+
+

के मार्वल ‘सिनेम्याटिक ब्रह्माण्ड’को अन्त्य हुँदैछ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १७:४९

काठमाडौं । फेब्रुअरी २०२३, स्कटल्याण्ड, पृथ्वी, ठूलो आक्रमण भइरहेको छ र खलनायकबाट संसारलाई बचाउन सक्ने र आफ्नो आकार पनि बदल्न सक्ने सुपरहिरो एन्ट-म्यान पनि खतरामा छ । एन्ट–म्यान मात्र होइन उसका अन्य धेरै सुपरहिरो साथी पनि खतरामा छन् र हामी तिनीहरूलाई बचाउनका लागि केही गर्न सक्दैनौं । किनभने यस पटक उनी फिल्म समीक्षक र उनका फ्यानको आक्रमणमा परेका छन् ।

स्पाइडर म्यान, क्याप्टेन अमेरिका र आइरन म्यान जस्ता सुपरहिरो देखिएका फिल्मलाई प्रशंसा गर्ने फिल्म समीक्षक र ती फिल्मलाई उत्सुकतासहित प्रतीक्षा गर्ने फ्यान यतिबेला निराश र दिक्क छन् । यी हुन् ती सुपरहिरो जसको बलमा मार्वल सिनेम्याटिक ब्रह्माण्डको संसार टिकेको मात्र होइन फस्टाएको पनि थियो ।

हामीमध्ये धेरैले सुपरहिरो पात्रको कथामा आधारित यी फिल्मलाई पक्कै हेरेको हुनुपर्छ, जसको कथावस्तु प्रायः खराब र राम्रोको लडाइँ वरपर घुमेको हुन्छ । फेरि त्यहाँ सबै शक्तिले सुसज्जित सुपरहिरोको प्रवेश हुन्छ, जो खलनायकलाई रोक्न र फिल्मको अन्त्यमा भिलेनको योजनालाई नष्ट गर्न केन्द्रित हुन्छन् ।

तपाईंलाई सायद थाहा हुनुपर्छ, धेरै सफल र धेरै श्रृंखलामा बनाइएका यी फिल्मका सुपरहिरो वास्तवमा हास्य पुस्तक पात्र हुन् जसलाई फिल्ममा मूर्तरुप दिइएको हो । जब यी फिल्म रिलिज हुन्थे, त्यतिबेला दर्शकले पुस्तक हातहातमा लिने गर्थे । तपाईंलाई यो पनि थाहा छ कि चार वर्ष पहिले रिलिज भएको एभेन्जर्स एन्डगेमले सारा विश्वका साथै भारतमा बक्स अफिसमा धमाका मच्चाएको छ ।

सुरुवात सुपरम्यानबाट

भर्जिनियाको र्‍याडफोर्ड विश्वविद्यालयका मानविकी विभागका प्रमुख म्याथ्यु स्मिथ भन्छन्– फिल्ममा सुपरहिरो पात्रको सुरुवात सुपरम्यानदेखि भएको थियो ।

म्याथ्यु स्मिथ कमिक पुस्तक रुचाउँछन् । उनी भन्छन्, ‘पहिलो सुपरहिरो सुपरम्यान हो । सुपरहिरो पात्रलाई सन् १९३८ मा जेरी सिगेल र जो शुस्टर नामका दुई अमेरिकी तन्नेरीले सिर्जना गरेका थिए । यो डिज्नी कमिक पत्रिकामा प्रकाशित भएको थियो । कमिक बुक्स र कमिक म्यागजिनमा देखा पर्ने बित्तिकै उनी धेरै लोकप्रिय पात्र बने ।

सुपरम्यानको लोकप्रियताबाट प्रेरित भएर सुपरहिरो पात्रलाई प्रस्तुत गर्ने धेरै हास्य पत्रिकाहरू देखा पर्न थाले । म्याथ्यु स्मिथका अनुसार सन् १९३९ मा मार्टिन गुडम्यानले मार्वल कमिक्स प्रकाशित गर्न थालेका थिए ।

