+
+

तिम्रो सुन्दर भविष्यका लागि आज हामी के गर्न सक्छौं ?

नेहा केसी नेहा केसी
२०८० साउन १० गते १२:५३

तपाईं आफ्नो बच्चासँग कति खुलेर बोल्नुहुन्छ ? के आपसमा रमाइलो कुराकानी गर्नुहुन्छ ? आफ्नो मोबाइल, टिभी छाडेर बच्चासँग खेल्नुहुन्छ ? जतिसुकै व्यस्त भए पनि उनीहरुलाई बोलाउने, घुमाउने गर्नुहुन्छ ?

यी प्रश्नको उत्तरले तपाईं कस्तो अभिभावक हो भन्ने ठ्याक्कै जवाफ मिल्छ ।

‘म तिमीले सोचेजस्तै वा चाहेजस्तै अभिभावक हुँ ?’ यो प्रश्न आफ्नो बच्चालाई सोध्नुहोस् त ।

तपाईंले आफ्ना बालबच्चालाई औधी माया गर्नुहुन्छ । यसमा कुनै शंका छैन । तपाईं सधै आफ्नो बच्चा खुसी र सुखी देख्न चाहनुहुन्छ । र, उनीहरुले धेरै प्रगति, उन्नति गरेको देख्न चाहनुहुन्छ ।

त्यसैले तपाईंले जतिसुकै कष्ट खेपेर पनि बालबच्चाका लागि पैसा खर्च गर्नुहुन्छ । पढाउनुहुन्छ, हुर्काउनुहुन्छ ।

तपाईं ठान्नुहुन्छ, ‘मैले आफ्नो बालबच्चाको लागि सबैथोक पूरा गरेको छु ।’

सोच्नुहोस् त, तपाईंको बुझाइ सही छ ? किनभने खान-लाउन वा पढ्न लेख्न दिएर मात्र अभिभावकत्व पूरा नहुन सक्छ ।

हुन त अहिले हामी सानो परिवारमा बस्छौं । अनि धेरैजसो आमा र बुवा दुवै काममा व्यस्त रहन्छौं । यस्तो पृष्ठभूमिमा हामीले बालबच्चाका लागि कति समय दियौं ? के-कस्ता बातचित गर्‍यौं  ? कतिबेर खेल्यौं ? मनन गर्नैपर्ने प्रश्न हुन् यी ।

किनभने हामीले आज जुन बालबच्चा हुर्काइरहेका छौं, त्यसले नै उनीहरुको भोलि तय गर्ने हो । त्यसैले आजका दिनमा उनीहरुलाई हामीले केही कुरा सिकाउनैपर्छ ।

आमाबुवाले के सिकाउने ?

१. जीवनका आधारभूत सीप : बच्चालाई सानै उमेरदेखि स्वतन्त्र हुन सिकाउनुहोस् । साथै आफूप्रति निर्भर रहन पनि । तपाईंले उसलाई आफै खाना खान भन्नुहोस्, आफैं जुत्ता वा लुगा लगाउन भन्नुहोस् । किताबहरु ब्यागमा राख्न, खेलौनाहरु मिलाउन उनैलाई दिनुहोस् ।

आफू सुतेको ओछ्याउन मिलाउन, आफूले खाएको प्लेट माझ्न उनीहरुलाई नै लगाउनुहोस् । यद्यपि दबाब दिएर होइन, प्रोत्साहन दिएर ।

२. जतन गर्न सिकाउनुहोस् : बालबच्चाले जे चाह्यो, त्यो पूरा गरिदिने नगर्नुहोस् । जति पनि लुगाफाटो किनिदिने, जति पनि खेलौना किनिदिने नगरौं । बरु भएको सरसामानलाई जतन गर्न, जोगाउन सिकाऔं । लुगा पुरानो भयो, च्यातियो भने त्यसलाई सिलाएर वा अरु तरिकाले पनि प्रयोग गर्न सकिन्छ । बालबच्चासँग यस्ता धेरै कुरा हुन्छन्, जसलाई अधिकतम प्रयोग गर्न सकिन्छ ।

