+
+
अन्तर्वार्ता :

‘म कुनै गुटको हुन सकिनँ’

मसँग आज न पार्टीभित्र प्लेटफर्म छ, न संसदमा संवाद गर्ने ठाउँ । मलाई मिडियाले यदाकदा खोजेर आउनुभयो भने आफ्नो कुरा राख्छु ।

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते ११:३५

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्य एकान्तवासमा छन् । पछिल्लो महाधिवेशनमा उपसभापति हारेसँगै उनी भूमिकाविहीन बन्ने क्रम सुरु भयो ।

पोहोर मंसिरको आम चुनावमा उनले टिकटै पाएनन् । गठबन्धन संस्कृति अनि पार्टीभित्रको गुटगत प्रवृत्तिको शिकार आचार्य बन्न पुगे ।

पूर्व अर्थमन्त्री आचार्य नेपालमा आर्थिक उदारीकरणको नीति कार्यान्वयन गर्ने बजेट निर्माणका एक सूत्रधार मानिन्छन् । आचार्यसँग नेपालमा पछिल्लो पल्ट देखिएका राजनीतिक समस्या, आर्थिक संकट र अगाडिको बाटोबारे लिलु डुम्रेले गरेको कुराकानी ।

गठबन्धनको बलमा कांग्रेस तीन तहको सरकारमा नै पहिलो दल छ । केन्द्रदेखि स्थानीय तहसम्म सरकारको नेतृत्व गर्ने दल उत्साहित हुनुपर्ने, निराशा किन बढिरहेको होला ?

वैचारिक र नीतिगत परिपक्वताका लागि बहस हुनुपर्दछ । यथेष्ट बहस नभइकन यो हठात् गरिएका निर्णयबाट जन्मिएको स्थिति हो ।

अहिले हामी जुन प्रणालीमा छौं, यस प्रणालीले सरकार बनाउनका लागि सहकार्यको माग कहीं न कहीं गर्ला । तर, चुनावमा जानुभन्दा अघि नै गठबन्धन बनाइएको छ । खास–खास पार्टीहरू मिलेर सत्तामा जानका लागि गरिएको गठबन्धनले पार्टीभित्र सहज परिस्थिति निम्त्याउँदैन । हाम्रो विशिष्ट आचारण, विचार, राष्ट्रिय राजनीतिमा निर्वाह गरेको ऐतिहासिक भूमिकाले जनतासँग कांग्रेसको एकप्रकारको सम्बन्ध छ ।

कार्यकर्ता र बुद्धिजीवीको ठूलो पङ्तिले कांग्रेसको लोकतान्त्रिक मूल्य, मान्यता, सुशासनको संकल्पलाई आत्मसात् गरेको छ । त्यो चरित्र ओझेल पर्ने गरी गठबन्धन बनेको छ । कांग्रेसका शुभेच्छुक अलमल हुने गरी उम्मेदवार को हुन् भन्ने परिस्थिति बन्यो ।

राजनीतिक पार्टीप्रति पनि आम निराशा बढेको छ । कार्यकर्ता पङ्तिमा पनि ठूलो निराशा छ । माओवादीसँग कठिन द्वन्द्वमा परेका लाखौं मानिस छन् । आफ्नो छातीमा लागेको घाउ बिर्सेर कांग्रेसले शान्ति प्रक्रियामा माओवादीलाई ल्याएको हो । माओवादीको छुट्टै पृष्ठभूमि छ । उसको कार्यशैली, वैचारिक पक्ष छ । त्योसँग मिसिएर जनताकहाँ जाँदा जनता अलमलमा परे । जनता र कार्यकर्ता पङ्तिमा व्याप्त निराशा चिर्न सक्नुपर्दछ । हामी छुट्टै र पृथक् भएको बुझाउन सक्नुपर्दछ ।

भोलि सरकार बनाउँदा माओवादीको पनि साथ लिनुपर्यो भने द्विविधा छैन । यसरी काम गर्नु भनी सरकार बनाउन संविधानले बाटो देखाएकै छ । जनतामाझमा हामी जाँदा आफ्नो परिचय लिएर जानुपर्ने हो । जनतालाई समेत कन्फ्युज हुने गरेर कांग्रेस जुन तरिकाले गइरहेको छ, यसले हामीलाई क्षति गर्दछ । यो कुरा पार्टीमा सुरुदेखि राखे पनि बुझाउन सकिनँ । हामीले त्यसको मूल्य चुकायौं ।

यो निराशा कति लामो समय जाला ?

