+
+
यात्रा :

गर्मी छल्ने, हिउँ खेल्ने नयाँ गन्तव्य शैलुङ

नेपालमा पाइने सबै किसिमको हावापानी पाइने र राजधानीबाट नजिक रहेकोले थोरै खर्च र समयमै भ्रमण गर्न सकिने दोलखामा शैलुङका साथसाथै कालिञ्चोक, जिरी, च्छोरोल्पा हिमताल लगायत स्थानमा पर्यटकहरू आकर्षित छन्।

अर्जुन अपवाद अर्जुन अपवाद
२०८० असार १६ गते १८:२२

यस वर्ष गर्मी असाध्यै बढ्यो। तराईमा गर्मीका कारण विद्यालय बन्द गरिएका थिए। पहाडमा पनि धेरै वर्षपछि यति धेरै गर्मी रेकर्ड गरिएको भनेर समाचार आइरहेका थिए। हामी गर्मी छल्नका लागि शैलुङ उक्लने निधो गर्यौं। दोलखा सदरमुकाम चरिकोटबाट त्यहाँसम्म पुग्नका लागि दिगो विकास नेपालले व्यवस्थापन गर्ने भयो। उसले नेपाल पर्यटन बोर्डसँग मिलेर दोलखाका विभिन्न पर्यटकीय स्थलहरूका बारेमा प्रचारप्रसारको काम गर्न लागेको रहेछ।

जेठको अन्तिम हप्तामा हामी भ्रमणमा निस्कियौं। सदरमुकाम चरिकोट हुँदै शैलुङतर्फ लाग्यौं। शैलुङ दोलखा र रामेछापको सिमानामा अवस्थित छ। दोलखाको शैलुङ र मेलुङ तथा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको संगमस्थल हो– शैलुङ। यो हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल पनि हो।

शैलुङमा प्राकृतिक रूपमा रहेका १०८ थुम्का र त्यसका वरपर गुरु रिम्पोछेको पाइला, अवलोकितेश्वर, बौद्ध स्तूपा लगायत बौद्ध धार्मिक स्थलहरू रहेका छन्। यसैगरी गुप्तेश्वर महादेव, शैलुङेश्वर महादेव, जुरेढुंगा महादेव, धर्मढोका, शैलुङ देवीथान लगायतका हिन्दुहरूले पूजापाठ गर्ने स्थलहरू रहेका छन्।

अर्जुन अपवाद

शैलुङ प्राकृतिक दृश्यावलोकन भन्दा पनि धार्मिक रूपमा महत्वपूर्ण रहेको शैलुङ चैत्यका श्रम लामाले जानकारी दिए। ‘यहाँ मानिसहरू वरपरको दृश्य हेर्न मात्र आउँछन्। यो गुरु रिम्पोछेले तपस्या गरेको पवित्र भूमि पनि हो। यहाँ हामीले देखेका हरेक ढुंगाहरू देवता हुन्। यो त पृथ्वीको स्वर्ग हो’, लामाले अगाडि थपे।

रामेछाप जिल्लातर्फबाट शैलुङ आउँदा खोलाखर्कसम्म सवारी साधनमा यात्रा गरेर त्यसपछि उकालो पैदलयात्रा गर्नुपर्छ। यो उकालोमा अहिले व्यवस्थित सिंढीहरू निर्माण गरिएको छ। दोलखा जिल्लाबाट जाँदा भने शैलुङको कालापानीसम्म मोटर यात्रा गरेपछि पैदल यात्रा गर्नुपर्ने हुन्छ। पैदलयात्रा सुरु हुनेबित्तिकै चीनको ग्रेटवालको नमूना निर्माण हुँदै रहेछ। यसमा धमाधम काम भइरहेको थियो। यो ग्रेटवाल सकिएपछि डाँफेढुंगा भेटिन्छ। धेरै पहिले कालिञ्चोकबाट उडेको डाँफे यही ठाउँमा आएर बसेका कारण यसको नाम डाँफेढुंगा रहन गएको रहेछ।

