+
+

कहाँ हरायो नेपालको १२ खर्ब निर्यात ?

नेपालले पूर्ण क्षमता उपयोग गर्दा निर्यात १३ खर्ब ८४ अर्ब पुग्नसक्थ्यो

जनार्दन बराल जनार्दन बराल
२०८० साउन १८ गते १८:५०

१८ साउन, काठमाडौं । नेपालले हरेक वर्ष कम्तीमा १२ खर्बभन्दा बढी मूल्य बराबरको निर्यात अवसर गुमाइरहेको छ ।

विश्व बैंकको नेपाल विकास अपडेटले २०२१ सम्मको तथ्यांकमा आधारमा त्यस्तो आँकलन गरेको हो । यसलाई विश्वबैंकले ‘हराएको’ वा ‘उपयोग हुन नसकेको निर्यात’ भनेको छ ।

गत आर्थिक वर्षमा नेपालबाट एक खर्ब ५७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । नेपालले पूर्ण क्षमतामा निर्यात गरेको भए त्यसमा १२ खर्ब २७ अर्बसमेत थपेर कुल १३ खर्ब ८४ अर्ब रुपैयाँको निर्यात हुनसक्थ्यो ।

नेपालको अर्थतन्त्रको आकार, भौगोलिक अवस्थिति तथा भूपरिवेष्ठितता, विकासको स्तर, फ्याक्टर इन्डोमेन्टलगायत पक्षलाई विचार गर्दै अन्तर्राष्ट्रिय व्यापारको ग्रयाभिटी मोडेलका आधारमा विश्वबैंकले यो हिसाब निकालेको हो ।

हाल नेपालले जति मूल्यको वस्तु विदेशमा निर्यात गरिरहेको छ, त्यसको करिब १२ गुणा बढी निर्यात क्षमता नेपालको रहेको तर त्यो गुमिरहेको देखिन्छ । यस हिसाबले नेपालले अहिले गरेको १ खर्ब ५७ अर्ब निर्यातका आधारमा गुमेको निर्यात नै करिब १९ खर्ब हुन्छ । तर, वर्षअनुसार कति निर्यात गुमेको छ भन्ने गणना भने विश्वबैंकले दिएको छैन ।

विश्वका विभिन्न १ सय ४ मुलुकलाई हेर्दा सबैभन्दा धेरै निर्यात गुमाउने मुलुक पनि नेपाल नै रहेको देखिएको छ । दोस्रो स्थानमा बुरुण्डी र तेस्रो स्थानमा रुवान्डा छन् ।

नेपालले दक्षिण एसियाली मुलुकको औसत दरमा पनि निर्यात बढाउन नसकेको प्रतिवेदनले उल्लेख गरेको छ । ‘सन् २००० देखि नेपालको निर्यात स्थिर जस्तै छ, यसबीचमा जम्मा ४ प्रतिशतले मात्रै बढेको छ, विश्वमा सबैभन्दा कमजोर निर्यात भएका मुलुकमध्येमा नेपालको नाम आउँछ,’ प्रतिवेदनमा उल्लेख छ ।

‘नेपालले दक्षिण एसियाको औसत दरमा निर्यात बढाउन सकेको भए पनि नेपालले निर्यात क्षमताको ७५ प्रतिशत उपयोग हुने थियो,’ प्रतिवेदनमा उल्लेख छ । विश्वबैंकले गरेको अध्ययनलाई हेर्दा नेपालको हराएको निर्यात अझै धेरै हुनसक्ने सम्भावना रहेको साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट -सावती)का कार्यकारी निर्देशक डा. पारश खरेल बताउँछन् । उनी भन्छन्, ‘यो २०१७ को तथ्यांकका आधारमा भएको निर्यात अनुमान हो, अहिले पक्कै पनि बढेको हुनुपर्छ ।

चीनमै गुमेको छ करिब ३ खर्बको निर्यात

सो तथ्यांकका आधारमा नेपालले चीनतर्फको निर्यात नै करिब ३ खर्ब रुपैयाँले गुमाएको देखाएको छ । नेपालले सबैभन्दा बढी निर्यातको अवसर गुमाएको मुलुक चीन नै भएको सो प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनका अनुसार नेपालको चीनतर्फको २ अर्ब २४ करोड ५० लाख अमेरिकी डलर अर्थात् २ खर्ब ९६ अर्ब १६ करोड रुपैयाँबराबरको निर्यातको अवसर गुमेको देखिएको छ । जबकि गत आर्थिक वर्षमा चीनतर्फ जम्मा १ अर्ब ७६ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

