+
+
एक क्विन्टल सुन तस्करी प्रकरण :

एक वर्षयता सुन तस्करहरुका लागि अनुकूल बनाइएको थियो भन्सार प्रणाली

अर्थमन्त्रीको कार्यकक्षसहित आधा दर्जन ठाउँमा भिडियो लाइभ हुने गथ्र्यो सुन जाँच पास हुने र बाहिरिने क्षेत्र । एक वर्षयता यो प्रणाली टुटे त्यसलाई अनुगमन गर्ने निकाय थिए । तस्करी गर्ने उद्देश्यले खोलिएको कम्पनीको कारोबार भने निर्वाध चलिरह्यो ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन ७ गते २२:०३

७ साउन, काठमाडौ । विमानस्थल भन्सार कार्यालय सिनामंगलको नेतृत्व सहसचिव अरुण पोखरेलले गर्छन् । कार्यालय छिर्नेबित्तिकै पहिलो तलाको दक्षिण पश्चिमतर्फ उनको कार्यकक्ष छ ।

कार्यालय प्रमुख बस्ने कार्यकक्ष यस्तो ठाउँमा छ, जहाँबाट सिंगो उनको मातहतको कार्यालय प्रष्टै देखिन्छ । विमानस्थल भन्सारको कार्गो परिसरको मूल गेट नै उनको झ्यालबाट केही मिटरको दूरीमा पर्छ । कार्यालयका सबै कोठा एकैपल्ट आँखाले देख्न सम्भव नभए पनि प्रविधिले सहज गराइदिएको छ ।

विमानस्थल भन्सार प्रमुख कार्यकक्षको भित्तामा दुई ठूला टेलिभिजन मनिटर छन् । एकातर्फ विमानस्थल यात्रु आगमन र प्रस्थानको दर्जनौ लाइभ भिडियो आईपी क्यामेरामार्फत रेकर्डिङ र प्रशारण भइरहेका हुन्छन् । अर्को मनिटरमा भन्सार कार्गो भवनमा जहाजबाट माल वस्तु आएकोदेखि गेटबाट भित्रिएको–बाहिरिएको प्रत्यक्ष देखिन्छ । सबै विवरण रेकर्डसमेत भइरहेको हुन्छ ।

विमानस्थल भन्सारको मात्रै होइन देशका प्रमुख २४ वटै भन्सारमा यस्तो सुविधा २०७५ सालदेखि नै लागू गरिएको छ । यसलाई भन्सारले ‘लाइभ मनिटरिङ प्रणाली’ भनेको छ ।

यो प्रणाली यति बहुउपयोगी छ कि विमानस्थल भन्सारको एक्सरे भिडियो सो कार्यालयका प्रमुखको कार्यकक्ष, भन्सार विभागका महानिर्देशकको कार्यकक्ष, विभागकै केन्द्रीय प्रत्यक्ष मनिटरिङ इकाई र अर्थ मन्त्रालयमा अर्थमन्त्री र सचिवको कार्यकक्षमा समेत प्रत्यक्ष देख्न सकिन्छ ।

‘लाइभ मनिटरिङ प्रणाली’ यो एउटा प्रत्यक्ष भन्सार गतिविधि निगरानीको माध्यम हो भने भन्सारको डकुमेन्ट हेर्न आशिकुडा वर्ल्ड भन्ने अर्को प्रणाली छ । यसले भन्सारमार्फत हुने कारोबारको कागजपत्र एकद्वारमार्फत् अध्ययन र जाँच पासको प्रक्रिया पूरा गर्छ ।

मुलुकको आम्दानीको प्रमुख स्रोत नै भन्सार भएपछि २०६९ सालमा आफ्नो तल्लो तहको कार्यालयका काम समेत पारदर्शी बनाउन भन्दै अर्थ मन्त्रालयले नेपाल कस्ट्युम अटोमेसन सिस्टम (एनईसीएएस) लागू गरेको थियो ।

