+
+

सरकार देख्दैन सिंहदरबारकै स्टेट हल र बेलायती कक्ष

राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाउन लगाएका यी विशिष्ट कक्षहरुको पुनर्निर्माणमा भइरहेको अलमल हटाउन प्रधानमन्त्री कार्यालय तत्पर देखिएको छैन ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० साउन १९ गते २१:२०

१९ साउन, काठमाडौं । सरकारले लगाएका ठेक्कामा समयमै काम नहुनु आम समस्या हो । तर, देशको कार्यकारी प्रमुखको कार्यकारी निकाय अर्थात् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै २ वर्षभित्र सक्ने गरी लगाइएको ठेक्काको काम ४ वर्षसम्म नसकिंदा समेत सरकार कानमा तेल हालेर बसेको छ ।

यी चार वर्षमा तीन जना प्रधानमन्त्री अर्थात् केपी ओली, शेरबहादुर देउवा तथा हाल पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको नेतृत्व सम्हालिसकेका छन् । उनीहरुकै पदीय प्रतिष्ठासँग समेत जोडिन पुगेको स्टेट हल र बेलायती कक्ष भने यसरी उपेक्षामा पर्न गएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्र पुनर्निर्माणका चरणमा रहेका स्टेट हल र बेलायती कक्ष सहित तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । तर, पश्चिम मोहोडाका यिनै विशिष्ट कक्षहरुको पुनर्निर्माणमा भइरहेको अलमल हटाउन प्रधानमन्त्री कार्यालय नै जिम्मेवार बनेको छैन ।

भविष्यमा प्रधानमन्त्रीले नै प्रयोग गर्ने तय भएको कार्यकक्षदेखि विशिष्ट पाहुनाहरुसँगको बैठक गर्नेसम्मका ऐतिहासिक कक्षहरुको पुनर्निर्माणमा भइरहेको अलमलमा सरकार मूकदर्शक छ । न आयोजनामा परेको समस्या फुकाउन प्रधानमन्त्री कार्यालयले चासो दिएको छ, न ठेकेदारलाई छिटो काम गर्न दबाब नै दिइएको छ ।

माघ २०७७ मा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए । ती कक्ष तयार भएपछि गृह मन्त्रालयको भवनमा सरेर बसेको प्रधानमन्त्री कार्यालय सिंहदरबारकै मूल भवनमा फर्कियो । तर, त्यही मूल भवनको एउटा मोहोडामा पुनर्निर्माणका लागि भइरहेको काम छिटो सक्न प्रधानमन्त्री कार्यालयले चासो नै दिएको छैन ।

तर, सरकार भविष्यमा विगतकै जसरी पश्चिम मोहोडामा नै प्रधानमन्त्रीले प्रयोग गर्ने कक्षहरु सार्ने योजना भने तयार गरेर बसेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार २०७६ सालदेखि यी कक्षहरुको पुनर्निर्माण सुरु भएको थियो । विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारी भविष्यमा प्रधानमन्त्री तथा मुख्यसचिवको कार्यकक्ष रहने गरी पश्चिम मोहोडाका कक्षहरुको पुनर्निर्माण लगभग अन्तिम चरणमा पुर्‍याएको दाबी गर्छन् । तर, बाँकी काम सक्न गौरी/शर्मा एण्ड न्यु टेक्निकल जेभीले लिएको ठेक्काको म्याद आगामी असोजसम्म थपिने उनले बताए ।

‘पुनर्निर्माणको काम आगामी असोजसम्म सक्ने लक्ष्य लिएका छौं’ उनले भने, ‘विगतमा लिइएको लक्ष्यभन्दा ढिला भयो, महत्वपूर्ण कक्षहरुको निर्माण गर्दा पटक–पटक माथिल्लो निकायहरुसँग समन्वय गर्दै काम गर्नु परेकाले केही ढिलाइ भएको हो ।’

उनका अनुसार कतिपय समस्याहरु समाधान गर्न खोज्दा माथिल्ला निकायहरुबाट समयमै जवाफ नआउने र प्रधानमन्त्री कार्यालयमा सचिवहरु फेरिरहने गर्दा पुनर्निर्माणको काममा समन्वय गर्न सकस भएको छ । ‘अब नयाँ मुख्य सचिवसँग छलफल गरेर असोजअघि नै इन्टेरियरको कामका लागि अर्को टेन्डर गर्छौं’ इकाई प्रमुख अधिकारीले भने,‘कक्ष दुरुस्तै निर्माण भए पनि त्यसलाई व्यवस्थित गर्ने काम गर्न अर्को टेन्डर हुन लागेको हो ।’

