+
+

धर्मपुत्र वा पुत्री ग्रहण गर्न के छ प्रक्रिया ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० असार २१ गते १८:५६

काठमाडौं । कुनै पनि घरपरिवारमा बालबच्चाले छुट्टै किसिमको रौनक थप्छन् । सबैको चाहना हुन्छ कि आफ्नो घरमा सन्तान होस् र परिवारमा खुसी ल्याओस् । तर सबै दम्पतीले सन्तान सुख प्राप्त गर्न सक्दैन् । जैविक कारणले नै कतिपयले अनेक उपचार पद्धति अपनाउँदा पनि सन्तान जन्माउन सक्दैनन् ।

यस्ता दम्पतीको विकल्प धर्मपुत्र-पुत्री हुन सक्छन् । तर धर्म सन्तान ग्रहणका लागि कानुनी प्रक्रिया के छ भन्ने विषयमा धेरैलाई जानकारी नहुन सक्छ । कुनै दम्पतीले धर्मपुत्र वा पुत्री लिन चाहन्छन् भने त्यो दम्पतीको प्राकृतिक रूपमा बच्चा हुन नसक्ने कुरा प्रमाणित हुनुपर्ने अधिवक्ता राधिका खतिवडा बताउँछिन् ।

‘धर्मपुत्र-धर्मपुत्री दाताको एउटा मात्र सन्तान छ भने पनि उसले आफ्नो बच्चालाई धर्मपुत्र धर्मपुत्रीको रूपमा दिन मिल्दैन । एकभन्दा बढी सन्तान भए मात्र धर्मपुत्रको रूपमा दिन पाइने र लिन पाइने कानुनी व्यवस्था छ,’ उनी भन्छिन् ।

पहिले एक मात्र सन्तान भएकाले पनि धर्मपुत्र वा पुत्री राख्न पाउने व्यवस्था थियो । तर अहिले प्राकृतिक तरिकाले सन्तान हुँदै नहुने अवस्थामा मात्र लिन पाइन्छ । ‘१४ वर्षमाथिका बालबालिकालाई धर्मपुत्र–धर्मपुत्री बनाउन पनि पाइँदैन,’ खतिवडा भन्छिन्, ‘कसैले कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न चाहेमा कानुनको रीत पुर्‍याई धर्मपुत्र वा धर्मपुत्रीको लागि लिखतसहित सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्छ ।’

यस्तै धर्मपुत्र धर्मपुत्री राख्दा उनीहरुलाई अंश र वंशको अधिकार पनि दिनुपर्ने उनी बताउँछिन् ।

अस्पतालका बेवारिसे बच्चालाई धर्मपुत्र–पुत्री ग्रहण मिल्छ कि मिल्दैन

पहिले गर्भपतनको राम्रो व्यवस्था नहुँदा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बेवारिसे बच्चाहरूको संख्या धेरै हुन्थ्यो । अहिले गर्भपतनको राम्रो कानुन बनिसकेपछि  बेवारिसे बच्चाको संख्या कम छ । तर अहिले पनि वर्षमा दुई-तीन जना बेवारिसे बच्चा त्यहाँ भेटिन्छन् । त्यस्ता बच्चालाई प्रहरीको सहयोग लिएर अस्पतालले बाल मन्दिर पठाउने गर्छ । त्यस्ता बच्चालाई कुनै दम्पतीले अस्पतालबाटै धर्मपुत्रको रूपमा लिन भने नमिल्ने अस्पतालकी उपप्रशासक रानु थापा बताउँछिन् ।

सन्तान नभएर धर्मपुत्र–धर्मपुत्री लिनको लागि आउने दम्पतीको शारीरिक अवस्था र मेडिकल अवस्था ठीक नभएकाले सन्तान भएको छैन भनेर सिफारिस गर्ने काम भने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले गर्ने थापा बताउँछिन् ।

के छ कानुनी व्यवस्था ?

मुलुकी (देवानी) संहिता ऐन २०७४ को परिच्छेद ८ मा कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिने व्यवस्था छ ।

बालबालिकाको सर्वोत्तम हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नुपर्ने छ । यस संहिता बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्दा बालबालिकाको सर्वोत्तम हक र हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नु पर्ने व्यवस्था छ । छोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न पाउने छैन ।

यस्तो छ कानुनी व्यस्था

देहायका कुनै व्यक्तिले बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेछन्

(क) विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती,

(ख) पैंतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला,

(ग) पैंतालीस वर्ष उमेर पूरा भएको अविवाहित, विदुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष ।

यस्ता व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने छैनन्

(क) होस ठेगानमा नभएको,

(ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको,

(ग) नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत नभएको,

नेपाल बाल संगठनबाट बच्चा ग्रहण गर्न पुर्‍याउनु पर्ने प्रक्रिया

-दम्पतीले विवाह गरेको १० वर्ष पूरा हुनुपर्नेछ ।

-श्रीमान-श्रीमती दुवैको नागरिकताको प्रमाणपत्र ।

-मेडिकल बोर्ड वीर अस्पतालबाट सन्तान हुन नसक्ने व्यहोराको प्रमाणित कागज ।

-मान्यताप्राप्त चिकित्सकद्वारा प्रमाणित कुनै (एचआईएभी, हेपाटाइटिस तथा गम्भीर प्रकृतिको मानसिक रोग) गम्भीर रोग नभएको प्रमाण ।

-विवाह दर्ताको प्रमाणपत्र

-स्थानीय तहबाट बच्चा नभएको सम्बन्धी सिफारिसपत्र ।

-श्रीमान-श्रीमती दुवैको पेसा के छ ? सो सम्बन्धी प्रमाण भए त्यो पनि पेश गर्ने ।

-वार्षिक आय र आम्दानीको स्रोत खुल्ने कागज ।

-नगद मौज्दात खुल्ने कागज ।

-आफ्नो नाममा भएको सेयर तथा अन्य सम्पत्ति लगायत घरजग्गा धनीको प्रमाणपुर्जाको प्रतिलिपि ।

-संगठनमा धर्मपुत्र वा पुत्री लिने सम्बन्धमा सगोलमा रहेका परिवारका अन्य सदस्यहरूको विचार के छ ? सो लेखाई सहीछाप गराई कागज पेश गर्ने ।

-बाबुआमाको उमेर ३५ वर्षदेखि ४५ वर्ष भएका परिवारलाई प्राथमिकता दिइने ।

-दुवै जनाको फोटो चार-चार प्रति र घरभित्र तथा बाहिरको प्रष्ट देखिने फोटो ।

-चारित्रिक प्रमाणपत्र (कुनै फौजदारी अभियोगमा सजाय पाए नपाएकोबारे) ।

-संरक्षित बालबालिकाहरू ग्रहणको लागि छान्न नपाइने, छानेको पाइएमा फाइल रद्द हुने ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?