+
+

तेक्वान्दोको कमजोर तयारी, एसियाली खेलकुदमा साख जोगाउने चुनौती

यसपालिको एसियाली खेलकुदमा पदकको आश गरिए पनि तेक्वान्दोको तयारी भने त्यसअनुसार छैन ।

नमिता दाहाल नमिता दाहाल
२०८० साउन २३ गते ८:२१

२३ साउन, काठमाडौं । एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाउने र यसपालि पनि पदकको आश गरिएको खेल हो तेक्वान्दो ।

तेक्वान्दोबाट पदकको आश गर्नुको कारण नेपालको गर्विलो इतिहास । एसियाली खेलकुदमा नेपालले तेक्वान्दोमा १३ कास्य र १ रजत जितेको छ । एसियन गेम्समा नेपालले जितेको रजत पदक सबैभन्दा ठूलो पदक हो, जुन सबिता राजभण्डारीले थाइल्याण्डको बैंककमा भएको सन् १९९८ को एसियन गेम्समा जितेकी थिइन् ।

एसियन गेम्समा नेपालबाट दुई पदक जित्ने खेलाडी तेक्वान्दोकै दीपक विष्ट हुन् । उनी अहिले प्रशिक्षकको भूमिकामा छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले यसपालिको एसियाली खेलकुदमा तेक्वान्दो र करातेबाट पदकको आश गरेको बताउँदै यी खेललाई प्राथमिकतामा राखेको छ । पदकको आश गरे पनि तेक्वान्दोको तयारी भने त्यसअनुसार छैन ।

११ जना खेलाडीलाई एसियाली खेलकुदको तयारीका लागि राखेपले जम्मा १२ लाख रुपैयाँ छुट्याएको थियो । ४० लाख मागेकोमा १२ लाख मात्र हात परेपछि विदेशमा प्रशिक्षण गराउने तेक्वान्दो संघको योजना पूरा भएन ।

प्रमुख प्रशिक्षक टार्जन सुब्बा भन्छन्, ‘हामी ११ जना खेलाडी र ३ जना प्रशिक्षकको टोलीलाई १२ लाखले विदेशमा गएर तयारी गर्नु त परै जाओस् हवाई खर्च पनि पुग्दैन ।’

बजेट नै नभएपछि पुम्से खेलाडी प्रेमबहादुर लिम्बु र स्वस्तिका तामाङबाहेकले ललितपुरको सातदोबाटोस्थित होस्टेलसहितको तेक्वान्दो हलमा प्रशिक्षण गरिरहेका छन् । लिम्बु र तामाङ भने प्रशिक्षणका लागि मलेसियामा छन् ।

संघले दुई महिना दक्षिण कोरियामा प्रशिक्षण गर्ने योजना बनाएको थियो र त्यसअनुसार राखेपमा बजेट माग गरेको थियो । तर राखेपले खेलाडीलाई विदेश पठाउन आवश्यक खर्च पछि पठाउने आश्वासन दिएको थियो । तर आश्वासनको भरमा आफूहरुले ११ जना खेलाडीको जिम्मेवारी र खर्च व्यहोर्न नसक्ने भएकाले नेपालमा नै तयारी गरिरहेको सुब्बाले बताए । ‘कसले खतरा उठाउने पैसाको मामलामा पछि उता गएर हामी अलपत्र पर्यौं भने ?’ उनले भने, ‘हामीले लिखित र पूर्ण व्यवस्थित ढंगले नआएसम्म ठोस कदम उठाउन सकेनौं ।’

देशले पदकको आश मात्रै गरेर हुँदैन, पदकका लागि लगानी पनि गर्नुपर्छ, खेलाडीलाई प्रशिक्षण र एक्सपोजर दिनुपर्छ भन्छन् तेक्वान्दो टिमका सबैभन्दा अनुभवी खेलाडी वीरबहादुर महरा । कञ्चनपुरका वीरबहादुरको यो दोस्रो एसियन गेम्स हो । उनी नेपालका लागि पदकको सबैभन्दा बढी आश गरिएका खेलाडी हुन् ।

बलिया र अनुभवी खेलाडीसँग खेल्दै जाँदा अनुभव र आत्मविश्वास बढ्ने भए पनि अहिले त्यो अवसर नपाएको उनको गुनासो छ । ‘हामी आफैं–आफैं फाइट गर्छौं, तर सबैजना फरक–फरक तौलका छौं,’ अभ्यासमा भइरहेको समस्या सुनाउँदै उनी थप्छन्, ‘५ जना केटा छौं, एक जनालाई त फाइटका लागि पार्टनर नै पुग्दैन ।’