यसबारे म्याथ्यु स्मिथ भन्छन्, ‘मार्भल कमिक्समा दुईवटा सुपरहिरो क्यारेक्टर थिए, ती थिए ह्युमन टर्च र सबमेरीनर । यी वास्तवमा विरोधी नायक पात्र थिए । अर्थात् यस्ता नायक जसमा कमजोरी थिए । त्यसपछि क्याप्टेन अमेरिकाको क्यारेक्टर बनाइयो, जुन मार्वल कमिक्सको निकै लोकप्रिय पात्र बन्यो ।

त्यसपछि ज्याक किर्बी र स्टेन लीको जोडीले ‘फ्यान्टास्टिक फोर’, डेयर डेभिल र ’एक्समेन’ कम्पोज गरे । यसरी मार्वल कमिक्सका सुपरहिरोले नयाँ प्रकारको संसार प्रस्तुत गरेका छन् । म्याथ्यू स्मिथ विश्वास गर्छन्, ‘यदि तपाईंले सुपरम्यानलाई हेर्नुभयो भने, ऊ रूप र गुणहरूमा पूर्ण वा आदर्श चरित्र हुन् । दृश्यमा उसको छवि ग्रीक देवता ओडोनिस जस्तै आकर्षक देखिन्छ । यस्तो तस्वीर देखेर मानिस आफूलाई त्यस्तै देख्न चाहन्छन् । यसैको आधारमा मार्वल कमिक बुकमा स्पाइडर म्यान जस्ता सुपरहिरो पनि देखिन थाले ।

म्याथ्यु स्मिथ थप भन्छन्, ‘मार्भलका सुपरहिरो वास्तवमा युवावस्थामा दह्रो पाइला टेक्ने युवाका पात्र हुन् । जसमा क्यारिज्म्याटिक (अभूतपूर्व) शक्ति हुन्छ । तर सुपरम्यानको विपरीत यी सुपरहिरोहरू त्यति निपूर्ण छैनन् । उनका पात्रमा पनि मानवीय कमजोरी छन्, जसका कारण उनीप्रति मानिसहरु सजिलै आकर्षित भएका छन् ।’

कमिक बुक्सले मार्वल युनिभर्स अर्थात् एउटा संसार सिर्जना गर्‍यो, जसमा एकै समयमा धेरै सुपरहिरो एउटै संसारमा सँगै आउन थाले । तर यी पात्रमाथि आधारित रहेर फिल्म बनाउन पैसा चाहिन्छ । मार्वलले अन्य फिल्म निर्माता स्टुडियोमा यी क्यारेक्टर प्रयोग गर्न इजाजतपत्र बेच्न थाले र यसरी मार्वल कमिक्स डिज्नी भन्दा बढी लोकप्रिय भयो ।

उनीहरुले टेलिभिजनका लागि मार्वल सुपरहिरोका पात्रमा आधारित फिल्म पनि बनाउन थाले तर अपेक्षा अनुसारको सफलता भने पाउन सकेको छैन । म्याथ्यु स्मिथका अनुसार यसको कारण टिभी सिरिजका निर्माताले मार्वलका पात्रलाई राम्ररी बुझेका छैनन् ।

एमसीयु भर्सेस मार्वल सिनेम्याटिक युनिभर्स

एमसीयु अर्थात् मार्वल सिनेमेटिक युनिभर्स । यो फ्रेन्चाइजको नाम हो जस अन्तर्गत मार्वल स्टुडियोले १५ वटा फिल्म बनाएको छ । यी फिल्म कथा वा पात्रद्वारा एकअर्कासँग सम्बन्धित हुन्छन् । हामीले यसबारे द स्पूल र कोलाइडर जस्ता मनोरन्जन वेबसाइटका लागि फिल्मको समीक्षा गर्ने लिसा लेमनसँग कुरा गरेका छौं ।

