+
+

भारतीय कम्पनी बायजूसको आकाश छुने सफलता र पाताल भासिने असफलता

बीबीसी हिन्दीको सहयोगमा बीबीसी हिन्दीको सहयोगमा
२०८० असार १४ गते १९:५८
बायजूसका संस्थापक बायजू रविन्द्रन ।

१४ असार, काठमाडौं ।  विश्वभरका कम्पनीमा लगानी गर्ने अन्तर्राष्ट्रिय समूह प्रोससले भारतको शिक्षा सम्बन्धीको प्रविधि कम्पनी बायजूसको मुल्यांकन घटाएर ५.१ अरब डलर कायम गरेको छ ।

सूचना प्रविधिसँग जोडिएका स्टार्ट-अफ कम्पनीमा लगानी गर्ने नेदरल्याण्डमा सूचिकृत विश्वकै ठूलो कम्पनी प्रोससले बायजूसको मुल्यांकन ७५ प्रतिशत घटाएको हो । समाचार संस्था रोयटर्सका अनुसार बायजूसको मुल्यांकन यसअघि २२ अरब डलर थियो । प्रोसस बायजूसको सबैभन्दा ठूलो लगानीकर्ता हो ।

अमेरिकाको एउटा अदालतमा ऋण सम्बन्धी मुद्दामा अल्झिएको बायजूसले भारतमा कटौती गरिरहेको छ ।

केही दिनअघि मात्रै कम्पनीको अडिटर डेलाइट हास्किन्स एन्ड सेल्सले जिम्मेवारी छाडेको थियो । जो सन् २०२५ सम्मका लागि भनेर अडिटर नियुक्त भएको थियो । आर्थिक वर्षा २०२१-२२ को वित्तीय विवरण नै प्राप्त गर्न नसकेको भन्दै डेलाइट हास्किन्स एन्ड सेल्सले पत्र पठाउँदै जिम्मेवारी छाडेको बतायो ।

अडिटरले जिम्मेवारी छाडे पनि कम्पनीले लगानीकर्ताहरुलाई सेप्टेम्बरमा सन् २०२२ सम्मको र डिसेम्बरमा सन् २०२३ को आम्दानी र खर्चको विवरण प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको थियो ।

बायजूसले ५ वर्षका लागि एमएसकेए एन्ड एसोसिएट्सलाई नयाँ अडिटर नियुक्त गरेको छ ।

भारतको अंग्रेजी पत्रिका द हिन्दु बिजनेशका अनुसार बायजूसमाथि  कर्मचारीहरुले सञ्चय कोषमा रकम जम्मा नगरेको आरोप लगाएका थिए ।

त्यसपछि बायजूसको मातृ कम्पनी थिन्क एन्ड लर्न प्रालिले २०२३ मेसम्मको १० महिनाको सञ्चयकोष जम्मा गरेको थियो ।

त्यतिबेला १२३ करोड भन्दा धेरै रकम जम्मा गरेको कम्पनीले सञ्चय कोषको ३ करोड ४३ लाख रुपैयाँ केही दिनमा जम्मा गर्छु भनेको थियो ।

अर्को अंग्रेजी अखबार द इकोनोमिक टाइम्सका अनुसार बायजूसको बोर्डमा रहेका ३ जना सञ्चालकले राजीनामा दिएका छन् । जस अनुसार पीक एक्सवी पार्टनर्सका जीवी रविशंकर, चैन जुकरबर्गका विवियन वू र प्रोससका रसेल ड्रेसेनस्टाकले राजीनामा दिएका हुन् । तर बायजूसले यो खबरको खण्डन गरेको छ ।

बायजूस संस्थापक शेयरधनीको विद्रोह रोक्ने र लगानीकर्तासँगबाट थप लगानी जुटाउने कोसिसमा छन् । उ नयाँ लगानीकर्ताबाट १ अरब डलर जुटाउने अभियानमा रहेको अमेरिकी सञ्चार माध्यम ब्लूमबर्गले दाबी गरेको छ ।

भारतीय अंग्रेजी अखबर मिन्टमा प्रकाशित एक समाचार अनुसार बायजूस ले जुनमै मात्रै १ हजार कर्मचारीलाई जागिरबाट निकालेको छ । पोहोर मात्र कम्पनीबाट ३ हजारले रोजगारी गुमाएका थिए । अहिले कम्पनीमा ५० हजार बढी कर्मचारी छन् ।

कम्पनी अमेरिकाको न्यूयोर्कमा रहेको एक अदालतमा कानुन लडाइँमा छ । बायजूसले अमेरिकाको रेडबुन्ड कम्पनीसँग १ अर्ब २० करोड डलरको ऋण लिएको थियो । जुन ऋण उससले यसअघि नै तिरिसक्नु पर्ने थियो । तर अहिले कम्पनी ऋण तिर्ने स्थितिमा छैन ।

जतिबेला बायजूस सफलताको शिखर चढ्यो

मार्च २०२० मा कोरोना महामारीका कारण भारतमा देशव्यापी लकडाउन थियो । स्कूल, कलेज र सबै कार्यालय बन्द थिए । मानिसलाई घर भित्रै बसेर इन्टरनेट चलाउनुको अर्को बिकल्प थिएन ।