त्यसयता विस्तारै कार्यान्वयन भइरहेको यो प्रणाली झन् झन् बलियो बन्दै गइरहेको छ । पछिल्लो दुई वर्षदेखि भने धेरै भन्सार प्रणाली पूर्ण रुपमा अनलाइनमा आधारित भइसकेको छ ।

प्रणालीबारे जानकार एक अधिकारी भन्छन्, ‘भन्सारमा कसैले बदमासी गर्न नसकोस् भनेरै यस्तो प्रणाली लागू गरिएको हो, भन्सारमा पेश भएको डकुमेन्टसँगै वस्तुको प्रत्यक्ष निगरानी गर्ने यो प्रणाली नेपालको सरकारी निकायमा सबै भन्दा बलियो हो ।’

भन्सारमा एक्सरे र जाँचकी माथि पनि आधा दर्जन जाँचकी

विमानस्थल भन्सारमा सुन पास गराउने कार्यमा सहयोग गरेको भन्दै निलम्बित भएका भन्सार अधिकृत, जाँचकी र एक्सरे अपरेटर आइतबार पक्राउ परेका छन् । एक्सरे अपरेटर सरोज श्रेष्ठले सुन आएको भनिएको ‘ब्रेक शु’ प्याकेट एक्सरेमा जाँचेर ‘आरसी’ अर्थात रिचेक (पुनःपरीक्षण) लेखेर पठाएका थिए । तर, जाँचकी कुमार ढकाल र अधिकृत सन्तोष चन्दले त्यसलाई खोलेर हेरेर पनि पास गरिदिएको प्रारम्भिक अध्ययनमा खुलेको छ ।

उनीहरु भन्दा माथि आयातित वस्तुको मूल्यांकन प्रमाणित गर्ने अधिकारी प्रमुख भन्सार अधिकृत (उपसचिव स्तरका) हुन्छन् । यस्तै उनको माथि उपसचिव स्तरका अर्का निर्देशक आफ्नो कार्यालयको सबै प्रक्रियाको दुरुस्त जाँचका लागि विशेष अनुभवसहितका व्यक्ति जिम्मेवारीमा हुन्छन् । उनको काम भन्सार जाँचपासको प्रक्रिया र तलको कर्मचारीको कामको कागजी र भिडियोसहितको निगरानी राख्ने हुन्छ ।

यस्तै, उनी र उनको कार्यको जाँच कार्यालय प्रमुख (सहसचिवले) आफ्नै कार्यकक्षबाट गर्न सक्छन् । त्यसो त कार्यालय प्रमुखको काममा पनि विभागको विभागीय प्रमुख, उपमहानिर्देशक वा विभागको वान शाखाले र त्यस भन्दा पनि माथि अर्थ मन्त्रालयका सचिव, मन्त्रीसम्मले हेर्न र अनुगमन गर्न सक्ने भन्सारको प्रणाली छ ।

तस्करीका अनकूलता

कागजमा, भिडियो दृश्यमा र फिल्डमा तीनवटै तहमा दर्जनौं संख्यामा जनशक्ति र उपकरणले सुसज्जित विमानस्थल र भन्सारबाट एक सय किलो बढी सुन जाँच पास भएर बाहिरिएपछि धेरै जना चकित भएका छन् । तर, यसका पछाडि संगठित तस्करीलाई बल पुग्ने केही अनुकूलताहरु देखिन्छन् ।

अनुकूलता  १ : मंगलबार विमानस्थल भन्सार शाखाका सुन जाँच गर्ने शाखाका मूल्यांकन गर्ने अधिकृत थिए उपसचिव श्रीधर टण्डन । केही समयअघि मात्रै शाखा अधिकृतबाट उपसचिवमा खुला प्रतिस्पर्धाबाट नाम निकालेका टण्डन राजस्व समूहका नयाँ उपसचिव थिए । उनी अर्थ मन्त्रालयमा पहिलो सरुवा भएपछि पदस्थापन भएर दोस्रो दिनको हाजिरीमा भएको दिन सुन उनको शाखाबाट पास भएको थियो ।

