+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

राना थारु समुदायले तीज पर्व भदौ २ मा मनाउने

रासस रासस
२०८० असार ३० गते १७:००

३० असार, कञ्चनपुर । कैलाली–कञ्चनपुरका मूल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् ।

श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए । ‘राना थारु समुदायको तिथि, मितिअनुसार यो वर्ष लौध (मलामास) पर्नाले तीज पर्व एक महिना पछि मनाउने निर्णय गरिएको छ’, उनले भने, ‘राना थारु समुदायका अगुवा भलमन्सा, पध्नालगायत अन्य सरकोरावालालाई जानकारी गराइएको छ ।’

तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा यसलाई लिने गरिन्छ । धेरै समय अघि राना समुदायमा बिरामी फैलिएपछि घरका कमाउने व्यक्तिको मृत्यु भई गरिबी बढेपछि दिदीबहिनीले भगवान् श्रीकृष्णको पूजाअर्चना गरेपश्चात् समाजबाट दुःख, पीडा र गरिबी हटेकाले त्यसै दिनदेखि यो पर्व मनाउँदै आएको किम्वतन्ती रहेको छ ।

सांस्कृतिक सामाजिक र भ्रातृत्व प्रेमले ओतप्रोत तीज पर्वमा दिदीबहिनीले दाजुभाइ भतिजाको लामो आयुको कामना गर्दै पानीसमेत नखाई व्रत बस्ने गर्दछन् । दाजु भाइले तीजपर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । तीज पर्वको आगमनसँगै सार्वजनिक स्थान, बगैँचा र सामूहिकरुपमा भेला हुने ठाउमा दाजुभाइले दिदीबहिनीका लागि डोला (पिङ) राख्ने चलन रहेको छ ।

उनका अनुसार परम्परागत आभूषण र पहिरनमा सजिएका महिलाले डोलामा चढेर ठूलो स्वरमा सावनका माङ्गलिक गीत गाउने गर्दछन् । महिलाको एक टोलीले गीत गाउँदै डोला मच्चाउने गर्दछन् । डोलामा चढेकाले स्वरमा स्वर मिलाउँदै सावनका गीतहरू गाउने गर्दछन् । महिलालाई उत्साह थप्नका लागि पुरुषले ठूलो स्वरमा गीत गाउने गर्दछन् । यसबाट दिदीबहिनी र दाजुभाइ भतिजाबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको छ ।

दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइ भतिजाको दीर्घायुको कामना गरी तीज पर्व मनाउने गरेका छन् । निरहार बसेका दिदी बहिनीले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

गडरौँदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहितले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्ति संगै बिर्षजन गर्ने चलन रहेको राना थारु संस्कृतिका जानकार नवलसिंह रानाले बताए । बिर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धारजस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन् ।

बिर्सजन गर्न जाने बेला गाँउका युवाले दिदी बहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हस्यौली ठट्र्यौली र मनोरञ्जन लिने गर्दछन् । जसलाई राना थारु भाषामा झुडकी छिराउने भन्ने गरिन्छ । तीजमा माइतीलाई भेट्न नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुख दुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन ।

तीजका अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?