हालको अवस्था ‘पासिङ फेनोमेनन’ हो । पार्टीमा देखिएको संकटको एउटा अस्थायी प्रवृत्ति हो । हामी संख्यात्मक रूपमा अंकगणितमा ठूलो पार्टी त भयौं । बढेको सिट संख्याको बाबजुद पनि समर्थक साथीहरूमा कांग्रेसप्रति निराशा बढेको छ । उनीहरूको पार्टीको गतिविधिबाट निष्क्रिय हुने जस्तो अवस्था छ । धेरै आशा गर्न सकिंदैन कि भनेर चिन्तित भएजस्तो देखिन्छ ।

लोकतन्त्रका लागि लडेको कांग्रेसको ऐतिहासिक विरासत छ । समाजमा सबैको समान सहभागिताको खुलापनको लागि कांग्रेसले गरेको वकालतको भूमिका छ । देशको अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउने, सामाजिक न्यायलाई प्रत्याभूत गर्ने गरी तीव्र आर्थिक विकासमा लैजाने कांग्रेसको भूमिका र अग्रसरता हो । त्यसलाई निरन्तरता दिनका लागि पुनर्जागरणको आवश्यक छ ।

नेतृत्व र सांगठनिक तहमा देखिएको समस्यालाई निदान गर्न सक्नुपर्दछ । नीतिगत र सैद्धान्तिक बहसमा अलिकति पछाडि धकेलिएको अवस्थालाई सुधार गर्न सक्यौं भने मुलुकको राजनीतिमा कांग्रेस फेरि महत्वपूर्ण शक्तिको रूपमा पुनस्र्थापित गर्न सक्दछ ।

यति भन्दै गर्दा अहिले आएका नयाँ शक्तिहरूलाई कमजोर आँक्न चाहन्नँ । कांग्रेसको ऐतिहासिक भूमिका, गरिमा, सांगठनिक अवस्थाको पुनर्जागरण सम्भव छ ।

फरक मत र आलोचनालाई निरुत्साहित नगरेर उदारता देखाउने ठाउँमा किनारीकृत गर्ने प्रवृत्ति छ । एमालेमा मैले भने पनि नभने पनि जनताले अनुभूत गर्ने गरी त्यो प्रवृत्ति छ । कांग्रेस र माओवादीमा पनि त्यो प्रवृत्ति बढेको म देख्छु ।

१४औं महाधिवेशनमा पदाधिकारी सहित केन्द्रीय सदस्यमा धेरै नयाँ अनुहार निर्वाचित हुनुभएको थियो । महामन्त्रीमा तेस्रो उमेर समूहका दुई व्यक्ति निर्वाचित भएपछि धेरै अपेक्षा गरिएको थियो । उहाँहरूले काम गर्न सक्ने अवस्था आफ्नै वा अरू कुनै कारणले भएको हो ?

निर्वाचित भएर नयाँ पुस्ताका साथीहरू आउनुभएको छ । धेरैले उहाँहरूप्रति आशा गर्नुभएको थियो, मैले पनि आशा गरेको थिएँ । युवा ऊर्जा, दृष्टिले पार्टीमा केही न केही सकारात्मक परिवर्तन निश्चित रूपमा ल्याउँछ भन्नेमा आशा अझै मरेको छैन ।

तर जे मुद्दामा महाधिवेशन भयो, सभापतिले निरन्तरताका निम्ति आफ्ना लागि मत माग्नुभयो । नयाँ पुस्ताले पुस्तान्तरणको मुद्दाले चुनाव लड्दा त्यसले ठूलो असर पनि गर्यो । कांग्रेसको सांगठनिक जीवनमा पुस्तान्तरण मात्रै निर्णायक विषय थिएन । थुपै्र नीतिगत, निष्ठाका विषयहरू पुस्तासँग मात्रै सम्बन्धित छैनन् । नैतिक बलले पार्टीलाई अघि बढाइरहेको हुन्छ । पुस्तान्तरणका क्रममा केन्द्रमा थुप्रै साथीलाई प्रवेश गरायौैं । जिल्लामा थुप्रै साथीको पुस्तान्तरणका क्रममा प्रवेश भएको छ ।

कांग्रेसमा आन्दोलनले खारिएको एउटा पुस्ता थियो । नीति र निष्ठाका लागि जीवन अर्पण गर्नका लागि समर्पित एउटा पुस्ता थियो । त्यो एउटा पुस्ता हठात् किनारा लाग्दा नीति, नैतिकता, समर्पण, सिद्धान्त, आदर्शको बहस पनि किनारा लाग्यो कि भन्ने चिन्ता गर्नुपर्दछ । नयाँ पुस्ताको प्रवेश भएसँगै सबै कुरा ठीक हुन्छ भन्ने अर्थमा बुझिएको थियो भने त्यो गलत बुझाइ थियो ।

राष्ट्रिय राजनीति तथा पार्टीहरूमा एकप्रकारको प्रवृत्ति बढ्दो छ । आलोचनालाई लोकतान्त्रिक तरिकाले सहन नसक्ने प्रवृत्ति छ । बरु, फरक मत र आलोचनालाई निरुत्साहित नगरेर उदारता देखाउने ठाउँमा किनारीकृत गर्ने प्रवृत्ति छ । विरोधरहित एकल नेतृत्व खोज्ने प्रवृत्ति देखिएको छ । एमालेमा मैले भने पनि नभने पनि जनताले अनुभूत गर्ने गरी त्यो प्रवृत्ति छ । कांग्रेस र माओवादीमा पनि त्यो प्रवृत्ति बढेको म देख्छु ।

