+
+

रामबाबुको नयाँ फिल्म ‘राजागञ्ज’लाई दीपकले निर्देशन गर्ने, शीर्ष भूमिकामा निकिता पनि

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १६:१२

काठमाडौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले निर्माण गर्न लागेको नयाँ फिल्म ‘राजागञ्ज’को शीर्ष भूमिकामा पूर्वमिस नेपाल निकिता चाण्डकले अभिनय गर्ने भएकी छन् । निर्माण कम्पनी बाँसुरी फिल्म्सले आइतबार वक्तव्य जारी गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो ।

उर्लाबारी, मोरङकी स्थायी बासिन्दासमेत रहेकी चाण्डकले सन् २०१७ मा मिस नेपालको ताज पहिरिएकी थिइन् । त्यसयता उनले कोकाकोला, हुवावे र यमाहा फेसिनो लगायतका ब्राण्डको विज्ञापन गरेकी थिइन् । हालै उनले कोन्टास्टिन बोजानोभ निर्देशित अन्तर्राष्ट्रिय फिल्म ‘सेमलेस’मा अभिनय गरेकी थिइन् ।

नौ कक्षा अध्ययन गर्दादेखि नै अभिनयमा लगाव सुरु भएको बताउने निकिताले ‘राजागञ्ज’मा जोडिएसँगै उत्साह र नर्भस भएको प्रतिक्रिया दिइन् । ‘यो प्रोजेक्टसँग जोडिन पाउँदा म स्वभाविक रुपमा उत्साहित छु । साथै दयाहाङ राई र आशा मगरातीजस्ता स्टारसँग स्क्रिन सेयर गर्न लागेकोमा केही नर्भस पनि,’ अनलाइनखबरसँग उनले भनिन् ।

‘सेतो सूर्य’ र ‘हाइवे’जस्ता अन्तर्राष्ट्रिय रुपमै चर्चित फिल्मलाई निर्देशन गरेका दीपक रौनियारले यो फिल्मलाई निर्देशन गर्दैछन् । उनका अघिल्ला फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् भने विश्वभर प्रदर्शन गरिएको छ । प्रतिष्ठित अमेरिकी अखबार द न्युयोर्क टाइम्सले ‘सेतो सूर्य’ निर्देशक रौनियारलाई संसारका नौ उदयीमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।

‘राजागञ्ज’ समयविरुद्धको कथा (रेस अगेन्स्ट टाइम) पुलिस थ्रिलर फिल्म हो । दुई महिला मुख्य पात्रलाई फिल्ममा चित्रण गरिंदैछ । ‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्मका निर्माता तथा निर्देशक रामबाबु गुरुङले ‘राजागञ्ज’को निर्माण गर्दैछन् । नयाँ फिल्मको घोषणालाई लिएर उत्साहित सुनिएका निर्माता गुरुङ भन्छन्, ‘दशकयता दीपकले आफ्नो निर्देशकीय कौशललाई प्रमाणित गरेका छन् । सुरुवातकालीन फिल्म निर्माताको रुपमा म र दीपक हितैषीको रुपमा रहँदै आएका छौं । उनीसँग सहकार्य गर्न पाउँदा निकै खुसी छु । नेपाली फिल्मका लागि यो प्रोजेक्ट कोसेढुंगा हुनेछ । साथै यो फिल्मले बाँसुरी फिल्म्सको मानकलाई अझै वृद्धि गर्नेछ ।’

रौनियारको आदि फिल्म्स र गुरुङको बाँसुरी फिल्म्सले संयुक्त रुपमा फिल्मलाई प्रस्तुत गर्नेछन् । साउन १२ (जुलाई २८) गतेदेखि यो फिल्मको छायांकन जनकपुरमा हुनेछ । साथै यो फिल्ममा ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्र, आरती मण्डल र पुष्प यादवले पनि अभिनय गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?