पदक जित्न चुनौती

तयारी फितलो देख्दा गर्विलो इतिहास बोकेको तेक्वान्दो खेलले यसपटक साख फर्काउने चुनौती छ । ‘पदक आश गरेर मात्रै हुँदैन । पुरानो साख फर्काउन हामी कोसिस त गर्छौं । तर पदक आउँछ वा आउँदैन अहिले नै हामी भन्न सक्दैनौं,’ खेलाडीलाई प्रशिक्षण गराइरहेका प्रमुख प्रशिक्षक सुब्बा भन्छन् ।

मार्सल आर्टमा एसिया विश्वमा नै प्रतिस्पर्धात्मक क्षेत्र हो । कोरिया, जापान, मलेसिया, चाइनिज ताइपेइ, इरान जस्ता राष्ट्रसँग एसियाली खेलकुदमा प्रतिस्पर्धा हुन्छ । जसमध्येको कोरिया तेक्वान्दोको जन्मभूमि नै हो ।

छिमेकी राष्ट्र भारतले पनि तेक्वान्दोमा राम्रो गर्दै आएको छ । लगानी र एक्सपोजर पाएमा नेपालीले पनि माथिल्लो स्तरको खेल खेल्न सक्ने खेलाडीहरु बताउँछन् । ‘हाम्रो तयारी यहाँ राम्रो भइरहेको छ । पहिलो पटक एसियन गेम्स खेल्न जान उत्साहित पनि छु,’ खेलाडी गोविन्दबहादुर आलेले भने, ‘तर यति ठूलो प्रतियोगिता अघि अन्तर्राष्ट्रिय प्रतियोगितामा फाइट गर्न पाएको भए हामीलाई निकै राम्रो हुन्थ्यो ।’

एसियाली खेलकुदकै लागि भनेर अन्य देशले चार वर्षदेखि खेलाडीहरुलाई तयार गर्छन् । तर हाम्रो तयारी दुई महिनाको मात्र छ । ‘यो बीचमा च्याम्पियनसिपहरु खेल्न पाएको खण्डमा हामीले हाम्रो स्तर थाहा पाउने थियौंं’, प्रमुख  प्रशिक्षक सुब्बाले भने ।

अहिले गरिरहेको तयारी पदक जित्नका लागि पर्याप्त नभएको बताउँछिन् इन्दिरा बस्नेत पनि । उनले भनिन्, ‘यस्तो तयारी भन्दा पनि प्रतिस्पर्धीसँग खेल्न पाएको खण्डमा र उनीहरुको प्रशिक्षण बुझ्न पाएको खण्डमा हामीले पदक ल्याउन सक्छौं,’ उनले भनिन्, ‘हामीले विपक्षी बुझ्न पाएका छैनौं । अन्तर्राष्ट्रिय खेलको अनुभव कम छ । हाम्रो स्तर कस्तो छ भन्ने पनि थाहा छैन ।’ आफूसँग भएको अनुभवका आधारमा पनि खाली हात भने नफर्कने विश्वासमा छिन् उनी ।

वीर बहादुर आफ्नै लागतमा भए पनि विदेशी प्रशिक्षण र खेलमा जान चाहन्छन् । ‘जति बढी खेल खेल्यो हाम्रो स्कोर बढ्दै जान्छ । स्कोर बढेको खण्डमा हामीलाई स्कोरको आधारमा ओलम्पिक खेल्न मिल्छ । तर हामीले खेल्न नै पाएका छैनौं, र्‍याङकिङ पुगेन भने हामीले पुनः एसियनमा लड्नुपर्छ ।’

लगानी नभएका कारण नेपाली खेलाडी पछि परिरहेको उनले बताए । उनी भन्छन्, ‘नेपालमा हामीलाई जति दिनुपर्ने हो त्यति पाएका छैनौं । मेमा अन्तर्राष्ट्रिय खेलेको त्यसपछि अहिलेसम्म खेलेका छैनौं । मान्छेले मलाई धेरै गेम खेलेको भन्नुहुन्छ, तर कसरी खेलेको छु मलाई मात्र थाहा छ । ४/५ महिनामा एउटा खेल खेल्यो, त्यसरी हुँदैन ।’

एसियन गेम्सको अनुभव बटुलिसकेका वीरबहादुर भन्छन्, ‘एसियनको स्तर हेरेर हामी अहिले निकै तल छौं । तेक्वान्दोको महारथी नै एसियन क्षेत्र हो । नेपाल दक्षिण एसियामा पनि तल छ ।’