उनी भन्छिन् ‘दश वर्षअघि मार्वल स्टुडियोको पहिलो सबैभन्दा सफल फिल्म ‘आइरन म्यान’ रिलिज हुँदा त्यसमा धेरै नयाँ थिए । मलाई लाग्यो कि यो धेरै नवीन थियो किनभने यसमा हास्यकला भरिपूर्ण थियो । पूर्णतया काल्पनिक संसारको सट्टा, यसको कथा आधुनिक संसार र यसको सामाजिक र राजनीतिक मुद्दासँग सम्बन्धित थियो । यसको कथा ब्याटम्यानको काल्पनिक सहर गोथमको सट्टा इराकमा हुन्छ । धेरै कुरा एकदम नयाँ थिए ।’

गत वर्ष फिल्म इतिहासमा सबैभन्दा धेरै कमाउने १० फिल्ममध्ये पाँच मार्वल पात्रहरूमा आधारित थिए ।

लेमन भन्छिन्, ‘आइरन म्यान’ देखि ‘एभेन्जर्स एण्ड एन्डगेम’सम्मको एघार वर्षको अवधि मार्वल स्टुडियोको स्वर्ण युग थियो । यसै क्रममा ‘ब्ल्याक प्यान्थर’, ‘डक्टर स्ट्रेन्ज’ जस्ता सफल फिल्म आए । तर यी सबैमा एभेन्जर्स सिरिजका फिल्मले सबैभन्दा बढी कमाइ गरेका छन् ।

लेमन थप्छिन्, ‘ब्ल्याक प्यान्थर पहिलो पटक १९६० मा बनेको थियो तर जब यसलाई २०१८ मा पुनः निर्माण गरियो, यसले एक अर्ब डलर भन्दा बढी कमाएको थियो र विश्वको सबैभन्दा सफल सुपरहिरो फिल्ममध्ये एक साबित भयो ।’

’ब्ल्याक प्यान्थर’ को महत्वबारे लिसा लेमन भन्छिन्, ‘त्यसबेलासम्म मार्वल स्टुडियोका फिल्महरूमा जातीय विविधताको प्रतिनिधित्व थिएन । कथामा अश्वेत पात्र निकै कम थिए, न त अश्वेत मानिसको दृष्टिकोण कथामा देखिन्थ्यो । ब्ल्याक प्यान्थरले केही हदसम्म यो खाडल भर्ने प्रयास गर्‍यो ।’

‘यस दृष्टिकोणबाट कथा सुनाउनुपर्ने आवश्यकतालाई दर्शकले पनि बुझेका छन् । यसले पनि सुपरहिरो कस्तो हुनुपर्छ भन्ने प्रश्नको ध्यानाकर्षण गरायो । यो आवश्यक छैन सुपरहिरो सँधै एक श्वेत व्यक्ति मात्र हुन्छ,’ उनी अगाडि भन्छिन् । सुपरहिरो फिल्म बनाउने कुरामा मार्वल स्टुडियो अग्रपङ्क्तिमा छ । तर डीसी स्टुडियोले पनि यस्ता फिल्म बनाउँदै आएको छ ।

लिसा लेमन भन्छिन्, ‘सन् २०१३ मा मार्वल सुपरहिरोको चरित्रमा आधारित डीसी स्टुडियोको फिल्म ‘म्यान अफ स्टिल’ पनि बक्स अफिसमा निकै सफल भएको थियो । तर फिल्मको गुणस्तर ‘एभेन्जर्स’ फिल्मसँग तुलना गर्न नसकिने भएकाले उनले ‘एभेन्जर्स’ फिल्मजस्तै सफलता हासिल गर्न सकिनन् । तर डीसीका फिल्म ‘वन्डर वुमन’ र ‘शाजम’ निकै सफल भएका थिए किनभने तिनीहरूमा मानव जीवन र भावनाको झलक थियो जसलाई दर्शकले आफूलाई जोड्न सक्छन्, तर डीसीको ‘ब्याटम्यान भर्सेस सुपरम्यान’ फिल्ममा त्यस्तो थिएन, त्यसैले तिनीहरू त्यति सफल भएनन् ।’

मार्भल स्टुडियोका सुपरहिरो फिल्मलाई लिएर विगतमा आलोचना भएको थियो, तर आलोचनालाई व्यापक बनाउनुको कारण के हो ?

