+
+

विष खुवाएर हत्या प्रयास गरेको भन्दै पतिसहित ४ जनाविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते २१:०३

१७ असार, जनकपुरधाम । जनकपुरमा एक महिलालाई परिवारकै सदस्यले विष खुवाएर हत्या प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा बेचन यादव र उनका परिवारका सदस्यले बुहारी २१ वर्षीया दुर्गा देवीको हत्या प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । दुर्गादेवीको माइती पक्षले छोरीको हत्या प्रयास भएको भन्दै ससुरा बेचन, सासु लक्ष्मीनिया, पति रामेश्वर र देवर सुलिविरुद्ध उजुरी दिएका हुन् ।

दुर्गालाई १० असारको राति २ बजेतिर पति रामबाबु र देवर सुनिल यादवले सिकिस्त अवस्थामा अस्पताल पुर्‍याएका थिए । उनले विष सेवन गरेको परिवारको दाबी छ ।

होसमा आएपछि दुर्गाले पत्रकार र मानव अधिकारकर्मीसमक्ष आफूलाई ससुराले कुटपिट गरी विष खुवाएको बताएकी छन् । ‘ससुराले टिकटक किन बनाइस् भन्ने निहुँमा पिठ्युँमा मुक्काले हिर्काएर कोठामा थुनेर कुटपिट गर्नुभयो’ दुर्गाले भनिन्, ‘अलिअलि मात्र सम्झना छ, स्प्राइटजस्तो बोतलमा रहेको तितोे तरल पदार्थ जबर्जस्ती खुवाउनुभयो । त्यसपछि के भयो थाहा भएन, होसमा आउँदा म आईसीयूमा थिएँ ।’

४ वैशाख २०७९ मा विवाह गरेका दुर्गा र उनका पति रामेश्वरका ४ महिनाका छोरा छन् । बिहे भएर आएदेखि नै ससुरा बेचन र सासु लक्ष्मीनिया देवीले यातना दिँदै आएको दुर्गाको भनाइ छ । सासुले आफ्नो छोरी निर्मलालाई छोरा दिन दबाब दिएको र त्यसैका लागि हत्या प्रयास भएको उनको दाबी छ ।

जनकपुरस्थित कृष्णा नर्सिङ होममा चारदिन आईसीयूमा उपचारपछि शनिबार जनरल बेडमा सारिएकी उनको अवस्था सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार आँप पकाउन प्रयोग हुने ओपी नामक विषादी शरीरमा फैलिएर दुर्गाको स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले भने महिला सेलमा परेको उजुरीबारे अनुसन्धान भइरहेको बताउका छन् । उनले अघि भने ‘उनलाई जबरजस्ती विष खुवाएको वा अन्याय भएको रहेछ भने दोषीमाथि कानुन बमोजिम कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?