+
+

पोखराको फोहोर दमकल शाखामा डम्पिङ

स्थानीयलाई रोजगारी नदिएर व्यवस्थापन समितिका अध्यक्षले दिएका थिए आफ्नै छोरालाई जागिर

विकास रोकामगर विकास रोकामगर
२०८० साउन १६ गते १६:०७

१६ साउन, पोखरा । महानगरले सहमतिअनुसार काम नगरेको भन्दै स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर एकहप्तादेखि उठ्न छाडेको छ । फोहोर बोकेका गाडी अस्थायी ल्यान्डफिल साइट रहेको पोखरा ३२, लामेआहाल पुग्न नपाउँदा महानगरको दमकल शाखाको प्रांगणमा थन्किएका छन् ।

समस्या सुल्झिनको साटो झन्झन् बढ्दै गएपछि फोहोर व्यवस्थापनमा महानगरको टाउको दुखाइ बन्दै गइरहेको छ । एकहप्तादेखि सडकमै फोहोर थुप्रिँदा दुर्गन्धसमेत फैलिएको छ । सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेपछि महानगरले आइतबारबाट मुख्य बजार क्षेत्रका सडकमा थुप्रिएका फोहोर संकलन गरेर दलकल शाखामा राख्न थालेको हो ।

महानगर सरफाइ शाखा प्रमुख कल्पना बरालले मंगलबारसम्म २० वटा गाडीमा फोहोर संकलन गरिएको छ । ती सबै गाडीलाई दककल शाखाकै जग्गामा राखिएको छ । तर, महानगरसँग उपलब्ध भएका सबै फोहोर बोक्न गाडी भरिन थालेपछि अब के गर्ने भन्नेबारे महानगरसँग जवाफ छैन ।

पोखराको न्युरोड, नयाँबजार, पृथ्वीचोकलगायत मुख्य बजार क्षेत्रका फोहोर उठाएर गाडीमै राख्न थालिए पनि अन्य ठाउँको फोहोर भने उठाइएको छैन । सडकमा थुप्रिएका फोहोर नउठ्दा वर्षाले बगाएर छरपस्ट बनाउने गरेको छ । सडकमा फोहोर थुप्रिन थालेपछि जथाभावी फोहोर नफाल्न महानगरले माइकिङ सुरु गरेको छ ।

पोखरा महानगरले हाल वडा नं. ३२ लामेआहाललाई अस्थायी ल्यान्डफिल साइटका रुपमा प्रयोग गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडूवामा फोहोर फाल्दै आएको थियो ।

नयाँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो । ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण उडान प्रभावित हुनसक्ने भन्दै ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।

तत्कालीन समयमा महानगरले लामेआहालका बासिन्दासँग गरेको १६ बुँदे सहमति लागू नगरेको र दिएको ६ महिना अवधि पनि पूरा भइसकेको भन्दै उनीहरुले फोहोर फाल्न रोक लगाएका हुन् । उनीहरुले इच्छा गुरुङको नेतृत्वमा त्यहाँ फोहोर फाल्न नदिन संघर्ष समिति नै बनाएका छन् ।

महानगर सरसफाइ शाखा प्रमुख बरालले लामेआहालका ल्यान्डफिल साइट प्रभावितसँग समन्वय भइरहेको जानकारी दिइन् । ‘स्थानीयसँग हामी छलफलमै छौं । केही दिनमा टुंगो लाग्ला, त्यो टुंगो नलाग्दासम्म अहिले गाडीहरु दमकल छेउमै राखेका छौं,’ उनले भनिन् । उनका अनुसार हाल महानगरबाट दैनिक २ सय टन फोहोर संकलन हुँदै आएको छ ।

योजनाबिनै बस्तीको नजिक फोहोर फालिएको भन्दै महानगरविरुद्ध रिट नै दायर भएको छ । स्थानीय रविन केसी, जितेन्द्रबहादुर केसी र ब्रजेश गुरुङले बिहीबार उच्चमा रिट दायर गर्दै लामेआहालमा कुनै फोहोर विसर्जन नगर्नु भन्दै अन्तरिम आदेश माग गरेका हुन् ।

‘त्यतिबेला पनि हामीले मन बुझाएर फोहोर फाल्न दिएका थिएनौं । पोखराको गौरवसँग जोडिएको विमानस्थल सञ्चालन गर्न अवरोध हुने भएपछि मेयरलाई ६ महिनाको समय दिएर फोहोर फाल्न दिएका थियौं,’ रिट दायर गरेका रविन केसी भन्छन्, ‘६ महिनासम्म महानगर नेतृत्व के गरेर बस्यो ? जवाफ दिनुपर्दैन ?’