कांग्रेस रूपान्तरणमा सदस्यता र टिकट वितरण पद्धति परिवर्तन गर्नुपर्ने विषय उठेको छ । साथै, चुनाव अघि गरिने गठबन्धन गर्नै नहुने विचार पनि आएका छन् । कांग्रेस रूपान्तरणका लागि तपाईंले देखेको बाटो के हो ?

सहज तरिकाले सदस्यता दिने कुरामा विमति राख्ने कुरा भएन । तर, अहिले भइरहेका शक्तिलाई समग्रतामा परिचालन गरौं । अहिले दश लाख सदस्य छन् । यसलाई १५ लाख बनाउने कुरा पनि महत्वपूर्ण होला । समग्रतामा परिचालन गर्न सक्यौं कि सकेनौं ? नीतिगत अडान, सांगठनिक कार्यक्रम, नेताको उत्प्रेरणाले यो दश लाख कार्यकर्ताको शक्ति परिचालित भयो त ? कांग्रेसलाई विद्वत् समाजले भरोसा गरेको छ । उहाँहरूको शक्ति र सामर्थ्य लाई परिचालन गर्न सक्यौं ?

हामीलाई प्राप्त समर्थनको आधार नै कमजोर भइरहेको छ । नयाँ मानिसलाई सहजै तरिकाले सदस्यता दिएर आकर्षण गर्ने कुरा छँदैछ । आकर्षण गर्नका निम्ति महत्वपूर्ण हाम्रो सिद्धान्त हो । नैतिक, चारित्रिक श्रेष्ठता र सुशासनको आधार हो । वैचारिक अन्योलताबाट मुक्ति हो । राष्ट्रिय समस्याहरूलाई समाधान गर्ने हाम्रो अग्रसरता हो । नेताप्रति जनताको विश्वास बढेको छ त ? यी कुराहरूलाई सुधार नगरिकन नयाँ–नयाँ प्रयोगले मात्रै समस्याको समाधान हुँदैन ।

म सांगठनिक समस्याको बारेमा आवेगपूर्ण कुरा गरिरहेको छु । यो राष्ट्रिय समस्यामा छ्यासमिस भएर मिसिएको छ । सरकार सरकार जस्तो चलेको छैन । कसरी सरकार चलेको छ ? हाम्रो पार्टीको नेता, माओवादीको नेता, अरू गठबन्धनमा भएका नेताहरू मिलेर निर्णय गर्नुहुन्छ । साँघुरो वृत्तमा चलिरहेको निर्णय प्रक्रियाबाट सरकार चलिरहेको छ ।

संसद सार्वभौम जनताको प्रतिनिधि संस्थाको रूपमा संसद चलेको छैन । जुन न्यायाधीशले न्याय क्षेत्रमा अस्तव्यस्तता भयो भनी प्रतिवेदन पेश गर्नुभयो, उहाँ अहिले प्रधानन्यायाधीश हुनुहुन्छ । यी सबै समस्याको समाधान भएन भने पार्टीभित्रको सांगठनिक सुधारको मात्रै कुरा गरेर पार पाउँछौं ? अर्थतन्त्रमा गम्भीर संकट छ । कांग्रेसको संगठनको मुद्दामा मात्रै केन्द्रित भएर पार पाउँछौं ?

तपाईं पूर्व अर्थमन्त्री भएको व्यक्ति हुनाले अर्थतन्त्रको संकट बारे पक्कै बुझ्नुभएको होला । व्यवसायी, नागरिक तहमा अहिले जुन आर्थिक संकट भोगिरहेका छन् यो समस्या आउनुमा तपाईं के कारण देख्नुहुन्छ ?

अर्थतन्त्रमा हामी धेरै ग्यापमा छौं । स्रोत र खर्चमा अपत्यारिलो खाडल बढ्दै गइरहेको छ । राजस्व संकलनमा ह्रास आइरहेको छ । राजस्वले प्रशासनिक खर्च धान्न पनि अप्ठ्यारो–अप्ठ्यारै छ । विकासका लागि ऋणमा निर्भर हुनु परेको छ । बाह्य स्रोतमा निर्भर हुनुपर्ने अवस्था छ । निर्यात र आयातको बीचमा बढ्दो ग्याप छ । व्यापार घाटा अत्यासलाग्दो छ । यसले हामीलाई समस्यातिर धकेलिरहेको छ ।