१३ औं दक्षिण एसियाली खेलकुदका बेला नेपालले तेक्वान्दो खेलाडीलाई एक महिना चीनमा प्रशिक्षणमा राखेको थियो । सोही कारण हुनसक्छ नेपालले १३ औं सागमा १२ स्वर्ण पदक तेक्वान्दोमा जितेको थियो । १३ औं सागमा पनि ६८ केजी मुनिको तौल समूहबाट स्वर्ण जितेका वीरबहादुर भन्छन्, ‘चीनमा गरेको प्रशिक्षणबाट हामी मानसिक रुपमा पनि निकै बलिया थियौं । अहिले त्यस्तो छैन ।’

उनले थपे, ‘अहिले बाहिर पठाउने भन्दा सबैमा एक किसिमको ऊर्जा आएको थियो । तर यो अन्योलताले नयाँ आएका भाइबहिनीहरुमा पनि निराशा बढेको छ ।’

तेक्वान्दोमा पनि पलायनको असर

राष्ट्रिय फुटबल टिमका खेलाडीहरु जस्तै तेक्वान्दो खेलाडी पनि विदेश पलायन भएका छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका दुई खेलाडी गोविन्दबहादुर आले र वीरबहादुर महरा मात्रै अहिले टिममा छन् ।

यसअघि पदक जितेका र अनुभवी प्रायः खेलाडी अष्ट्रेलियामा छन् । नेपालमा खेलेर भविष्य नदेख्ने र कुनै माथिल्लो तहमा पुग्ने सम्भावना कम देखेर विदेशिएको उनीहरु बताउँछन् । अष्ट्रेलियामा रहेका पूर्व पदकधारी खेलाडीले नाम सार्वजनिक नगर्ने शर्तमा भने, ‘हामी नेपालमा बसिरहेको भए आफैंलाई पाल्न पनि गाह्रो हुन्थ्यो । मेडलले खान दिँदैन, परिवार पाल्न पदक बेचेर नहुँदो रहेछ । त्यहि भएर आएका हौं । नाम कमाएर आफ्नै देशमा बस्ने रहर त कसलाई हुँदैन र !’

नेपालमा खेलेर आफ्नै पेट पाल्न पनि धौधौ हुन्छ । जसका कारण सहकर्मीहरु सबै पलायन भएको वीरबहादुरलाई लागेको छ । ‘उनीहरु पलायन भएर घर घडेरी जोडीसके हामी यहाँ अझै उस्तै छौं’, ठट्यौली पारामा उनले मनको बह पोखे ।

महिलातर्फ इन्दिरा बस्नेतसँग मात्रै केही अन्तर्राष्ट्रिय खेलको अनुभव छ । बाँकी खेलाडी राष्ट्रिय प्रतियोगिताको माध्यमबाट छनोट भएर यहाँसम्म आएका नयाँ हुन् । ‘अब नेपालमा त हामी नै हाम्रो तौल समूहमा उत्कृष्ट भएर आएका हौं । तर हामीलाई अन्तर्राष्ट्रिय खेलको खासै अनुभव छैन,’ ५३ केजी मुनिको तौल समूहकी आयाशा लामाले भनिन् ।

अनुभवी खेलाडी विदेश पलान हुँदा असर परेको प्रमुख प्रशिक्षक सुब्बा बताउँछन् । ‘पहिलो पटक एसियन गेम्सको प्रमुख प्रशिक्षकको जिम्मेवारी लिएको छु’, उनी भन्छन्, ‘सबैले पदकको आश गरेको भनेर प्रेसर दिनु भएको छ, नेपालमा यी खेलाडी राम्रा छन् तर अन्तर्राष्ट्रिय एरिनामा खेलेका छैनन् ।’

साख जोगाउने तेक्वान्दो यसपटक लगानी र कमजोर तयारीले पछि त पर्ने होइन भन्ने चिन्ता लागेको उनी बताउँछन् ।

२३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चीनमा हुने एसियन गेम्सका लागि तेक्वान्दोका खेलाडी र प्रशिक्षक :

पुरुषतर्फ

राहुल कुमाल – ५८ केजीमुनि
गोविन्द बहादुर आले – ६३ केजीमुनि
वीरबहादुर महरा– ६८ केजीमुनि
अभिषेक बराल– ८० केजीमुनि
ज्याकी यादव –८० केजी माथि
प्रेमबहादुर लिम्बु – पुम्से

महिलातर्फ

अन्जली तामाङ –४९ केजीमुनि
आयसा लामा– ५३ केजीमुनि
सन्ध्या कुमारी सिंह–५७ केजीमुनि
इन्दिरा बस्नेत –६७ केजी
स्वस्तिका तामाङ –पुम्से

प्रमुख प्रशिक्षक– टार्जन सुब्बा
प्रशिक्षक– कविराज खड्गी र कुमार घिसिङ

तस्वीरहरू: चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?