राजस्वका अनुसन्धान अधिकारीहरुका अनुसार उनले सुनबारे भेउ नै नपाएको हुन सक्ने अनुमान गर्छन् । उनको नेतृत्वमा रहेका शाखा अधिकृत र अन्य अधिकारीबाट सुनबारे कुनै ब्रिफिङ नभएको टण्डनले अनुसन्धान अधिकारीहरुलाई बताएका छन् ।

भर्खरै काममा छिरेका नयाँ अफिसरको ड्युटी भएको बेला सुनको भन्सार पास गराउनु, उनी माथिको निकायले पनि थप अनुसन्धन नगर्नुलाई अनुुसन्धान अधिकारीहरुले गम्भीर ठानेका छन् । ‘कार्यालयको प्रकृति नै नबुझेको अधिकारी भएको मौकामा सुन तस्करले सुन पास गराउने अनुकूलता तस्करलाई मिलेको देखिन्छ’, एक अधिकारीले भने ।

अनुकूलता २ : जुन दिन सुनको भन्सार पास भयो । यो दिन त्रिभुवन विमानस्थल भन्सार कार्यालय नेतृत्वविहीन थियो । त्रिभुवन विमानस्थल भन्सार प्रमुख अरुण पोखरेल २ महिना छुट्टीमा थिए । १० पुस, २०७९ मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई आफैंले सुन तस्करीमा अनुसन्धान गर्न पत्राचार गरेका पोखरेल सीआईबीले बयान लिएपछि स्वास्थ्यलाई कारण देखाउँदै आकस्मिक लामो बिदामा बसे । ढाड दुखेको भन्दै थेरापी गर्न उनले विभागबाट बिदा स्वीकृत गराएका थिए । उनको बिदा १४ भदौसम्मका लागि १७ असारमा स्वीकृत भएको छ ।

‘मलाई तनाव भयो, मेडिटेसन गर्नुपर्‍यो भन्दै बिदा माग भएको थियो, असार १७ गतेबाट लागू हुनेगरी उनको बिदा स्वीकृत भएको छ’, विभाग स्रोतले भन्यो । १० पुस, २०७९ मा फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले ल्याएको भेप विमानस्थल भन्सारले जफत गरेको थियो ।

विमानस्थल भन्सार प्रमुख सहसचिव अरुण पोखरेल ।

भन्सारको स्टोर कोठामा रहेको भेपभित्र करिब साढे ९ किलो सुन रहेको थाहा पाएपछि भन्सारकै कर्मचारीहरु उक्त भेप साटफेर गरेर सुन बिक्री गरेका थिए । स्टोरबाट पहिले राखिएको भेप साटिएपछि, तस्करीका लागि ल्याइएको सुनमा गोलमाल भएको भन्दै भन्सार विभागले अनुसन्धान थालेको थियो ।

सो प्रकरणमा थप अनुसन्धानका लागि पोखरेलले नै सीआईबीलाई पत्राचार गरेका थिए । पोखरेलले कार्यालय छाडेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको निमित्त प्रमुखको जिम्मा उपसचिवमध्ये वरिष्ठ नारद गौतमलाई दिइएको थियो ।

आफ्नो दरबन्दी रहेको कार्यालयमा यति ठूलो सुन प्रकरण हुँदा पनि उनी भन्सारको सम्पर्कमा छैनन् । कार्यालय प्रमुखको अनुपस्थितिमा भन्सार कार्यालय अव्यवस्थित त थियो नै कामको पारदर्शीतामा पनि प्रश्न उठ्ने अवस्था बन्यो ।

अरुण पोखरेलले कार्यालयबाट बिदा लिएको १७ असारयताको ५ वटा आयातमा ९८० थान ब्रेक शु नेपाल भित्र्याएको देखिएको छ । जसको कुल तौल ८९९ किलो छ । उनले बिदा स्वीकृत गराएको भोलिपल्ट असारको १८, २१, २४, २७ र साउन २ गते ब्रेक शु भित्रिएको थियो । नेपालमै रहने भनी बिदा स्वीकृत गराएका भन्सार प्रमुख पोखरेल यतिबेला देश बाहिर रहेको स्रोतले बतायो ।