हाल नेपालको सबैभन्दा ठूलो निर्यात गन्तव्य भारत अवसर गुमेको दोस्रो मुलुक रहेको प्रतिवेदनको निष्कर्ष छ । भारतमा अहिले भइरहेको भन्दा थप १ खर्ब ६२ अर्ब रुपैयाँको निर्यात हुनसक्ने अवसर गुमेको प्रतिवेदनले देखाएको छ । भारतमा नेपालले गत आर्थिक वर्षमा १ खर्ब ७ अर्ब रुपैयाँबराबरको निर्यात भएको छ ।

सबैभन्दा धेरै निर्यातको अवसर गुमेको तेस्रो मुलुक अमेरिका छन् । त्यहाँ नेपालले थप ८० करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब रुपैयाँबराबरको निर्यातको अवसर गुमाएको प्रतिवेदनले उल्लेख गरेको छ । हाल अमेरिकामा १९ अर्ब ५७ करोड रुपैयाँबराबरको मात्रै निर्यात भइरहेको छ ।

नेपालले निर्यातको अवसर गुमाएका अन्य मुलुकहरुमा क्रमशः जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली, दक्षिण कोरिया र इन्डोनेसिया छन् ।

यो प्रतिवेदनले दिएका निष्कर्षलाई सरकारले गम्भीर ढंगले हेरेको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए । ‘नेपालले निर्यातको अवसर गुमाएको विषयलाई सरकारले गम्भीर रुपमा अध्ययन गरेको छ । सरकारले हालै बनाएको नेपाल व्यापार एकीकृत रणनीतिमा पनि त्यही प्रतिवेदनले दिएका सुझावका आधारमा निर्यात हुनसक्ने वस्तु र देशहरुलाई प्राथमिकता दिएर रणनीति बनाएका छौं,’ उनले भने ।

नेपालका निर्यात गर्ने वस्तु र मुलुक दुवै घटे

पछिल्लो समयमा नेपालले निर्यात गर्ने वस्तु तथा गन्तव्य मुलुक दुवै घटेको देखिएको छ । ‘यसले व्यापार विविधीकरण गर्ने नेपालको लक्ष्य पनि पूर्ति भएको छैन, न त नेपालको निर्यात बास्केट परिवर्तन भएको छ, न त गन्तव्य मुलुक थपिएका छन् । त्यसो हुँदा नेपालको व्यापारमा नवीनता आउन सकेको छैन,’ प्रतिवेदनले उल्लेख गरेको छ ।

सन् २००९ मा नेपालले कुल १४६ देशमा निर्यात गथ्र्यो । तर, सन् २०२३ मा त्यो १ सय २९ देशमा सीमित भएको छ । त्यस्तै, सन् २००९ मा नेपालले ११ सय ६७ प्रकारका वस्तु निर्यात भएकोमा २०२३ मा त्यो पनि घटेर १ हजार १६ मा सीमित भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ ।

नेपालले निर्यातमा आधुनिकता पनि ल्याउन नसकेको देखिएको छ । नेपालले निर्यात गर्ने वस्तुहरुमध्ये प्राविधिक आधुनिकताका आधारमा १ प्रतिशत मात्रै उच्च आधुनिक वस्तु निर्यात हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

कुन वस्तु निर्यातको बढी सम्भावना

नेपालमा निर्यात हुने वस्तुहरुमा सबैभन्दा बढी गुमेको निर्यात तयारी पोशाकको छ । नेपालले १ खर्ब ५८ अर्ब रुपैयाँबराबरको तयारी पोशाक निर्यातको अवसर गुमाइरहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, एक खर्ब ३२ अर्ब रुपैयाँबराबरको विद्युतीय सामग्री निर्यात गर्नसक्नेमा त्यो पनि नभएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, अर्धप्रशोधित र प्राशोधित खाद्यान्नको निर्यात सम्भावना १ खर्ब ५ अर्ब रुपैयाँको भए पनि त्यो पनि होसिल हुन नसकेको देखिन्छ ।

नेपालको निर्यात सम्भावना भएका अन्य वस्तुहरुमा अर्थतयारी विद्युतीय सामग्री, तयारी जुत्ताचप्पल, तयारी र अर्धतयारी इलेक्टि्रकल उपकरणहरु, अर्धतयारी सवारीसाधनलगायत छन् ।

गुमेको निर्यातमध्ये कृषिजन्य उत्पादन ४४ प्रतिशत अर्थात् ४ अर्ब १ करोड डलर तथा औद्योगिक उत्पादन ५६ प्रतिशत रहेको पनि देखिएको छ । सम्भावनाअनुरुप निर्यात गर्दा थप २ लाख २० हजार रोजगारी सृजना हुने पनि अध्ययनले देखाएको छ ।

