+
+

वीरेन्द्रनगरको नीति तथा कार्यक्रम : ‘हेलो मेयरदेखि ‘बुवा आमासँग सञ्चो बिसञ्चो’सम्म

यज्ञ खत्री यज्ञ खत्री
२०८० असार ११ गते ९:४६

११ असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

मेयर मोहनमाया ढकालले आइतबार १३ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै करिब दर्जन नाराहरु सहित कार्यक्रमहरु सार्वजनिक गरेकी छिन् । ‘हेल्लो मेयर’देखि ‘बुवा आमासँग सञ्चो विसञ्चो’ लगाएतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

मेयर ढकालले नागरिकको गुनासो तथा सेवा सम्वन्धी जिज्ञासा सुन्न र सम्बोधन गर्न हेल्लो मेयर कार्यक्रम सर्वजनिक गरेकी छिन् । ‘हेल्लो मेयर कार्यक्रम मार्फत टोल फ्री नम्बर सञ्चालन गरिने छ’, मेयर ढकालले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भनिन्, ‘अनलाइन मार्फत गुनासो व्यवस्थापन गर्न सिटिजन गभरनेन्स रेस्पोन्स एप तयार गरिने छ ।’

नीति तथा कार्यक्रममा वीरेन्द्रनगरलाई आर्थिक रुपले सम्पन्न, भौतिक रुपले योजनाबद्ध सहरी सुविधायुक्त, महिला मैत्री, समावेशी/सहभागितात्मक, वातावरणीय रुपले स्वच्छ, सफा र हरियाली, सुव्यवस्थित, शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरको रुपमा निर्माण गर्ने उल्लेख गरिएको छ । तर उक्त शीर्षकका लागि कुनै रणनीतिक योजना बनाएको देखिँदैन ।

२७२ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षलाई ‘उत्पादन तथा बजारीकरण वर्ष’को रुपमा अघि बढाइने उल्लेख छ । नगरवासीलाई शून्य भोकमरी र खाद्य सम्प्रभुत्ता कायम गर्दै कुपोषण रहित स्वास्थ्य नगरबासी बनाउने लक्ष्य लिइएको मेयर ढकालले बताइन् ।

राजश्व सुधार वर्ष घोषणा

वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि नगरपालिकाले आगार्मी आर्थिक वर्षलाई राजश्व सुधार वर्ष घोषणा गरेको छ ।

वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउन जनसंख्या र पूर्वाधार पुगे पनि राजस्व अपुग भएकाले आगामी आर्थिक वर्षलाई राजश्व सुधारको वर्षका रुपमा घोषणा गरिएको मेयर ढकालले बताइन् । ‘नगरको राजश्वको अवस्था आत्मनिर्भर र स्वनिर्भरतर्फ अघि बढाइने छ,’ मेयर ढकालले भनिन् । ७९ वटा स्थानिय तह रहेको कणर्ाली प्रदेशमा एउटा पनि महानगर र उपमहानगर पालिका छैन ।

स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने भूमि, घरजग्गा बहाल कर, व्यापार व्यवसाय कर, सवारी साधन, विज्ञापन र मनोरन्जन लगायतका कर संकलन कार्यलाई अभियानकै रूपमा अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले व्यापार व्यावसाय कर नतिरेका व्यवसायीहरुलाई आगामी कात्तिक मसान्तसम्म कर बुझाए सबै बक्यौता र जरिवानाको ५० प्रतिशत छुट दिएर कुर असुली गर्ने नीति लिएको छ । महिला, अपांगता तथा विपन्न दलितद्वारा सञ्चालित उद्यम तथा व्यवसायीलाई १० प्रतिशत कर तथा सेवा सुविधामा छुट दिइने छ ।

नगरपालिकाले घर बहाल कर, व्यवसाय कर जस्ता नगरका प्रमुख स्रोतका रुपमा रहेका करहरु प्रत्येक वडा कार्यालयबाट टोल विकास संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा संकलन गर्ने नीति लिएको मेयर ढकालले बताइन् ।

