+
+

संसदमा प्रचण्ड : रविलाई धन्यवाद, ओली र लिङ्देनलाई प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते २०:४६

२५ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने क्रममा कमजोरी मात्र स्वीकार गरेनन्, विपक्षी दलहरु बीचमा दुरी देखाउने प्रयाससमेत गरेका छन् ।

एक पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले आपत्ति जनाएका थिए ।

२० असारको संसद बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरु आ आफ्नो स्थानमा उठेका थिए । सभामुखले समय दिएपछि एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । लगत्तै सत्तारुढ सांसदलाई बोल्न समय दिएपछि राप्रपाहरु रोष्ट्रम घेराउ गर्न पुगे र सभामुखले बैठक स्थगित गरे । त्यसयता संसद अवरुद्ध भइरह्यो ।

प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री आफ्नो कमजोरी स्वीकार गर्न तयार भएपछि एमाले संसदको अवरोध हटाउन तयार भयो ।

सोमबारको बैठक सुरु हुनासाथ एमाले सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाए । लगत्तै रास्वपा सभापति रवि लामिछानेले बोले । उनले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति मात्र जनाएनन्, यो मुद्दामा आफ्नो दल एमालेभन्दा फरक स्थानमा रहेको समेत बताए ।

अघिल्लो बैठकमा आफूहरुलाई बोल्न नदिएको र ‘प्रमुख प्रतिपक्षले जे बोल्यो, त्यसलाई हाम्रै भाष्य हो भन्ने किसिमको जालसाजीपूर्ण क्रियाकलाप भएकोमा आपत्ति जनाउँदै उनले भने, ‘रास्वपा प्रतिपक्ष भूमिकामा छ, तर प्रतिपक्षमा हुनुका आफ्ना मुद्दाहरु छन् । रास्वपा अरु कुनै दलको मुद्दामा होइन, आफ्नै मुद्दामा उभिएको छ । आफ्नै अस्तित्वका साथमा उभिएको छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका उनले भ्रष्टाचारविरुद्ध राम्रो काम थालेको भन्दै ‘स्याबास’ भने । साथै हाँगाबिँगा काटेर भएन, जरासम्म पुग्न सुझाए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने नैतिकताका आधारमा राजीनामा दिन  प्रधानमन्त्रीलाई आग्रह गरे ।

विपक्षी दलका नेताहरुले बोलेपछि स्पष्टीकरण दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्तिमा आफ्नो कमजोरी स्वीकार गरे । प्रितम सिंहसँगको सम्बन्ध दिवंगत छोरी ज्ञानुको उपचारको बेलासँग जोडिएको भन्दै उनले भने, थोरै भावनामा आएँ, मैले त्यो नभनेको भए हुन्थ्यो । मनमा आयो, मैले भने ।’ त्यो दिन प्रधानमन्त्रीका रुपमा नभई ज्ञानुको बुबा भएर बोल्न पुगेको भन्दै कमजोरी स्वीकारे ।

साथै प्रतिपक्षी दलहरु एउटै ठाउँमा छैनौं भन्ने रविको सन्देशलाई प्रचण्डले टपक्क टिपे । प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘प्रतिपक्ष पनि एउटै छैनौं भन्ने आज औपचारिक अर्थमा प्रस्तुत भयो । यसका लागि धन्यवाद भन्न चाहन्छु ।’

सुशासन र जनअपेक्षाको प्रश्नमा सरकारले कदम चालिरहेको र चाल्ने उनले बताए । सरकारलाई स्याबास भन्ने रविको अभिव्यक्तितर्फ संकेत गर्दै उनले भने, प्रतिपक्षका साथीहरुले धन्यवाद भन्नुभयो । म पनि काउन्टर धन्यवाद भन्न चाहन्छु ।’

अनि राजीनामा माग गर्ने एमाले र राप्रपातिर संकेत गर्दै संसदको विश्वसनीयतामाथि प्रश्न उठाउनु र स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु उचित हो भनेर प्रश्न गरे ।

आफूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेताहरुले नै कसले बनायो प्रधानमन्त्री भन्ने प्रश्न गरेको भन्दै उनले अगाडि भने, मलाई प्रश्न गर्दा प्रश्न उठाउने दल वा माननीय पनि प्रश्नको घेरामा हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?