शैलुङेश्वर महादेवको मन्दिर जान यहाँबाट तेर्सो लाग्नुपर्छ। शैलुङका टाकुराहरूको दर्शनका लागि भने दाइँ गर्ने डाँडा हुँदै उकालो लाग्नुपर्छ। दाइँ गर्ने डाँडामा बडेमाको त्रिशूल ठड्याइएको हुनाले अहिले यसको नाम त्रिशूलडाँडा भएको छ।

ग्रेटवाल

तेर्सो बाटो हिंडेर शैलुङेश्वर, धर्मढोका गाईढुंगा र जुरेढुंगा महादेवको मन्दिर पुगिन्छ। शैलुङेश्वर मन्दिरमा दर्शनार्थीहरूको भीड थियो। उनीहरू बनेपाबाट आएका रहेछन्। पछिल्लो समय यहाँ राजधानी र आसपासका ठाउँबाट दर्शन गर्न आउने पर्यटकहरू बढिरहेको हामीलाई कालापानीका होटल व्यवसायी रोज श्रेष्ठले बताएका थिए। जुरेढुंगा महादेवको मन्दिरको माथिपट्टि प्राकृतिक रूपमा ढुंगाको साँढेको आकृति रहेको छ। त्यहाँ ढोकाको समेत आकृति रहेको छ।

धर्मढोका

शैलुङको यात्रामा प्राकृतिक सौन्दर्यको भरपूर आनन्द लिन सकिन्छ। दक्षिणभन्दा बाहेक सबैतिर देखिने हिमशृङ्खलाहरू, जंगल, चराचुरुङ्गी र जनावहरू नजिकैबाट अवलोकन गर्न सकिन्छ।

गर्मी महिनामा शीतलता अनुभव गर्न र जाडो महिनामा यहाँ हिउँ खेल्न पर्यटकहरू आउने गरेका छन्। काठमाडौंबाट करिब १४० किलोमिटरको दूरीमा रहेका कारण पनि यहाँ आउने पर्यटकको संख्या बढ्दै गइरहेको छ।

यस ठाउँको पर्यटन प्रवर्धनका लागि स्थानीय तहहरूले पनि विभिन्न कार्यक्रम गर्दै आइरहेका छन्। सिमाना जोडिएका तहहरूले पालैपालो शैलुङ महोत्सव, शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव लगायत कार्यक्रम गरेर यस क्षेत्रको प्रचारप्रसार गर्दै आइरहेका छन्।

शैलुङ महाभारत शृङ्खलाको सबैभन्दा अग्लो ठाउँ हो। समुद्री सतहबाट करिब ३२०० मिटरको उचाइमा रहेको यो ठाउँबाट पैदल यात्रा गर्दै पुष्पलाल राजमार्ग भेट्टाउन पनि सकिन्छ। डाँडाखर्क निस्किएर मेलुङ हुँदै शित्तली निस्कँदा नेपालमा पाइने सबै किसिमका हावापानी अनुभव गर्न सकिने त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक इन्द्रजित भण्डारी बताउँछन्। ‘शित्तलीमा तराईको हावापानी छ। मेलुङमा पहाडी र शैलुङमा हिमाली। ५/६ घण्टाको पैदल यात्रामा हावापानीमा यति धेरै विविधता अन्यत्र पाउन मुस्किल छ’, भण्डारी भन्छन्।

शैलुङ

दोलखामा शैलुङका साथसाथै कालिञ्चोक, जिरी, च्छोरोल्पा हिमताल लगायत स्थानमा पर्यटकहरू आकर्षित रहेका छन्। दोलखा जिल्लामा नेपालमा पाइने सबै किसिमको हावापानी पाइने र राजधानीबाट नजिक रहेकोले थोरै खर्च र समयमै भ्रमण गर्न सकिने नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचारप्रसार अधिकृत गोपाल भण्डारी बताउँछन्। दोलखामा पाइने हावापानी र प्राकृतिक दृश्य तथा सांस्कृतिक सम्पदाहरूका कारण आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न सहज छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?