+
+

कोशीमा पहिलो पालोमा मुख्यमन्त्री दाबी गर्दै कांंग्रेस–माओवादी नेता काठमाडौंमा

हरि अधिकारी हरि अधिकारी
२०८० असार १७ गते १९:१९
कांग्रेस नेता उद्धव थापा र माओवादी नेता इन्द्रबहादुर आङ्बो ।

१७ असार, विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि कोशी प्रदेशका नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे छलफल गर्न काठमाडौं पुगेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा सम्मिलित गठबन्धनमा कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विवाद छ ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेस संसदीय दलका नेता उद्धव थापा पहिलो पालोमै मुख्यमन्त्री बन्ने योजनामा छन् । त्यसका लागि केन्द्रमा आफ्नो पार्टीका शीर्ष नेतृत्वलाई आफ्नो पक्षमा माहोल बनाइदिन आग्रह गर्न उनीहरु काठमाडौं आएका हुन् । कोशीका नेताहरुले आ–आफ्नो तर्फबाट नेतृत्वको दाबी गरेपनि गठबन्धनको शीर्ष नेतृत्वले यसबारे निर्णय गरेको छैन ।

माओवादी नेता आङ्बाले शीर्ष नेतृत्वसँग छलफलका लागि काठमाडौं पुगेको बताए । ‘प्रदेश प्रमुखबाट सरकार गठनको आह्वान भएपछि गठबन्धन नेतृत्वले सरकारको नेतृत्वका बारेमा टुङ्गो लगाउँछ’ आङ्बोले भने, ‘गठबन्धन दलमा छलफल चलिरहेको छ ।’

माअ‍ोवादीले आङ्बोको नेतृत्वमा सरकार गठन भए राप्रपालाई पनि सहभागी गराउने सक्ने दाबी गरेको छ । ‘केन्द्रमा राजेन्द्र लिङ्देन– कृष्णप्रसाद सिटौला र प्रदेशमा भक्ति सिटौला– उद्धव थापाबीच प्रतिष्ठाको लडाईं छ’ माओवादीका एक नेताले भने, ‘यस्तो अवस्थामा राप्रपाले तत्काल कांग्रेसलाई सहयोग नगर्ला ।’

आइतबार काठमाडौंमा बसेको नेपाली कांग्रेस प्रदेश समितिको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । प्रदेश उपसभापति रमेशजंग रायमाझीका अनुसार पदाधिकारीको बैठकले गठबन्धनको ठूलो दल भएका कारण दलका नेता तथा पार्टीका प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको बताए ।

‘पदाधिकारीको बैठकले दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ’ उनले भने, ‘ठूलो दल भएका कारण कांग्रेसले नेतृत्व पाउनुपर्छ, यसका लागि नेतृत्व र गठबन्धन दलसँग छलफल गर्छाैं ।’

यसअघि असार ११ गतेपनि गठबन्धन दलको बैठक काठमाडौंमा बसेर मुख्यमन्त्री कार्कीको विश्वासको मत सम्बन्धी प्रस्ताव असफल गराउने निर्णय गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेको कांग्रेसको २९, माओवादी केन्द्रको १२, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ गरी ४६ मत छ । माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम हाल सभामुख भएकाले तटस्थ भूमिकामा छन् ।

४० सिटको नेकपा एमाले र ६ सिटको राप्रपा एक ठाउँमा छन् । दुई दलसँग पनि ४६ मत नै छ । मुख्यमन्त्री कार्की पदमुक्त भएपछि भने राप्रपाले उपयुक्त प्रस्ताव आएमा गठबन्धन दलसँग सहकार्य गर्न सकिने बताएको छ । राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले कांग्रेस– माओवादी गठबन्धनको प्रस्ताव पर्खिरहेको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?