+
+
फोटोकथा :

माईपोखरीमा कुहिरोसँग लुकामारी खेल्दा

कमल प्रसाई कमल प्रसाई
२०८० असार २२ गते १०:१८

लुकामारी खेले झैं इलामको मौसमले झुक्याइरहने रहेछ । क्षणमै खुलेको आकाश, क्षणमै भुइँकुहिरोले ढाकिदिने । भाग्यवश हामीले त्यो बिहान जसबिरेबाट ड्रोन उडाएर माईपोखरीको फोटो खिच्यौं । त्यसबेला झुलुक्क घाम झुल्किएको थियो र आसपासका डाँडापाखा छ्याङ्ग देखिन्थ्यो ।

आकाशको कोणबाट केही थान फोटो खिचिसकेपछि हाम्रो धीत मरेन । डाँडाको माझमा टिलपिल त्यो विशाल जलाशयले हामीलाई मोहनी लगाइदियो । आसपासमा घना जंगल, माझमा शान्त तलाउ । एक झलकमै सम्मोहित बनाउने कस्तो रुपवती माईपोखरी ?

हामीलाई लेकको त्यो कञ्चन अनि पवित्र जलाशयसँग साक्षात्कार गर्न मन लाग्यो ।

जब जसबिरेबाट हामी १५ मिनेटजति उक्लिएर माईपोखरी पुग्यौं, मौसमले ‘च्यालेन्ज’ गरिसकेको थियो । समय कति पनि बितेको थिएन, तर  माईपोखरीको आकाश ओसिलो भइसकेको थियो । भुइँकुहिरोले आफ्नो साम्राज्य फैलाउँदै थियो ।

एउटा प्रशिद्ध अंग्रेजी भनाइ छ, ‘मर्निङ शोज द डे’ अर्थात् बिहानीले दिनको संकेत गर्छ । तर, इलामको आकाशले यो भनाइलाई सोझै खारेज गरिदिने रहेछ । बिहान सूर्योदयसँगै आकाश छ्याङ्ग खुलेको थियो । तर, केही समय बित्न नपाई त्यो आकाश कुहिरोले ढाकिसकेको थियो ।

दिनभर मस्त घाम लाग्छ भन्ने हाम्रो पूर्वानुमानलाई लोप्पा खुवाउँदै त्यहाँ दर्के झरी पर्ने संकेत देखिन्थ्यो ।

इलामे साहित्यकार तारानाथ शर्माले भने झैं, ‘प्रकृतिसँग जुध्नु पनि जीवनको रमाइलो हो ।’ कहिले हामीलाई भुइँकुहिरोले झुक्याउँथ्यो, कहिले हामीले भुइँकुहिरोलाई । जब–जब भुइँकुहिरो हट्थ्यो, हामीले माईपोखरीको सौन्दर्यलाई क्यामेरामा कैद गरिहाल्थ्यौं ।

गर्मीयाम भए पनि माईपोखरी परिसर यस्तो थियो, मानौं कुनै वातानुकूलित कक्षभित्र प्रवेश गरिंदैछ । चिसो सिरेटोले हामीलाई थप जाँगरिलो बनाइदियो । हामीले फुर्तीसाथ माईपोखरीको घना जंगलभित्र फन्को लगायौं ।

माईपोखरीसँग हामी जति–जति नजिकियौं, प्रकृतिको यो मोहक रचनाले हामीलाई उत्ति नै लोभ्याइरह्यो । नौ कुनामा विस्तारित जलाशय जहाँ आकाशको प्रतिछायाँ परेको छ । त्यो कञ्चन पानीमा तैरिरहेका कमलका फूलहरु अनि त्यहाँ खेलिरहेका रंगीविरंगी माछाहरु । शान्त, सौम्य अनि विशाल । न कुनै कोलाहाल, न कुनै प्रदूषण ।

आफैंमा ध्यानमग्न झैं लाग्ने माईपोखरी वास्तवमा तपोभूमि लाग्यो मलाई ।

त्यसो त माईपोखरी धार्मिक आस्था राख्नेहरुको एउटा गन्तव्य रहेछ । आसपासमा मठमन्दिर । धुपको सुगन्ध, घण्टीको ध्वनि । धार्मिक आस्था राख्नेहरु पूजा–अर्चनानका लागि यहाँ पुग्ने रहेछन् ।

त्यसो त जीव–विज्ञान र प्रकृतिप्रति रुचि राख्नेहरुका लागि पनि माईपोखरी एउटा खुला संग्रहालय रहेछ । जैविक विविधताको हिसाबले समृद्ध माईपोखरी अनेकथरी पशुपक्षी र वनस्पतिको सुरक्षित आश्रयस्थल रहेछ । जीव विज्ञानका खोजकर्ताहरु बेलाबखत यहाँ आउने रहेछन् ।

जुन भूगोलमा माईपोखरी विराजमान छ, त्यो पनि आफैंमा कौतूहलको विषय लाग्यो । पहाडको टुप्पोमा थपक्क बसेको यो जलाशयको उत्पत्ति कसरी भयो होला ?

भूगर्भमा चासो राख्नेहरुलाई पनि माईपोखरी एउटा खुला पुस्तक रहेछ ।

स्थानीय क्षेत्रका लागि माईपोखरी एउटा समृद्धिको स्रोत लाग्यो मलाई । पहाडको टुप्पोमा रहेको यति ठूलो जलाशयले आसपासमा पिउने पानी र सिंचाइको लागि पक्कै पनि ठूलो योगदान दिएको हुनुपर्छ । त्यससँगै माईपोखरी प्राकृतिक सौन्दर्यमा रमाउनेहरुका लागि उपयुक्त गन्व्य रहेछ, जसले स्थानीय क्षेत्रको पर्यटनमा दर्विलो टेवा दिनेछ ।

तर, सार्थक प्रचारको कमीले हो वा अरु असुविधाले, माईपोखरीमा अपेक्षाकृत पर्यटक देखिएनन् । प्रकृतिको यति मनमोहक उपहारलाई कतै हामीले हार्दिकतापूर्वक ग्रहण गर्न नसकेको पो हो कि ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?