उनका अनुसार यी कक्षहरु विगतमा नेपालका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए । सिंहदरबारको मूल भवनभित्रका सबैभन्दा आलिशान र विलासी कक्षहरु कहिलेसम्म प्रयोगमा आउँछन् भन्ने टुंगो छैन ।

सिंहदरबारको पश्चिम मोहोडा विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । सो आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । ती भागहरुको पुनर्निर्माण गरिएको थियो ।

तर, आगलागीबाट जोगाइएका बेलायती कक्ष स्टेट हलदेखि चन्द्रशमशेरका शयन कक्षसम्म कक्षहरु सिंहदरबारको पश्चिमी मोहोडामा पर्छन् । सो मोहोडाका कक्षमा रहेको राणाकालीन विभिन्न सम्पदाहरुलाई त्यसतर्फ नै संग्रहालय बनाएर राख्ने योजना समेत छ ।

सरकारको निरन्तर बेवास्ता

२० वर्षदेखि सिंहदरबारभित्रको स्टेट हल प्रयोगविहीन छ । २ जेठ २०५८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चिनियाँ प्रधानमन्त्री झु रोङ्जीसँग भेटेपछि स्टेट हलको प्रयोग भएको छैन ।

बेलायती बैठक कक्षमा भने १ माघ २०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ समकक्षी वेन जिआबाओसँग भेट गरेका थिए । त्यसपछि यो कक्ष प्रयोग भएको रेकर्ड छैन ।

२०७२ को भूकम्पअघि नै भित्ता चर्किने र भुईं थर्किने लगायत समस्या देखिएपछि यी कक्षहरु प्रयोगमा थिएनन् । झन् २०७२ सालमा यी कक्षका भित्ताहरु चर्किएपछि ताल्चा ठोकिएको थियो ।

सरकारले बेवास्ता गर्दा भूकम्प गएको ८ वर्षसम्म यी कक्षहरुको पुनर्निर्माण सकिएको छैन । ठेक्का लागेपछि तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विघटन नहुँदासम्म यी कक्षहरुको निर्माणको गति सन्तोषजनक नै थियो । पुराना विलासी र बहुमूल्य पेन्टिङ, घडी, झुमर र कलाकृतिहरुलाई दुरुस्तै राखेर कक्षको पुनर्निर्माण गर्नुपर्ने भएकाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सार्दा पनि यी कक्षहरु खुल्न सकेनन् ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै बेवास्ता गरेपछि यस्ता महत्वपूर्ण कक्षबाट झिकिएका र पुनर्स्थापित गर्नुपर्ने वस्तुहरु समेत बिग्रिने जोखिम बढ्दै गएको छ । स्रोतका अनुसार कक्षबाट झिकिएका कतिपय झुमरहरु बिग्रिसकेका छन् ।

सरकारले चासो नदिंदा भएका कक्षहरु प्रयोग नहुने तर अति विशिष्ट विदेशी पाहुनासँगको भेटघाट पाँचतारे होटलहरुमा गर्नुपर्ने बाध्यता छ । त्यसले सरकारको खर्च बढाएको छ भने सुरक्षा व्यवस्थापन पनि जटिल हुने गरेको छ ।

विघटित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली राजनीतिक नेतृत्वले नै चासो दिएर स्टेट हल सहितका कक्षहरुको पुनर्निर्माणलाई गति दिन आवश्यक देख्छन् । ‘एउटा रणनीति बनाएर छिटो काम गराउनुपर्ने हो, प्राधिकरण विघटन हुँदासम्म ती हलहरुको पुनर्निर्माणको काम धेरै हदसम्म अघि बढेको थियो’ उनले भने,‘त्यो पुनर्निर्माणको काम अलिक जटिल तथा संवेदनशील छ, राजनीतिक तथा प्रशासनिक नेतृत्वले त्यहाँ परेका समस्याहरु फुकाउन सहजीकरण गर्दै स्टेट हल र बेलायती कक्षलाई पुरानै स्वरुपमा दुरुस्त निर्माण गरेर सञ्चालन गर्न चासो दिनुपर्छ ।’