अनुकूलता ३ : संयोग जस्तो देखिए पनि विमानस्थलमा सुनको ठूलो अप्रेशन चल्दै गर्दा विमानस्थलका सुरक्षा प्रमुख पनि विदामा थिए । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआइजी अर्जुन चन्द ठकुरी मंगलबार दिउँसो गरिएको अपरेसनकै दिनदेखि बिदामा थिए ।

एक साताको उनको बिदा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट स्वीकृत भएको थियो । स्रोतले भन्यो ‘उनले घरायसी कामका लागि भन्दै बिदा माग गरेका थिए । यो उनको नियमित बिदा हो ।’

प्राप्त प्रमाणहरुको विमानस्थलबाट भटाभट सुन भित्रिरहेको बेला विमानस्थल सुरक्षा प्रमुख अनुपस्थित रहनुले सुरक्षाको हिसाबले तस्करको मनोबल बढाएको विश्लेषण भइरहेको छ ।

अनुकूलता ४ : अर्थ मन्त्रालयले बजेटको मुखैमा देशको राजस्वको प्रमुख स्रोत भन्सार विभाग प्रमुखविहीन बनाएर राख्यो । भन्सारबारे खासै ज्ञान नभएका त्यस अघिका महानिर्देशक चक्रबहादुर बुढा ३० वैशाख २०८० मा आफ्नै जोडबलले सरुवा मागेर हिंडेपछि विभाग १७ जेठसम्म नेतृत्वविहीन छ । विभागको कामु जिम्मेवारी उपमहानिर्देशक सेमन्त पोखरेललाई दिइयो । अचम्म के छ भने सुन तस्करीमा जोडिएको कम्पनी रेडी ट्रेडर्सले विभाग नेतृत्वविहीन भएको तेस्रो दिन ३ जेठमा पहिलो पटक वस्तु आयात सुरु गरेको थियो ।

अनलाइनखबरलाई प्राप्त विवरणअनुसार कम्पनीले पहिलो पटक १७ मे २०२३ मा ६६ किलो तौलको २०० थान दाह्री काट्ने सेभर नेपाल भित्र्याएको थियो । त्यसयता २८ पटकको आयात मार्फत दाह्री काट्ने मेसिन, ब्रेक शु र मोटर आयात सो कम्पनीले आयात गरेको छ । यस बीचमा १७ जेठमा विभागको महानिर्देशकमा अर्थ मन्त्रालयले शोभाकान्त पौडललाई पठाएको थियो ।

अनुकूलता ५ : ‘लाइभ मनिटरिङ प्रणाली’ अर्थमन्त्री, अर्थ र राजस्व दुवै सचिवले हेर्न मिल्नेगरी तयार गरिएको प्रणाली हो । तर, अचम्म एक वर्षदेखि यो प्रणाली अर्थ मन्त्रालयमा टुटेको र विभागमा मात्रै कायम रहेको भेटिएको छ ।

मातहतको विभागलाई समेत नियमन गर्नुपर्ने प्रणाली प्राविधिक कारण देखाएर मन्त्री, सचिवहरुसंग विच्छेद थियो । भन्सार स्रोत भन्छ ‘आशिकुडा प्रणाली स्लो भएको भनिएपछि प्रत्यक्ष आईपी भिडियो मनिटरिङ प्रणाली अर्थ मन्त्रालयबाट छुटाइएको थियो ।’

एक अधिकारीका अनुसार मातहतका भन्सार कार्यालयहरुले करिब ३ महिनाको भिडियो रेकर्ड र फोटो सुरक्षित राख्ने र परिआएको खण्डमा पेश गर्ने गरी अर्थबाट सो प्रणालीको बिच्छेद गरिएको थियो । अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले यस विषयमा अनविज्ञता प्रकट गरे ।

