+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

माओवादी नेताको आरोप : बालुवाटार सामन्तवादको नयाँ किल्ला

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १८:४४

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा एक केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सामन्तवादी बनेको आरोप लगाएका छन् ।

बुधबार सुरु पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका कार्यबाहक इन्चार्ज लक्ष्मण पन्तले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई नयाँ सामन्तवादको किल्ला बनेको आरोप लगाएका हुन् ।

‘बालुवाटार नयाँ सामन्तवादको किल्ला बन्यो । राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएपछि नारायणहिटी दरबारको ठाउँमा बालुवाटार सामन्तवादको नयाँ किल्लामा परिणत भएको छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको मौखिक राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै पन्तले सरकारमा रहेका नेताहरूलाई गोप्य तवरले ‘डिल’ गर्न सजिलो हुने भएकाले आफन्तहरूलाई निजी सहायकमा राखेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘सत्तामा रहेका नेताहरूले आफूलाई ‘डिलिङ’मा सजिलो हुने भएकाले आफन्तहरूलाई निजी सहायकमा नियुक्त गरेका छन् । दाहालको निजी सहायक दाहाल हुनु र नारायणकाजी श्रेष्ठको निजी सहायक सुरेशकाजी श्रेष्ठ हुनु संयोगमात्र होइन’, उनले भने, ‘यसै बैठकले नेताहरूका परिवारका सदस्यलाई निजी वा स्वकीय सचिवमा नराख्ने निर्णय गर्न म बैठक समक्ष माग गर्दछु ।’

उनले कर्मचारीमा नायब सुब्बाको सरुवामा पनि अध्यक्षका परिवारका सदस्यहरूको रुचि रहने गरेको आरोप समेत लगाए ।

पन्तले आगामी चारदेखि छ महिनाभित्र पार्टी महाधिवेशन गरेर अध्यक्षसहित सिङ्गो केन्द्रीय समितिलाई पुनः निर्वाचित गराउन समेत माग गरे ।

साथै, उनले मलेसियाका ९३ वर्षका महाथिर मोहम्मद, अमेरिकाका सय वर्षका हेनरी किसिन्जर, भारतमा कांग्रेसका अध्यक्ष ८१ वर्षका मल्लिकार्जुन खड्गे अझै पनि सक्रिय राजनीतिमा रहेको भन्दै प्रचण्डलाई पनि ८०–८५ वर्षको उमेरसम्म राजनीतिमा सक्रिय हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?