+
+

पोखरालाई सांस्कृतिक र पर्यटनको केन्द्र बनाउन आग्रह गर्दै र्‍यापर लाउरेले लेखे मेयरलाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १३:१३

काठमाडौं । र्‍यापर तथा अभिनेता आशिष राना ‘लाउरे’ यतिबेला हिमालय रोडिज सिजन पाँचको तयारीमा छन् । नयाँ सिजनको प्रसारण साउन ८ गतेदेखि सुरु हुँदैछ । यो सिजनमा पनि लाउरे ग्याङ लिडरको रुपमा देखिनेछन् । यसबाहेक उनले गत महिना नयाँ गीत सार्वजनिक गरेका थिए ।

लाउरे र काठमाडौं महानगरपालिकाका मेयर तथा र्‍यापर बालेशाह एकदमै मिल्ने साथी हुन् । एकअर्कालाई मितज्यू भनेर बोलाउँछन् । काठमाडौंमा विकास गर्ने एजेण्डासहित चुनावमा उठेका बालेनलाई सघाउन लाउरे पनि हिंडेका थिए । हुनसक्छ यही कारण उनी बालेनका सोच र नीतिबाट प्रभावित पनि देखिन्छन् ।

बुधबार एकाबिहानै लाउरेले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई खुलापत्र लेख्दै बालेन र धरानका मेयर हर्क साम्पाङजस्तै काम गर्न सुझाएका छन् । ११ बुँदे उक्त पत्रमा लाउरेले मेयर आचार्यलाई पत्र लेख्दै आफूहरुले पर्यटकीय पोखरालाई स्वस्थ, पूर्ण, प्राकृतिक र स्वर्गजस्तै देख्न चाहेको उल्लेख गरेका छन् । मेयरलाई सघाउन आफूहरु समेत तयार रहेको लाउरेले लेखेका छन् ।

पोखरा रंगशाला र चाइनिज पुलबाट फ्याँकिएका कुहिएका फोहोर र तरकारीले दुर्गन्ध फैलिएको र यसले पर्यटकलाई नराम्रो सन्देश दिएको भन्दै उनले ध्यानाकर्षण गराएका छन् । सडकको खाल्डाखुल्डी पुर्न, सडक बत्ती स्थापना र सुधार्न, सडकमा ट्राफिक अवस्थाको व्यवस्थापन गर्न, बस स्ट्यान्ड स्थापना गर्न, खुला खेलमैदान र फिटनेस केन्द्र स्थापना गर्न, प्लाष्टिक निषेध गर्न, अन्डरग्राउण्ड ट्युब च्यानल स्थापना गर्न, प्रहरीको सवारी चाँचलाई व्यवस्थित गर्न उनले आग्रह गरेका छन् ।

लेकसाइडको पैदलमार्गलाई हलिउड शैलीमा ‘हलिउड वाक अफ फेम स्ट्रिट’को रुपमा विकास गर्न समेत उनले सुझाएका छन् ।

नेपाली कला, संगीत र मनोरन्जनको क्षेत्रमा पोखराले महत्वपूर्ण योगदान र उदाहरण दिंदै आएको उल्लेख गर्दै लाउरेले उक्त क्षेत्रबाट उदाएका कलाकारलाई सरकारले मान्यता नदिएको गुनासो गरेका छन् । प्रदेश सरकारको तर्फबाट कला, संगीत र मनोरञ्जनका लागि एउटै प्रेक्षागृह वा कन्सर्ट हल खोलेर सानो सहयोगले ठूलो फरक पार्न सक्ने उनको भनाइ छ । ‘हामी कलाकारको हैसियतले सरकारलाई कर तिरिरहेका छौं तर सरकारले रोयल्टी, प्रतिलिपि अधिकार र अन्य धेरै मुद्दामा कहिल्यै चासो दिएन,’ उनले लेखेका छन् ।

नेपाली फिल्म ‘ताण्डव’बाट अभिनय करिअर थालेका लाउरे अर्को एक फिल्मको तयारीमा समेत जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?