३. वित्तीय साक्षरताबारे बुझाउनुहोस् : आफ्नो बच्चालाई पैसाको मूल्य बुझाइदिनुहोस् । पैसा के हो, यसको मूल्य के छ, पैसा कसरी आर्जन हुन्छ, यसलाई कसरी बचाउने, कसरी खर्च गर्ने यी कुराहरु सानै उमेरदेखि बच्चालाई सिकाउनुहोस् । किनभने हामीसँग जतिसुकै धन भए पनि त्यसलाई सही व्यवस्थापन गर्ने कला भएन भने त्यो धन प्रत्युत्पादक हुन सक्छ ।

त्यसैले सानै उमेरदेखि बच्चालाई खुत्रुकेमा पैसा जम्मा गर्न वा बैंकमा बचत गर्न सिकाउनुपर्छ ।

४. विनम्रता : विनम्रता मान्छेको आभूषण हो । यो यस्तो गुण हो, जसले मान्छेलाई वास्तवमै सुन्दर देखाउँछ । सबैलाई समान व्यवहार गर्ने, सबैप्रति सम्मान भाव प्रकट गर्ने, सबैप्रति कृतज्ञ हुने गुण विकास गरिदिनुपर्छ । हाम्रा बच्चाले कसैलाई भेदभाव नगरोस्, कसैलाई हेलाहोचो नगरोस् । सबैप्रति विनम्र व्यवहार गरोस् ।

५. किशोरावस्था र यौवन : किशोर चरणमा पुगेपछि छोराछोरीलाई यौन स्वास्थ्य, सुरक्षित यौन विधि जस्ता कुराहरु सिकाउनुहोस् । यौन विकृतिबारे सचेत र सतर्क गराउनुहोस् । यसको सही पालना गर्नका लागि प्रेरित गर्नुहोस् । साथै, साइबर बुलिङ के हो, कसरी हुन्छ, त्यसका असर के हुन् आदिबारे प्रष्टसँग सिकाउनुहोस् । यौन हिंसा गर्न वा हिंसामा पर्नबाट बच्न के गर्ने ? राम्ररी बुझाउनुहोस् ।

प्रोत्साहन गर्नुहोस्

प्रकृति प्रेम : बच्चालाई प्रकृतिसँग हेलमेल गराउनुहोस् । रुख, फूल, झार, जंगल, पानी, माटोको सम्पर्कमा लानुहोस् । माटोको स्पर्श गर्न दिनुहोस्, पानीमा भिज्न दिनुहोस् । चराचुरुंगी, पशु सबैलाई प्रेम गर्न सिकाउनुहोस् । बच्चासँग पैदल हिंड्नुहोस्, बोट बिरुवा रोप्नुहोस्, सागसब्जी गोडमेल गर्नुहोस् ।

परोपकारी कार्य : अरुको भलाइ गर्न प्रेरित गर्नुहोस् । अरुको दुःख, कष्ट, पीडामा साथ दिने संस्कार सिकाउनुहोस् । आफ्नो लागि मात्र होइन, अरुका लागि पनि बाँच्न प्रेरित गर्नुहोस् । सबैलाई प्रेम, सद्भाव राख्न सिकाउनुहोस् ।

सामाजिक काममा सहभागी : बालबच्चालाई समाज, टोल छिमेकको काममा सहभागी गराउनुहोस् । विद्यालयमा हुने गतिविधि होस् वा गाउँ–समाजमा हुने कार्यक्रम, आफ्नो बच्चालाई त्यसमा सम्मिलित गराउन प्रेरित गर्नुहोस् । यसले उनीहरुलाई सामाजिक जीवन बुझ्न, सहकार्य गर्न सिकाउनेछ ।

पीडा, दुःख झेल्न : जीवन सधैं सुखैसुखमा मात्र बित्दैन । जीवनमा अनेक किसिमको झैझमेला, पीडा, कष्ट आइपर्छ । यो सबैले भोग्नैपर्छ । यस्तो कुराहरु कसरी झेल्ने ? कसरी असहज स्थितिमा आफूलाई बलियो राख्ने ? बच्चालाई सिकाउनुहोस् । मनमा पीर परेको बेला, दुःख लागेको बेला, उदास भएको बेला आफूले कसरी आफैंलाई सम्हाल्न सकिन्छ ? उनीहरुलाई सिकाउनुहोस् ।