अनूकूलता ६ : गत मंगलबार सुनसहित विमानस्थल भन्सार गेटमा पक्राउ परे राजेन्द्र राई । राई उनै व्यक्ति हुन् जो सुनको जाँच पास गराउनका लागि भन्सार एजेन्टको रुपमा जाँच पास क्षेत्रमा प्रवेश गर्थे । तर, उनी भन्सार एजेन्ट नभई एजेन्ट बताउने बिचौलिया थिए ।

बाहिरबाट ग्राहकको काम लिएर जाने, केही रकम कमिसनमा दिलाउने र काम फत्ते गरेर भाग्ने राई यसअघि पनि सुन तस्करीकै कारण थुनामा परेको उनलाई चिन्नेहरु बताउँछन् । ‘भन्सार एजेन्टलाई प्रज्ञापन पत्र भर्ने एक्सेस हुन्छ’ एक जानकार भन्छन्, ‘राईसँग यस्तो केही थिएन, पहिले एजेन्टका प्रतिनिधि थिए तर सुन प्रकरणमा परेपछि त्यो पनि खोसिएको थियो ।’ सुन तस्करीका पटके भनेर सिनामंगल क्षेत्रमा चिनिने राईलाई भन्सार कार्यालयमा सजिलै पहुँच थियो ।

काठमाडौंसम्म सुन ल्याउन भन्सार प्रणाली प्रयोग

नेपालमा हुने सुन तस्करीमा काठमाडौंसम्म ल्याएर भण्डारण गर्ने र त्यहाँबाट वितरण गर्ने गरी दुई तरिकाबाट अबलम्बन गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । जसमा फितलो बनाइएको भन्सार प्रणालीको प्रयोग गरेको हुनसक्ने अनुसन्धान अधिकारीहरु बताउँछन् । काठमाडौंमा तस्करीको सुन जम्मा पारिसकेपछि भने आन्तरिक र बाह्य वितरणमा सुरक्षा संयन्त्रको भूमिका शंकास्पद देखिएको छ ।

गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित भन्सार जाँचपास प्रक्रियाबाटै बाहिरिएको १०० किलो सुन प्रकरणमा अर्थ मन्त्रालय र भन्सार प्रणालीको भूमिका नै शंकास्पद रहेको पाइएको एक अधिकारी बताउँछन् ।

सुन प्रकरण छानबिन गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागका अधिकारीहरु अत्याधुनिक भन्सार मनिटरिङ प्रणालीलाई छलेर तस्कर समूहले सुन पास गराउनु संयोग मात्रै नभएको निश्कर्षमा पुगेका छन् ।

सुन पास भएको विमानस्थल भन्सार कार्यालयमा मानवीय त्रुटि मात्रै भएको भन्ने अवस्था संकलित प्रमाणहरुले देखिंदैन । एक दुई पटकलाई मानवीय त्रुटि मान्न सकिए पनि पटक पटक भएको यस्तो शंकास्पद कारोबारमा सिंगो प्रणाली नै बेखबर हुनु आश्चर्यको कुरा भएको अधिकारीहरु बताउँछन् ।

सुन जाँच पास भएको सिनामंगल भन्सारमा मानवीय त्रुटि भएको अवस्थामा सच्याउन र खबरदारी गर्न सक्नेगरी अत्याधुनिक प्रणाली र जनशक्ति समेत सक्रिय रहेको अवस्थामा सुन तस्करी गरेर नेपाल भित्र्याउनुमा अर्थ मन्त्रालयसम्म तस्करको पहुँचले कुनै न कुनै रुपमा काम गरेको अनुसन्धानमा संलग्नहरु बताउँछन् ।

प्रारम्भिक अनुसन्धानमा नेपालसम्म सुन ल्याउन, विमानस्थलबाट सुन बोकेर भण्डारण गर्न, सो सुनलाई नेपाली बजार बेच्न वा अर्को मुलुक पुर्‍याउन फरक फरक सञ्जाल सक्रिय रहेको पाइएको छ ।