बैंकिङ क्षेत्रमा अहिले पैसा थुप्रिरहेको छ । लगानी गर्ने उत्साहित लगानीयोग्य वातावरण अहिले छैन । बैंकमा कहिले तरलताको समस्या हुन्छ । अहिले बैंकमा पैसा छ, व्याजदर उच्च हुँदा लगानी गर्ने परिस्थिति अनुकूल छैन ।

देशभित्र लगानी गर्न चाहने मानिसले लगानी फिर्ता गरिरहेका छन् । अर्थतन्त्रमा संरचनागत समस्या छन् । अनुकूलको मनोविज्ञान जरूरी हुन्छ । अर्थतन्त्र केवल पैसाको खेल मात्रै होइन । कहींबाट पैसा ल्याएर लगानी गरिदियो अनि विकास भइहाल्छ भन्ने होइन । विकासको प्रक्रियामा सरकार जोडिनुपर्दछ ।

लाखौंको संख्यामा साना तथा ठूला लगानीकर्ता विकासका कार्यमा जोडिनुपर्दछ । बैंकिङ क्षेत्र, किसान, श्रमिक जोडिनुपर्दछ । बचत गरेको सानो रकम पनि लगानी गर्न सक्ने वातावरण बनाउन सक्नुपर्दछ । सरकारको ‘प्रेडिक्टेबल’ नीति हुनुपर्दछ । हाम्रो लगानीलाई सरकारले बनाएको नीतिले संरक्षण गर्दछ भन्ने लगानीकर्तामा हुनुपर्दछ । कानुन र नीति भएर मात्रै पनि हुँदैन, व्यवहारमा त्यसलाई कार्यान्वयनका निम्ति प्रशासन संयन्त्र लगानीमैत्री हुनुपर्दछ ।

प्रशासन संयन्त्रले स–साना काममा झमेला गरिदिएर लगानी गर्न चाहने मानिसहरूलाई हतोत्साहित गरिएको निजी क्षेत्रबाट सुनिरहेका हुन्छौं । आर्थिक अनियमितता, भ्रष्टाचारको विषय वेगवान् रूपमा उठेको छ । देशभित्रको आर्थिक संकटको कुरा एउटा सेक्टरमा मात्रै सीमित छैन । अन्तर क्षेत्र कोअर्डिनेशनको आवश्यकता छ । यो गम्भीरतालाई प्रधानमन्त्रीले बुझ्नु आवश्यक छ ।

तपाईंकै दलको अर्थमन्त्री हुनुहुन्छ । बजेट बनाउने क्रममा उहाँले पूर्व अर्थमन्त्री सहित अर्थविद्हरूसँग परामर्श लिनुभएको थियो । तपाईंले यी कुरा भन्नुभयो होला नि ?

अर्थमन्त्रीसँग फोनमा कुरा भयो । आमनेसामने बसेर कुरा हुन पाएन । अर्थमन्त्रीले गरेको प्रयासलाई धन्यवाद दिन्छु । पोजिटिभ परिणामको आशा पनि गर्दछु ।

यो निरन्तर हुनुपर्ने संवाद हो । बजेटका लागि एकपटक संवाद गरेर पुग्दैन । आमाले निरन्तर पोषण दिएर नै बच्चा हुर्कन्छ । अर्थतन्त्रका लागि राज्य, निजी क्षेत्र, किसान, श्रमिक, बैंकिङ क्षेत्र खेलाडी हुन् । सबै व्यक्तिमा आत्मविश्वास जागेन भने अर्थतन्त्रले गतिशीलता लिंदैन ।

लगानीका लागि अनुकूल वातावरण भएको सरकारले प्रक्षेपित गर्न सकेन भने विदेशी लगानीकर्ताहरू पनि आउँदैनन् । नेपाल राम्रो छ, हिमाल र बुद्धको देश हो भनेर मात्रै लगानी आउँदैन । सरकार बदलिने वित्तिकै नीति बदलिंदैन भनेर सन्देश दिन सक्नुपर्दछ । आत्मविश्वास जागृत गर्न सकिएन भने लगानी आउँदैन । बाहिरको लगानी भित्र्याउन नेपालभित्रका उद्योगी, व्यवसायीको विश्वास जित्नुपर्दछ । यो कार्य एक जना अर्थमन्त्रीले मात्रै गरेर पुग्दैन ।

संविधान निर्माणको क्रममा तपाईंहरूले प्रतिबद्धता गर्नुभएको थियो । संविधान बनेपछि लगानीको सुनिश्चितता हुन्छ भनिएको थियो । त्यही कुरामा अहिले आएर शंका गर्दै हुनुहुन्छ ?

