+
+

काठमाडौंमा राजस्व अनुसन्धान र सुन तस्करको लुकामारी

छापा मारिएका सबै घर र गोदाम चिनियाँले भाडामा लिएका

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन ११ गते २२:०४

११ साउन, काठमाडौं । राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थल भन्सार कार्यालयबाट एक क्विन्टल सुन समातेपछिका एक साता काठमाडौंमा विभाग र तस्करबीच  लुकामारी चलिरहेको छ ।

यसबीचमा यो काण्डमा जोडिएका १७ जना पक्राउ मात्रै परेका छैनन्, सुन तस्करीका लागि प्रयोग भएका घर र गोदाममा पनि राजस्व अनुसन्धानले छापा मारेको छ । त्यस क्रममा सुन तस्करीका लागि प्रयोग भएका घर र गोदामहरुमध्ये सबै नै चिनियाँहरुले भाडामा लिएको पाइएको छ ।

करिब एक अर्ब रुपैयाँको सुनसहितको भरियाहरु पक्राउ परेपछि विभागले त्यही साँझबाट सुनको वास्तविक मालिकसम्म पुग्ने प्रयासमा विशेष अपरेशन थालेको थियो । हालसम्म विभागलाई त्यो सफलता हासिल भएको छैन, तर निकै महत्वपूर्ण प्रमाण र थप अनुसन्धानका सूचनाहरु भने विभागले फेला पारिरहेको देखिन्छ ।

बरामद भएको सामान जाँचेर त्यो सुन हो भन्ने प्रमाणित गरिसकेपछि विभागको टोलीले सुन कहाँ डेलिभरी हुँदै थियो भनेर ठाउँ खोज्दै हिँड्यो । भरियालाई नै प्रयोग गरेर टोलीले सामान डेलिभरी लिने व्यक्तिलाई बोलायो र महाराजगञ्ज क्षेत्रमा राति १० बजे सुनको डेलिभरी लिने तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङलाई फेला पार्‍यो ।

थुप्तेन र सुनसँगै सामातिएका राजेन्द्र राईले विभागको टोलीलाई राति २ बजे बालुवाटार पुर्‍याए । बालुवाटारको एक घरको भुइँतल्लामा रहेको घरमा एउटा गोदाम भेटियो । सो गोदाममा भेटिएका केही महत्वपूर्ण कागजात संकलन गरेर गोदाम सिल गरेर टोली फर्कियो ।

राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन ।

भोलिपल्ट पुनः सोही गोदाममा पुगेको टोलीले त्यहाँ ६ पोका दाह्री काट्ने मेसिन (सेभर) फेला पार्‍यो । सुन तस्करी गरेर ल्याउने रेडी ट्रेडर्सले नै ती वस्तु नेपाल भित्र्याएको थियो ।

‘त्यहाँबाट पनि सुन बरामद हुन्छ कि भन्ने थियो त्यो भएन’, विभाग स्रोतले भन्यो । तर, सो गोदामबाट विभागले रेडी ट्रेडर्सले ठूलो मात्रामा विभिन्न वस्तुहरु नेपाल भित्र्याउने गरेको विवरण भने फेला पार्‍यो । तस्कारीमा संलग्न थप केही व्यक्तिको विवरण पनि बरामद भयो ।

३ साउनमा बालुवाटार छापा मारेपछि विभागको टोली लाजिम्पाटको एक गोदाममा पुग्यो । प्राप्त सूचनाका आधारमा विभागले चिनियाँले भाडामा लिएको घरमा छापा मारेको थियो तर त्यहाँबाट कोही पनि व्यक्तिलाई समाउन सकेन तर अनुसन्धानलाई सघाउने केही प्रमाण भने फेला पार्‍यो ।

विभागले मंगलबार पुनः लाजिम्पाटकै अर्को एक घरमा छापा हान्यो । त्यहाँ पनि उल्लेख्य रुपमा कुनै प्रमाण भेटिएन । यसअघि गोदामहरुमा छापा हानिरहेको विभागले पहिलोपटक आवासीय घरमा धरकपड गरेको थियो । बुधबार विभागले तेस्रो गोदामका रुपमा सोह्रखुट्टेको एक घरमा  छापा मार्‍यो ।

काठमाडौंमा भाडामा लिएका घर तथा गोदाम सबै चिनियाँले नै लिएको पाइनु र सामान पठाउने पनि चिनियाँ नै हुनुले पनि यो चिनियाँ तस्करहरुको सञ्जालले गरेको हो कि भन्ने आशंका रहेको राजस्व अनुसन्धान  विभागका अधिकारीहरु बताउँछन् ।

त्यो छापाबाट भने विभागलाई ठूलो सफलता मिलेको एक अधिकारी बताउँछन् । ‘बुधबारको छापापछि बरामद प्रमाणले संगठित रुपमा लामो समयदेखि हङकङ–काठमाडौं सुन तस्करी भइरहेको कुरालाई पुष्टि गरेको छ’, विभागका एक अधिकारी भन्छन् ।

एक साताको लुकामारीपछि भने यो जालोको अघिल्लो खुड्किलो धेरै टाढा नरहेको निष्कर्षमा पुगेको राजस्व विभागका अधिकारीहरुको दाबी छ ।