यसरी संकलित व्यवसाय कर र घर बहाल करबाट प्राप्त रकमको १५ प्रतिशत रकम वडा कार्यालयलाई उपलब्ध गराइने छ । कर असुलीमा सहयोग गर्ने टोल तथा निजी क्षेत्रलाई माग अनुसारका आवश्यक पूर्वाधार, सडक बत्ती, सरसफाइ, विपद् व्यवस्थापन र अत्यावश्यक सार्वजनिक सेवा व्यवस्थापन तथा राजस्व असुलीका कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराइने छ ।

राजस्व वृद्धिका लागि टोल विकास संस्था र निजी क्षेत्र परिचालन गर्न १ करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

सहरी सौन्दर्यता प्राथमिकतामा

वीरेन्द्रनगरले बजेटमा नगरको सहरी सौन्दर्यतालाई प्राथमिकता दिइएको छ । नगरभित्र हरियाली प्रवर्द्धन, जल पुनर्भरण गर्न २५ लाख र छाडा पशु नियन्त्रण तथा गौशाला सञ्चालन गर्न १५ लाख बजेट विनियोजन गरिएको छ ।

नगरको सौन्दर्य प्रवर्द्धन प्राथमिकतामा राखी फोहोरमैलामा वैज्ञानिक व्यवस्थापनको सुरुवात गर्ने नीति तथा कार्यक्रमा उल्लेख छ । जसका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पूर्वाधारतर्फ पनि सौन्दर्यको विषयलाई प्राथमिकता दिइएको छ । प्रदेश राजधानीको अस्तित्वलाई विशेष ध्यान दिँदै राजधानी केन्दि्रत सहरी सौन्दर्यताका पूर्वाधारलाई विशेष जोड दिइने मेयर ढकालले बताइन् । वीरेन्द्रनगरका मुख्य चोकहरु सुधारका लागि ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै फुटपाथ सजावटमा २० लाख, पार्किङ्ग व्यवस्थापनका लागि ५० लाख र ट्राफिक लाइट व्यवस्थापनका लागि ४० लाख बजेट विनियोजन गरिएको नगर उपप्रमुख नीलकण्ठ खनालले जानकारी दिए ।

‘बुबाआमासँग सन्चो बिसन्चो’

मेयर ढकालले ‘बुबाआमासँग सन्चो बिसन्चो’ कार्यक्रम घोषणा गरेकी छन् । उक्त कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई प्रत्येक वडामा सरकारी तथा निजी अस्पतालसँगको सहकार्यमा भेटघाट कार्यक्रम सञ्चालन गरी सुगर तथा प्रेसरको निःशुल्क चेकजाँच एवं स्वास्थ्य शिविर व्यवस्थापन लागि दक्ष जनशक्ति परिचालन गरिने जनाइएको छ ।

नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि अनलाइन माध्यमबाटै गुनासो व्यवस्थापन प्रणाली लागु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै ‘मेयरसँग महिला कृषक कार्यक्रम’लाई निरन्तरता दिइएको छ । आगामी आर्थिक वर्षमा करिव २०० जना महिलाहरुलाई स्वरोजगारमा आवद्ध गर्ने लक्ष लिइएको छ । यसैगरी ‘जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिउँ’ भन्ने अभियान पनि चलाइने भएको छ ।

नगरको शैक्षिक उन्नती र गुणस्तरीय शिक्षालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ । नगरपालिकाले गत वर्ष निर्माण गरेको १० वर्षे शैक्षिक रणनीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताएको छ ।

नगरपालिकाले साक्षर नगर र रोजगारयुक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब’भन्ने कार्यक्रम अघि सारिएको छ । यसैगरी विद्यार्थी र शिक्षकको अनुपात मिलाएर पठनपाठनलाई गुणस्तरीय बनाउन ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ विगतको प्रतिबद्धतालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?