अहिलेको तथ्यले नै त्यही देखाइरहेको छ । औद्योगिक क्षेत्रमा शिथिलता छ । औद्योगिक क्षेत्रले जीडीपीमा गर्ने योगदान घटिरहेको छ । कृषिमा चाहे जस्तो उत्पादन दिनसकेका छैनौं । अन्तर्राष्ट्रिय लगानी आउनका लागि हिच्किचाहटलाई अंकमा देखिराखेका छौं ।

मैले सधैं नीति र विचारको कुरा नै उठाएँ । पार्टीमा मेरो कमजोर पाटो परम्परागत गुटमा आवद्ध हुन सकिनँ ।

संविधान निर्माणको बेलामा म सरकारमा थिएँ । संविधान निर्माणको क्रममा विभिन्न पक्षसँग संवाद गर्ने क्रममा ती पक्षलाई संविधानले सम्बोधन गर्ने विश्वास दिलाएका थियौं । त्यसपछि लगानी प्रवद्र्धन गरी आर्थिक वृद्धि गरेर जाने कुरा एउटा घोषणाले हुन्न । यो यान्त्रिक प्रक्रिया होइन । विकास फुत्त जन्मिने होइन ।

राज्यका नीतिहरूमा कृषकले भरोसा गर्नुपर्यो । एकपटक मात्रै लगानी गरेर होइन कि पूँजी निर्माण गरेर थप लगानी गर्छु भन्ने आत्मविश्वास हुनुपर्यो । विकास निरन्तर चल्ने प्रक्रिया हो । त्यो क्रम संविधान निर्माणको लगत्तै अवरुद्ध भयो ।

बहुमत आउने वित्तिकै स्थिरता आउँछ भन्ने पहिले हामीलाई लाग्यो । अंक पुगेर स्थिरता आउने होइन । स्थिरताको आधारभूत कारकतत्व विधिको शासन अवलम्बन गर्दै हुनुहुन्छ कि हुनुहुन्न भन्ने हो । विधिको शासनमा सम्झौता गरियो भने स्थिरता आउँदैन । आर्थिक विकास दिगोपनको बाटोमा छ कि छैन ? रोजगारी सिर्जना भइरहेको छ कि छैन ? भ्रष्टाचारमुक्त समाज बनाउनका लागि तीव्रताका साथ हामी अघि बढेका छौं कि छैनौं ?

यी मुद्दाबाट जनमानसमा ठूलो असन्तुष्टि सिर्जना भयो भने धेरै ठूलो बहुमत पाएको सरकार पनि टिक्दैन । तपाईं लोकतान्त्रिक संवाद गरिरहनुभएको छ कि छैन ? आफ्नै पार्टीभित्र पनि संवाद गरिरहनुभएको छ कि छैन ? ओलीजीको सरकार कांग्रेससँग संवाद नगरेका कारणले ढलेको हो र ? आफ्नै दलभित्र संवाद गर्न सक्नुभएन ।

तपाईंले लामो समय गिरिजाप्रसाद कोइराला र सुशील कोइराला निकट भएर काम गर्नुभयो । उहाँहरूको उत्तराधिकारीमा अर्को पुस्ता आयो । उनीहरूलाई तपाईंले नेता मान्न नसक्दा तपाईं किनारीकृत हुनुभएको चर्चा पार्टीमा उठ्छ । यसमा तपाईंको टिप्पणी ?

यो विषय सत्य होइन । १४औं महाधिवेशनमा केही गम्भीर मुद्दा उठाएर मैले उम्मेदवारी घोषणा गरेको थिएँ । ती मुद्दा उठाउनका लागि कुनै गुटको सहयोगको मलाई आवश्यकता थिएन । मैले सधैं नीति र विचारको कुरा नै उठाएँ । पार्टीमा मेरो कमजोर पाटो परम्परागत गुटमा आवद्ध हुन सकिनँ । कांग्रेसको सांगठनिक संरचनामा देखा परेको संकटको कुरा पनि मैले उठाएँ । गुटबन्दीको धमिराले कांग्रेसलाई खान्छ । गुटबन्दीले कांग्रेसभित्रको ऊर्जालाई विस्तारै विस्तारै मारिरहेको छ ।

पार्टीको जनमत गुटकै कारणले कमजोर हुनेछ भनेर मैले भन्दै आएँ । जनताका मुद्दाहरू उठाउनुको साटो गुटगत प्रतिस्पर्धाले सत्तामा टिकिराख्ने प्रयत्न हुन्छ । सत्तामा रहिरहनका लागि अस्वाभाविक बाटो अवलम्बन गर्नुपर्ने हुँदा पार्टीभित्र खुला छलफलको वातावरण हुँदैन । छलफल गर्न आह्वान गर्नुपर्ने साथीहरू चाहिं पछाडि धकेलिंदै जानुहुन्छ । जिम्मेवारी प्राप्त गर्ने प्रमुख आधार गुट बन्छ । गुटबाट नै नेतृत्व बन्ने आधार बनाइन्छ ।