महामारीका कारण शैक्षिक संस्था बन्द भएपछि विद्यार्थी अनलाइन एडटेक कम्पनीमा भर्ना हुन थाले । सबै जना अनलाइन पढाइमा लागेपछि बायजूसको आम्दानी दिन दुई गुणा रात चौगुणा बढ्यो । कम्पनीले एक वर्षमै १ अर्ब डलर भन्दा धेरै रकम संकलन गर्‍यो ।

त्यै पैसा उसले नयाँ आएका आफूजस्तै कम्पनीको अधिग्रहणमा खर्च गर्‍यो । बायजूस बालबालिकाका कक्षादेखि सरकारी जागिर खानेहरुले गर्ने तयारी कक्षासम्मका अनलाइन सामग्री उपलब्ध गराउने अम्ब्रेला होल्डिङ कम्पनी बन्यो ।

कम्पनीले दिल खोलेर विज्ञापनमा खर्च गर्‍यो । एउटा समय यस्तो आयो कि बायजूस टेलिभिजनमा सबैभन्दा धेरै देखिने ब्राण्ड बन्यो । भारतीय अभिनेता साहरुख खान कम्पनीको ब्रान्ड एम्बेस्डर भए ।

जबकि बायजूसको कोडिङ प्लेटफर्म ह्वाइट ह्याट जुनियरको ब्रान्ड एम्बेस्डर ऋतिक रोसन थिए ।

बायजूसले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफासँग पनि सहकार्य गर्‍यो । ३ वर्षसम्म बीसीसीआईको प्रमुख विज्ञापनकर्ता बनेको बायजू पोहोर कतारमा भएको विश्वकप फुटबल प्रायोजन गर्ने पहिलो कम्पनी बन्यो ।

मुस्किलमा किन छ बायजूस ?

पत्रकार तथा रिसर्च कम्पनी मर्निङ कन्टेक्स्टका सहसंस्थापक प्रदीप साहका अनुसार बायजूसमा जे भइरहेको छ, त्यो अचानक भइरहेको छैन ।

‘आम मानिसमा बायजूसले तिव्र विकास गर्‍यो र राम्रो प्रदर्शन गर्‍यो भन्ने धारणा छ,’ साह भन्छन्, ‘तर हामी निश्चित रुपमा यस्तै भएको थियो भन्नेमा एकीन छैनौं ।’

उनका अनुसार कोरोना कालमा कम्पनीले सब्सक्रिप्सन्स वापत् ठूलो रकम संकलन गरेको थियो, कम्पनीले संकलन गरेको पैसा बाहेक उसले राम्रो गरेको अरु केही प्रमाण छैन ।

कम्पनीको २०२२ र २०२३ को वित्तीण विवरण सार्वजनिक नभएसम्म कम्पनीको स्थिति पत्ता नलाग्ने साह बताउँछन् ।

ठूलो लगानी भएका निजी लगानी कम्पनीले साना साना कम्पनीमा लगानी गर्ने मोडलको आलोचक रहेका डा. अनिरुद्ध मालपानीका अनुसार ग्राहक र कर्मचारीमाथिको दुर्व्यवहार नै कम्पनीको संकटको मुख्य कारण हो ।

‘बायजूसका लिग सुरुबाटै यस्तो माहोल बन्यो कि, उसले बजारबाट टन्न पैसा उठायो, त्यो पैसा नभएको भए कम्पनीको स्थिति उहिल्यै उदाङ्गो भइसक्थ्यो,’ मालपानीले भने, ‘ग्राहकको पैसा फिर्ता गरेन, कर्मचारीलाई मेसिन बनायो ।’

बायजूसको संकटको परणाम राम्रो नराम्रो दुवै भएको उनी बताउँछन् । ‘नराम्रो यो हो कि एउटा एडटेक स्टार्टअपको दुखत कहानी बन्यो,’ उनी थप्छन्, ‘ राम्रो यो हो कि मान्छेले यसबाट पाठ सिक्नेछन् र मुल्यांकनमा ध्यान दिएर उत्पादन चुन्नेछन् ।’

बायजुससँग के छ बिकल्प ?

कम्पनी मर्निङ कन्टेक्स्टका सहसंस्थापक प्रदीप साह कम्पनीले नाफा कमाएमा पुनरागमन गर्ने विश्वासमा छन् ।

‘बायजूसले अहिलेको संकट टार्न सक्छ कि सक्दैन, त्यो धेरै कुरामा निर्भर रहन्छ,’ साह भन्छन्, ‘अमेरिकामा चलिरहेको ऋण सम्बन्धी मुद्दाको समस्या कसरी समाधान हुन्छ ? कम्पनीले थप लगानी जुटाउन सक्छ कि सक्दैन ?’

मालपानीका अनुसार बायजूस वा यस्ता एडटेक कम्पनी लगानीकर्तालाई भन्दा ग्राहकलाई बढी प्राथमिकता दिएमा सफल बन्न सक्छन् । भारतमा शिक्षा पैसा कमाउने एउटा माध्यम भएको भन्दै उनी यस्ता कम्पनीको भविष्य रहेको बताउँछन् ।

मालपानी र साह दुवै जना बायजूसले पुनरागमन गर्नका लागि लगानीकर्ता र उपभोक्ता दुवैको विश्वास जित्नु पर्नेमा एक मत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?