ वर्षभित्र बनाइसक्ने भनिएको यो पुलको डिजाइन पनि आकर्षक हुने बताइएको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?