महाधिवेशन अघि नै यी कुराहरू मैले प्रतिनिधि साथीहरूलाई सचेत गराउने उद्देश्यले राखें । मेरो कुराको सुनुवाइ सीमित मात्रै भयो । तथापि, केही साथीहरूले गम्भीरतापूर्वक लिनुभयो । तर, नेतृत्व पङ्तिमा बसेका साथीहरूका निम्ति मैले उठाएका विषय प्राथमिकतामा परेनन् । पार्टीभित्रको संकटको कुरा मैले सीधै साथीहरूलाई भनें । तीन वटा स्रोतबाट संकट आउँदैछ भनें । एउटा, पार्टीभित्रको सांगठनिक कमजोरी र यसले सिर्जना गर्ने द्वन्द्वले निम्त्याउने संकट ।

राष्ट्रका आधारभूत तीन स्तम्भ– सरकार, संसद र न्याय क्षेत्रमा आउँदै गरेको संकटको मैले कुरा गरें । यी सबैसँग जेलिएर जलवायु परिवर्तनको संकट आउँछ । यसलाई समाधान गर्ने कौशल राष्ट्रले देखाएन भने ठूलो संख्यामा जनतालाई प्रभाव पार्दछ ।

यो कुरा लिएर कार्यकर्ताकहाँ जति समय जानुभयो, त्यति समय आफ्नो कार्यसमितिका साथीहरूलाई  ऊर्जा खपत गर्नुभएन, हो ? सामुन्नेमा यी संकट भएकाले तपाईं हामी मिलौं भन्नुभएन ?

होइन, मैले त्यो बेला भनें नि ! अहिले पनि भनिरहेकै छु । चुनावको बेलामा पनि मैले भनें । चुनाव लड्न चाहन्छु, अवसरबाट वञ्चित नगर्नुस् भनेर पार्टीको सभापतिलाई भनें ।

पार्टीको सभापतिलाई नै मलाई चुनाव लड्न नदिनुपर्ने कारण केही पनि छैन भनेर भनें । उहाँले माओवादी नेतृत्वलाई देखाउनुभयो । उहाँहरूले अघिल्लो पटक जितेको क्षेत्र हो भनेर देखाउनुभयो । अनि माओवादी नेतृत्वसँग पनि भेटघाट गराउनुभयो । मैले माओवादी अध्यक्ष प्रचण्डसँग पनि भनें, म संसदमा आउँदा तपाईंहरूलाई के अप्ठेरो पर्छ ? म चुनाव लड्न चाहन्छु भनेर भनें । मेरो अगाडि उहाँले ‘तपाईं संसदमा आउँदा हामी सबैका लागि एउटा एसेट हुनुहुन्छ । म चाहिं मेरो पार्टीमा कुरा गर्छु’ भन्नुभयो ।

अन्ततः मैले चुनाव लड्ने अवसर पाइनँ । म त्यो मौकाको पर्खाइमा थिएँ । म संसदमा भएको भए, सायद संसदको प्लेटफर्मलाई प्रयोग गर्थें । म मेरो पार्टीसँग पनि संवाद गर्थें । म अरू राजनीतिक पार्टीसँग पनि संवाद गर्थें र जनतासँग संवाद गर्ने प्लेटफर्म मेरा निम्ति सिर्जना हुन्थ्यो भन्ने लाग्छ ।

मसँग आज न पार्टीभित्र प्लेटफर्म छ, न संसदमा संवाद गर्ने ठाउँ । मलाई मिडियाले यदाकदा खोजेर आउनुभयो भने आफ्नो कुरा राख्छु ।

पार्टीभित्र सभापतिको चाहनाले वा आफ्नै इच्छाले पनि धेरै पदाधिकारी मनोनित हुनुभयो । तपाईंले अहिले केन्द्रीय समितिमा रहेर काम गर्छु भनेर भन्नुभएन ?

मैले त्यो भनेको छैन र भन्दा पनि भन्दिनँ । त्यो भन्नुपर्ने विषय हो भन्ने मलाई लाग्दैन । मेरो आवश्यकता पार्टीले जहाँ देख्छ म त्यही ठाउँमा बसेर काम गर्ने हो । कुनै जिम्मेवारीमा नबसेर, जिम्मेवारीविहीन भएर काम गर्दा पनि स्वबोधले काम गर्ने ठाउँ त मेरा निम्ति अहिले पनि छँदैछ ।

म मेरो चुनाव लडेको क्षेत्रमा जान्छु, जिल्लामा जान्छु, मसँग साथीहरूले देशभरबाट फोन गर्नुहुन्छ, संवाद गर्नुहुन्छ, भेट्न आउनुहुन्छ । म देखेको कुरा भन्छु । पत्रकार साथीहरू मसँग कुरा गर्न आउनुहुन्छ । मैले देखेको कुरा नचपाइकन भन्छु । मैले देशमा के संकट छ, मेरो पार्टी र अरू पार्टीमा पनि के संकट छ भनेर भनिराखेको छु । म यसको समाधानको उपाय पनि भनिरहेको छु । निराशा बाँड्दिनँ ।

