+
+

चिनियाँ राष्ट्रपति सी विचारधाराको अध्ययन गर्न रुसले बनायो अनुसन्धान केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १७:४७
भ्लादिमिर पुटिन र सी जिनपिङ । फाइल तस्वीर

१७ असार, काठमाडौं । रुसले सरकारको लगानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधाराबाट “आधुनिक चीनलाई बुझ्न” का लागि भन्दै अनुसन्धान केन्द्र खोलेको छ ।

रुसी एकेडेमी अफ साइन्सेजले मस्कोस्थित आफ्नो इन्स्टिच्युट अफ चाइना एन्ड कन्टेम्परेरी एसिया (आईसीसीए) मा चीनको आधुनिक विचारधाराको अनुसन्धान प्रयोगशाला सुरु गरेको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ नेताको राजनीतिक सिद्धान्तमा देश बाहिर खुलेको यो पहिलो अनुसन्धान केन्द्र हो ।

आईसीसीएका निर्देशक किरिल बाबेभले अनुसन्धान केन्द्रको उद्देश्य आधुनिक चिनियाँ राज्यको जग बनाउने विचार र अवधारणाहरूको वस्तुनिष्ठ र गहन विश्लेषण गर्ने रहेको बताए ।

‘यस्तो विश्लेषणले रुसी सरकार, व्यापार र वैज्ञानिक समुदायलाई आधुनिक चीनलाई अझ राम्रोसँग बुझ्न, रुस–चीन सम्बन्धका लागि थप रणनीति बनाउन सहयोग गर्नेछ,’ उनले भनेका छन् ।

‘हामी निश्चिन्त छौं कि हाम्रा साझेदारहरूलाई जति धेरै चिन्छौं यो ज्ञान उती नै बढी वस्तुनिष्ठ र सही हुनेछ । यसले रूस र चीन तथा रुस र एशियाका अन्य साझेदारहरू बीच मैत्रीपूर्ण र पारस्परिक रूपमा लाभदायक सम्बन्धको विकासको लागि पनि उत्तिकै राम्रो हुनेछ,’ उनले भनेका छन् ।

बाबेभले अनुसन्धानले आधुनिक चिनियाँ विचारधाराका पाँच क्षेत्रहरू आर्थिक नीति, आन्तरिक नीति र कानून निर्माण, विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध, रक्षा र सुरक्षा, तथा पर्यावरण र समाजमा केन्द्रित हुने बताए ।

उनले यो प्रयोगशालाले कुनै पनि बाह्य आर्थिक सहयोग स्वीकार नगर्ने र वैचारिक दबाबबाट मुक्त बनाउनको लागि मात्रै आर्थिक सहयोग लिने बताए ।

मस्कोले युक्रेनमा आक्रमण गर्नुअघि गत वर्ष सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “नो लिमिट्स” साझेदारीको घोषणा गरेका थिए । त्यसपछि चीन आर्थिक र भूराजनीतिक दुवै रूपमा रूसको मुख्य सहयोगीका रूपमा चिनिएको छ ।

बेइजिङले रोजेको “तटस्थता” पछि दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको छ । चीनले युक्रेनमा रुसी आक्रमणको कहिल्यै निन्दा गरेको छैन । बरु, रुसमाथि पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्धको विरोध गरेको छ । साथै, निकट साझेदारका रूपमा आर्थिक सम्बन्ध र सहयोग जारी राखेको छ ।

सांघाई एकेडेमी अफ सोसल साइन्सेजका रुस र मध्य एसियाका विज्ञ ली लिफानले नयाँ अनुसन्धान केन्द्रले पश्चिम र चीनमा विशेष गरी विगत दुई वर्षमा रुसी एकेडेमियामा परिवर्तन भएको दृष्टिकोणलाई प्रतिबिम्बित गरेको बताए । ‘पूर्वमा हेर्ने दृष्टिकोणको महत्व बढेको छ,’ उनले भनेका छन् ।

‘वास्तवमा, चीनका केही सफलताहरू– जस्तै गरिबी घटाउने र यसको औद्योगिक विकासका नीतिहरू रुसीहरूले आफ्नो घरेलु समस्या समाधानका लागि उपयोगी हुने सन्दर्भका रूपमा लिएका छन्,’ साउथ चाइना मोर्निङ पोस्टसँग उनले भनेका छन् ।

लीले पुटिन र प्रधानमन्त्री मिखाइल मिशुस्टिन लगायत रुसी नेताहरूले हालका वर्षहरूमा गरेका भाषणहरूमा चिनियाँ भनाइहरू प्रयोग गर्ने गरेका बताए ।

‘चिनियाँ विचारधारामा विशेषज्ञता भएका अन्वेषकहरू र विद्यार्थीहरू भविष्यमा रूसको संस्थानहरू, थिंक ट्याङ्कहरू र निर्णय गर्ने एजेन्सीहरूमा जाँदा, यसले त्यहाँे चीनको प्रभावमा पनि थपिनेछ,’ उनले भने ।

सन् २०१७ मा संविधानमा समावेश भएदेखि चीनले सीको राजनीतिक सिद्धान्तमा कम्तीमा १८ वटा अनुसन्धान संस्थान खोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?