+
+

अपार्टमेन्टमा बस्ने, ट्याक्सी चढ्ने ‘ल्यापटप चोर’

प्रहरीलाई प्रश्न-‘फुल प्रुफ प्लान थियो, कसरी समातिएँ ?’

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १९:१२

१० असार, काठमाडौं। जिल्ला प्रशासन कार्यालय, ललितपुर नजिकै हरेको ग्लोबल लिंग टेक्नोलोजी प्रा.लि.मा २८ जेठमा झ्यालको ग्रील तोडफोड गरेर नगद र ल्यापटप चोरी भयो।

काउन्टरभित्र रहेको एक लाख ८ हजार रुपैयाँ, प्रमुख कार्यकारी अधिकृतको कोठाको ३८ हजार नगदसहित डेल भोस्ट्रो सिरिजका ल्यापटपहरु चोरी भएपछि सञ्चालकहरुले जिल्ला प्रहरी परिसर, ललितपुरमा अनुसन्धानका लागि निवेदन दिए।

‘प्रशासन नजिकै ल्यापटप र नगद चोरी भएको सूचना आएपछि अनुसन्धानमा टोली खटाएका थियौं, त्यसक्रममा सीसी टीभी फुटेज हेर्दा दिउँसो ल्यापटपबारे सोध्न आएकै व्यक्तिमाथि शंका बढ्यो’, जिल्ला प्रहरी परिसर, लतिलपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाह भन्छन्, ‘त्यसपछि प्राविधिक पक्षको विश्लेषण गर्दै अनुसन्धान अघि बढाएका थियौं।’

पसलका रामचन्द्र रोकाका अनुसार दिउँसो ल्यापटपबारे बुझ्न आएकै व्यक्ति राति ग्रिल तोडफोड गरेर प्रवेश गरेको देखिएको छ। एसएसपी शाहका अनुसार, सीसी टीभीबाट खुलेको हुलियाका आधारमा प्रहरीले उनले प्रयोग गरेको सवारी साधनबारे अनुसन्धान थालेको थियो।

‘अनलाइन प्लेटफर्म पठाओ, इनड्राइभमार्फत ट्याक्सी मगाएर हिँड्दा रहेछन्’, शाहले सुनाए, ‘१० वटाजति मोबाइल रहेछ, गाडी बोलाउन प्रयोग गरेपछि त्यो नम्बर बन्द भइहाल्दो रहेछ।’

थुप्रै चोकका सीसी टीभी फुटेजको विश्लेषण, मोटरसाइकल र ट्याक्सीहरुमाथि अनुसन्धान गर्दै जाँदा प्रहरीले घटनामा नक्साल घर भएका ३९ वर्षीय सुबोध श्रेष्ठको कनेक्सन फेला पार्‍यो।

‘पूर्णतः एकिन भइसकेको त थिएन, तर उनी रविभवनको सिल्भर सिटी अपार्टमेन्टमा बस्ने भन्ने खुल्यो’, शाह भन्छन्, ‘त्यसपछि हाम्रो टोली अपार्टमेन्टमा पुगेको थियो।’

जिल्ला प्रहरी परिसर, लतिलपुरका एक अनुसन्धान अधिकृतका अनुसार, अपार्टमेन्टमा बस्ने व्यक्तिले त्यसरी ल्यापटप चोरी गरे होलान् भन्ने सुरुमा पत्याउन प्रहरीलाई गाह्रै परेको थियो। कतै चोरले अनुसन्धान हुँदा अधिकृतहरुलाई अल्मल्याउन विछ्याएको जाल त होइन भन्ने पनि लागेको थियो।

तर, प्रहरीले शुक्रबार उनको अपार्टमेन्टमा छापा मार्दा चोरीका ८ वटा ल्यापटप बरामद भए। आईफोनसहित विभिन्न ब्राण्डका मोबाइल भेटिए। सामान नै भेटिएपछि उनी नै चोरीमा संलग्न रहेको देखियो। प्रारम्भिक सोधपुछमा पनि उनले इन्कार गर्न सकेनन्।

अपार्टमेन्टमा लैनचौरकी १९ वर्षीया युवती रोशनी महर्जन पनि थिइन्। प्रहरीले उनलाई पनि नियन्त्रमणमा लिएर जिल्ला प्रहरी परिसर, जावलाखेल ल्यायो।