अहिले पनि म पार्टीका लाखौं कार्यकर्ता साथी, जसले दुःख गर्नुभएको छ, उहाँहरूलाई एक तहको आन्दोलनमा आफूलाई समर्पित गरेर जसले यो पार्टी बनाउनुभएको छ अहिले नेतृत्व तहमा बसेका साथीहरूले लिनुपर्ने बाटो देखाउँछु । कांग्रेसका साथीहरू निराश हुनुपर्ने म देख्दिनँ । कांग्रेसको वास्तविक परिचय, गाउँ–गाउँमा केही कुराको पनि आशा नगरिकन बसेका साथीहरूको प्रयासले कांग्रेस फेरि एकपटक पुनः निर्माण र जागरण सम्भव देख्छु ।

यो अवधिमा नयाँ पार्टीको उदय पनि भएको छ । उनीहरूले पनि आफ्नो भूमिका निर्वाह गर्लान् ।

कांग्रेसको नीतिगत अस्पष्टताका कारण जनाधार गुमाइरहेको छ । त्यसमा प्रवेश गरेका नयाँ पार्टीका साथीहरू बलियो बनाउन सक्नुहोस्, मेरो शुभकामना छ । तर कांग्रेसले गुमेको जनाधारलाई पुनः प्राप्त गरोस् । त्यसका लागि नीति, विचार, सिद्धान्त, निष्ठा, चारित्रिक आचरण, सुशासन, भ्रष्टाचार मुक्त समाजको प्रतिनिधित्व गर्ने विषयमा कांग्रेसले नेतृत्व लियो भने उसको गुमेको जनाधार फर्किन्छ ।

१४औं महाधिवेशन अगाडि पनि सभापतिले विधान मिच्नुभयो भन्ने कुरा उठिराखेको हुन्थ्यो । अहिले पनि विधान अनुसार काम भएको देखिन्न । उहाँहरूको डेढवर्षे कार्यशैली हेर्दा कांग्रेस सुध्रिन्छ भन्ने लाग्छ ?

डेढ वर्षको अवधिमा विधान अनुसार कामहरू भएका छैनन् । र कांग्रेसले शक्ति आर्जन गरेको छैन भनेर धेरै अर्थमा भनें । अहिले शक्ति गुमिरहेको छ । यो उहाँको अन्तिम कार्यकालको दुई चार वर्ष बाँकी छ । यो समयमा नाटकीय अग्रसरता लिनुभयो भने सुधार हुन पनि सक्ला । तर उमेर र सामर्थ्य हुँदा नलिएको अग्रसरता अहिले हठात् आउँछ भनेर आशा गर्ने ठाउँ छैन । चामत्कारिक त्यस्तो केही गर्नुभयो भने मलाई खुशी हुनेछ ।

पार्टी सभापतिले यो बीचमा तपाईंसँग कुनै छलफल गर्नुभएको छ ?

उहाँको अग्रसरतामा होइन, मैले मेरो आफ्नै अग्रसरतामा करिब ६ महिनाअघि पार्टीभित्र विग्रह फेरि तीव्र रूपमा बढ्न थालेको देखें भनेर भेट्ने प्रयत्न गरेको थिएँ । चाँडो साथीहरूसँग छलफलमा बस्नुस्, केन्द्रीय समितिको बैठकबाट हुन्छ कि अनौपचारिक छलफल गरेर हुन्छ, साथीहरूको माझमा उठेको कुरामा छलफल गर्नुस् भनें । तपाईंलाई भोलि पर्सि यो विधानले सजिलो बन्न दिंदैन भनेर विधान बनाउँदैखेरि पनि मैले भनेको थिएँ । जुन संख्याको कार्यसमिति बनेको छ, हत्तपत्त तपाईंले बैठक बसाउन सक्नुहुन्न । त्यसले केन्द्रीय कार्य समिति नबसेपछि स–साना गुटहरू सक्रिय हुन्छन् । तपाईं पनि निर्णय गर्दा पदाधिकारी केही चिनिएको साथीहरू बोलाएर निर्णय गर्नुपर्ने बाटोमा जानुहुन्छ, जो संस्थागत निर्णय प्रक्रियाको विरुद्धमा हुन्छ भनेको थिएँ । यो विधान कांग्रेसका लागि प्रत्युत्पादक हुन्छ भनेको थिएँ ।

देश संघीयतामा गएको छ । हामी पनि संघीयता अवलम्बन गर्छौं भनेर भन्छौं । तर विधान केन्द्रमा ८५ जनालाई बढाएर १७० जनाको केन्द्रीय कार्य समिति बनायौं । जिल्लाका नेतालाई सोहोरेर केन्द्रमा ल्यायौं । नेताले केन्द्रका साथी पनि जिल्लामा जाउन् भन्ने अपेक्षा राख्नुपर्छ । जिल्लाका संरचना बलिया हुन् भन्ने चाहन्छ । साधन–स्रोत तलतिर जाओस्, जनशक्ति तलतिर जाओस्, अधिकार तलतिर जाओस् भन्ने बेलामा केन्द्रीय कार्य समितिको आकार नै ठूलो बनायौं ।

तपाईंले राखेका कुरामा सभापतिको के प्रतिक्रिया थियो ?