चिनियाँको गोदाम र भाडाको घरमा छापा

सुन तस्करी प्रकरणका नाइकेबारे अनेकन अड्कलबाजी भइरहेको बेला विभागले पछिल्लो एक सातामा ३ वटा गोदाम र एउटा घरमा छापा मारेको छ । ती सबै रेडी ट्रेडर्सले आयात गरेका सामान राख्ने गोदाम हुन् । यस्तै, एउटा घर भने चिनियाँ नागरिकले व्यक्तिगत बसोबासमा लागि भाडामा लिएको देखिन्छ ।

विभागका अनुसार बालुवाटारको गोदाम ४ असारमा अध्यागमन कार्यालय विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक क्युयाङ लीनले भाडामा लिएका थिए । यस्तै, लजिम्पाटको गोदाम र घर पनि तिनै चिनियाँसंग सम्बन्ध भएकाहरुले बस्नका लागि प्रयोग गरेको खुलेको छ ।

बुधबार साँझ छापा मारिएको सोह्रखुट्टेको गोदाम पनि चिनियाँले नै भाडामा लिएका थिए । ‘बुधबार सोह्रखुट्टेबाट बरामद ब्रेक सुबाट सुन झिकिसकिएको अवस्थामा थियो । विभाग स्रोत भन्छ, ‘छापा मारिएका सबै गोदाममा रेडी ट्रेडर्सका सामान भेटिएका छन् ।’

२ साउनमा विमानस्थलमा १५५ किलो ब्रेक शु भेटिनुअघि रेडी ट्रेडर्सकै नाममा हङकङबाट १ हजार ९ सय ९७ केजी सामान २९ पटक आयात भएको थियो । जसमा ब्रेक शु, दाह्री काट्ने मेसिन र मेकानिकल मोटर ल्याइएको थियो ।

कम्पनीले आयात गरेको सामानको औपचारिक रेकर्डमा २ हजार ७ सय दाह्री काट्ने मेसिन, एउटा मेकानिकल मोटर र १ हजार १६२ थान ब्रेक शुु आयात भएको देखिन्छ । ती सामान चीनको दोङ्गोन सुतु ट्रान्सपोर्टेसन कम्पनी, तालमड र जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले काठमाडौं पठाएका थिए ।

काठमाडौंमा भाडामा लिएका घर तथा गोदाम सबै चिनियाँले नै लिएको पाइनु र सामान पठाउने पनि चिनियाँ नै हुनुले पनि यो चिनियाँ तस्करहरुको सञ्जालले गरेको हो कि भन्ने आशंका जन्माएको विभागका अधिकारीहरु बताउँछन् ।

घरबेटी नभएको घर तस्करको निशानामा

बुधबार काठमाडौंबाट नरेश भनिने सुरेन्द्र तामाङलाई विभागको टोलीले पक्राउ गर्‍यो । नरेशले तस्करीमा जोडिएका चिनियाँ नागरिकलाई दोभाषेको काम गर्थे ।

राम्रोसंग चिनियाँ भाषा बोल्न जान्ने उनैले काठमाडौंमा फेला परेका गोदाम र भाडाका घर चिनियाँलाई मिलाइदिएका थिए । यस्तो घर र गोदाम काठमाडौंमा धेरै हुनसक्ने विभागको अनुमान छ । भाडाका घर र कोठा खोज्दा सकेसम्म घरबेटी नभएको र मानिसको चहल पहल कम हुने शान्त ठाउँ हेर्ने गरिएको पाइएको छ ।

चिनियाँहरुले अलि महँगो मूल्य तिरेरै घर भाडामा लिने गरेको पनि विभागले पत्ता लगाएको छ ।

एक क्वीन्टल सुन प्रकरणमा बिहीबारसम्म सुन आयात गर्ने कम्पनीका सञ्चालक सहित १७ जना पक्राउ परेका छन् । तीमध्ये एक तिब्बती मूलका भारतीय र एक चिनियाँ नागरिक छन् । सुन तस्करीमा भरियाको काम गर्ने ९ जना नेपाली नागरिकलाई पनि विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यस्तै, तस्करीको सुन जाँचपासमा संलग्न ३ भन्सार कर्मचारी र ३ जना भन्सार एजेन्ट पनि विभागको हिरासतमा छन् ।

थप सुन उपत्यकामै रहेको आशंका

सोह्रखुट्टेमा गरिएको अप्रेशनबाट विभागले ब्रेक शु, सुन निकाल्ने मेसिन, सुन तौलिने र सुनलाई आकार दिने मेसिन बरामद गरेको छ । बरामद भएको ब्रेक शु खोलिएको र त्यसमा रहेको सुन निकालिएको अवस्थामा भेटेको विभागले जनाएको छ ।

‘११ सय ६२ थान ब्रेक शु को अवस्था हेर्दा कम्तीमा पनि ५ सय किलोभन्दा बढी सुन तस्करले निकालेको देखिन्छ’, विभाग उच्च स्रोत भन्छ, ‘ सुन अप्रेशन चलेकै समयमा हतार हतार यो सुन झिकिएको जस्तो देखिन्छ ।’

यसलाई विचार गर्दा ५ सय किलो हाराहारीको परिमाणमा सुन काठमाडौंभित्रै तस्करकै पञ्जामा हुनसक्ने अनुमान विभागको छ । त्यो सुनको मूल्य ५ अर्ब रुपैयाँ हाराहारी हुन्छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?