+
+

भेटिएनन् दुर्गममा जाने कर्मचारी, सुगमतिर झर्न ४०० बढीको आवेदन

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० साउन १९ गते २१:०९

१९ साउन, काठमाडौं । सुगम क्षेत्रमा कार्यरत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले दुर्गम क्षेत्र जान अनिच्छा प्रकट गरेका छन् । सरकारले दुर्गम र अतिदुर्गम क्षेत्रका स्थानीय तहबाट मध्यम र सुगम भौगोलिक क्षेत्रमा जान चाहाने र मध्यम र सुगमबाट दुर्गम र अति दुर्गम क्षेत्रमा जान चाहाने कर्मचारीसँग आवेदन मागेको थियो । तर, अधिकतम कर्मचारीले सुगम छोड्न इच्छा नदेखाएका हुन् ।

‘करिब ४५० आवेदनमध्ये सुगमबाट दुगर्मतिर जानका लागि मुस्किलले १०–१५ वटा पनि आवेदन परेको छैन,’ मन्त्रालय स्रोतले भन्यो,‘हामी संख्या यकिन गरेर विश्लेषण गर्दैछौं ।’ कुनै कर्मचारीले दुर्गम जाने इच्छा व्यक्त गरेमा त्यसैअनुसार सरुवा गर्ने योजना बनाइएपनि मागअनुसारको आवेदन नै नपरेको हो ।

बरु सुगम क्षेत्रतर्फ जानका लागि माग गर्नेको संख्या अत्याधिक देखिएपछि अब मन्त्रालयले सुगममा लामो सयम काम गरिसकेकाहरुलाई नियमित रुपमा दुर्गम क्षेत्रतर्फ सरुवा गर्नुपर्ने अवस्था आएको मन्त्रालयका एक अधिकारीले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भौगोलिक क्षेत्रको कार्यालयमा काम गर्न इच्छुक कर्मचारीसँग ‘ग’ र ‘घ’ वर्गका भौगोलिक क्षेत्रमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतले ‘क’ र ‘ख’ क्षेत्रमा सुरुवा भएर जान आवेदन माग गरेको थियो । सरकारले यातायात सुविधा, प्रदेश राजधानी तथा जिल्ला सदरमुकामदेखिको दूरी, शिक्षा, स्वास्थ्य, दुरसञ्चार, विद्युत, मानव विकास सूचकांक, भौगोलिक अवस्था लगायतका आधारमा भौगोलिक क्षेत्र वर्गीकरण गरेको छ ।

स्थानीय तहलाई ‘क’, ‘ख’ ‘ग’ र ‘घ’ गरी चार वर्गमा विभाजन गरिएको छ र ‘क’लाई भौगोलिकताका आधारमा अति दुर्गम, ‘ख’ लाई दुर्गम, ‘ग’लाई मध्यम र ‘घ’ वर्गलाई सुगम स्थानीय तहका रुपमा विभाजन गरेको छ । अति दुर्गममा १६२, दुर्गम ‘ख’मा २१८ र मध्यम ‘ग’ वर्गमा २७५ र सुगम ‘घ’ वर्गमा ९८ वटा स्थानीय तह छन् ।

मन्त्रालयले ११ साउनमा संघीय निजामती सेवामा समायोजन भएका कर्मचारीहरु, संघीय निजामती सेवामा समायोजनपछि कर्मचारी समायोजन ऐन, २०७५बमोजिम प्रदेश र स्थानीय तहमा कामकाजमा खटाइएका कर्मचारीहरु र संघीय निजामती सेवामा समायोजन भएर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाजमा खटाइएका कर्मचारीहरुसँग सरुवाको आवेदन मागेको थियो । कम्तीमा डेढ वर्ष एउटा भौगोलिक क्षत्रेमा काम गरिसकेकाहरुले सरुवाका लागि निवेदन दिनुपर्ने थियो ।

यस्तो अवस्थामा मध्यम र सुगम क्षेत्रमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतले दुर्गममा जान एउटा पनि निवेदन पेश गरेनन् भने अतिदुर्गम र दुर्गम क्षेत्रमा कार्यरत ४०० जना कर्मचारीले भने मध्यम र सुगम क्षेत्रमा आउन चाहेको भन्दै निवेदन दिएका छन् ।

सुगमबाट दुर्गममा पठाउने अठोट

मन्त्रालयले आवेदन नपरेपनि एकै कर्मचारी लामो समय सुगम क्षेत्रमा मात्रै काम गर्ने अवस्था हटाउने अठोट लिएको बताएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी स्थानीय तहहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलाउने अवस्था अत्त्य गर्ने बताउँछन् ।

उनका अनुसार कतै कर्मचारी थुप्रिएको छ, कहीँ कर्मचारी अभावमा जनताले सेवा सुविधा पाएका छैनन् । एकै ठाउँमा १० वर्ष, आठ वर्ष, सात वर्ष र पाँच वर्षसम्म बसिरहेकाहरु छन् । उनीहरुलाई सरुवा गर्दा सरुवा गरेको ठाउँमा जानै नमान्ने, सोर्सफोर्स लगाउने, धम्क्याउने गरेको मोदीले बताए ।

‘मैले कसैको कुरा सुनिनँ । लामो समय दुर्गममा बसेकालाई सुगममा र सुगममा बसेकालाई दुर्गममा पठाउने काम जारी छ ,’ उनले भने ।

सबै मन्त्रालयलाई भएको दरबन्दी अनुसारको मात्र कर्मचारी राख्न र बरण्डामा बस्नुपर्ने कर्मचारीलाई स्थानीय तहमा, प्रदेशमा पठाउन सहयोग गर्न आग्रह गरेको उनले बताए ।

‘अहिलेसम्म निमित्तका भरमा चलेका स्थानीय तहको संख्या घटाउँदै लगेको छु । सायद भदौभित्र सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पुग्छन्,’ अनलाइनखबरसँग कुराकानी गर्दै मोदीले भने,‘मन्त्रालयमा दरबन्दीभन्दा बढी राखेका कर्मचारी छन् ।

पत्राचार गरेरै दरबन्दी भन्दा कर्मचारी राखे तलबसहित हाकिमबाटै असुल उपर गर्न र जहाँ जसको दरबन्दी छ, त्यहाँ पठाउन जोड दिएको उनले बताए । बढुवा भएका अधिकृत र उपसचिवलाई पहिलो पोस्टिङ स्थानीय तहमै जाने व्यवस्था मिलाएको उनले बताए । यो मामिलामा मन्त्रालयले कुनै कुरा नसुनेको मन्त्री मोदीको दाबी छ ।

‘दुई–चार जनालाई रोग र शोक छ भने मात्र छुट दिएका हौंला । हामीले स्थानीय तहका प्रमुखहरु जथाभावी विदेश जान क्रम रोकेका छौं,’ उनले भने ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?