उहाँले सुन्नुभयो । सधैंको जस्तो बहसमा उहाँ रुचि राख्नुहुन्न । कुरा सुन्ने धैर्य उहाँले देखाउनुहुन्छ । मेरो उहाँसँग धेरै लामो सहकार्य भएकाले मेरो कुरालाई पनि गम्भीरतापूर्वक सुन्नुहुन्छ । केन्द्रीय समितिमा पनि मैले केही कुरा भन्न खोज्दा कहिल्यै अवरोध गर्नुभएन ।

मैले अन्तर्राष्ट्रियस्तरमा जुन परिचय बनाएको छु त्यो मैले यही पार्टीमा लगानी गर्ने हो । त्यसबाट देशमा लाग्ने हो । त्यो जाँगर मरेको छैन । त्यसका लागि उपयुक्त मौका कुरेर बसेको छु ।

कुरा सुन्ने र भन्ने चरणमा अहिले हामी छैनौं । अहिले हामीले जतिसुकै राम्रो कुरा भन्दा पनि जनताले पत्याउँदैन । कुराले हाम्रो पार्टीको सांगठनिक समस्याको निदान हुँदैन । आचरणबाट हुन्छ ।

महामन्त्री लगायत अन्य पदाधिकारीले तपाईंसँग कुनै संवाद गर्नुभएको छ ?

उहाँहरूले कुनै छलफल गर्नुभएको छैन । महामन्त्री विश्वप्रकाश शर्माले तनहुँको उपनिर्वाचनमा गोविन्द भट्टराईले खोजिराख्नुभएको छ, दाइ जानुपर्छ भनेर भन्नुभएको थियो । मैले मेरो व्यक्तिगत व्यवहारका कारणले जान सकिनँ । त्यो मलाई थक्थक् लागेको छ । गोविन्दजीलाई भेटेर पनि मैले कुरा गरें ।

पहिला देखिने तपाईंका सबै विषय ऊर्जाशील हुन्थे । अहिले सकिएको कि अझै बाँकी छ ? यसपछिको तपाईंको राजनीति के हुन्छ ?

सकिएको छैन । तर कहाँ बोल्ने ? मैले पर्खिनुपर्छ । महाधिवेशनको लागि तयारी गर्छु । कसरी जाने भन्नेमा अहिले घोषणा गरेर मात्रै हुँदैन । व्यक्तिका रूपमा म कहाँ पुग्छु भन्ने मुद्दा होइन । मेरो समग्र पार्टीको विचार प्रक्रियामा परिवर्तन आउँछ कि आउँदैन भन्ने हो । अस्तिको महाधिवेशन एउटा आवेशमा भयो । पुस्तान्तरणको बहसले तीव्रता लियो । एकातिर शेरबहादुर देउवाले निरन्तरता पाउनुभयो ।

उसोभए तपाईंको क्रियाशीलतामा कमि आउँदैन ?

गणेशमानजीले भन्नुहुन्थ्यो— केही काम नभएको बाँदर जस्तो एउटा हाँगोबाट अर्को हाँगोमा उफ्रिएर मात्रै केही भएन । प्लेटफर्म मसँग छैन ।

अहिले म संसदमा भएको भए यस्तै बहसमा केन्द्रित भएको देख्न सक्नुहुन्थ्यो । बाहिरबाट बोल्दा म आज यति असन्तुष्टि प्रकट गर्छु भने संसदमा भएको भए म कति असन्तुष्टि व्यक्त गर्थें होला ! सरकारसँग सम्बन्धित मुद्दा, राष्ट्रका महत्वपूर्ण नीतिगत मुद्दामा म बोल्थें होला ।

मेरो पार्टीको आगामी महाधिवेशनको तयारी सुरु हुँदा म फेरि लाग्नेछु । मलाई मेरो पार्टीले यति लगानी गरेको छ कि मैले देशभित्र यति धेरै मान्छेलाई भेट्ने अवसर पाएको छु । धेरै मानिसले मेरो कुरा सुन्नुभएको छ । मेरो कुरा सुनेर धेरै मान्छे यो पार्टीमा लाग्नुभएको छ । जो पुस्ता परिपक्व भएको छ । मैले अन्तर्राष्ट्रियस्तरमा जुन परिचय बनाएको छु त्यो मैले यही पार्टीमा लगानी गर्ने हो । त्यसबाट देशमा लाग्ने हो । त्यो जाँगर मरेको छैन । त्यसका लागि उपयुक्त मौका कुरेर बसेको छु ।

फोटो/भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?