नेपालले १० वर्षमै पुर्नसक्छ यो खाडल

नेपालले निर्यात वृद्धिको दरलाई १५ प्रतिशतमा कायम गर्नसक्ने हो भने १० वर्षको बीचमा नेपालले १० वर्षको बीचमा यो खाडललाई पूर्ति गरी आफ्नो क्षमताअनुसार निर्यात गर्न थाल्ने पनि अध्ययनले देखाएको छ । लाओसले सन् १९९९ देखि २०१९ सम्म वाषिर्क औसत १४ दशमलव ५ प्रतिशतले निर्यात वृद्धि गरेको थियो । जबकि, नेपालको औसत निर्यात वृद्धि ४ दशमलव ५ प्रतिशत मात्रै थियो । त्यही अवधिमा सार्क क्षेत्रका मुलुकको औसत निर्यात वृद्धिदर १० दशमलव ६ प्रतिशत थियो ।

निर्यात बढाउन नेपालले के गर्नुपर्छ ?

१. विदेशी लगानी बढाउनुपर्छ

नेपालले आफ्नो सम्भावनाअनुरुप निर्यात बढाउन ठूलो मात्रामा विदेशी लगानी ल्याएर नेपालका उत्पादनलाई विश्वव्यापी मूल्यशृंखला (ग्लोबल भ्यालु चेन)मा जोड्नुपर्ने देखिएको छ । ‘भियतनाम, क्याम्बोडिया, लाओसलगायत मुलुकको उदाहरणबाट के देखिन्छ भने ग्लोबल भ्यालुचेनमा जोडिन र निर्यातको पावरहाउस बन्न विदेशी लगानी निकै महत्वपूर्ण देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ । तर, नेपालमा विदेशी लगानीलाई प्रवर्द्धन गर्ने भन्दा पनि निरुत्साहन गर्ने नीतिहरु छन् ।

२. व्यवसायको लागत घटाउनुपर्छ

भूपरिवेष्टितता र नीतिगत कारणले नेपालमा व्यवसाय लागत बढी रहेको हुँदा नेपालले निर्यात बढाउन लगायत घटाउनुपर्ने सुझाव पनि प्रतिवेदनको छ । नेपालको सीमा नाकाहरु साँघुरा छन् । पूर्वाधार गतिलो छैन । आयात निर्यात क्लियरिङका सुव्यवस्थित प्रक्रियाहरु नहुँदा लागत बढिरहेको छ । त्यसो हुँदा यस्ता लागत घटाउन सकियो भने व्यवसायलाई प्रतिस्पर्धी बनाउन सकिन्छ ।

३. कच्चा पदार्थ र अर्धतयारी वस्तुको भन्सार दर घटाउनुपर्छ

नेपालमा कच्चा पदार्थमै उच्च भन्सार तिर्नुपरिरहेको छ । पेय पदार्थको कच्चा पदार्थमा २७ प्रतिशतसम्म र कृषि उपजको कच्चा पदार्थमा ७ प्रतिशतसम्म भन्सार लाग्छ । निर्यातको लागत घटाउने हो भने यस्तो भन्सार कम गर्नुपर्छ । एउटा अध्ययनले के देखाएको छ भने कच्चा पदार्थको भन्सार दर १० प्रतिशतले घटाइयो भने निर्यात ५ प्रतिशतले बढ्छ ।

४. गुणस्तर परीक्षणका पूर्वाधारमा लगानी बढाउनुपर्छ

उच्च मूल्यका कृषि उपज निर्यात बढाउन प्रयोगशालालगायत गुणस्तर परक्षिणका पूर्वाधारमा लगानी बढाउनुपर्छ । तर, नेपालमा कृषि उत्पादनको गुणस्तर प्रमाणित गर्न मान्यता प्राप्त व्यापार प्रयोगशालाहरूको अभाव छ । यसले मुलुकको निर्यातको मूल्य अभिवृद्धि हुन दिएको छैन । भारतलगायत देशले नेपालको ल्याबले दिएका प्रमाणपत्रलाई मान्यता दिँदैन । त्यसैले नेपाली व्यवसायीले निर्यात गर्दा लामो दूरीमा पर्ने भारतीय ल्याबबाट परीक्षणको प्रमाणपत्र ल्याउनुपर्छ, जसका लागि कम्तिमा ९ दिन लाग्छ र औसतमा तीन देखि चार हप्ता सम्म ।

५. सेवा निर्यात बढाउन डिजिटाइजेसन आवश्यक छ

नेपालबाट सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको ठूलो सम्भावना देखएकिो छ । तथापि, यो क्षेत्रले विभिन्न समस्या सामाना गरिरहेको छ । नेपालमा डिजिटल कनेक्टिभिटी पूर्वाधार विकसित छैनन् । देशभर ब्रोडब्यान्ड पहुँच कमजोर छ । डिजिटर पूर्वाधारमा लगानी बढाउँदा नेपालले ठूलो मात्रामा निर्यात बढाउन सक्छ ।

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?