+
+

बढ्यो पर्यटन मजदुरको पारिश्रमिक, साउनदेखि गाइडले दैनिक ३,१०० पाउने

अच्युत पुरी अच्युत पुरी
२०८० असार ५ गते १९:४०

५ असार, काठमाडौं । नेपालमा काम गर्ने पर्यटन मजदुरुको पारिश्रमिक बढेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार अब पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुरले दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । टानका महासचिव विनोद सापकोटाका अनुसार बढेको पारिश्रमिक १ साउन २०८० देखि लागु हुने गरी निर्णय भएको छ । यो निर्णयबारे टानले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा समेत गराइसकेको सापकोटाले जानकारी गराए ।

उनका अनुसार विगतमा पदयात्रा क्षेत्र अनुसार फरक फरक पारिश्रमिक रहेको थियो । यसलाई अब समान दरमा रुपान्तरण गरिएको उनले जानकारी दिए । पर्यटक मजदुरको पारिश्रमिक २०७५ मंसिरमा पछिल्लो पटक बढेको थियो । त्यसको ५ वर्षपछि पारिश्रमिक बढाउने निर्णय टानले गरेको हो । दीगो पर्यटनका लागि श्रमिक र उनीहरुको सुरक्षा अत्यावश्यक हुने भन्दै पारिश्रमिक बढाउने निर्णय भएको सापकोटाले बताए ।

यसबीचमा श्रमिकसँग भएका सम्झौता, नेपाल सरकारले कायम गरेको दररेट र मूल्य वृद्धिसमेतको अवस्थालाई मध्यनजर गरी नयाँ पारिश्रमिक तोकिएको उनले बताए । नयाँ पारिश्रमिक दर अनुसार पथ प्रदर्शक (गाइड)को प्रतिदिन पारिश्रमिक ३ हजार १०० रुपैयाँ पुगेको थियो । यसअघि अन्नपूर्णमा जाने गाइडको दर २ हजार १०० रुपैयाँ प्रतिदिन थियो । सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन २ हजार २६८ रुपैयाँ रहेको थियो ।

अब सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार ८ सय पुगेको छ । यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार १६ रुपैयाँ र सगरमाथाको २ हजार १ सय रुपैयाँ प्रतिदिन तोकिएको थियो । सहयोगी श्रमिक/मजदुर (पोर्टर)को पारिश्रमिक अब २ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि उनीहरुको पारिश्रमिक अन्नपूर्णमा १ हजार ९३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा २ हजार १ सय रुपैयाँ रहेको थियो ।

टानका महासचिव सापकोटाका अनुसार नयाँ व्यवस्थाअनुसार अब शिवपुरी पदयात्रामा जाँदा होस वा सगरमाथा आधार शिविर, सबै अवस्थामा मजदुरको पारिश्रमिक तोकिए अनुसारकै हुने छ । यसबाट श्रमिक पलायत हुने अवस्था रोकिने र पर्यटन क्षेत्रमा युवाहरु आकर्षित गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । ‘श्रमिक नभएसम्म व्यवसाय रहन्न, यसै भावनाका साथ नयाँ पारिश्रमिक कायम गरिएको छ,’ उनले भने ।

नेपालमा सगरमाथा र अन्नपूर्ण सबैभन्दा बढी व्यस्त पदयात्रा मार्ग हुन् । यसबाहेक डोल्पा, मकालु, कञ्चनजङ्‍घा, मनास्लु, धौलागिरि, हुम्लासहितका पदयात्रामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । विगतमा यी भेगका लागि छुट्टाछुट्टै दरमा पारिश्रमिक दर तोकिएकोमा अब सबै गन्तव्यका लागि समान दर लागु गरिएको छ । अहिले देशभर ३ हजार ८ सय हाराहारी ट्राभल एजेन्सी दर्ता छन् । ट्रेकिङ एजेन्सीको संख्या २ हजार ८ सय हाराहारी छ । देशभर २० हजार हाराहारी ट्रेकिङ गाइडले लाइसेन्स लिएको तथ्याङ्‍क छ । टुर गाइडको संख्या भने ५ हजार हाराहारी छ ।

यस्तो थियो पर्यटन मजदुरको पुरानो पारिश्रमिक :

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?