उनका अनुसार तत्कालीन प्राधिकरणले विदेशी पाहुनाहरु आउँदा हुने राजकीय भेट र भोजहरु स्टेट हलमा नै आयोजना गर्न सकिने गरी पुनर्निर्माण सुरु गरेको थियो । कक्षलाई दुरुस्तै राखेर रेट्रोफिटको प्रविधि प्रयोग गर्दै कक्षलाई पुनर्निर्माण गरिंदैछ ।

‘हाम्रै दरबारभित्र त्यति कलात्मक, विलासी र आलिशान कक्षहरु छन्, ती कक्षहरुमै विदेशी पाहुनालाई स्वागत गर्न पाउनु हाम्रो लागि पनि गर्वको कुरा हुन्छ’ उनी भन्छन्, ‘बेलायतको वर्किङ्घम दरबार स्तरका कक्षहरु प्रयोगविहीन रहने अवस्था हटाउन यसको पुनर्निर्माण छिटो गर्नुपर्छ ।’

कस्ता छन् स्टेल हल र बेलायती कक्ष ?

चन्द्रशमशेरले आफ्नै प्रयोजनका लागि सिंहदरबार निर्माण गराउँदा नै स्टेट हल र बेलायती कक्षहरु बनाएका थिए ।

इतिहासका जानकारहरुका अनुसार सुनौलो रंगको ‘स्टेट हल’ उनको सबैभन्दा प्रिय कक्ष थियो । आफ्ना विशिष्ट भेटवार्ता उनी त्यही कक्षमा गर्थे । कक्षमा हुने अन्य गतिविधिहरु पनि यही हलको माथितर्फ रहेका शयन कक्षमा खुल्ने झ्यालबाट नियाल्थे ।

कक्षका ढोकादेखि झ्यालसम्ममा बहुमूल्य बुट्टेदार सिसाहरु प्रयोग गरिएका छन् । यो कक्ष कलात्मक ऐनादेखि बुट्टेदार भित्ताहरुले सजिएको छ । राणाकालीन पियानोसम्म राखेर सजावट गरिएको छ । यहाँ राखिएका महँगा झुमर र पेन्टिङदेखि घडीहरुसम्मले राणा प्रधानमन्त्रीहरुको विलासी शोखलाई प्रतिबिम्बित गर्छन् ।

ऐतिहासिक महत्वको बेलायती कक्ष पनि ‘नियोक्लासिक’ डिजाइनमा बनेको शानदार कक्ष हो । बेलायतकै दरबारको अतिविशिष्ट कक्षको नक्कल गरेर बनाइएको सो कक्षमा पनि महँगा पेन्टिङदेखि झुमरहरुसम्म सजाइएका छन् । कक्षमा कुँदिएका कलात्मक बुट्टाहरुले यो कक्षलाई भव्य देखाएको छ ।

राणा प्रधानमन्त्रीहरुले ऐस आरामका लागि प्रयोग गरेका यस्ता कक्षहरु अहिले सिंहदरबारको इतिहाससँग जोडिएको गर्वको सम्पदा बनेका छन् । तर, पुनर्निर्माण सिध्याउन भइरहेको ढिलाइले पुरातात्विक महत्वका कक्षहरु खुलेर प्रयोगमा आउन सकेका छैनन् ।

यी कक्षहरु बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणमा आउँदा समेत राजकीय भेटवार्ता तथा भोजका लागि प्रयोग भएका थिए ।

‘यस्ता कक्षहरुको पुरातात्विक महत्व तथा ऐतिहासिकतालाई जोगाएर यसको स्ट्रक्चरल अवस्थालाई हुबहु राख्ने गरी आर्काइभ बनाएर पुनर्निर्माण सुरु भएको हो’ पुनर्निर्माण प्राधिकरणका पूर्व सीईओ ज्ञवाली भन्छन्,‘यसलाई नियमित प्रयोगमा ल्याउन सके हाम्रो कला र सम्पदाको भव्यताको चर्चा फैलिन्छ, बेलैमा पुनर्निर्माण नसके त्यहाँका बहुमूल्य सम्पदा बिग्रिएर गुमाउनुपर्ने जोखिम हुन्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?