+
+

राष्ट्रपतिदेखि दलका कार्यकर्तासम्मलाई बाँडिन्छ राज्यकोषको रकम, वर्षमा साढे ८ करोड वितरण 

अच्युत पुरी अच्युत पुरी
२०८० साउन १८ गते २०:१५

१८ साउन, काठमाडौं । गत आर्थिक वर्षमा सरकारले आर्थिक सहायताका नाममा विभिन्न व्यक्ति र संस्थालाई साढे ८ करोड रुपैयाँ वितरण गरेको पाइएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा राज्यकोषबाट ८ करोड ६५ लाख ७० हजार रुपैयाँ आर्थिक सहायताका नाममा वितरण गरिएको छ । आर्थिक सहायताको रकम पाउनेमा राष्ट्रपतिदेखि राजनीतिक दलका कार्यकर्तासम्म छन् ।

अर्थ मन्त्रालयका अनुसार नेपालमा दुई किसिमबाट आर्थिक सहायता वितरणको निर्णय हुन्छ । विभिन्न घटना–दुर्घटना, आन्दोलनमा ज्यान गुमाएका वा घाइते भएकाहरुको हकमा गृह मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयसम्म आर्थिक सहायताको प्रस्ताव आउँछ । अर्को, मन्त्रिपरिषद्को निर्णयबाट सिधै अर्थ मन्त्रालयमा प्रस्ताव आइपुग्छ ।

धेरैजसो आर्थिक सहायताको प्रस्ताव मन्त्रिपरिषदबाट आउने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘सरकारी ढुकुटीको वितरण कसरी गर्ने भन्ने कुनै कानुनी आधार छैन’, मन्त्रालयका एक अधिकारीले भने, ‘जसको सरकार छ, उहाँहरुकै नेता र कार्यकर्ताको पक्षमा बढी निर्णय भएर आएको देखिन्छ ।’

पूर्वराष्ट्रपति र राष्ट्रपतिको उपचार खर्च

आर्थिक वर्ष २०७९/८० मा पूर्वराष्ट्रपति डा. रामवरण यादवदेखि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसम्मले उपचारका लागि आर्थिक सहायता लिएका छन् । उनीहरुलाई आर्थिक सहायताको निर्णउ मन्त्रिपरिषद बैठकबाटै भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख ६ देखि १७ गतेसम्म भारतमा उपचार गराउँदा भएको ५५ लाख २ हजार रुपैयाँ सरकारले ब्यहोरेको छ ।

१२ असारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयका नाममा सो रकम निकासा गरेको थियो । त्यस्तै २०७९ कात्तिकमा सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उपचार खर्चवापत २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई गत आर्थिक वर्षमा सरकारले २७ लाख रुपैयाँ आर्थिक सहायता दिएको थियो । उनले उपचार खर्चवापत दुई पटक गरी सो रकम पाएक थिए ।

ग्यास आगलागीमा जलेर घाइते भएका कांग्रेस नेता चन्द्रकान्त भण्डारीको उपचारका लागि सरकारले ५५ लाख ८८ हजार रुपैयाँ ब्यहोरेको छ । उनको नेपालमा उपचार सम्भव नभएको भन्दै गत फागुनमा भारतमा उपचार गरिएको थियो ।

आन्दोलनमा मारिनेको परिवारलाई आर्थिक सहायता

अर्थ मन्त्रालयका अनुसार कोशी प्रदेश नामकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बुको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिएको छ ।

द्वन्द्वकालमा बेपत्ता भएका बर्दियाका वेदप्रसाद पाण्डेका परिवारलाई पनि सरकारले १० लाख रुपैयाँ दिएको छ । ४ मंसिर २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानका क्रममा झडपमा परी मृत्यु भएका बाजराका सञ्जीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई पनि सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ दिएको थियो ।

गोप्य राख्न थालिएको विवरण पुनः सार्वजनिक

अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० बाट आर्थिक सहायताको विवरण सार्वजनिक गर्न थालेको हो । अर्थ मन्त्रालयबाट हुने सबै खर्च पारदर्शी हुनुपर्छ भन्ने मान्यता अनुसार यस्तो विवरण सार्वजनिक गर्न थालिएको मन्त्रालयका प्रवक्ता धनीराम शर्मा बताउँछन् ।

‘विगतमा नियमित सार्वजनिक हुन्थ्यो’, उनले भने, ‘केही वर्ष रोकिएको थियो, अब हामीले यसलाई नियमित सार्वजनिक हुने व्यवस्था मिलाएका छौं ।’ नागरिकको करबाट राज्य कोषमा रकम जम्मा हुने भएकाले त्यसबाट हुने खर्च पनि नागरिकले थाहा पायनुपर्ने मान्यताले सार्वजनिक गर्ने गरिएको शर्माले बताए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?