उनीहरुले दायर गरेको रिटउपर उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको छ । साउन २१ गते सम्मको म्याद दिएर अदालतले कारण देखाऊ आदेश जारी गरेको हो ।

नयाँ मेयरका रुपमा आएका धनराज आचार्य नेतृत्वको पहिलो कार्यपालिका बैठकले पोखरा ३३, टिमुरपाटामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय ग¥यो । टिमुरपाटामा ल्यान्डफिल साइट बनाउनका लागि विस्तृत अध्ययन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न तथा पूर्वाधार निर्माण गर्न महानगरले १० करोड रुपैयाँसमेत विनियोजन गरेको थियो ।

तर, निर्णय भएकै १ वर्षभन्दा बढी बितिसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । पुँडीटारमै ल्यान्डफिल साइट बनाउन जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट ३ महिनाअगाडि नै निर्णय आइसकेको छ । तर, पनि जग्गा प्राप्तिमा सिडिओ कार्यालयबाट निर्णय हुनुपर्ने निर्णय ढिलाइ हुँदा ल्यान्डफिल साइट बनाउन पनि ढिलो भइरहेको महानगरको भनाइ छ ।

लामेआहालमा लफडा निम्त्याउने व्यवस्थापन समितिकै अध्यक्ष

महानगरले तत्कालीन समयमा गरेको १६ बुँदे सहमति पूरा नगरेको र लामेआहाल विपद् तथा फोहोर मैला व्यवस्थापन समितिले हालीमुहाली गरेपछि अहिले स्थानीय दुवैको विरुद्धमा अदालतसम्म पुग्न बाध्य भएका छन् ।

स्थानीयलाई रोजगार दिनुपर्नेमा व्यवस्थापन समितिका अध्यक्षले आफ्नो छोरा र सालो नाता पर्ने २ जनालाई भर्ति गरेको र समितिको नाममा आएको १ करोड रुपैयाँसमेत हिनामिना गरेर गाउँभरि दुर्गन्ध फैलाइरहेको स्थानीयको आरोप छ ।

तत्कालीन बच्छीबडूँवादेखि लामेआहालमा अस्थायी रुपमा ल्यान्डफिल साइट सार्न बुद्धिमान गुरुङ, शिवराज लामिछानेलगायतले मुख्य भूमिका खेलेका थिए । उनीहरुले आफ्नै नेतृत्वमा विपद् तथा फोहोरमैला व्यवस्थापन समितिसमेत गठन गरेका छन् ।

तत्कालीन समयमा समिति गठन गर्दासमेत स्थानीयसँग समन्वय नगरिएको केही स्थानीयको आरोप छ । ‘१, २ जना पार्टीका मान्छेहरु बसेर सहमति गरे । बैठक छ, गठन हुँदैछ भन्ने यहाँका कुनै पनि जनतालाई थाहा दिइएन,’ लामेआहालका एक बासिन्दाले भने । समिति अध्यक्षकै छविका कारण लामेआहाल ल्यान्डफिल साइट व्यवस्थापन विवाद झनै गिजोलिएको छ ।

विपद् तथा फोहोर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बुद्धिमान गुरुङको स्काभेटर अहिले महानगरले भाडामा प्रयोग गरिरहेको छ । उनलाई स्काभेटर प्रयोग भएवापत महानगरबाट मासिक ४ लाख रुपैयाँ र तेल खर्च उपलब्ध गराउने सम्झौता भएको छ ।

गुरुङ तिनै हुन्, जसले यसअघि आफ्नो स्काभेटरले तेलको मूल्य नपाएको भन्दै पटकपटक आफैं फोहोर फाल्न रोक लगाउँदै आएका थिए । उनले फोहोर व्यवस्थापन गर्न महानगरबाट तलब पाउने गरी आफ्नै छोरा र साला नाता पर्ने एक जना गरी २ जनालाई रोजगारी दिएका छन् ।

‘उसले आफ्नो स्काभेटर काममा लगाउन स्थानीयलाई फकायो । समिति गठन गरेर बस्यो । समितिमा आएको १ करोड रुपैयाँ पनि के के भयो कुन्नि ?’ अर्का एक स्थानीयले भने, ‘ल्यान्डफिल साइट व्यवस्थापनमा आएको रकममा समेत मनोमानी भयो ।’

सुरुमा ल्यान्डफिल साइटमा फोहोर पुगिसकेपछि त्यसलाई वर्गीकरण नगर्ने, तत्काल पुरेर गन्ध नआउने औषधि छर्किनुपर्नेलगायत सहमति भएको थियो । तर, करिब ५ महिनासम्म फोहोर पुरिएन बरु वर्गीकरण गर्न थालियो । फोहोर वर्गीकरण गर्न पनि गुरुङकै संलग्नता रहेको स्रोतको दाबी छ ।

पोखरा महानगरले भने ल्यान्डफिल साइट व्यवस्थापन गर्न २ जना कर्मचारी राख्न आवश्यक देखिएपछि थपिएको जानकारी दिएको छ । ‘उहाँहरु बुद्धिमान गुरुङकै आफन्त हुनुहुन्छ भन्ने हामीलाई थाहा भएन, स्थानीयकै सहमति होला भन्ने लाग्यो,’ सरसफाइ शाखा प्रमुख कल्पना बरालले अनलाइनखबरसँग भनिन् ।

लामेआहाल फोहोरमैला व्यवस्थापन समिति अध्यक्ष बुद्धिमान गुरुङले गाउँभरि प्लस टु पढाइ सकेको युवा नपाएपछि आफ्नै छोरालाई काममा लगाएको स्पष्टीकरण दिए । उनले अर्का एकजना भने आफन्त नभएर स्थानीय नै भएको दाबी गरे । ‘जागिर दिन प्लस टु पढेको चाहिने रहेछ । खोज्दा कोही पनि पाइएन,’ उनले भने, ‘छोरा खाली पनि थियो, उसैलाई काममा लगाएँ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?