यसबारे लिजा लेमन भन्छिन्, ‘यसपटकको आलोचना फरक देखिन्छ । यसको एउटा कारण मार्वलका फिल्म ठूलो संख्यामा बनिरहेका छन् । मार्वलले अब केही वर्ष पहिले डीसीबाट सिकेको पाठ हो कि एउटै फिल्ममा धेरै सुपरहिरो सँगै ल्याउँदा फिल्म हिट हुँदैन । दर्शक कथालाई गहिराइमा हेर्न चाहन्छन् ।’

अनन्त सम्भावना

फिल्म पत्रकार र समालोचक जोनाथन सिम पनि मार्वलले टिभी ढाँचामा धेरै सामग्री सिर्जना गरिरहेको र दर्शक यसबाट थोरै थकित भएको विश्वास गर्छन् । मार्वल फिल्म धेरै चरणमा बनाइयो र त्यो चरण कथाको अन्त्यमा समाप्त भयो । पहिलो चरण २००८ मा सुरु भयो र २०१२ सम्म चल्यो, जसको अवधिमा छवटा फिल्म रिलिज भए ।

जोनाथन सिमले बीबीसीसँग भने, ‘दोस्रो चरण २०२१ मा सुरु भयो र २०२२ सम्म चल्यो, जसमा पहिलो चरणको भन्दा दोब्बर सामग्री सिर्जना गरिएको थियो । लगभग हरेक महिना नयाँ शो आउँदै थियो । म जस्तो मार्वल फ्यानका लागि यो समस्या होइन, तर धेरै दर्शक यसबाट थकित छन् । दोस्रो कुरा मार्वलको उत्पादनको गुणस्तर खस्किरहेको छ । उसले आफ्नो सामग्री घटाउनेबारे सोच्नुपर्छ ।’

कम समयमा बढी कन्टेन्ट बनाउने दौडमा फिल्मको पोस्ट प्रोडक्सन अर्थात् भिजुअल र ग्राफिक इफेक्टमा कम ध्यान गएको छ । यी ती चीजहरू दर्शकलाई सबैभन्दा बढी प्रभावित पार्छन् । संसारमा मार्वलका करोडौं फ्यान छन् र उनीहरूमा मार्वल फिल्मप्रतिको यस्तो जोश छ कि उनीहरूले फिल्मलाई हिट वा फ्लप बनाउन सक्छन् ।

त्यसो भए अब हाम्रो मुख्य प्रश्नमा फर्कौं– के मार्वल सिनेम्याटिक ब्रह्माण्डको अन्त्य हुँदैछ ?

सिमको जवाफ छ, ‘निकट भविष्यमा यो हुने सम्भावना कम छ । उसको अघिल्लो फिल्म ‘गार्जियन्स अफ द ग्यालेक्सी भोल्युम ३’ हिट थियो र मार्वल फ्रेन्चाइज अझै पनि धेरै सफल छ । यसको तरकसमा अझै धेरै तीरहरु राखिएका छन् ।’

मार्वलका नयाँ फिल्म ‘क्याप्टेन अमेरिकाः ब्रेभ न्यु वर्ल्ड’ र ‘ब्लेड’ अर्को वर्ष रिलिज हुँदैछन् । तर यो पनि सत्य हो कि कम समयमा धेरै फिल्म बन्ने, भिजुअल इफेक्टको गुणस्तरमा आएको ह्रास र फिल्मका कमजोर कथाका कारण यसको आलोचना बढेको छ । आफ्नो प्रतिष्ठा र सर्वोच्चता कायम राख्न मार्वलले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्छ ।

बीबीसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?