यी कुरा गर्दै नगरौं

छोराछोरीको अगाडि झगडा : आफ्नो बच्चाको अगाडि कहिल्यै झगडा नगर्नुहोस् । यसले उनीहरुको मानसिक स्वास्थ्यमा असर गर्छ । जब आफ्नो आमाबुवा झगडा गर्न थाल्छन्, उनीहरु उन्मुक्त खेल्न, रमाउन सक्दैनन् । असुरक्षा र ग्लानि महसुस हुन्छ । पढाइ कमजोर हुन्छ । आफ्नो कला, क्षमता प्रस्तुत गर्न सक्दैनन् ।

छोराछोरीको तुलना : फलानोको छोराछोरी यस्तो उस्तो भनेर आफ्नो बालबच्चासँग तुलना नगरौं । हरेक बच्चा फरक हुन्छन् । उनीहरुको क्षमता र रुचि फरक हुन्छ । गुण फरक हुन्छ । एउटा बच्चासँग अर्कोको कुनै तुलना हुँदैन । जब हामी उनीहरुको तुलना गर्छौं, त्यसले बच्चाको मनोविज्ञानमा एकदमै नराम्रो असर गर्छ ।

अपेक्षाको भारी : बच्चा जन्मिनुअघि वा बच्चा जन्मनासाथ कतिपय अभिभावक भन्ने गर्छन्, ‘मेरो बच्चालाई यस्तो बनाउँछु । म डाक्टर बनाउँछु, म कलाकार बनाउँछु ।’ त्यस्तै आफ्नो बच्चाले परीक्षामा उच्च अंक हासिल गरोस्, खेलकुदमा प्रथम स्थान हासिल गरोस् भन्ने चाहन्छन् । आमाबुवाको यस्तो अपेक्षाले बच्चालाई थप बोझ थपिदिन्छ । उनीहरु आफ्नो लागि होइन, आमाबुवाकै खुसीका लागि बाँच्न बाध्य हुन्छन् । यसले न उनीहरुको प्रगति हुन्छ, न आमाबुवाको अपेक्षा पूरा नै ।

उनीहरु गुण, क्षमता, रुचिलाई पहिचान गर्नुहोस् । अनि सोही अनुसार फल्ने-फूल्ने वातावरण बनाइदिनुहोस् ।

अति लाडप्यार : बच्चाले राम्रो काम गरेको छ भने उनीहरुलाई प्रशंसा गर्नुहोस् । यसले उनीहरुलाई थप प्रेरणा मिल्छ । तर बच्चालाई खुसी देख्ने चक्करमा जतिबेला पनि प्रशंसा नगर्नुहोस् । जब तपाईं बच्चालाई अनावश्यक प्रशंसा गरिरहनुहुन्छ वा अधिक माया दर्शाउनुहुन्छ, त्यसले उनीहरुमा खराब प्रवृत्तिको विकास गराइदिन्छ । उनीहरु दुःख वा आलोचना सहनै नसक्ने हुन्छन् । त्यसैले सही काममा मात्र स्याबासी दिनुहोस् ।

भनिन्छ नि, बच्चाको आमाबुवा बन्न र अभिभावक बन्नु दुई फरक कुरा हुन् । तपाईं आफ्नो बच्चालाई सही ढंगले हुर्काउन चाहनुहुन्छ, सही मार्गमा हिंड्न प्रेरित गर्नुहुन्छ, सार्थक जीवन बाँच्नका लागि सहयोग गर्नुहुन्छ भने त्यसको थालनी आजैबाट गर्नुहोस् । बच्चासँग समय बिताउनुहोस्, खेल्नुहोस्, रमाउनुहोस्, संस्कार र संस्कृति सिकाउनुहोस्, पुस्तकहरु पढेर सुनाउनुहोस्, प्रेरणादायी फिल्महरु हेर्नुहोस् । बच्चासँग मिलिजुली घरको काम गर्नुहोस् । उनीहरुलाई सक्षम, योग्य, आत्मनिर्भर, दयालु, परिश्रमी, स्वाभिमानी बनाउनका लागि तपाईंले एक कुशल अभिभावकत्व निर्वाह गर्नुपर्नेछ ।

(केसी स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलकी प्रिन्सिपल हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?