‘सुबोध नै संलग्न काठमाडौंमा भएको अर्को चोरीमा एक जना युवतीले सामान लगेको फुटेजमा देखिएको थियो’, अनुसन्धान अधिकृतहरु भन्छन्, ‘फुटेजसँग म्याच गराउँदा त्यो उनी नै भएको खुल्यो, त्यसपछि अनुसन्धानका लागि हिरासतमा राख्न उनीविरुद्ध पनि म्याद थप भएको छ।’

अनलाइनबाट चोरीको सामान विक्री

अनुसन्धान अधिकृतहरुका अनुसार, जब सुबोधको अपार्टमेन्टमा प्रहरी पुग्यो, उनी छाँगाबाट खसेझैँ भए। किनकि, उनलाई लाग्थ्यो, ‘मैले कसैले थाहा नपाउने गरी चोरी गरेको छु।’

जावलाखेलस्थित प्रहरी कार्यालय ल्याउँदा पनि उनले त्यही प्रश्न गरेको एसएसपी शाह बताउँछन्। ‘मैले फुलप्रुफ प्लान बनाएको थिएँ, प्रहरीले कसरी आइपुग्यो ?’, शाहका अनुसार हिरासतमा पुगेपछि सुबोधले प्रहरीसँग जिज्ञासा राखेका थिए।

‘चोरलाई यसरी समात्यौं भन्ने कुरा त भएन, ऊ प्रविधिमा राम्रो रहेछ। मैले नेपालले नानो सेटलाइट पठाएको छ थाहा छ भन्दै सोधेँ’, शाह भन्छन्, ‘उसले थाहा छ भन्यो, मैले त्यही सेन्टलाइटले देखायो भनेँ। उसले मुन्टो हल्लायो।’

आफूले ठट्टा गर्दै भनेपनि उनले पत्याए जस्तो गरेको शाह बताउँछन्। उनका अनुसार चोरीका सामान अनलाइनमार्फत विक्री गर्न अरु व्यक्तिहरुको नाममा आईडी खोल्ने र अरुकै नाममा भएका मोबाइल नम्बरमार्फत अनलाइन राइड शेयरिङ प्लेटफर्म चढ्ने गरेकाले उनलाई कसैले समात्न सक्दैन भन्ने लागेको रहेछ।

शाह भन्छन्, ‘त्यसैले उनले मैले फुल प्रुफ प्लान बनाएँ भन्दा रहेछन्। तर, चोरले जति नै सावधानी अपनाए पनि कुनै न कुनै सुराक त छुट्ने नै भयो।’

प्रहरीका अनुसार शाह महर्जनसँग लिभिङ टुगेदरमा थिए। मासिक ६० हजार रुपैयाँ भाडा तिरेर उनी अपार्टमेन्टमा डेढ वर्षदेखि बस्दै आएका थिए। शाह भन्छन्, ‘कस्तो विलासी जीवनशैली रहेछ भने अपार्टमेन्टमा भान्छा नै छैन, सधैँ अनलाइनबाट अर्डर गरेर खाने गरेको देखिन्छ।’

प्रहरीका अनुसार त्यो सबै चोरीकै पैसाबाट सम्भव भएको हो। अधिकृतहरुका अनुसार सुबोध २०६१ सालमा चोरी आरोपमै पक्राउ परेर जेल पुगेका थिए। ९ महिना बसेर छुटेपछि उनले ल्यापटप मर्मतसम्बन्धी काम सिकेका थिए।

‘२०७२÷०७३ सालसम्म महाबौद्धमा ल्यापटप मर्मत सम्बन्धी काम गरेका रहेछन्, तर राम्रो पैसा नभएको भन्दै त्यसपछि छाडेर चोरीमा लागेछन्’, शाह भन्छन्।

प्रहरीका अनुसार उनले चोरीको सामान सस्तोमा हाम्रो बजार डटकम जस्ता अनलाइन प्लेटफर्ममार्फत विक्री गर्ने गरेका थिए। सुबोध काठमाडौंमा भएका विभिन्न चोरीका घटनामा पनि लामो समयदेखि खोजी सूचीमा रहेका व्यक्ति हुन्।

‘उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंले पनि खोजी गरिरहेको रहेछ’, एक अधिकृत भन्छन्, ‘ललितपुरबाट मुद्दा चलाएर छिनोफानो भएपछि त्यहाँ पनि बुझाउँछौं।’

प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?