विभागले सुन ल्याउने, भन्सार प्रक्रिया पूरा गर्ने, भन्सारबाट लिएर गोदाममा पुर्‍याउने र भण्डारण गर्ने समूह र सुनलाई एकैसाथ नियन्त्रणमा राखेको छ । यसबाट सिंगो भन्सार प्रणालीदेखि सुरक्षा निकायसम्मको भूमिका माथि आशंका उब्जिएको अनुसन्धान गरिरहेकाहरु बताउँछन् ।

‘तस्करीको सुन तेस्रो मुलुकबाट काठमाडौंसम्म ल्याएर एक गोदाममा राख्ने, त्यहीँबाट स्वदेशी सुन पसलमा केही मात्रामा सुन बिक्री गर्ने र ठूलो परिमाणमा सुन बाह्य क्षेत्र कतै न कतै पठाउने गरेको देखिन्छ । त्यसमा जोडिने विभिन्न निकायको भूमिकामा स्वभाविक प्रश्न उठ्छ’, विभाग स्रोतले भन्यो ।

सुन आएको गोदाम, एक्सरे जाँच पास भएको क्षेत्र, मूल्यांकन र बाहिरिने गेटको समेत हरेक मिनेटको सीसीटीभी मनिटरिङ हुने प्रणालीमा तस्करको समूहलाई संरक्षण गर्ने अवस्था नआई यात्रो कारोबार सम्भव नै नहुने उनीहरुको बुझाइ छ ।

प्रमाण नष्टको जोखिम :

मुलुकको प्रहरी प्रशासन र अत्याधुनिक भन्सार प्रणाली छलेर बाहिरिएको१०० किलो सुन बरामद गरेको राजस्व अनुसन्धान विभाग पहिलो चरणको कारबाहीमा ८० प्रतिशत सफल रहे पनि अझै प्रमाण नष्ट हुने भयमा छ ।

रेडी ट्रेडर्स प्रालि स्थापनादेखि यसको करोबार विवरणसमतेको अध्ययनमा विभाग सुन तस्करीकै लागि यो कम्पनी सिर्जना गरिएकोमा विश्वस्त भएको छ । संकलित प्रमाणहरुका आधारमा यसअघि सुन नै आएको कुरामा बल पुग्ने आधार धेरै देखिएको र त्यसलाई सघाउने निकायहरु अझै विभिन्न निकायमा नेतृत्वदायी भूमिकामै रहेकामा विभाग झस्किएको छ ।

कागज पत्र हेर्ने, कागज पत्रसँगै मालवस्तु जाँचको भिडियो हेर्ने र एक क्लिकमै कारोबार वाला कम्पनीको विस्तृत विवरण थाहा पाउन सक्ने क्षमता सरकारी निकायसँग छ । तिनै निकायहरु आफ्नो दायित्वप्रति मौन रहेका कारण यस्तो कारोबार मौलाएकोमा अनुसन्धान अधिकृतहरु एक मत देखिन्छन् । यसबारे विस्तृत ब्रिफिङ उच्च तहसम्मै भएको स्रोतको दाबी छ ।

‘सुन तस्करीमा पहिलो चरणको सफलता मिलेको छ, तर, दोस्रो चरणको सफलताका लागि चुनौती तस्करी अनुकूलको अवस्था सृजन भएको प्रणालीबाटै छ’, स्रोतले अनलाइनखबरलाई भन्यो ।

भन्सार विभागले भने सुन तस्करीसँग विभागको प्रणालीलाई जोड्न नहुने बताएको छ । विभागले उच्चतम सजगता अपनाउँदा अपनाउँदै पनि घटना भएको भन्दै यसबारे छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने र अनुसन्धानलाई सघाउने बताएको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने, ‘धेरै शंका गर्नु हुन्न । देशैभरका कार्यालयका सयौं कर्मचारीको बदमासीको जिम्मा त कसरी लिन सकिन्छ र ? दोषीलाई कारबाही हुनुपर्छ ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?